राष्ट्र सेवाको रुपमा रहेको निजामती सेवामा करिब एक लाख कर्मचारी सेवा प्रवाहमा आवद्ध छन्। राज्य कोषबाट तलब भत्ता लिइ आफ्नो जीवनको उर्जाशील समय राष्ट्रसेवामा समर्पित गर्ने कर्मचारीको यो समूहले संविधानले मार्गदर्शन गरेको दिगो, फराकिलो आधार सहितको समावेशी र समन्यायिक आर्थिक विकास मार्फत समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणमा आफ्ना क्रियाकलापहरु केन्द्रित गरेको छ।
सीमित स्रोत साधनको महत्तम परिचालन मार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियानलाई सफल बनाउन उत्प्रेरित र प्रतिवद्ध कर्मचारीतन्त्र आवश्यक हुन्छ। उत्प्रेरणाले कुनै कार्य गर्न वा नगर्न मानिसलाई अन्तरआत्मा देखिनै ‘मुभ’ गराउँछ। यो कर्मचारीलाई उच्च कार्य सम्पादन गर्न उद्धेलित गर्ने, उर्जा भर्ने तथा शारीरिक र मानसिक रुपमा तयार पार्ने कला हो।
यो मानवीय स्वभाव, दृष्टिकोण, आचरण, व्यवहारलाई अध्ययन गर्ने र बुझ्ने व्यवस्थापकीय शिल्पी हो जसबाट कर्मचारीको व्यवहार र आचरणमा सकरात्मक उर्जा भर्ने कार्य हुन्छ। नेपालको निजामती सेवाको उत्प्रेरणाको स्तर कस्तो छ भन्ने सम्बन्धमा कुनै अध्ययन भएको छैन र यो व्यवस्थापकको प्राथमिकताको क्षेत्रमा पर्न सकेको पनि छैन।
स्वयम उत्प्रेरित भइ जति काम भएका छन्, त्यो प्रगतिमा भने कोही पनि सन्तुष्ट रहेको देखिदैन। सन्तोषको श्वास फेरोस् पनि कसरी? बहुसंख्यक कर्मचारीको उत्प्रेरणाको स्तर कमजोर भएकै कारण यसको कार्यसम्पादनमाथि प्राज्ञिक, राजनीतिक र जनस्तरबाट आलोचना हुन्े गरेको छ।
सार्वजनिक स्रोत साधनको दुरुपयोगमा रमाउने, लोभ र लिप्सामा डुबेको, शासन गरेर सेवा गर्ने सोच, चाकडी र चाप्लुसीको नृत्यमा रमाउने शैली, ‘रुल’ र ‘रुटिन’ मा आधारित सेवा प्रवाह, विभेद र असमानता, अकर्मण्यता, दिशाहीनताको अवस्था, लामो संक्रमण, पारदर्शीता र जवाफदेहीताको कमजोर आभासका कारण कर्मचारीको कार्यसम्पादन आलोच्य बन्न पुगेको छ।
न्यून अर्थिक वृद्धि, बेरोजगारी वृद्धि, असमानता र विभेद कमी नहुन्ु, पहँचको आधारमा मात्र सेवा प्राप्त हुने परिपाटी बस्दै जानु, थप नजराना भुक्तानी गरेर सेवा लिनु पर्ने अवस्था, महामारी नियन्त्रण र रोकथाममा क्रमशः असफल हुनु, भ्रष्टचार र अनियमितताको घटना बढ्दै जानु र सुशासनका सूचकहरु कमजोर हुँदै जानुले राष्ट्रसेवकको उत्प्रेरणा र मनोबल विस्तारै कमजोर हुँदै गएको अनुभूति हुन्छ।
लामो संक्रमणकालपछि नेपाली समाज र सोही समाजको महत्पूर्ण अंगको रुपमा रहेको राष्ट्रसेवकमा मौलाएको आंकक्षा, चुलिदों अपेक्षाले राज्य शक्तिको प्रयोग र दोहनमा सामर्थ्य अनुसार अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ। सेवा, सुविधा र अवसर वितरणमा असमानता र विभेद रहेको छ।
नेपाल संघीय राज्यमा रुपान्तरण भएको आधा दशक हुँदा समेत निजामती सेवाको सेवा, सुविधा र शर्त सम्बन्धी मूल कानून जारी हुन सकेको छैन। यसले कर्मचारीको भविष्य अनिश्चिता र अन्यौलतामा धकेलेको छ। जसले कर्मचारीलाई थप नकरात्मक बनाएको छ।
लोकसेवा आयोगले निर्धारण गरेको योग्यता ‘मेरिट’ को सम्मान, त्यसपछिको पदस्थापना, सरुवा, बढुवा, अध्ययन तथा अनुसन्धान, पुरस्कार र दण्ड आदिमा जोड्न सकिएको छैन। कार्यजिम्मेवारी सम्हाल्न पाउँदा नपाउँदै ‘मेरिट’ मा गएको पहिरोले पुरानो मेरिटलाई त सम्मान गर्न सकेन नै, नयाँ मेरिट समेत बनाउन सकेन।
राम्रोबाट होइन, हाम्रोबाट मात्र परिवर्तन र गुणस्तरीय सेवा अकन्टक प्राप्त हुन्छ भन्ने मान्यता पाल्ने राजनीतिले प्रशासनलाई पाइलै पिच्छे व्यक्ति पिच्छे ‘रोलिङ’ गरिरहेको छ। कर्मचारीलाई ‘ब्याटिङ’ गर्न पाएकोमा उ मस्त छ अनि दंग छ।
महत्वपूर्ण सूचना दिएर होस वा मौद्रिक दान दिएर वा आदर्श बेचेर वा ‘कंग्रेशनल सर्पोट’ गरेर प्रणालीमाथि कुल्चन स्वागत गेट तयार पार्ने कर्मचारीको संख्या समेत सानो छैन। ‘मेरिट’लाई ध्यान नदिनु, कर्मचारीको सम्मान र आस्थामा ठेस पुर्याउनु, काम गर्ने र नगर्ने बीच फरक छुट्याउन नसक्नु, आस र त्रासको आधारमा मात्र शासन गर्न खोज्नु र न्यून वेतनमान कर्मचारीको मनोबल ह्रास हुनुका खास कारणहरु हुन्।
सेवा समूह भत्काउने र गाभ्ने खेल, हचुवा, अवैज्ञानिक र स्वार्थ प्रेरित भइ छिटोछिटो रुपमा जारी गरिने संगठन तथा व्यवस्थापन सर्वेक्षण र कर्मचारीको जीउधनको सुरक्षाको पूर्ण प्रत्याभूति नभएको कारण कर्मचारीको मनोबल खस्कदै गएको छ। राज्य संचालक र राजीनितिक नेतृत्वबाट हुने छुद्र र अपाच्य आलोचना र दोषारोपणको कारण समेत कामयावी कर्मचारीहरु विस्तारै हतोत्साही हुँदै गएका छन्।
यसका अलवा सेवाग्राहीको व्यवहार, ‘ओभरसाइट’ एजेन्सिको व्यवहार, परिवार र समाजको व्यवहार र हेर्ने दृष्किोणले समेत कर्मचारी काम प्रति लालयित हुन सकेका छैनन। आफ्नो जीवनको वृत्ति योजना र संस्थाको वृत्ति योजनाको बीचमा सन्तुलन कायम गर्न नसकेको कारण समेत कर्मचारीको उत्प्रेरणाको स्तर खुम्चदै गएको छ।
नकरात्मक उत्प्रेरणा बढ्दै जाँदा फलतः कर्मचारीहरुमा कार्य जिम्मेवारी पन्छाउँने, आफ्नो कार्यलाई बोझको रुपमा लिने, कार्य प्रगतिमा चासो नराख्ने, परिवर्तन नरुचाउने, आफ्नो क्षमतामाथि कम विश्वास गर्ने, कार्यसम्पादनमा विवेक प्रयोग नगर्ने, कानुनको दफा देखाएर सेवाग्राहीमा अड्को थाप्ने, निर्णय नगर्ने वा ढिला निर्णय गर्ने, जोखिम लिन नचाहने, स्थापित प्रणाली प्रति विश्वास नगर्ने, आसन र अवसरमाथि छिर्के मार्ने जस्ता लक्षणहरु देखापरेको छ।
विस्तारै यो हीन र नकरात्मक भावनाले व्यक्तिलाई शारीरिक र मानसिक रुपमा त गलाउँछ नै कालन्तरमा संगठनलाई समेत शिथिल बनाउँदै लैजानेछ।
‘मेरिट’मा आधारित पूर्वानुमानयोग्य वृत्ति प्रणाली; सेवा र सुरक्षाको निरन्तरताको प्रत्यभूति; जीवन निर्वाह गर्न पुग्ने वेतनमान, सम्मान, सहकार्य र समूह कार्यको प्रवर्द्धन, पर्याप्त र उपयुक्त तालिम मार्फत क्षमता विकास, सूचना प्रविधिको प्रयोग, कानुनी स्पष्टता मार्फत कार्य सरलीकरण र सहजीकरण, उच्च तहका अधिकारीको सकरात्मक सोच, सहयोग र ढाडस, नवप्रवर्द्धन र सृजनशीलताको खोज, उपयोग र सम्मान, आध्यात्मिक चिन्तन र सदाचारिताको अभ्यास, प्रशासनिक स्वायत्तता, अधिकार प्रत्यायोजन एवं निक्षेपण, पारदर्शी र जवाफदेही प्रणाली, अवसरको समान वितरण; पेशागत व्यवसायिकता सम्बन्धी निरन्तर मनोविमर्शमार्फत कर्मचारीमा सकरात्मक उर्जा पुर्नःभरण गर्न सकिन्छ।
मानव संशासन विकासको दीर्घकालीन योजना र रणनीतिक कार्यक्रम कार्यन्वयन मार्फत जुम्सो र बिरामी अवस्थामा रहेको भनी आलोचित नेपालको निजामती सेवालाई काबिल, दक्ष र क्रियाशील बनाउन सकिन्छ। सुषुप्त अवस्थामा रहेको कर्मचारीको शक्तिलाई पुनःजागरण गर्न सकिन्छ। यो कार्यको लागि ठूलो लगानी गर्नुपर्ने समेत देखिदैन।
उच्च नेतृत्वको झुकाव, आत्मविश्वास, सकरात्मक सोच, समर्पण र प्रणाली माथिको विश्वास भए सानो प्रयासले पनि ठूलो प्रतिफल हासिल गर्न सकिन्छ। आहार, विहार, विचार र व्यवहार सुधारको सामान्य अभ्यास मार्फत पनि निरन्तर सुधार गर्न सकिने ‘च्यापटर क्लोज’को अवस्थामा पुगिसकेको यो विषयमा खुला बहस गर्न किन ढिलाई गर्ने?
शासकीय साझेदारहरु बीचको आपसी समन्वय, सहकार्य, विश्वास र सदभाव मार्फत न्यून लगानीमा पनि दीर्घकालीन सुधारको मार्गचित्र कोर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउनु पर्ने देखिन्छ। उच्च मनोबल र उत्प्रेरित कर्मचारीहरु नै सक्षम र स्वच्छ निजामती प्रशासनका आधार हुन् भने समृद्धि र खुसी राष्ट्र सेवकका प्रतिफल हुन् भन्ने कुरालाई शासकीय पात्रलाई पुनःस्मरण गराउनु पर्ने देखिन्छ।
(लेखक लेखा अधिकृत हुन्।)