'नेपालको जति पढिसकेँ, अब विदेशतिर ट्राइ गर्दैछु' करिब दुई वर्ष पहिले चिसापानी ट्रेकिङमा भेटिएका एक युवाले परिचयको क्रममा भनेको यो वाक्यले मलाई बिझाइ रह्यो। डायरीमा पनि टिपेँ। त्योपछि नेपालमा पढाइको इतिहास, विकासक्रम र वर्तमान अवस्था बारे विभिन्न प्रश्नहरु खड्कियो।
तथ्य र तथ्यांकहरुको खोजी गर्ने क्रममा नेपाली शिक्षाका बारेमा सामजिक बुझाइको अवस्था सम्बन्धी रोचक तथ्यहरु फेला पर्न थाले। शिक्षाको भौतिक, गणितीय, शैद्धान्तिक बहसलाई एकछिन यथास्थितिमा छोडेर हाम्रो जनजीवन, गाउँघर, समाजले विनिर्माण गरेको शिक्षाको व्यावहारिकता बुझाइका केही रोचकताक र विरोधाभाषहरुको कुराग्राफी (गफगाफका माध्यमले गरिने विषयाध्ययन) गर्ने जर्मको यस आलेखमा गरेको छु।
के सिकाउँछ नेपाली शिक्षाले?
'नपढेको भनौँ
नचाहिने कुरो
नजानेको केही छैन!
पढेको भनौँ
चाहिने कुरो
जानेको केही छैन!'
अर्जुन पराजुलीको फेसबुकमा पोष्ट भएको यो लघुकवितामा नेपाली शिक्षाको ऐना जस्तो लाग्छ। नेपाली शिक्षाको हालतः पढ्नेले किन पढ्ने थाहा छैन। पढाउनेले पढाएर केका लागि कस्तो जनशक्ति तयार गर्ने पनि थाहा छैन। अभिभावकले अफ्ना बालबालिकालाई के, किन, कसरी र कहाँ पढाउने पनि थाहा छैन। स्कुल... स्कुलको लहैलहैमा बालबालिकालाई स्कुल पठाउँछन्। बच्चाहरु स्कुल गाइदिन्छन्। शिक्षकहरुले दिन काटउनैका लागि भए पनि पढाइदिन्छन्।
'कस्तुरीलाई आफ्नै बिनाको ज्ञान छैन भनिन्छ।' त्यस्तै नेपाली शिक्षाले आफ्नै धरातलमा सुहाउँदो मौलिकताको आँखाले हेर्नै सिकाएन। अरुले अरुका लागि, अरु नै धरातल र अरु नै उद्देश्यका लागि विकास गरेको शिक्षा पद्धतिलाई कौमुदी व्याकरण घोकाएर घोकन्ते शिक्षा थोपारी दिएर मन्त्र, अर्थ, सम्दर्भ, कथासार र त्यसको उपदेहिता बुझ्नुभन्दा पनि जसो जसो बाजे उसै उसै स्वाहाः मै रमाइरहेका छौँ।
गुराँस एकदमै राम्रो फूल हो। लिची या भुइँकटहर मिठो फल हो। तर गुराँस फुल्ने र भुइँकटहर फल्ने उचित भौगोलिक पर्यावरणको आवश्यकता पर्दछ। ठिक यस्तै नेपाली शिक्षालाई पनि हाम्रो आफ्नो मौलिकता सुहाउँदो समाज, परम्परा, कला, संस्कृति, मूल्यमान्यता, भौगोलिक तथा पर्यावरणीय तथ्यहरु र बजार, सुहाउदो शिक्षाको विकाश गर्नु जरुरी छ।
हामी आफ्ना र आफूसँग भएका सबै कुरा गलत हो भन्ने सिकाउँछौँ, सिक्छौँ भने यो कस्तो शिक्षा हो? नेपाली भन्न नै लाज लाग्ने, नेपाली बोल्न नै जरिवाना लाग्ने, नेपाली भएकोले नै दुनियाँको काम नलाग्ने हौ, हामीले भनि गरिआएका सबै पागलपन हो, मान्छे बन्न सबै अरुको सिक्नु पर्छ या नक्कल गर्नु पर्छ भन्ने यो कस्तो सिकाइ हो? आफ्नो घरखेत बेचेर अर्काको नोकरी गर्नु पर्छ, आफू स्वयं मालिक हुनुभन्दा अरुको नोकर हुनु इमान, इज्जत हो भन्ने दिक्षित गर्ने यो कस्तो शिक्षा हो? यस्ता अनेकन प्रश्नहरुको जवाफ नेपाली शिक्षा पद्धतिले खोज्नु जरुरी छ होला।
नेपाली शिक्षाको व्यावहारिक पाटो
६९.९ प्रतिशत साक्षारता देखाउने नेपाली परिवेशमा शिक्षाको व्यावहारिकता पाटो भने खस्किदो पाइन्छ। विभिन्न कार्यालयहरुमा आवश्यक पर्ने निवेदन लेख्न नजान्ने, नागरिकताको फारम, पासपोर्टको फारम, पुलिस रिपोर्टको फारम, चालक अनुमति पत्र आवेदन भर्न नसकेर फोटोकपी र सहायता कक्षामा पैसा तिरेकोसम्म त ठिकै मान्ने हो भने पनि विश्वविद्यालयमा विद्यार्थीहरुले आफैले पढेको विषयको फारम भर्न, बैङ्कको भौचर काट्न समेत नसकेर अरुको सार्न र सिकाइ माग्न भौतारी रहेको यथार्थ पनि देख्न पाइन्छ।
अर्को तिर नीजि विद्यालयका अंग्रेजी शिक्षाका उत्पादनहरु भने साधारण बोलीचालीकै नेपाली भाषा नै बुझ्दैन्। झन् सरकारी कार्यलयले प्रयोग गर्ने भाषा त कसरी बुझ्लान्।
'हेर केटा हो, बेलैमा हलो बनाउनु सिक। केटीहरु ढिकीझाँतो सिक। पढेर हात्ती ठूलो भाको हो र? भन्ने लठुवाहरुले पढेर साह्रै खाँदैनस। लास्टाँ हलोले गर्छ भलो नै हो।' यो कक्षा नौको कृषि विषयको कक्षामा सरले गाली गरेको हो कि सम्झाएको हो। अझै पनि याद छ। परम्परागत अत्मानिर्भरमुखी कृषि कर्मलाई दुःखको पराकाष्ठीकरण गरी सुःखका साध्यका रुपमा पढ्नु, जागिर खानुलाई मानक बनाइदै लगियो।
व्यवसायिक शिक्षालाई प्रर्वद्धनमा केही प्रयासहरु गरिएको भए पनि व्यावसायिक शिक्षाको मानंक प्रतिउत्पादन भने फितलो देखिन्छ। पढ्नु भनेको किताब पढ्नु मात्रैले वैधानिकता पाएको छ। किताब पनि स्कुलको पाठ्यक्रम भित्रका किताबलाई कौमुदी घोक्नुलाई अब्बल मानिन्छ। खेलकुद, कला (चित्र, गायन, नृत्य, संगित आदि), साहित्य, सिर्जना, सोध आदि इत्यादिलाई अतिरिक्त क्रियाकलाप मात्रै मान्ने शिक्षाले परम्परागत ज्ञान, अनुभव, सीप, मूल्यमान्यता, प्रचलन, संस्कार, संस्कृतिलाई त निषेध नै गरेको छ।
सिधा अर्थमा भन्दा नेपाली शिक्षाको मानङ्क अर्थ वा उद्देश्य भनेकै जागिर खाने जनशक्ति उत्पादन गर्नु हो। अझ सालाखाला प्रमाणपत्र बोक्ने जनशक्ति उत्पादन गर्नु हो। मानविकी संकायलाई करिब करिब उच्च शिक्षाको साध्यको रुपमा बुझिने र अधिकांश जागिरमा खपत या वर्चश्व पनि उनीहरु कै देखिन्छ। कुन जागिरका लागि के विषयमा स्पेसलाइजेसन गर्ने र सम्बन्धित विषयको दक्ष जनशक्ति उत्पादन गर्ने विषय बहस बन्दै गर्नु एउटा यथार्थ मान्ने हो भने पनि नेपालमा ठूल्ठूला औद्यौगिक, व्यापारीक उद्योगहरु, संघसंस्थानहरु नभएकोले वार्षिक रोजगारीमा जनशक्ति खपतको अनुपात शैक्षिक जनशक्ति उत्पादनको तुलनामा आकाश जमिनको आँकडा छ।
जागिरै पाउनेले पनि पाउने तलब सुविधाको हिसाब गर्दा निःशुल्क सरकारी शिक्षा लिएकालाई नै धौ धौ पर्ने देखिन्छ भने कखरादेखि नै लाखौको खर्च बगाएका विलासी विद्यार्थीका लागि गरिएको शिक्षामा लगानी कसरी प्रतिफलात्मक हुँदो हो? वार्षिक लाखौँको संख्यामा शैक्षिक बेरोजगार उत्पादन गर्ने फ्याक्ट्रिका रुपमा पनि नेपाली शिक्षण संस्थाहरुलाई व्यङ्ग्य गर्ने तितो यथार्थ बनेको छ।
नेपाली शिक्षाको सांस्कृतिक पाटो
नेपाली शिक्षाको विकासमा सुनौलो युग मानिएको २००७ सात सालपछि सर्वसाधारणलाई शिक्षामा प्रोत्साहित गरियो। पञ्चायत कालमा विकास भएका नेपाली शिक्षाका नीति, नियम, पाठ्यक्रमहरुमा पञ्चायती एकल राष्ट्र निर्माणको गाढा छाप पर्न गयो। खस नेपाली बाहेकका भाषाहरु, संस्कार संस्कृतिदेखि अन्य भाषी मानिसहरुलाई म्लेच्छ, असभ्य, जंगली, आदिको रुपमा व्याख्या गरी अन्य राष्ट्रहरुको पहिचानलाई निषेध तथा निरुत्साहित गरियो।
नेपाली शिक्षाले हाम्रा प्रथाजनित समाजिक व्यावस्थाहरु, संस्कारहरु, संस्कृतिहरु, परम्पराहरु, व्यावहारिक ज्ञानहरुलाई सम्बोधन गर्दै गरेन। शिक्षित भनौदाहरुमा आफू, र आफ्ना संस्कारहरु, संस्कृतिहरु, व्यावहारिक ज्ञानहरु, मूल्य मान्यताहरुलाई नमान्ने, उपेक्षा गर्ने, घृणा गर्ने, हिनताबोध गर्ने, प्रथा, विस्वास, मूल्यमान्यताहरुबाट आफूलाई अलग राख्ने शैक्षिक मनोविज्ञान विनिर्मित गरी दिक्षित गरेको पाइन्छ।
यसकारण पढालेख भनाउँदा पुस्ताहरुले देउ–देउता नमान्नु, धर्मकर्म नमान्नु, हलोकोदालो, ढिकीझाँतो नगर्नु, जाँडपानी, मकै, भटमास, खोलेफाँडो, डिँढोरोटो आदिमा अपनत्वको सट्टामा अपहेलित महशुस गर्छ। आफूलाई स्मार्ट बनाउन पिजा, चाउचाउ, थुक्पा, विस्कुट, म्यगडोनाल्ड, केएफसी, बर्गर, कोक, फेण्टा आदि खानु प्रेरित गर्दछ। यो नेपाली शिक्षाको सबैभन्दा भयंकर काहाली लाग्दो भविष्य हो।
२०४६ सालपछि नेपाली शिक्षा प्रणालीमा गतिशीलता स्वरुप केही मातृभाषाहरुको शिक्षाको शुरुवात, विभिन्न संस्कार, संस्कृतिहरुको शोध, अध्ययनका प्रयासहरु यदाकदा भए गरेको भए पनि यिनीहरुको प्रतिउत्पादनको मूल्यांकन गरीहाल्ने वातावरण बनिसकेको देखिदैन।
निराशाजनक सरकारी स्कुल
'सरकारी स्कुलको पढाइ काम छैन।' आजकल मानिस बरु दुई गाँस कम खाएरै, दुई पैसा रिण लिएरै पनि बालबालिकालाई अंग्रेजी बोर्डिङ स्कुल पढाउन चाहान्छन्। समसामयिक बुझाइमा सरकारी शिक्षाको स्तर निराशाजनक छ भन्दा अतियुक्ति नहोला।
मार्टिन चौतारीले सन् २०१९ मा गरेको नेपालका 'सामुदायिक विद्यालयः विद्यालय सञ्चालन प्रक्रिया सम्बन्धी सर्वेक्षमा नेपाल सरकार २०७५ लाई उदृत गर्दै अहिले, मुलुकभर सामुदायिक र संस्थागत गरी जम्मा ३५,६०१ विद्यालय सञ्चालनमा छन् जसमध्ये सामुदायिक विद्यालयको संख्या मात्र २९,०३९ छ। करिब ७४ लाख विद्यार्थी मध्ये ६१ लाख (८२ प्रतिशत) विद्यार्थी सामुदायिक विद्यालयमा पढिरहेका छन्।
सामुदायिक विद्यालयमा कार्यरत १,४७,५३८ शिक्षक मध्ये, १,०९,११८ स्वीकृत दरबन्दीमा र करिब ३८,४२० राहत कोटामा कार्यरत छन्। राज्यले यति ठूलो आर्थिक भार लगानी व्यहोरेको सरकारी शिक्षाको लगानी बालुवामा पानी झै निरार्थक बन्दै गएको र सरकारी स्कुल प्रतिको विश्वासनियता दिनानु दिन निराशाजनक बन्दै गएको पाइन्छ। यसका कारक तत्वहरु नेपाली शिक्षा नीति, उद्देश्य, प्रणाली, राजनैतिक हस्तक्षेप, शिक्षक, अभिभावकहरु जो जससँग सम्बन्धित छन्। ती तमाम् प्रत्यक्ष, परोक्ष्य सरोकारवालाहरुले जिम्मा लिनै पर्दछ र कमीकम्जोरीहरु प्रति जिम्मेवार रही सुधारको लागि तत्पर हुनुको विकल्प छैन।
सरकारी स्कुललाई यो हविगतमा पुर्याउन मुख्यतयः राजनीति, शिक्षक र अभिभावकलाई मान्ने हो भने, 'पञ्चायतकालमा नेपालमा कम्युनिष्ट पार्टी हुर्काउने सरकारी विद्यालयका शिक्षकहरु थिए' भन्ने भनाइ यदाकदा सुन्न पाइन्छ। यसमा अधिक्तम सत्यता पनि पाइन्छ। कम्युनिष्ट बाहेक प्रायः सबै पार्टीले शिक्षण संस्थाहरुलाई संगठन र जनसम्पर्क विस्तारको माध्यमको रुपमा प्रयोग गरेको पाइन्छ।
तसर्थ विद्यालयलाई राजनैतिक अड्डाका रुपमा विकास गर्ने। नीति नियम र नियमन निकायहरुमा राजनैतिक भर्ती केन्द्रको रुपमा नियुक्ति गर्ने। शिक्षकहरु शिक्षणमा भन्दा राजनैतिक पार्टीका कार्यकर्ता भै नेताको तलुवामा जागिर खाने। अभिभावहरु विद्यालयको अवनत्व नलिने र सबै सरकारको काँधमा थोपारेर जिम्मेवारीबाट पन्छिने आदि कारणहरुले पनि सरकारी स्कुलको हविगत दिनानुदिन निराशाजनक बन्दै गइरहेको पाइन्छ।
दीर्घ सेवा र घरपायक नियुक्ति
गाउँमा पढ्नु र जागिर खानु भनेको शिक्षक बन्नु भन्ने अर्को सामाजिक बुझाइ विर्निमाण रहेछ। यो बध्यताले सिर्जना गरेको रहर होला। किनकी जागिर खाने संस्था भनेकै विद्यालय मात्रै छ। एक पटक शिक्षकको जागिर पक्का भएपछि अरु के चाहियो साधारणतयः ३६ देखि ४२ वर्षसम्म शिक्षण गरिरहेका शिक्षकहरु भेटिन्छन्। यो चार दशकभन्दा लामो शिक्षणमा कति पुस्ताका बालबालिका पढाए होलान्? साधारणतया बाउ–छोरा र काँही कतै तीन पुस्ता पनि पढाउन भ्याए होलान्।
खास गरी हाम्रो जस्तो छिटो सामाजिक परिवर्तन भोगिरहेको देशको सन्दर्भमा चार दसकवाला शिक्षक कत्तिको प्रगतिशील र परिवर्तित भए होलान्। धुलो खेल्ने पुस्ताको कपुरी 'क' देखि स्मार्टफोन खेलेर हुर्किने पुस्ताको कम्प्यूटर 'क' वाला मानोविज्ञान अनुसार परिमाजिर्त भए कि भएनन्? अनि अवाकास पछि पनि दीर्घ सेवा गर्नेले नयाँ पुस्ताको जागिर ओगटी दियो कि दिएन? यो बहसकै विषय होला।
अर्को घरपायक नियुक्ति, शिक्षाको स्तर सुधारको साध्यको रुपमा गोटी चालिएको यो चाल भने उल्टो भारी परेको देखिन्छ। आफ्नो गाउँठाउँको विद्यालयको स्तरमा सचेत रही काम गर्नेछ भन्ने स्वार्थ थियो होला तर भयो आफ्नै घरगाउँ ठाउँमा जे गरे पनि हुने, 'सरकारी काम, कहिले जाला घाम' कै लम्पट भए।
स्कुलभन्दा आफ्नो घरव्यावहार, राजनैतिक, सामाजिक आदि काममै व्यस्त भएको पाइयो। २०१८ मा शिक्षा सम्बन्धी शोधमा संलग्न रही तराई, पहाड र हिमालका करिब १५ विद्यायलमा मैंले गरेको अवलोकन अनुसार घरपायक शिक्षकभन्दा बाहिरका शिक्षकहरु स्कुलको शिक्षण कार्यमा सक्रिय रहने गरेको तथ्य फेला पारेको थिएँ।
राम्रो शिक्षा
'आफू त पढ्न सकिएन, सन्तानलाई राम्रो शिक्षा दिन पर्देशमा दुःख गर्दैछु।' अधिकांश वैदेशिक रोजगारीमा गएका युवा पुस्ताको सपना हो। सन्तानलाई राम्रो राम्रो शिक्षा दिने र राम्रो जागिरे बनाउने। यो राम्रो शिक्षा भन्नेको संक्षिप्त बुझाइ- एउटा बोर्डिङ स्कुल (अंग्रेजी माध्यमले पाढउने स्कुल) र अर्को भनेको महंगो शुल्क लिने स्कुललाई बुझ्ने गरेको पाइन्छ।
जब मुल एउटै हुन्छ, भने तपाइँ कहाँ बसेर, केबाट, र कति तिरेर पानी पिउनुहुन्छ भन्ने कुराले उन्नाइस/बीसको मात्र फरक हुन्छ होला। जस्तैः एउटा बोतल मिनरल वाटरको साधारण खुद्रा पसलमा २० रुपैयाँमा, त्यही पानीको बोतल कुनै रेष्टुरेण्टमा ५० या १०० र तारे होटेलहरुमा २०० या ३०० होला। यस्को अर्थ २०० तिरेको पानी २०० गुणा स्वच्छ भन्ने अर्थ त लाग्दैन होला नि?
यसरी हेर्दा अधिकांश बोर्डिङ स्कुलका संचालकहरु र शिक्षकहरु सरकारी विद्यालयकै उत्पादन देखिन्छन्। अनि पाठ्याक्रम उही, शिक्षक उही, पद्धति उही भएपछि भाषाले मात्रै त्यस्तो के चमत्कार गर्ला?
अर्को घतलाग्दो पक्ष भनेको निजी विद्यालयहरुले दिने उच्च प्राप्तांक पनि हो। 'घोकन्ते विद्या र ध्यावन्ते खेति' भन्ने उखान नै छ। महंगो तिरेपछि राम्रो हुने अर्को नेपाली अमुर्त संस्कार पनि समाजमा व्यत्त पाइन्छ। महंगो परेपछि जतन गर्ने, स्याहार गर्ने, बोर्डिङ स्कुल पढ्ने बच्चालाई अभिभावकले दिने समय, ध्यान, खर्च, अभिभावकत्वको दाँजो निशुल्क सरकारी स्कुलमा पढ्ने बच्चालाई अभिभावकले दिने समय, ध्यान, खर्च, अभिभावकत्वको दाँजो गरौँ।
कतिपय उदाहरणका रुपमा उही बच्चालाई सरकारी स्कुल पढ्दा र निजी स्कुलमा पढ्दाको अभिभावको सक्रियताको आकाश जमिनको प्रत्यक्ष संलग्नता पनि अवलोकन गर्न पाइन्छ। यसर्थ थोरबहुत घोकन्ते परिणम देखाएर अभिभावकको लगानीको प्रतिफल स्वरुप विद्यार्थीको प्राप्तांकको मुतको न्यानोको भावानात्मक शौदाबाजी गरेको देखिन्छ। निजी स्कुलमा पढ्ने विद्यार्थीको सामाजिक अन्र्तघुलन, कलाकारीता, मिहेनतिपन, सक्रियता, अत्माबल र समस्याहरुसँग जुझारुपन सरकारी विद्यालयका विद्यार्थीहरुमा भन्दा निराशाजनक अवस्था देखिन्छ।
राम्रो शिक्षा भनेको के होला? धेरै शुल्क तिर्नु? अंग्रेजी माध्यमबाट पढाउनु? राम्रो विषय ज्ञान या भाषा ज्ञान के चाहिँ होला? अनि राम्रो शिक्षाले विद्यार्थीको बुझाइ, सिर्जना, उद्यमशीलता र आत्मविश्वासको कति विकास गर्छ होला? हैन भने आफ्नै धरातलमा आफैलाई हेर्न अरुको स्वर्थ निहित चश्माले हेर्न सिकाउने कस्तो शिक्षा? आफू भएको मै हिनताबोध गराउने कस्तो शिक्षा? राम्रो शिक्षामा गरेको लगानीले कतिको राम्रो प्रतिफल दियो कि दिएन? आदि इत्यादि विविध आयमहरुबाट यसको उपयोगिताहरुको वृहत्तम बहसको आवश्यक छ होला।
बच्चा पढाउन सहर बस्ने बुहारी
राम्रो शिक्षाको खोजीको विकल्पका रुपमा विनिर्माण हुँदै गरेको नयाँ सामाजिक घटनाक्रम हो 'बच्चा पढाउन सहर बस्ने बुहारी।' परिवारको आर्थिक अवस्थालाई सुधार्न रोजगारीको लागि पर्देशीएका नेपाली युवाहरुको सपना भनेको सन्तानलाई राम्रो शिक्षा दिने हुन्छ। सरकारी शिक्षामा भएको चरम लापरबाहीको कारण निराशाजनक बनेको सरकारी शिक्षाको विकल्पको रुपमा सहर तथा स्थानिय बजार, चोक आदिमा खोलिएका अंग्रेजी माध्यमले पठनपाठन गर्ने बोर्डिङ स्कुलहरुमा बालबच्चा पढाउन बुहारीहरु सहर तथा स्थानिय बजारहरुमा डेरा गरी बस्ने चलनले व्यापक्ता पाउँदै गएको देखिन्छ। यसको शिक्षामा, परिवारमा, र समाजिकमा उपलब्धीहरुको सामजिक अध्ययनहरु पनि हुन थालेको देखिन्छ।
नेपालमा शिक्षा महंगो छ
सरकारले माध्यमिक तहसम्मको अध्ययनलाई बालबालिकाको आधारभूत अधिकारका रुपमा निशुल्क प्रदान गर्ने व्यावस्था गरेको छ। तर सरकारी विद्यालयहरुको निराशाजनक पढाइका कारण शिक्षा चेत भएका र आफूलाई थोर बहुत नवधन्याढ्य सम्झने अभिभावहरु आफ्ना बालबालिकालाई महंगो शुल्क तिरेर निजी स्कुलमा पढाउने गर्दछन्। एकथरी नवधन्याढ्य वर्ग भने लहै लहैमा नै प्रतिस्प्रधात्मक महंगोको स्कुलमा बालबालिकालाई कखरा चिनाउन कै लागि लाखौ खर्च गर्ने विलासी संस्कारले पनि जरा गाढ्दै गएको देखिन्छ। महंगो नै राम्रो भन्ने मानसिक्ताले गर्दा 'नेपालमा शिक्षा महंगो छ' भन्ने नयाँ बुझाइको विनिर्माण हुँदै गएको पाइन्छ।
नेपालको शिक्षा काम छैन
माध्यमिक शिक्षा पछि विदेशी विश्वविद्यालय तिर बालबच्चा पढाउने नवधन्याढ्य वर्गको पनि समाजमा राम्रै उस्थिति देखिन्छ। नेपाली भन्ने वित्तिकै हरेक कुरा गए गुज्रेकै हुन्छ भन्ने वितृष्णत्मक मानोविज्ञान विनिर्माण गर्ने माध्यमिक शिक्षाको प्रतिउत्पादनको रुपमा पनि लिन सकिन्छ। अर्को भनेको जब जागिरे शिक्षाबाट दिक्षित युवा जनशक्ति बेरोजगारीको मारमा तोरी झै पिसिन्छन् अनि उनीहरुमा यो निराशाजनक वितृष्णाको सिर्जना हुने गरेको पाइन्छ।
अब के?
सर्वप्रथम नेपाली शिक्षा प्रणालीलाई नेपाली समाजिक, सांस्कृतिक, वातावरणीय, बजार आदि सुहाउँदो मौलिक नेपाली शिक्षाको विकास गर्नुको विकल्प छैन। दोस्रो, के का लागि शिक्षा? भन्ने शिक्षाको उद्देश्य स्पष्ट हुनु जरुरी छ। अहिलेको नेपाली शिक्षा कुहिरोको काग जस्तो अल्मलिएको अवस्थामा छ। बालबालिकाको रुचि, क्षमता, उपलब्धता, अभिभावकको पहुँच, शिक्षित जनशक्तिको बजार आदि मध्यनजर गरी के, कस्तो, कहाँ, कसरी र कति लगानी गर्ने र त्यसको प्रतिफल के, कति हुने विषयमा स्पष्ट हुनु जरुरी छ।
यसका लागि आवश्यकता अनुसार सल्लाहा सुझाव, प्रशिक्षण, परामर्शको व्यावस्था गर्नु पर्दछ। हाल नेपाली शिक्षामा विद्यार्थीहरु परमर्शको अभावमा अल्मलिए छन्। के बन्न के पढ्ने, कहाँ पढ्ने, कसरी पढ्ने, कति खर्च लाग्छ र संभावित कमाइ के कति हुन्छ थाहै नपाइ उसै पढिदिनलाई पढिदिएका हुन्छन्। अभिभावक पनि अलमलमै राम्रो शिक्षाको पछि कागले कान लग्यो भनेर कागका पछि दौडे झै छन्। तसर्थ सही समयमा विद्यार्थी, अभिभावकलाई सही परामर्श गरी उत्पादनमुखी शिक्षा पद्धतिको विकास गर्नुको विकल्प छैन।