सामान्यतया बिना कतैको अवरोध परिवर्तन गर्ने क्षमता राख्नु या परिवर्तनको बाहक बन्न सक्नु एक स्वतन्त्र व्यक्तिको पहिचान हो। आफ्ना भिन्न खाले विचार या धारणा राखेमा, अन्याय अत्याचारको विरुद्ध आवाज उठाएमा त्यसलाई स्वतन्त्रताको लडाई भनेर पनि हामी भन्न सक्छौँ।
समाजमा सामाजिक प्राणी भएर बाँच्नको लागि सबै खालका सामाजिक समन्वयहरु आवश्यक पर्छन्। व्यक्तिका व्यक्तिगत स्वार्थी आकांक्षाले आफ्ना वरिपरि बस्ने अरु समुदायलाई व्यवधान नहोस् भन्ने कुरामा एक स्वतन्त्रताप्रेमी व्यक्ति सचेत हुनुपर्छ।
स्वतन्त्रता शब्दले आफैमा एउटा बलियो अर्थ बोकेको छ। संसारमा विभिन्न कालखण्डमा स्वतन्त्रताकै खातिर कयौँ योद्धाहरुले आफ्नो जीवन नै उत्सर्ग गरेका छन्। यसकारण पनि यो स्वतन्त्रता शब्दलाई राजनीतिसँग पनि जोडेर हेरिन्छ।
यही स्वतन्त्रताको कुरा गर्दा महिलाहरुले यो संसारमा पुरुष सरहकै मानव अधिकारभित्र पर्ने स्वतन्त्रताको उपभोग गर्न थालेकै धेरै भएको छैन जस्तो कि मतदानको अधिकार। यी र यस्ता अधिकारमा स्वतन्त्र भएर स्व-निर्णय गर्न सक्ने या गर्न पाउने स्वतन्त्रताबाट महिलाहरु बञ्चित नै थिए।
विभिन्न धार्मिक, सामाजिक, सांस्कृतिक, पारिवारिक संरचना र बन्धनहरुले महिलाहरुलाई यस्तरी गाँजेर राखेको थियो कि र अझै पनि छ र अहिलेको विश्वमा जतिसुकै समानता र न्यायको संविधान भएका समाजमा पनि महिलाहरु पुरातन सोच, मूल्य, मान्यताकै घेराभित्र छन् र कतिपय समाजमा महिलाहरुले यी बन्धनबाट मुक्त हुनको लागि बलिदानी संघर्ष गरेका छन्। कतिपय समाजमा क्रान्तीमा भाग लिदै सहजकर्ताको भूमिका पनि निभाएका छन्। हामी यस्ता कुराहरु इतिहासबाट पनि थाहा पाउन सक्छौँ।
महिला भएकैले उनका अभिव्यक्तिलाई अपरिपक्व, नजानेको, बौद्धिकता नपुगेको अझ स्थानीय भाषा शैलीमै पनि पोथी बासेको भनेर महत्व नदिने हाम्रो समाज छ। हुनुपर्ने थिथो, महिला र पुरुषभन्दा पनि एउटा मानवले समाजका समस्याप्रति कस्तो दृष्टिकोण राख्छ, त्यसको निराकरणको लागि के भूमिका खेल्छ भन्ने हो।
तर यहाँ अहिलेसम्म पनि महिलाका राजनैतिक भूमिकाप्रति राजनीतिकर्मी नै ससंकित हुने, अन्य कला, साहित्य, प्राविधिक पक्षमा पनि महिला भएकैले त्यति महत्व दिने चलन छैन्। विशेष गरेर भन्ने हो भने धार्मिक कट्टरतासँग गाँसिएका सामाजिक मूल्य मान्यताले त महिलालाई यति धेरै कानुन लगाईदिएको छ र ती कानुनमा हामी स्वयं व्यक्ति, परिवार, समाज यस्तरी गाँसिएका छौँ।
हाम्रा मन मस्तिष्क पनि आफैा महिला नै भए पनि यो के गरेको होला यसो गर्न हुँदैन भन्न पुग्छौँ, यदि ती समस्याहरु स्वतन्त्रतामा आधारित छन् भने। आजकल विचारका बाढी नै आईरहेछन्, फरक विचार, न्याय र समानतालाई लिएर,समाज बदल्ने विषयलाई लिएर। महिला र किशोरीका विचारहरुले पनि विभिन्न समाजमा तरङ्ग ल्याईरहेको छ। युवतीहरु आफ्ना जीवन नै कस्टडीभित्र राखेर पनि समाज बदल्ने मिसनमा भिडिरहेका छन्।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य उमा भुजेललाई फरक राजनीतिक विचार राखेकै आधारमा विगत आठ महिनादेखि थुनामा थिइन्। सर्वोच्च अदालतले उनलाई मुक्त गर्ने आदेश दिएको छ। टर्कीकी एक मानव अधिकारवादी वकिल, ईम्ब्रु तिम्तिक जो निष्पक्ष अदालतको माग राख्दै विगत ६ महिनादेखि भोक हड्तालमा थिइन्, राज्यले उनको सुनुवाई नै गरेन। अन्तमा उनको इस्तानबुल अस्पतालमा उनको मृत्यु भयो।
हालसालै भारतमा दुई युवतीहरु नताशा नारवाल दिल्ली हिंसा र अमूल्य लिनालाई एक कार्यक्रममा मञ्चमा सांसद बोलिरहेको ठाउँमा उक्लेर हिन्दुस्थान जिन्दावाद, पाकिस्तान जिन्दावाद भन्ने नारा लगाएको आरोपमा प्रहरीले गिरफ्तार गर्यो। यी दुई युवतीका पिताहरुमध्ये एक पिताले आफ्नी छोरीको साथ दिए भने अर्को पिताले आफूले सन्तान त्यागिदिएको र प्रहरीले उसको खुट्टा भाँचिदिए नि ह्न्छ भन्ने जस्ता अभिव्यक्ति दिए।
पिंजडा भत्काऔँ समूहकी अभियन्ता नताशा नारवाललाई दिल्ली प्रहरीले साम्प्रदायिक दंगामा भूमिका खेलेको अभियोगमा गिरफ्तार गरे। अमूल्याका बाबुले अमूल्याले भारतीयको भावनालाई चोट पुर्याएकोले आफूले उनलाई घरबाट नै निकालिदिएको घोषणा गरे।
संसारमा अझ विशेष गरेर दक्षिण एसियाली मुलुकमा जातिवादी, महिला विरोधी तथा अल्पसंख्यकप्रति उदासिनता देखिदै आएको परिस्थितिमा झन् यसरी महिलाहरुको विद्रोहलाई समाजले सहज रुपले पचाउने कुरा पनि भएन। अमूल्याका बाबुले आफ्नो अहममा पुगेको चोटलाई आफ्नै छोरी गलत भएकोले उसलाई त्याग्ने घोषणा गर्नु नौलो कुरा भएन्।
तर सबै बदलिदो समाज, बदल्नुपर्ने आवश्यकता आमूल परिवर्तनकारीहरुलाई एउटै नजरले हेर्दैनन भन्ने कुरा अर्की गिरफ्तार युवती नताशा नारवालका सत्तरी वर्षीय पिताको भिन्न सोचबाट पनि बुझ्न सकिन्छ। नताशाका बाबुको विचारमा यदि अमूल्याको विचारमा कुनै वर्गप्रत घृणा छैन, उनी साँच्चै मानवता र न्याय चाहन्छिन् भने उनलाई उनको परिवारले साथ दिनुपर्छ भन्छन्। कुनै महिलाका विचारलाई ‘र्याडिकल’ भनेर उसमाथि जाईलाग्नु सही होइन र सबैभन्दा महत्वपूर्ण यो हो कि र्याडिकल हुनु देशद्रोही हुनु होइन।
यसरी पितृसत्तात्मक समाजमा कुनै पनि सामाजिक समस्यामाथि महिला भएकैले आफ्नो विचार राख्दा कि उनी नावालक,नासमझ रहेको या काम नलाग्ने र अबौद्धिक रुपमा जानिन्छिन्।
नताशाका बाबु महाविरको विचारमा तपाई परिवारमै पनि आफ्नो छोरीसँग सहमत या असहमत हुन सक्नुहुन्छ। जस्तो कि उनको विचारमा परिवर्तन वृहत रुपमा हुनुपर्छ तर उनकी छोरी नताशाको विचारमा परिवर्तन साना साना चरणबाट आउनुपर्छ। महावीरको विचारमा एक पिता भएको नाताले उनले आफ्नी छोरीबाट धेरै नयाँ कुरा सिकिरहेका हुन्छन्। उनलाई आफ्ना वरिपरिका महिलाहरुबाट सिक्न केही पनि अप्ठयारो लाग्दैन्। उनी जेलमा रहेकी आफ्नी छोरीको साथमा उभिएका छन् र अमूल्याको परिवारले पनि उनलाई साथ दिनुपर्ने उनको विचार छ।
त्यस्तै अर्को स्वतन्त्रताको विचारको कुरा गर्दा इरानकी महिला अधिकारकर्मी सावा कोर्डलाई इरानी सरकारले महिलाहरुले हिजाब लगाउनुपर्ने अनिवार्य कानुनको विरुद्धमा बोले बापत र ह्वाइट सन्डे नामक क्याम्पेनमा सहभागी भएबापत २४ वर्षको जेल सजाय सुनाएको छ। २० वर्षीय सावा कोर्डको पक्षमा अहिले कयौँ महिला अधिकारकर्मीहरुले एैक्यवद्धता र प्रदर्शन गरिरहेका छन्।
उनले उक्त आन्दोलनमा टाउकोमा स्कार्फ तथा हिजाब बिना नै भिडिओहरु बनाएर पोस्ट गरिरहेकी थिइन्। बाध्यकारी हिजाब कानुनको विरुद्धमा झण्डै ४९ प्रतिशतको समर्थन रहेको विभिन्न सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। इरानी प्रहरीले सन् २०१८ को फेब्रुअरीमै यस क्याम्पेनलाई निषेध गरेको थियो। सावालाई भ्रष्टाचार तथा वेश्यावृतिलाई बढावा दिइएको अभियोग लगाइएको थियो।
सावा लगायत महिला अधिकारकर्मीहरुको आवाज छ, राज्यले महिलाको आफ्नो शरीरको पहिरनको विषयमा बाध्यकारी धारणा बनाउने हो? महिलालाई हिजाब तथा स्कार्फ अनिवार्य गरेपछि उनीहरुको सार्वजनिक जीवनमा कडी लगाइएको उनीहरुको भनाइ छ।
रसियाकी पत्रकार स्वेतलाना प्रोकापिभालाई अदालतले सजाय सुनाएको छ। उनलाई पनि एक किशोरले संघीय सुरक्षा सेवाको भवनमा बम वर्षा गरेको विषयमा आफ्नो धारणा राखेबापत प्रहरीले आतंकवादी तथा अतिवादीको रुपमा प्रस्तुत गरेको थियो। स्वेतलानाको विचारमा रसियाको नियन्त्रित नीतिहरु, स्वतन्त्र र निष्पक्ष चुनाव नहुनुले समाजमा कुण्ठा बढेको भन्ने अभिव्यक्तिलाई लिएर प्रहरीले आतंकवादी र अतिवादीको सुचिमा राखेर उनको अपार्टमेन्टमा खानतलासी पनि गरिएको थियो।
सरकारी अधिवक्ताले उनलाई ६ वर्ष जेल सजाय, चार वर्ष पत्रकारिता गर्न नपाउने, देश छोडेर अन्यत्र जान नपाउने जस्ता सजायको माग राखेका थिए। अदालतले पाँच लाख रुवल जरिवाना तोकेको छ। उनको अभिव्यक्ति स्वतन्त्रतालाई लिएर पनि विभिन्न पत्रकारितासँग सम्बन्धित व्यक्ति र संस्थाहरुले आवाज उठाईरहेछन्।
यसरी यी माथि उल्लेखित महिला अभियन्ताहरुले अहिलेको समाजमा भएका सामाजिक, विकृति, विसंगति, राजनैतिक माहौल आदिलाई लिएर आफ्नो धारणा, सहभागिता देखाउने, भिन्न मत राख्ने गर्दा आफैं सजायको भागिदार पनि भएका छन्। यी प्रतिनिधि पात्रहरुका अभिव्यक्ति सरर हेर्दा त्यस्ता अमानवीय, षडयन्त्रले भरपूर र आतंककारी पनि लाग्दैनन्।
इतिहास पनि विभिन्न असाधारण व्यक्तित्वका अभिव्यक्तिहरु र सो अभिव्यक्तिमा आधारित भएर बनाइएका नीति नियमहरुमा बाँधिएर नै अहिलेका वृहत समाज निर्माण हुन सघाउ पुगेको छ। आफ्ना विचारको अभिव्यक्तिलाई कसैले ग्रन्थको रुपमा विश्वसामु प्रकाशन गर्छन् भने कोही आफ्ना विचार अभिव्यक्ति सहित नेतृत्व तहमा पुगेर शासन गर्छन्।
विश्वमै अलि फरक भनेको महिलाहरुका दासता विरोधी, व्यक्तिगत र महिला अधिकारजन्य, आफ्ना धारणाको बुलन्दीलाई भने समाज र राज्यका शक्तिजन्य निकायहरुले सजिलै स्वीकार्न सकिरहेका छैनन्। त्यसैले महिलाका आफ्ना अभिव्यक्ति समाजसामु ल्याउन पनि धेरैतिरबाट मानसिक, शारीरिक, सामाजिक, आर्थिक दवावको बारेमा विचार गर्नुपर्ने अवस्था छ।
त्यसैले स्वविचारका कुराहरु हुन, उपयोगी लाग्छन् भने बहस अगाडि बढाऔँ छैनन् भने र मानवता विरोधी, समाज विरोधी लाग्छन् भने पनि अर्को विचारबाट त्यस्ता विचारलाई परास्त गरौं। महिलाहरु पनि मानव हुन उनीहरुको पनि व्यक्तिगत धारणा हुन्छ, स्वतन्त्र अभिव्यक्ति हुन्छ। गैरन्यायिक, स्वार्थी, वर्ण तथा जातियता, वर्गजन्य विचारलाई, न्यायिक, मानवीय, विभेदमुक्त, समानताको विचारले परास्त गरौं। मतहरु फरक हुन सक्छन्, आफ्नो मत सही अर्कोको मत केही न केही नभनौँ।