कुरा विसं २०५७/०५८ साल तिरको हो। म भर्खर स्नातक प्रथम वर्षमा अध्ययन गर्दै थिएँ। ती दिनहरूमा देशमा माओवादी द्वन्द्वको चरम उत्कर्षको बेला थियो। दैनिकजसो अखबार र एफएमका मुख्य समाचार मृत्युका समाचारले भरिन्थे, जसरी अहिले कोरोना महामारीका कारण मृत्युका खबरले अखबार रङ्गिएका छन्।
बुटवलदेखि दाङसम्मको लगभग पाँच/छ घन्टाको बसको यात्रामा चेकिङका नाममा दसौँ ठाउँमा आ-आफ्ना सरसामान बोकेर झन्डै दुई/तीन सय मिटर पर हिड्नु पर्ने अवस्था थियो त्यति बेला। स-साना बच्चासितका आमाहरू त्यो टन्टलापुर घाम होस् वा पुस माघको कठ्याङ्ग्रिदो जाडो होस्, केही नभनी सरासर हिड्नु पर्ने उदेक अवस्था थियो।
सोच्दछु, त्यति बेलाको त्यो काम छोरी पिटेर बुहारी तर्साउने बाहेक रत्ति केही थिएन। जनतालाई बिनासित्तिको सास्ती र त्रास मात्र। मेरो कलेज दाङको घोराहीदेखि तुलसीपुर जाने रोडमा झण्डै-झण्डै २२-२३ किमी अगाडि बिजौरी भन्ने ठाउँमा थियो/छ।
ठिक बाटोको एक छेउमा क्याम्पस र अर्को पाटोमा हामी बस्ने होस्टेल थियो/ छ। तिनताका ५:३० तिर नै कर्फ्यू लाग्थ्यो। पाँच बजेतिर नै पसलहरू बन्द हुने तर्खर गर्थे। गाडीहरू कसरी गन्तव्यमा पुग्ने भनेर हतारमा दौडाइरहेका देखिन्थे। कहीँकतै केही नभएजस्तो देखिए पनि एक किसिमको भय सबैको मनमा परेको आभास अहजै अनुमान लगाउन सकिन्थ्यो।
तिनताका हामी बस्ने होस्टलको बाहिरपट्टि आर्मीको सेन्ट्री बस्दथ्यो। रात परेपछि कहाँ के हुने हो भन्ने डर र त्रास मात्र मनमा खेलिरहन्थ्यो। आर्मीहरू आएर होस्टलमा बस्ने साथीहरूलाई केरकार गरेका थिए। तिमीहरू आतंककारीहरूलाई आश्रय दिने, खाने खुवाउने भनेर नराम्रोसँग गाली गरेका थिए रे। त्यही मौकामा प्रतिउत्तरमा मेरा एकजना साथी सीताराम पाठकले एक चड्कन पनि भटेका थिएँ भन्ने कुरा साथीहरू सुनाउँथे।
जाडो बिदा परेका कारणले म घर आएको बेला थियो। सम्झन्छु, कति त्रासमय अवस्था थियो होला त्यस बेला। एकदिन लगभग रातको ९:३० बजेतिर बन्दुक पड्केको आवाज सुनियो। त्यहाँ मैले जीवनमा पहिलो पटक दोहोरो भीडन्तमा बन्दुकका आवाज सुनेको थिएँ। रातमा त्यसै पनि आवाज ठूलो हुने। हामी चारजना साथीहरू खाटमुनि सुरक्षित हुने ठानेर एकै ठाउँमा पोको परेका थियौँ, जसरी मलिलो माटोमा गड्यौलाहरू पर्ने गर्छन्।
लगभग ४५ मिनेटको दोहोरो फाइरिङपछि विस्तारै बन्दुकको आवाज पनि कम हुँदै गयो। मनमा अनेक तर्कना गुन्दागुन्दै खै कति बेला निदाइएछ पत्तै पनि भएन। भोलिपल्ट बिहान बाहिर निस्कदा हामी बसेको ठाउँदेखि लगभग ७०० मिटर पर घोराही जाने रोडमा माओवादीका कार्यकर्ताहरूले एम्बुस थाप्दै गर्दा, खै कसरी हो आर्मीहरूले सुराकी पाएर दोहोरो फाइरिङ भएको कुरा घटना स्थलमा जम्मा भएका कुनै व्यक्तिहरूले भनेको कुरा सुनियो।
त्यो भिडन्तमा माओवादी पक्षका धेरै साथीहरूको मृत्यु भएको थियो। कयौँ मृत शरीरलाई त्यहीँ नजिकै माटोका लागि खनिएका खाल्टामा कताकति पुरेका शव बाहिरबाट नै देखिन्थे। त्यहाँ कसैका खुट्टा, कसैका हात त कसैका शरीरका अन्य अङ्ग प्रत्यक्षरूमा देख्न सकिन्थ्यो। ती दृश्यहरूको प्रत्यक्षदर्शी म आफै पनि थिएँ। ती दृश्यहरू सम्झदा आज पनि शरीरमा काँडाहरू उम्रिन्छन्। लाग्दछ, ती मृत शरीर पनि कसैका छोरा थिए होलान्, कसैका श्रीमान् थिए होलान् त कसैका दाइभाइ थिए होलान्।
साच्चिकै, तिनीहरूका पनि कति सपनाहरू थिए होलान्। मैलै प्रत्यक्ष देखेका दृश्य हुन् यी। हुन त, यस्ता थुप्रै जीवनहरूको अन्त्य भयो त्यो समयमा। यी कुरा गर्दैगर्दा राधा पौडेलले लेखेको ‘खलङ्गामा हमला’ (मदन पुरस्कार प्राप्त कृति) पढ्दा जुन किसिमको भयावह दृश्यको वर्णन छ, त्यसको प्रत्यक्ष अनुभूत झनै भयावह हुँदो रहेछ।
समयको क्रमसँगै ६२/६३ को जनआन्दोलपछि जब देशका युद्धबिराम भयो, त्यो दिन हामीले झन्डै एक घन्टाभन्दा बढी सडकमा आएर नारा बाजी गर्दै खुसी साटेका थियौँ। खै किन हो, त्यो पनि स्वस्फूर्त रूपमा। आज आएर त्यो पललाई सम्झिँदा लाग्छ, मान्छेका लागि स्वतन्त्रता कति प्यारो र कति महत्त्वपूर्ण हुँदो रहेछ।