केही वर्ष अगाडिसम्म निश्चित जातले खान नहुने भनेर वर्णन गरिएको प्याजको खपत पछिल्ला वर्षहरुमा बढ्दै गएको पाइन्छ। आजकाल प्रायः भान्सामा प्याज र टमाटर बिना भान्सा करिब अपूरो हुने स्थिति आईसकेको छ।
विश्वका विभिन्न ठाउँमा उपयोग हुने प्याजका विभिन्न प्रजाति मध्ये नेपाल लगायत दक्षिण एसियामा उपभोग हुने रातो पिरो खालको प्याज हो। यो प्रजातिको प्याज खानामा स्वाद बढाउने प्रोजनको लागि प्रयोग गर्ने गरिएको छ। केही वर्ष अगाडि विशेष दिनहरुमा मिठो मसिनो बनाएर खाँदा मात्र प्रयोग हुने प्याज अचेल दैनिकी नै बनेको छ।
नेपालमा प्याज खेतीको अवस्थाको विश्लेषण गर्दा विगत ५ वर्षमा प्याजको उत्पादन वार्षिक २० देखि २१ हजार हेक्टर क्षेत्रफलमा करिब दुई लाख पचास हजारदेखि तीन लाख मेट्रिक टनको हाराहारीमा हुँदै आएको सरकारी तथ्यांकहरुमा पाइन्छ। यसरी उत्पादन भएको प्याजको औशत ४० रुपैयाँ प्रति केजीका दरले मूल्यमा हिसाब गर्ने हो भने करिब नौ अर्बको प्याज स्वदेशमै वार्षिक रुपमा उत्पादन भएको देखिन्छ।
नेपालमा तराईका जिल्लाहरु विशेषगरी सर्लाही, बारा, पर्सा, सिराहा, सप्तरी, महोत्तरी, रौतहट लगायत जिल्लाहरुमा हिउँद याममा प्याजको खेती गर्ने गरिएको छ। तर यो उत्पादन नेपालमा प्याजको वार्षिक मागको करिब ३५ देखि ४० प्रतिशत मात्र हुन आउँछ। यसरी हेर्दा नेपालमा आवश्यक मध्ये ६० देखि ६५ प्रतिशत प्याज आयातमा निर्भर रहेको देखिन्छ।
नेपालमा आयात हुने प्याजको ठूलो हिस्सा भारतबाट तथा केही चीनबाट हुने गरेको छ र थोरै परिमाणमा प्रशोधित प्याज अन्य देशहरुबाट समेत आयात हुन्छ। भारतमा उत्पादन हुने प्याज पिरो खालको हुने र नेपाली खानाको स्वादमा यस्तो प्याज रुचाइने हुनाले भारतीय प्याजले नेपालमा व्यापकता पाएको हुनसक्छ। अर्कोतर्फ भारत आफैँमा विश्वमा सबैभन्दा धेरै प्याज उत्पादन तथा निर्यात गर्ने देश पनि भएकाले यसको स्वतः प्रभाव नेपालमा परेको हो।
तर भारतले आफ्नो उत्पादन तथा बजारको अवस्था हेरेर विभिन्न समयमा प्याजको निर्यातमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ। छिमेकी मुलुक चीन पनि विश्वमै धेरै प्याज उत्पादन गर्ने मध्ये एक मुलुक भए पनि चिनियाँ प्याज गुलियो प्रकृतिको सलाद खाने खालको हुने हुनाले नेपालमा केही मात्रामा आयात र प्रयोग भएतापनि भारतीय प्याज जस्तो व्यापक उपभोग हुँदैन।
नेपालमा प्याज उत्पादन वृद्धिका समस्या:
गुणस्तरीय बीउ
नेपालमा वार्षिक करिब १५ मेट्रिक टन प्याजको बीउ उत्पादन हुने गरेको पाइन्छ तर नेपालको कुल प्याज खेती हुने क्षेत्रफलमा करिब दुई सय नौ मेट्रिक टन गुणस्तरीय प्याजको बीउ आवश्यक पर्छ र अझ प्याजको क्षेत्रफल विस्तार गर्ने हो भने सोही अनुपातमा अझै धेरै बीउ आवश्यक पर्छ र यो माग स्वदेशी उत्पादनले अहिलेको अवस्थामा धान्न मुस्किल छ।
नेपालमा उत्पादन भएको बाहेक बाँकी आवश्यक प्याजको बीउ विदेशबाट आयात हुने गरेको छ तर भारतले भने प्याजको बीउ निर्यातमा विगत देखिने पूर्ण रुपमा प्रतिबन्द लगाउँदै आएकाले भारतबाट औपचारिक आयात हुँदैन। तर खुल्ला सिमानाका कारण अनौपचारीक हिसाबले ठूलै परिमाणमा गुणस्तर नियमन नगरिएका बीउ नेपाल छिरेर अवैध ढंगले विक्री वितरण र सोबाट प्याज उत्पादनका लागि आवश्यक बीउको माग थेगिने गरेको छ।
नेपालमा सरकारी स्तरमा प्याजको बीउ लगायत तरकारी बीउ उत्पादन गर्न रुकुम पश्चिममा एक मात्र फार्म केन्द्र रहेको छ तथापि सानो क्षेत्रफलका कारण त्यहाँ निकै कम परिमाणमा मात्र बीउ उत्पादन हुने गरेको छ। सिड टु बल्ब तथा बल्ब टु सिड गरी दुई सिजन लगाई प्याजको बीउ उत्पादन गर्न दुई वर्ष लाग्ने र तथा अनौपचारिक हिसाबले बजार प्रवेश गर्ने न्यून गुणस्तरका बीउसँग मूल्यका हिसाबले प्रतिस्पर्धी नहुने भएकाले नेपालमा निजी स्तरमा किसान तथा उद्यमीहरु प्याजको बीउ उत्पादनमा आकर्षित हुन सकेका छैनन्।
प्याजको क्षेत्रफल विस्तार गर्न समस्या
नेपालमा विशेष गरी तराईको सिंचित क्षेत्रनै प्याज उत्पादनको लागि क्षेत्र विस्तार गर्न सकिने सम्भाव्य ठाउँ हो। हाल नेपालको तराईमा ठूलो जमिनको हिस्सा वर्षामा धान रोपेर बाली भित्राएपछि सिंचाईको असुबिधाका कारण खाली रहने गरेको छ जुन ठाउँमा सिंचाईको प्रबन्ध बिना प्याज खेती विस्तार सम्भव छैन तथा सिंचित क्षेत्रमा समेत गहुँ र अन्य तरकारी तर्फ किसानको आकर्षण धेरै छ।
सिंचित क्षेत्रमा किसानहरु प्याज खेतीमा आकर्षित नहुनुमा भारतसँगको खुल्ला बजारका कारण भारतमा प्याजको मूल्यमा आउने उतारचढावले नेपाली बजार प्रत्यक्ष प्रभावित हुनु रहेको छ। हिउँद याममा उपयुक्त मौसम भएको अवस्थामा भारतका महाराष्ट्र लगायत प्याज उत्पादन हुने मुख्य प्रदेशहरुमा प्याजको मूल्य ज्यादै न्यून हुन गइ लगानी समेत नउठेर किसानले आत्महत्या समेत गरेका समाचार सुनिने गरेको छ।
यसरी भारतीय बजारमा प्याजको मूल्यमा गिरावट आउँदा नेपालमा उत्पादित प्याजको मूल्य समेत सोही हिसाबले प्रभावित हुन्छ र यसकारण हुने मूल्य अनिश्चितताले गर्दा किसानहरु तुलनात्मक रुपमा सुरक्षित बालीतर्फ आकर्षित हुनु स्वाभाविक पनि छ।
प्रविधि
भारतमा अहिले मुख्य सिजन- रवी र बेमौसमी- खरिफ गरी दुई सिजनमा प्याज उत्पादन गर्न सकिने प्रविधि विकास भइ सकेको छ भने उत्पादकत्व समेत नेपालको तुलनामा धेरै नै रहेको छ। तर नेपालमा हिउँदमा एक सिजमा मात्र व्यावसायिक प्याज खेती गर्न प्रविधि उपलब्ध छ र उपलब्ध प्याजका जातहरु समेत पुराना र अन्य देशका तुलनामा न्यून उत्पादन दिने मात्र छन्।
अझ प्याज र प्याज बीउ उत्पादन हुने क्षेत्रमा प्याजको ढुसीजन्य रोग, पर्पल ब्लचको प्रकोप रहेको छ जसले उत्पादन तथा उत्पादकत्वमा समस्या पर्ने गरेको छ।
नेपालमा मुख्य सिजनमा उत्पादन हुने प्याज वैशाख जेष्ठमा खनिन्छ तर प्याजलाई भण्डारण गर्न २५-३० डिग्री सेन्टीग्रेड तापक्रम र ६५-७० प्रतिशत सापेक्षित आद्रतामा नेचुरल भेन्टिलेसनमा भण्डारण गर्न सकिने भएपनि यो समयमा तराईमा यो अवस्था उपलब्ध हुँदैन र कोल्ड स्टोरमा प्याज भण्डारण गर्न विशिष्ठिकृत संरचना आवश्यक हुने भएकाले सो संरचानाको निर्माण र संचालन व्यावसायिक नहुने अवस्थामा स्थानीय स्तरमा प्याज भण्डारण गर्ने प्रविधि नेपालमा उपलब्ध नभएकाले समेत किसानहरु प्याज खन्ने बितिक्कै जतिसुकै मूल्यमा भएपनि बेच्न बाध्य छन्।
अब के त?
विगतमा प्याज खेती प्रवर्द्धन गर्न संचालन भएका मिसन कार्यक्रम लगायत अन्य कार्यक्रमका कमजोरीहरुको विश्लेषण गरी प्याजको गुणस्तरीय बीउ उत्पादन गर्न प्रोत्साहन गर्ने, तराईका असिंचित क्षेत्रमा सिंचाईको प्रबन्ध सहित प्याज खेती प्रोत्साहन गर्ने, प्याजको खेती प्रवर्द्धन गर्न आवश्यक प्रविधि विकास वा आयात गरेर प्रमाणीकरण पश्चात किसान माझ लैजाने तथा बजार व्यवस्थापन र मूल्यको सुनिश्चितता गर्ने किसिमका कार्यक्रमहरुमा तीनै तहका सरकार मिलेर काम गर्नु नै आजको आवश्यक्ता हो।
(लेखक राष्ट्रिय आलु तरकारी तथा मसलावाली विकास केन्द्र, कीर्तिपुरका वागवानी विकास अधिकृत हुन्।)