‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ लक्ष्मीप्रसाद देवकोटाको त्यो प्रसिद्ध कहावत उसको बाल्यकालको बाल मस्तिष्कमा खुबै गढेको हुनु पर्दछ। त्यसैले त ८/१० वर्षको उमेर मै त्यो कच्चा दिमागले मजबुत घर बनाउन सक्ने इन्जिनियर बन्छु भन्ने परिकल्पना गरिसकेको थियो। समय घर्केको पत्तै नहुने, १/२ वर्ष गर्दा गर्दै एसएलसी दिने बेला आइसकेको थियो।
गाउँकै सरकारी स्कुलबाट एसएलसी दिँदा जु्ँगाको रेखिसम्म नबसेको १४/१५ वर्षको उरन्ठ्याउलो ठिटो त्यो जेब्रा झोलामा एक पोको गुन्द्रुक सँगसँगै इन्जिनियर बन्ने सपना कोचेर पहिलो पटक राजधानी सहर जाँदा विदेश गएभन्दा कम उत्साहित थिएन उ।
काठमाडौँका सयौँ मध्ये कुनै एउटा साइन्स कलेजमा भर्ना भएर आफ्नो सपनाको पहिलो इँट्टा बसादै गर्दा दिमागमा आएका अनेकौ परिकल्पना केबल क्षणिक थिए भन्ने कुराको आभास हुन्थ्यो त आज उ इन्जिनियर नहुन पनि सक्थ्यो। १२ कक्षा सकिदा नसिकिदै आफूले आफैलाई त्यो हजारौँ विद्यार्थीको भीडमा घचेढ्न पुग्छ उ, त्यो भीड तिनै कर्णधारको थियो जो उसले जस्तै बलियो घर बनाउने कच्चा सपना बुनेर इन्जिनियरिङ प्रवेश परीक्षा तयारीको लागि धाईरहेका थिए।
नेपालका विभिन्न विश्वविधालय र तिनीहरुका आङ्गिक तथा प्राइभेट कजेलहरुमा गरेर वर्षेनी करीब बिसौँ हजार विद्यार्थीहरु इन्जिनियरिङ प्रवेश परीक्षामा सामेल हुन्छन् अनि कम्तिमा ५० प्रतिशत (दशौँ हजार) विद्यार्थीहरु कतै न कतै कुनै कलेजमा आबद्द हुन्छन्। त्यही हजारौँ मध्येको एक पात्र उ परिकल्पनाको संसारमा पहिलो पाइला टेक्नु अघिको तयारी कुनै सरकारी अफिसरको भन्दा कम थिएन।
कलेज यूनिफर्ममा चिरिचट्ट परेको कपाल, हातमा टी स्केल होस् या नयाँ मोडेलको भर्खरै किनेको नयाँ ल्यापटप बोकेर शानका साथ कलेज जादै गर्दाको आभास यति अभुतपूर्ण र अविस्मरणीय थियो की झुटा आश्वासन र भ्रमले खेती गरिरहेको अलिकति पनि भान नहुँदै ४ वर्ष बितिसकेको सुइकोसम्म पनि पाउदैन उ।
८ वटा सेमेस्टर एक्जाम , ४० देखि ५० वटा विषय, सयौँ असाइन्मेन्ट, १५/२० वटा असेस्मेन्ट, थुप्रै प्रोजेक्ट र फिल्ड वर्क अनि ४ वर्षको अथाह मिहिनेतपछि इन्जिनियर बन्दा रमाउनु पर्ने उ विस्तारै चारै तिर बन्द बाटो देख्न थाल्छ। जब बुढेसकालले थिच्दै गरेका बाउ आमा, लाखौँको कलेज फी तिर्न ऋण काड्दा धितो राखेको त्यो घर वा मुरी धान फल्ने गैरी खेत, सहरमा बसेर पढ्दै गर्दा घरभाडा तिर्न साथीसँग लिएको सापटी होस् अथवा त्यो नजिकको रासन पसलमा भएको बाँकी खाता सम्झिन्, उ अनायासै आत्तिन थाल्छ।
जागिरको खोजीमा सयौँ कम्पनीमा आफ्नो बायोडाटा (सिभी) पठाउन थाल्छ उ तर अफसोचज्! अनुभव र चिनजान नभएसम्म जागिर पाउन त के कल्पनासम्म पनि गर्न नसकिने हाम्रो ठाउँमा उसको लागि जागिर आकाशको फल आँखा तरी मर भने जस्तै भईसकेको थियो।
रात रहे अग्राख पलाउछ भनेझै बेकारका दिनहरु एवम् रितले बितिरहँदा एकदिन उसले पनि जागिर पाउछ। एउटा कम्पनीको इन्टरभ्युमा पास भएपछि उसको हातमा कन्ट्रयाक थमाइन्छ, रु १० हजार बराबरको मासिक तलब पाउने गरी इन्जिनियरको पोस्टमा। विचरा उ कुन हैसियतले तलब कम भयो भनेर नकार्न सक्थ्यो र? उ त केबल एउटा नाथे इन्जिनियर न त थियो, करिब १०/१५ लाख, थुप्रै अनिदा रात, निरन्तरको लगाव, अनि त्यही ४ वर्ष त लागेको थियो उसको नाम अघि ई थप्न।
मोटामोटी तथ्यांकमा जाने हो भने नेपालमा करिब पचास वटा जति इन्जिनियरिङ कलेज छन् जहाँ हरेक शैक्षिक सत्रमा १० हजार बढी विद्यार्थी भर्ना हुने गर्छन् अनि करिब ८ हजार जति इन्जिनियर हरेक वर्ष ग्राजुएट भएर निस्किने गर्छन्। तर सुन्दा अचम्म लाग्न सक्छ, नेपाली बजारले एक वर्षमा करीब ५/७ सयभन्दा बढी इन्जिनियरिङ् ग्र्याजुएटहरुलाई थेग्न सक्दैन।
अब एकछिन हामी आफै सोचौँ, यो आँकडाले त नेपाल सरकार र यहाँका विश्वविद्यालयहरुले हजारौँ विद्यार्थीलाई लाखौँ तिर्न लगाएर सिधै बेरोजगार बन्न उत्प्रेरित गरे जस्तो देखिन्न र? कहाँनेर चुकिरहेका छौँ हामी, के नेपालमा इन्जिनियर पढने भनेको विदेशिने सजिलो सेतु बनाउनु मात्र हो? कि मासिक १०००० मा प्राइभेट मार्केटमा बेच्नको लागि उत्पादन गरिदैँ छ?
देश रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने इन्जिनियरहरुको हकहितको लागि भनेर बनाएका काउन्सिल तथा इन्जिनियरिङ एसोसिएसन कता छन्? किन आजसम्म पनि न्यूनतम पारिश्रमिक तोक्न सकिएको छैन होला? कहिलेसम्म प्राइभेट सेक्टरले इन्जिनियरलाई जुकाले झै चुसिरहने? किन सरकारले नचाहिने रुपमा च्याउ जसरी इन्जिनियर उत्पादनमा निगरानी राखेको छैन?
गुणस्तरभन्दा पनि नम्बरमा विश्वास गरेर चाहिनेभन्दा बढी सैद्धान्तिक विषयहरु पढाइनु, आउटडेटेड सिलेबसको त्यो गहिरो खाडललाई पुर्न नसक्नु, नेपाल सरकार र सम्बन्धित शैक्षिक संस्थानहरुले विद्यार्थीहरुको उचित व्यवस्थापनको लागि प्राइभेट, सामुदायिक तथा सरकारी क्षेत्रसँग उचित समन्व र मधस्तकर्ताको भूमिका निर्वाह गर्न नसक्नु जस्ता अनेकौ अनुत्वरित प्रश्नहरु र पेशागत तिक्तताले गर्दा आज उ लगायत उसले प्रतिनिथित्व गर्ने उ र म जस्ता हजारौँ इन्जिनियर साथीहरुलाई कसैले इन्जिनियरिङ सकेर के काम गर्दै छस् वा के कति कामाउछस् भन्ने प्रश्न सोध्दा आँखामा आँखा जुधाएर दिने उत्तर छैन।
आजसम्म पनि उ आफू इन्जिनियर भएको गर्वका साथ आफ्नो नाम अगाडि ई लेख्ने आँट गर्न सक्दैन। त्यसैले इन्जिनियरिङ क्षेत्रमा पस्नु अघि आफूले रोजेको इन्जिनियरिङ डिग्रीको बजार माग, आफ्नो रुची र दीर्घकालीन योजना सहित आउनु होला, नत्र हजुरहरु सबैको पनि उ र म जस्तै विदेशीनु बाहेक अर्को विकल्प नरहन सक्छ।