जब कोभिड १९ को सङ्क्रमणबाट नेपाल पनि अछुतो रहन सकेन, तब शैक्षिक क्षेत्रमा यसले पारेको असरका बारेमा विभिन्न व्यक्तिहरुको भिन्नभिन्न विचारहरु सामाजिक सञ्जालमा छरपष्ट हुन थाले।
सबैले आफ्नो ज्ञानअनुसार यसको पक्ष र विपक्षमा धारणा सार्वजनिक गरिनै रहे। गाउँगाउँमा इन्टरनेटको पहुँच नै छैन, जहाँ फोन त लाग्दैन अनलाइन कक्षा कसरी चल्छ? मान्छेलाई बिहानबेलुका हातमुख जोर्नै कठीन भइरहेको छ, मानसिक रुपमा सबैजना त्रस्त छन्, ल्यापटप, मोवाइल र ट्याब्लेट कसरी किन्न सकिन्छ?
के शिक्षा हुनेखाने र पहुँच भएका मान्छेका लागि मात्र हो? यो अनलाइन शिक्षा कुनै हालतमा सम्भव छैन, पहिले रोगसँग लडौँ, एक वर्ष नपढेर के नै बिग्रन्छ र? भन्ने कुरा जताततै छाइरह्यो।
यसबाट हाम्रो सुनगाभा कलेज पनि अछुतो रहन सकेन। पूर्वी चितवनमा सूचना प्रविधि पढाइ हुने कलेज भएको नाताले सामाजिक सञ्जालहरुमा छरप्रष्ट विचारहरुलाई गहन तरिकाले हामीले नियालिरह्यौँ।
हाम्रा सरोकारवाला साथीसँग छलफल चलाइरह्यौँ, हामीसँग भएका स्रोत र साधनहरुलाई कसरी उच्चतम् प्रयोगमा ल्याउन सकिन्छ भनेर दिनहुँ योजना बनाउँदै गइयो।
अरु तमाम् विदेशी र स्वदेशी शैक्षिक संस्थाहरुले प्रयोगमा ल्याएका टेक्नोलोजी र यसका सकारात्मक तथा नकारात्मक पक्षको बारेमा खोजि गरिरह्यौँ र हामीले हामीसँग विगत २ वर्षदेखि नै प्रयोगमा भएको office365 अकाउण्ट अन्तर्गत माइक्रोसफ्ट टिम्स एप्लिकेसनको बारेमा सम्पूर्ण शिक्षक/लेकचरललाई एक हप्ता तालिम प्रदान गरेर सक्षम भइसकेपछि सुरुको चरणमा कक्षा १२ को रिभिजन कक्षा र वि.वि.एस्. प्रथम, दोस्रो र तेस्रो वर्षका कक्षा सञ्चालन गरियो।
ती कक्षामा विद्यार्थीको सहभागिता, शिक्षक/लेकचरको उत्सुकता र अझै राम्रो गर्न सकिन्छ भन्ने उत्कट चाहनाले हामीलाई गर्यो भने सकिने रहेछ भनेर हौसला मिल्यो।
आइ.टी. पढाइ हुने कलेज भएको कारणले हामीलाई अरु थप साधनहरु किन्नुपर्ने बाध्यता रहेन र हामीले जो प्राध्यापकहरुसँग इन्टरनेट तथा अन्य साधनहरुको अभाव रह्यो उहाँहरुलाई कलेजमा नै सम्पूर्ण साधनहरु उपलव्ध गराएर कक्षाहरु सञ्चालन गर्न थाल्यौँ।
विस्तारै यसका विभिन्न सुविधाहरुको बारेमा ज्ञान लिँदै यसलाई प्रयोगमा लैजाँदै आजको दिनसम्म आइपुग्दा हामीले कक्षा ११ को सम्पूर्ण आवेदन फाराम भर्नेदेखि लिएर आइडी र पासवर्ड प्रदान गरेर अनलाइन प्रवेश परीक्षा लिने, अनलाइनमै आफ्नो रिजल्ट थाहा हुने र पास भएका विद्यार्थीहरुले लेखाशाखामा नाम दर्ता गराएपछि आफैँ कक्षामा जोडिन मिल्नेगरी ११ का नयाँ कक्षाहरु सञ्चालन भइरहेका छन्।
पुरानो ११ को परीक्षाको अन्यौल कायमै रहेको अवस्थामा हामीले कक्षा चढाएर १२ कक्षा पढाइरहेका छौँ। केही विषयहरुको अनलाइनमै टेष्ट पनि लिइसकेका छौँ भने व्याचलरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत वि.सि.ए. कार्यक्रमका आधिकारीक कक्षाहरु एकदमै उत्कृष्ट ढङ्गबाट सञ्चालन भइरहेका छन्।
हामीले सामाजिक दूरी कायम गर्दै विद्यार्थीलाई आवश्यक सम्पूर्ण पाठ्यपुस्तक पनि पुस्तकालयबाट उपलब्ध गरायौं।
अनलाइन कक्षामा उल्लेख्य विद्यार्थीको उपस्थितीले हामीलाई थप ऊर्जा मिलेको छ। हामीले कक्षाकोठामा हुने सबै कार्यहरु जस्तै विद्यार्थी र शिक्षकको हाँजिरी, असाइन्मेन्ट दिने र परीक्षण गर्ने, कुनै कारणले कक्षा छुटेका विद्यार्थीलाई रेकर्डेड भिडियो उपलब्ध गराउने, प्रत्येक कक्षामा शिक्षकले पढाएको कुरालाई नोटको रुपमा राखिदिने, विद्यार्थीलाई अनलाइनमै प्रिजेन्टेशन गराउने, उनीहरुको प्रत्येक दिन पढाइ हुने रुटिनलाई क्यालेन्डरमा उपलब्ध गराउने, अनलाइनबाट सम्भव भएका सवै प्रयोगात्मक कार्यहरु सञ्चालन गर्ने, विद्यार्थीको सबै गतिविधिलाई अनुगमन गर्ने र उनीहरुको प्रति हप्ता, प्रतिमहिना अथवा निश्चित समयको परफरम्यान्स लाई विश्लेषण गर्ने जस्ता कार्यहरु माइक्रोसफ्ट टिम्सबाट गर्न समर्थ भएका छौं।
अब हामी प्रथम त्रैमासिक परीक्षाको तयारीमा छौँ।
अनलाइन कक्षाका सन्दर्भमा भएका टीकाटिप्पणीलाई पर सार्दै आज परीक्षासमेत अनलाइनबाट चलाउन सक्ने स्थितिमा हामी पुग्नु भनेको चुनौतीलाई अवसरमा बदल्न सक्नु हो।
हाम्रा गतिविधिहरुलाई नजिकबाट नियालिरहेका विभिन्न व्यक्ति र सङ्घसंस्थाहरुले पनि यसको विषयमा चासो राख्न थालेका छन्। हामी यस क्षेत्रको समग्र शैक्षिक विकाश हुनुपर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कसरी हाम्रा छिमेकी शैक्षिक संस्थाहरुलाई पनि प्रविधिमैत्री तरिकाबाट कसरी अनलाइन कक्षामा अगाडि बढाउन सकिन्छ भनेर सहयोगी भूमिका निर्वाह गरिरहेका छौँ।
अनलाइन कक्षाका बारेमा चित्त नबुझाउनेहरु पनि यदाकदा पाइन्छन्। सबैभन्दा पहिलो कुरा प्रविधिलाई सकारात्मक तरिकाबाट बुझेर यसलाई कसरी सफल पार्न सकिन्छ भन्नेतिर लाग्नुपर्दछ।
अनलाइन कक्षाका लागि अभिभावक पनि सकारात्मक हुनु जरुरी छ। आफ्ना बाबुनानीलाई कसरी शैक्षिक गतिविधिसँग जोडिन सकिन्छ भन्ने चिन्तन अभिभावकमा हुनुपर्दछ।
त्यस्तै शिक्षकहरुले पनि आफूलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्छ। सिक्ने कुराहरु जीवनमा कहिल्यै पनि सकिन्नन्। त्यसैले प्राविधिक ज्ञान लिने कुरालाई निरन्तरता दिँदै अगाडि बढ्नु जरुरी छ।
आफूसँग भएको ज्ञानलाई कुन प्राविधिक तरिका अपनाउँदा उत्कृष्ट ज्ञान प्रदान गर्न सकिन्छ भन्ने कुराको चिन्तन हुनु जरुरी छ।
हामीले अनलाइन कक्षामा पहिलेभन्दा धेरै मेहनत गर्नपर्नु स्वभाविक हो। यसमा जो तयार छ ऊ नै अघि बढ्छ। जिन्दगी भर कमाएको ज्ञानलाई सहि ढंगबाट प्रस्तुतीकरण गर्न नसक्दा व्यर्थ सावित हुन्छ।
यसका लागि विद्यार्थी पनि सचेत हुनु जरुरी छ। अनलाइन कक्षाको लागि शान्त कोठा र राम्रो इन्टरनेटसँगै आफुसँग जेजस्तो डिजिटल सामाग्री छ, त्यसलाई कसरी अधिकतम् प्रयोग गर्न सकिन्छ भन्ने चिन्तन विद्यार्थीमा हुनुपर्दछ।
नयाँ प्रविधिको अनुसरण गर्दा अलिअलि खर्च हुनु स्वाभाविक नै हो। यसलाई पनि जीवनको एउटा सुवर्ण अवसर हो भन्ने ठान्नुपर्दछ। स्मार्ट जमानाको स्मार्ट विद्यार्थी बन्नु आजको आवश्यकता हो। यसका नकारात्मक पक्षहरुको बारेमा अभिभावक अलि बढी चिन्तित हुनु स्वाभाविक नै हो।
विद्यार्थीहरुलाई नियमित कक्षामा उपस्थित गराउने, शान्त कोठाको व्यवस्था गराउने, आवश्यक सामाग्रीहरु जस्तै किताव, कापी, कलम, क्यालकुलेटरको व्यवस्था गराउने र बेलाबेलामा पढेनपढेको निगरानी गर्नु अभिभावकको दायित्व हुन आउँछ।
शिक्षकहरु भनेका पथप्रदर्शक हुन त्यसैले कक्षामा दिइएका सबै कार्यहरु राम्रोसँग शिक्षकलाई बुझाउने, नबुझेका कुराहरु नहिच्किचाइँ सोध्ने गरेमा शिक्षकको पनि हौसला बढ्छ।
त्यसैले केही पनि नगरी हात बाँधेर बस्नुभन्दा यो अवधिमा सम्बन्धित सवैले शिक्षा लिने र दिने कुरामा सहभागी हुनु आजको आवश्यकता हो। प्राप्त समयलाई सदुपयोग गर्दै शैक्षिक विकासका कार्यहरुमा प्रविधिलाई साथी बनाउँदै सबै जना अगाडि बढ्नु आजको आवश्यकता हो।
(लेखक सुनगाभा कलेज, खैरहनी चितवनका वि.सि.ए. कार्यक्रम प्रमुख हुन्)