कुरा अस्ति बिहान बुधबारको हो। मिर्मेरेमै सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको राम्रै धक्का महशुस भयो। यसले मनमा डर र आतंक पैदा गरायो। त्यसको करिब दश मिनेटपछि एकजना मित्रले म्यासेन्जरमा सन्देश पठाएर ‘कालिमाटी तरकारी बजारमा प्याजको भाउ अचानक बढ्यो, पाँच/सात किलो प्याज किनिहालौँ। यहाँका खुद्रा ब्यापारीहरुलाई मूल्य बढेको थाहा नभएर साठी/सत्तरीमै दिइरहेका छन्’ भन्ने सूचना दिए।
यो सूचनाले मेरो मनमा एकातिर चिन्ता र अर्कोतिर उत्साह जगाए पनि आम नेपाली उपभोक्ताहरुको मनमा भने पक्कै पनि सानोतिनो भुँइचालो नै गएको हुनुपर्दछ। यसरी प्याजको मूल्य अचानक वृद्धि हुनुको मुख्य कारण थियो, भारतले प्याज निर्यात अचानक बन्द गर्नु।
मित्रको सुझावको फाइदा उठाउन एकैछिनपछि बजार निस्कदाँ प्याजको मूल्य बच्चाहरुले खेल्ने खेल साप सिँढीमा गोटि सिँढीमा चढेर निकै माथि उक्लिए झैँ केटाकेटी पारामा आकाशीएको थियो। बढेको प्याजको मूल्यले पछिसम्म पनि मुटु पोलिरह्यो।
करिब ९:३० बजे कार्यलमा पुगेर मोबाइल हेर्दा सामाजिक संजालमा प्याज सम्बन्धी ट्रोलहरु बनिसकेका थिए। जस्तैः बाउलाई बैँकको ब्याज र आमालाई आलु र प्याजले ठहरै पार्ला जस्तो भो, प्याज र ब्याज खाँदा उस्तै र छ, अवस्था हेरेर नखाकै राम्रो, प्याज, ब्याज र राजकाज सधैँ एकनास रहैँदैन इत्यादी।
त्यसपछि दिनभर सामाजिक संजालम भूकम्प, प्याज, ब्याज, कोरोना, सिन्धुपाल्चोक, बाढी, पहिरो आदिका ट्रोलहरु हेर्न पाइयो। त्यससँगै प्याजको आपूर्ति बन्द हुँदा व्यापारीहरुले मूल्य बढाएको खबर फैलिएपछि बिहानै मन्त्रीले ग्राहकको रुपमा बजार अनुगमन गरेका समाचारहरु सार्वजनिक भए।
व्यापारीहरुले प्याज महंगोमा बेचेको, लुकाइ राखेको, कृतिम अभाव सृजना गरी मूल्य अचानक बढाएको खबरहरु आए। भारतबाट प्याज आपूर्ति बन्द भएकाले प्याजको मूल्य बढेको समाचारहरु एक कान दुई कान मैदान भए, जताततै प्याज सम्बन्धी गसिपहरु चले। आपूर्ति बन्द भएपछि व्यापारीले जबरजस्ती प्याजको मूल्य बढाएको सत्य भएपनि मन्त्रीले नै बजार अनुगमन गर्दा पनि त्यसको समाधान भने भएन।
प्रसंग प्याजकै, प्याज नेपाली भान्साको महत्वपूर्ण मसला भएको कुरा सबैलाई राम्रोसँग थाह छ। प्याज बिनाको भान्सा तयार गर्नु कल्पना बाहिरको कुरा जस्तै भएको छ। भान्सा मात्र होइन, प्याज बिना दिउँसो खाइने अधिकांश खाजाहरु समेत बन्दैनन्। त्यसैले प्याज निरन्तर उपभोग हुने आम मसलाको रुपमा स्थापित छ।
नेपालीहरुको मुख्य खाना दाल, भात, तरकारी, साग र अचारको थाली तयार गर्दा अपवाद बाहेक प्याजको प्रयोग अनिवार्य हुन्छ। त्यसैगरी सलादको रुपमा यसलाई औधी रुचाइन्छ। त्यति मात्र होइन, माछा, मासु, म:म, चाउमिन, समोसा, परठा, पकौडा, बर्गर, स्यान्डविच, पानीपुरी, चटपटे आदिमा यसको व्यापक प्रयोग हुने गर्दछ। यिनै परिकारहरु सहर केन्द्रित नेपाली आम उपभोक्ताहरुको मुख्य खाजा हो।
प्याजको भाउ बढ्दा त्यसबाट बन्ने विभिन्न परिकार र भान्सा स्वभावैले महंगो हुने भयो। यसले निम्न आर्थिक हैसियत भएका आम उपभोक्ता मर्कामा पर्ने भए। कोरोनाले थला परेका जनता महङ्गो बजार भाउ खप्न नसकी सडकमै छाक काटिरहेको अवस्थामा यसले पीडामाथि पीडा थपेको छ।
सम्भवतः प्याज खाना र खाजामा मसलाको रुपमा सर्वाधिक प्रयोग हुने जिनिस हो। त्यसैले यो आम मानिसको जीवन पद्धतिको अंश बनिसकेको छ। प्याज आम उपभोक्ताको आधारभूत आवश्यकताको हिस्सा भएकाले यसको सहज उत्पादन, आपूर्ति, उपलब्धता, व्यवस्थापन, वितरण गर्नुका साथै यसको उचित मूल्य निर्धारण हुनु नितान्त जरुरी छ। यसमा सम्बन्धित निकायको बेलैमा ध्यान जान आवश्यक छ।
प्याजको परिचय र यसको पोषण मूल्य
प्याज बनस्पती जगतको फूल फुल्ने प्राकृतिक समूहमा पर्ने र माटोमुनि फल्ने एलिएम जिनस प्रजातिको सदस्य बनस्पती हो। माटोमुनि फल्ने रुट्स र ट्युवर्समा पर्ने यो बनस्पती प्याज ट्युवर्स हो। मुख्य रुपमा यसको दाना हामीले खाद्यान्नको रुपमा उपभोग गर्छौँ। यद्यपि यसको जमिनमाथिको भाग, कलिला पातहरु समेत खाने गरिन्छ।
भूगोल र ठाउँ अनुसार प्याज विभिन्न रंगका हुन्छन्। जस्तैः रातो, सेतो, पहेलो आदि। प्याज मानिसले प्राचीनकालदेखि नै उपभोग गर्दै आइरहेको बनस्पती हो। सामान्यतया यसलाई मसला मानिए पनि यसको प्रयोगमा विविधता र भिन्नता रहेका छन्।
वास्तवमा प्याज मानव शरीरलाई चाहिने विभिन्न प्रकारका पोषणतत्व पूर्ती गर्नसक्ने हैसियत भएको महत्त्वपूर्ण खाद्यान्न हो। त्यसैगरी आयुर्वेदमा पनि यसको महत्वपूर्ण प्रयोग हुँदै आइरहेको छ। प्याजको पोषण मूल्य यसमा निहित रहेको पोषणतत्वले स्पष्ट पार्दछ।
मानिसको शरीरको वृद्धि, विकास गर्न, समग्रमा शरीरका सम्पूर्ण क्रियाकलाप चुस्त र स्वस्थ राखी शरीरको प्रतिरक्षा प्रणालीलाई स्वस्थ र बलियो बनाइ राख्न पोषणको मुख्य भूमिका हुन्छ। महत्वपूर्ण पोषणतत्वहरु भिटामिन, खनिज, प्रोटिन, कार्बोहाइड्रेट आदि सम्मिलित प्याज पोषणमा महत्वपूर्ण मानिने रेसाहरुको समेत राम्रो श्रोत हो।
प्रति १०० ग्राम प्याजले हामीलाई कार्बोहाइड्रेड ९ ग्राम, चिनी ४.२ ग्राम, डाइटरी फाइबर १.७ ग्राम, प्रोटिन १.१ ग्राम, भिटामिन ए २ आइयू, भिटामिन सी ७.४ मिलिग्राम, भिटामिन वी-६ ०.१ मिलिग्राम, पोटासियम १४६ मिलिग्रामा क्याल्सियम २३ मिलिग्राम, म्याग्नेसियम १० मिलिग्राम, सोडियम ४ मिलिग्राम, फलाम ०.२ मिलिग्राम र लिपिड ०.१ मिलिग्राम प्रदान गर्दछ।
यसरी समग्रमा हाम्रो शरीरमा प्रती १०० ग्राम प्याजले ४४ क्यालोरी उर्जा प्रवाह गर्दछ। त्यसैले प्याज हाम्रो शरीरको लागि महत्त्वपूर्ण खाद्यान्नको रुपमा रहेको छ। प्याज कम क्यालोरी तर उच्च मात्रामा भिटामिन र खनिज भएको खाद्यान्न हो। यसमा भएको भिटामिन सीले स्वास्थ्य प्रतिरक्षा प्रणाली संचालन गर्न सहयोग गर्दछ, कोषहरुलाई नाश हुनबाट जोगाउँछ, तन्तुहरुको पुनर्निर्माण र फलाम सोस्ने कार्य समेत यसले गर्दछ।
त्यस्तै फोलेट र पाइरोडक्सिनले मेटाबोलिजम (खानालाई टुक्राउने र पोषण तत्व सोस्ने) प्रक्रिया संचालन गर्न, राता रक्तकोशिका निर्माण गर्न र न्युरो संचारमा योगदान गर्दछ। त्यसैगरी यसमा उपलब्ध पोटासियमले सामान्य कोषिय कार्य संचालन गर्न, शरीरलाई चाहिने तरल पदार्थको मात्रा मिलाउन, किड्निको कार्य संचालन गर्न, मांसपेशी खुम्चाउन र फुकाउने कार्य संचालन गर्न भूमिका खेल्दछ।
यसको पोषण मूल्य राम्रो भएको हुनाले उपभोग गर्दा निकै लाभदायक हुन्छ। प्याजमा मुटु रोग, ब्लड सुगर, क्यान्सर प्रतिरोधात्मक गुण हुन्छ। प्याजले हड्डिलाई मजबुत बनाउन, पाचन प्रणालीलाई मजबुत बनाउन भूमिका खेल्दछ। एन्टिब्याक्टेलिय गुण भएको प्याजमा प्रचुर मात्रामा भिटामिन सी हुन्छ जो एन्टिअक्सिडेन्टको राम्रो श्रोत हो। यसले कोषहरुलाई क्षयिकरण हुनबाट बचाउँछ र मजबुत तन्तुको निर्माणमा योगदान दिन्छ। यहीँ प्रक्रियाले क्यान्सर, मधुमेह र मुटुरोगसँग लड्न मद्धत पुर्याउँछ।
प्रयोग
सामान्यतयाः प्याज मसलाका रुपमा प्रयोग भएको पाइन्छ। खाना र खाजाका विविध परिकार बनाउन यसको प्रयोग गरिन्छ। जस्तैः तरकारी, दाल, अचार, सलाद माछा, मासु, मम, पकौडा, पराठा, समोसा, मम, चाउमिन, आदिमा प्याजको उल्लेख्य प्रयोग गरिन्छ। काँचो प्याज स्वास्थ्यका दृष्टिकोणबाट लाभदायक हुन्छ। त्यसैले यसलाई सलादको रुपमा खाने गरिन्छ।
औषधीय गुण भएको हुनाले प्याज आयुर्वेदिक चिकित्सा पद्धतिमा प्राचिनकालदेखि नै प्रयोग हुँदै आइरहेको छ। त्यसैगरी सौन्दर्य सामाग्री निर्माणमा समेत यसको प्रयोग हुने गर्दछ।
निष्कर्ष
प्याज मानव स्वास्थ्यको रक्षा र पोषणका लागि नितान्त जरुरी र उपयोगी वस्तु भएता पनि नेपाली बजारमा बेलाबेलामा प्याजमा हुने चलखेल र कालो बजारीले आम उपभोक्तालाई पिरोल्ने गरेको छ। बिचौलिया र दलालहरुको नियन्त्रणबाट बजार बाहिर निस्कन नसक्नु नै यसको मूल समस्या हो। यसमा सरोकारवाला सचेत र जिम्मेवार बन्न र सरकारले ठोस हस्तक्षेप गर्न जरुरी छ।
यसलाई सरकारले चाहेमा तत्काल लड्न सक्छ। तर सरकारको इच्छाशक्तिको अभावमा आम उपभोक्ता पिल्सिएका दशकौँ बितिसकेको छ। उपभोग र उपयोगिताको महत्वका कारण प्याज नुनकै हाराहारीमा अनिवार्य बनेको छ। त्यसैले प्याज आम सरोकार र चासोको विषय बनेको हो। यस्ता आधाभूत र अनिवार्य बनेका वस्तुहरुलाई खुला बजार व्यवस्थामा खुला छोडेर मात्र व्यवस्थित गर्न सकिदैन।
राज्यले प्राथमिकता निर्धारण गरी यस्ता वस्तुहरुको उत्पादन र वितरणमा जोड दिनुपर्दछ। यसमा सरकार, उत्पादक किसान, व्यापारी र सबै सरोकारवालाको ध्यान जान जरुरी छ। यो समस्या प्याजमा मात्र नभएर समग्र बजारको समस्या भएकाले यसको सम्बोधन गर्न सरकारले विशेष योजना र समन्वय साथ काम गर्नुपर्ने देखिन्छ।
प्याज नेपालका ७७ वटै जिल्लामा उत्पादन हुन्छ। तर यसको व्यावसायिक उत्पादन हुन नसक्दा हामी प्याजामा आत्मनिर्भर हुन सकेका छैनौँ। भारत र चीनको प्याज महंगोमा खान बाध्य भएका छौँ। नेपालका सप्तरी, सिराह, बारा, पर्सा र रुपन्देही जिल्लामा प्याज उत्पादन तुलनात्मक रुपमा राम्रो रहेको छ जुन पर्याप्त छैन।
बजारको कुल प्याजको ९० प्रतिशत प्याज भारतबाट आयात भइरहेको हुनाले स्वदेशमै प्याज उत्पादनमा जोड दिन जरुरी छ। उत्पादित प्याजले आफ्नै बजार पाउने भएकाले यसले स्वतः आयात प्रतिस्थापन गर्नेछ। जसको फाइदा किसान र आम उपभोक्तालाई हुनेछ।
प्याज हामीले अनिवार्य रुपमा प्रत्यक दिन प्रत्यक छाक उपभोग गर्ने खाद्य वस्तु हो। यसको उपभोग हाम्रो शरीरको पोषण पूर्तिका लागि फलदायी भएको हुनाले अचानक प्याजको उपभोग कम गर्दा वा बन्द गर्दा त्यसले मानव शरीरमा प्रतिकुल असल पर्न सक्दछ। त्यसैले कसैले पनि यसको खरिद नगर वा उपभोग नगर भन्न मिल्दैन। बरु जिम्मेवार निकायले यसको उत्पादन,आपूर्ति, वितरण, सर्वसुलभ उपलब्धता र मूल्य निर्धारणमा जोडदिनु पर्दछ।
विद्यमान समस्या र चुनौतीको समाधान गर्न परम्परागत शैलीको बजार अनुगमन र पैरवीले मात्र पुग्दैन। बजारका समस्या र चुनौती फरक-फरक प्रकृतिका भएकाले एउटै वा एकीकृत कानुन वा एकपक्षीय प्रयासले मात्र सबै समस्या र चुनौतीको हल गर्न सक्दैन।
त्यसैले थप कानुनको निर्माण, भएका कानुनको कार्यान्वयन, ठोस नीति, कार्ययोजना र अठोटका साथ काम गरेमा आम उपभोक्ताका तत्कालीन र दीर्घकालीन समस्या र चुनौतीको हल हुने अपेक्षा गर्न सकिन्छ। यसो गर्दा मात्र आम उपभोक्ताको गुणस्तरीय सेवा प्राप्त गर्ने हकहित र अधिकारको रक्षा हुनेछ।
(लेखक खाद्य प्राविधिक हुन्। )