'सर, के म भित्र आउन मिल्छ? अरू कसैले म यहाँ आउन लगेको देख्नुभो भने त मार्नुहुन्छ।'
धमिरे विज्ञान प्रयोगशालामा मुसाहरूले गरिरहेको रजाइँ हेर्दा झस्केको म एउटा हड्बडिएको र डराएको आवाज कानमा पर्दा तरंगित हुनु स्वाभविक थियो। लाग्यो यहाँ त जिज्ञासु विचार र प्रयोगहरूको पो रजाइँ हुनुपर्ने हो, होइन र? यस्तो ठाउँमा त्रसित आवाज कसरी गुञ्जिए?
म 'टिच फर नेपाल' को प्रज्ञार्थीका रूपमा दुई वर्ष तनहुँको एउटा सामुदयिक विद्यालयमा स्वयंसेवी शिक्षक बनेर गएको थिएँ। विज्ञान पढाउने जिम्मेवारी मेरो भागमा पर्यो। त्यही सिलसिलामा यस्ता दृश्य र वास्तविकता मेरो सामुन्ने आए। विद्यार्थीहरू मानसिक रूपमा निकै प्रताडित भएको पाएँ। न उनीहरू मनको कुरा प्रस्ट राख्न सक्थे, न आफूभित्रको क्षमता प्रस्फुटन गर्न सक्थे। घोकन्ते पारामा पढाइने विज्ञान उनीहरू दिक्क मान्थे।
यी सबै निराशाबीच एउटा आशाको झिल्का भने थियो- त्यही धमिराको घरजस्तो विज्ञान प्रयोगशाला।
विज्ञान विषय रोचक र प्रयोगात्मक बनाउन त्यही धमिरे प्रयोगशालालाई पुनर्जीवन दिनसके केही नौलो सुरूआत हुनसक्छ भन्ने मलाई लाग्यो।
विद्यालय प्रशासनसँग करिब महिनादिनको छलफल र सहकार्यपछि मैले त्यो प्रयोगशला फेरि सञ्चालन गर्ने निधो गरेँ। यति गर्दासम्म मैले उक्त विद्यालयमा काम गर्न थालेको तीन महिना भइसकेको थियो। विद्यार्थीहरू म र मेरो विषयमा चासो राख्न थालेका थिए। अझ भनौं, विज्ञानसँग झ्याम्मिसकेका थिए।
म विद्यार्थीहरूलाई प्रयोगशालामा हुनुपर्ने नियम, ध्यान दिनुपर्ने कुराहरू, आचारसंहिता र खोज-अनुसन्धानका विधि सिकाउन थालेँ। उनीहरूकै सक्रियतामा प्रयोगशालालाई नयाँ रूप दिएर निरन्तर प्रयोगात्मक कक्षा सञ्चालन गर्ने थालेँ।
हामीले धमिरालाई विद्यालयबाहिर डेरा खोज्न बाध्य पारिसकेका थियौं।
यसरी विद्यार्थीहरूमा आफ्ना कुरा प्रस्ट राख्न र जस्तोसुकै प्रतिप्रश्न ढुक्कसँग सोध्न सक्ने वातावरण बन्दै गयो। उनीहरू दैनिक प्रस्तुतीकरण, श्रव्यदृश्य बनाउन, साथीहरूमाझ प्रतिप्रश्न गर्न, अप्ठ्याराहरू प्रतिविम्बन गर्न र आफूले सिकेका कुरा परिवार र समाजलाई बुझाउन उत्प्रेरित हुन थाले।
कुनै पनि प्रश्न आफैंमा सही वा गलत हुँदैन भन्ने पनि मैले बारम्बार बुझाउन थालेँ। संसारका ठूल्ठूला खोज सामान्य जिज्ञासाबाटै सुरू हुन्छन् भन्ने म बुझाउन चाहन्थेँ। कहिलेकाहीँ त म दिनभरी पनि उनीहरूका प्रश्नको उत्तर दिएर सक्दिनथेँ। ती प्रश्नमाथि विद्यार्थीहरूबीचमै गहिरो छलफल गराउँथेँ। यसले विद्यार्थीहरू घन्टौं छलफल र बहसमा केन्द्रित हुन्थे।
यही छलफलको धरातलबाट पहिलो वर्षको मध्यतिर हाम्रो विद्यालय तहको विज्ञान खोज-अनुसन्धान समूह सुरू भयो। त्यहाँ विद्यार्थीले पाठ्यक्रममा भएका विज्ञानका प्रयोगात्मक पाठ आफैं खोजतलास गर्न र उत्तर आफैं खोज्न थाले। कहिले विद्युत परिपथको नमूना बनाउँथे, कहिले टेलिस्कोप त कहिले बायोलोजीका प्रक्रियाको नमूना।
करिब आठ महिनामा समुदायसँग जोडिएका विभिन्न शीर्षकमा अनुसन्धान गर्ने टोली तयार भइसकेको थियो। करिब पाँच महिनाअघिसम्म यो कसैको सोचमा समेत थिएन।
दोस्रो वर्षको सुरूआती दिनदेखि नै थुप्रै नयाँ-नयाँ खोज-अनुसन्धान गर्ने र पढ्ने-पढाउने योजना बनेका थिए। विद्यार्थीहरू पनि चार, पाँच हुँदै करिब २० जना पुगेका थिए। उनीहरू औधि रमाएर सिक्ने वातावरण बनेको थियो। तर, चैतमा अन्तिम परीक्षाको तयारीपछि विद्यालय एकाएक बन्द गर्नुपर्ने भयो। कोरोना कहरले विद्यार्थी र हाम्रो प्रत्यक्ष भेटघाट हुन दिएन।
महामारीले निम्त्याएको संकटबीच हामीलाई विज्ञान खोज-अनुसन्धान प्रयोगशालाको भविष्य के होला भन्ने चिन्ता एकातिर थियो भने अर्कातिर सम्भावनाका थुप्रै आशा जीवित थिए।
करिब महिना दिन पुग्यो। भाइरस चीन हुँदै भारत र भारत हुँदै नेपालमा छिटपुट रूपमा देखिन थाल्यो। सारा विश्व महामारीले आक्रान्त भइरहेको अवस्थामा सामुदायिक विद्यालयहरू दिनदिनै नाजुक हुँदै गए। शिक्षा मन्त्रालय नै विद्यार्थीको सिकाइलाई कसरी निरन्तरता दिने र प्रभावकारी बनाउने भन्नेमा अलमलिएको देखियो। सामुदयिक विद्यालयका शिक्षकबीच दुरसिकाइ सम्भव छैन भन्ने धारणाले विद्यार्थीहरू निरन्तर सिकाइबाट वञ्चित हुनुपरेको तितो यथार्थ देख्न सकिन्थ्यो।
यसैबीच अन्य केही प्रश्न पनि थपिए- के हामी शिक्षकले यो अन्यौलबीच आफ्नो अभिभावकत्व निर्वाह गर्यौं त? जसरी म मेरा छोराछोरी, भाइबहिनीहरूको भविष्यबारे चिन्तित छु, के त्यसरी नै हिजो मैले सुनौलो भविष्यको सपना देखाएर यात्रामा सँगै डोर्याएका हातहरूका बारेमा चिन्तित हुन जरुरी छैन?
के शिक्षक भनेको किताबी ज्ञानको रटान गराउन र तीन घन्टाको देवत्यरूपी मूल्यांकनका लागि मात्र हो?
विद्यालय जान नपाउनुको पीडा, साथीभाइसँग खेल्न नपाउनुको पीडा, चार पर्खालभित्र कुँजिनुको पीडा र सबभन्दा त, के भइराखेको छ भन्ने थाहा नहुनुको पीडाबीच ती कलिला विद्यार्थीहरूलाई दिशा दिन हामीले नेतृत्वदायी भूमिका खेल्न जरुरी छैन?
यी र यस्तै यावत् सोचले आक्रान्त पार्दै गर्दा वैशाखमा हामीले पहिलो पुनर्जीवन दिएको त्यो प्रयोगशाला याद आयो। त्यसको महत्व झन् बढेको महशुस भयो। शिक्षक मात्रै नभएर एउटा अभिभावकको जिम्मेवारी बोध भयो। मैले आफ्ना एक-एक विद्यार्थीलाई फोन सम्पर्क गर्न थालेँ। केही रमाइला कुरा भए, केही दुःखपीडा बाँडिए। केही परिवारका समस्या अनि केही विदेशमा रहेका आशाका पात्रबारे पनि चर्चा भए।
पहिले शिक्षकले घरमा फोन गर्दा तर्सिने नानीबाबुहरू अहिले खुलेर समस्या र मनको पीडा पोख्न थाले।
मैले एक कल गरेर 'केही समस्या पर्यो भने भन है' भन्दा ‘के गरौं, कसो गरौं’ भन्ने केटाकेटीले अहिले एक हदसम्म राहत महशुस गरेको आभाष गर्न थालेँ। हामी ठूल्ठूला पढाइका कुरा गर्छौं, तर समस्यामा फसेका विद्यार्थीलाई एक कल फोन गरेर उनीहरूको समस्या सुनिदिन, त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न सिकाउन र साथ दिन पनि एक हदसम्म तरकिब चहिने रहेछ।
महामारीमा विभिन्न देशहरू वैज्ञानिक खोज र अनुसन्धानमा लागिरहेका बेला मेरा विद्यार्थीलाई पनि खोज र अनुसन्धानको कथा सुनाउने र घर वरपर नै रहेको खुल्ला समाजलाई प्रयोगशाला मानेर खोज-अनुसन्धान बढाउने उपायहरू सिकाएँ।
टिच फर नेपालले काम गर्दै गरेका सात जिल्लामध्ये मेरो विद्यालय दुर्गममध्यको सुगममा पर्छ। इन्टरनेट पहुँच सहज नभए पनि फोनको डेटासम्म प्रयोग गर्न सक्ने विद्यार्थी छन् मेरो विद्यालयमा।
समस्या निरन्तर आउँछन्, तर त्यसलाई सामना गरेर अगाडि बढ्न सक्नेले मात्र यो धर्तीमा टिक्न सक्छ। सायद चार्ल्स डार्विनले भनेको 'सर्भाइभल अफ द फिटेस्ट' यही होला। मैले यही कुरा विद्यार्थीहरूलाई सिकाउँदै अगाडि बढाउन थालेँ। यसका लागि मध्यमवर्गीय विद्यार्थीको पहुँचबारे बुझ्न थालेँ। केही विद्यार्थीसँग इन्टरनेट प्रयोग गर्ने क्षमता भएको पाएँ। कोही टिभी र रेडियो भएका त कोही फोन मात्रै भएका र कोही फोन पनि नभएका थिए। यी सबै आधार विश्लेषण गरेर आवश्यकताअनुसार सहयोग गर्न थालेँ।
इन्टरनेट प्रयोग गर्न सक्नेलाई हरेक दिन बिहान जुममा कक्षा लिन्थेँ। टिभी र रेडियो भएकाहरूलाई हेर्न-सुन्न लगाउने मात्र होइन, बरू के के सिक्यौ भनेर थप प्रश्नसहित फलोअप कल र छलफल गर्थेँ।
फोनबाट सम्पर्क हुनेलाई मेसेजबाट पाठ्यक्रमसँग जोडेर खोज गर्न उत्प्रेरित गर्थेँ। फलोअप निरन्तर जारी राख्थेँ। अनि कुनै पनि तरिकाबाट सम्पर्क हुन नसक्नेका लागि 'समुदायमा विद्यार्थीकै नेतृत्व' नामक कार्यक्रमबाट सम्पर्क राख्थेँ। उनीहरूलाई कोरोना तथा अन्य अतिरिक्त सिकाइ, बुझाइ र सहयोग गर्ने कार्यक्रम पनि सुरू गरेँ।
यी विभिन्न प्रयासबाट अहिले हामी विद्यालय बन्द भएको पाँच महिनापछि ५० जनाभन्दा धेरै विद्यार्थीलाई निरन्तर सिकाइको प्रक्रियामा सहभागी गराइरहेका छौं। म लगायत मेरा १३७ जना प्रज्ञार्थी साथीहरू मिलेर भरमग्दुर प्रयास गरिरहेका छौं।
विद्यालय जान नपाउँदा र प्रयोगशालामा काम गर्न नपाउँदा पनि हाम्रा कति विद्यार्थी सामाजिक समस्यामा आधारित रहेर, समाजका विभिन्न व्यक्तिसँग अन्तर्क्रिया गर्दै र त्यसलाई पाठ्यक्रमसँग जोड्दै खोज-अनुसन्धान गरिरहेका छन्। यस प्रक्रियामा आवश्यक आर्थिक, मनोवैज्ञानिक, सामाजिक तथा पाठ्यक्रमसँग सम्बन्धित सहयोग हामी आफैंले खोज्दै र गर्दै आएका छौं।
यसैको फलस्वरूप आज हाम्रा केही विद्यार्थी एसियाबाटै युनेस्कोमा आफ्नो खोज-अनुसन्धानबारे प्रस्तुति दिने प्रतिनिधि बन्न सफल भएका छन्। केही 'रिसर्चरस् नाइट इन स्वीडेन' जस्ता कार्यक्रममा व्यस्त छन्। यस क्रममा हामी विभिन्न अन्तर्राष्ट्रिय (बेलायत, स्वीडेन, स्पेन, अमेरिका) खोजकर्ता, शिक्षक तथा विद्यार्थीहरूसँग हाम्रा विद्यार्थीलाई अन्तर्क्रिया गराइराखेका पनि छौं। उनीहरू अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न, आफ्ना कुरा निर्धक्क राख्न, सोध्न र आफ्नो क्षमता पहिचान गरी निर्धक्कसँग सफलताको बाटोमा अगाडि बढ्न अभिप्रेरित भइरहेका छन्।
हामीले विद्यार्थी र उनीहरूको परिवारलाई कोरोना भाइरसको मनोवैज्ञानिक त्रासबाट मुक्त भई सजगतासाथ अगाडि बढ्नुपर्छ भन्ने सिकाइरहेका छौं। पहिले प्रयोगशालाजस्तै दुई-तीन जना गर्दै अहिले ५०-६० जना विद्यार्थी यसमा सहभागी छन्। उनीहरू पालैपालो गरी सातामा दुईचोटि फोनमा र जुममा आउँछन्। केही नयाँ कुरा सिक्छन्। नबुझेको सोध्छन्। पछिल्लो साताको गृहकार्य र आफ्न काम बुझाउँछन्। अनि केही रमाइला पारिवारिक गफसँगै कहिले खेतबारीको त कहिले दाउराघाँसको रमाइलो कुरा गर्दै केही नयाँ कुरा सिकेर पनि जान्छन्।
म आफैं पनि अहिले गुल्मीकोे यस्तो भेगमा छु, जहाँ डेटाप्याक किनेर खेतको डिल त कहिले घरको आँगनमा बसेर विद्यार्थीको सिकाइलाई निरन्तरता दिने प्रयास गरिरहेको छु। प्रविधिलाई समय-समयमा धन्यवाद दिँदै।
कोरोना भाइरस हाम्रा लागि पक्कै अभिशापका रूपमा आएको छ। यस्तो बेला धेरै पछाडि परेको सामुदयिक शिक्षा क्षेत्रको नेतृत्व गर्ने हामी अभिभावकरूपी शिक्षकहरू चुप लाग्यौं भने हाम्रा विद्यार्थीको के हालत होला?
प्रविधि छैन, पहुँच छैन, विद्यार्थीमा प्राविधिक ज्ञान र क्षमता छैन भनेर बस्न त सजिलो छ तर यति हुँदाहुँदै हामीले ती विद्यार्थीलाई कस्ता कुरा सिकायौं त? के बुझायौं त? उनीहरूसँग जोडिन के प्रयास गर्यौं त?
गोरेटो लामो छ। बाटो अप्ठ्यारो छ तर एक पाइला सँगै हिँडौं। जति सकिन्छ त्यति गरौं। जसरी सकिन्छ त्यसरी गरौं। हामीले विगतमा गर्न नसकेको सिकाइ प्रक्रियाको रूपान्तरण गर्ने यो सुनौलो अवसर पनि हो। स्वास्थ्य भनेको पहिलो कुरा हो, तर हामीले अगाडि बढ्नैपर्छ।
धमिरे प्रयोगशाला एउटा सिकाइ केन्द्र बन्न सक्छ भने इच्छाशक्ति भए यही महामारी सामुदायिक विद्यालय र विद्यार्थीमाझ प्रविधि र नयाँ तवरबाट सिकाइ पुर्याउने सुनौलो अवसर बन्न नसक्ला र?
(कंणेल टिच फर नेपालको प्रज्ञार्थीका रूपमा तनहुँको सरस्वती नमूना माविमा कार्यरत छन्।)