'समयले कहिले कसलाई कता पुर्याउँछ, थाहा हुँदैन' भन्ने पढ्दै-सुन्दै आएको हो। यसपटक त्यो कुरा मेरो जीवनमा व्यवहारिक रूपमै आयो।
२०७६ सालमा एउटा आधारभूत विद्यालयमा प्राथमिक तहको शिक्षक थिएँ। अन्य केही विद्यालयको काम पनि सम्हालेकी थिएँ।
एक दिन डोल्पा जिल्लामा शिक्षक मागेको सूचना देखेँ। मेरो नजर त्यो विज्ञापनमा गएर टक्क रोकियो। मैले त्यो विज्ञापनअनुसार भिजन डोल्पो संस्थामा आवेदन दिएँ। मनमा केही आश राखेको भएर पनि होला, मेरो आवेदन छनौट भएको सूचना पाएँ।
आवेदन छनौट हुँदैमा खुसी थिएँ, अझै अर्को सिँढी चढ्नु पर्ने थियो।
अन्तर्वार्ताका लागि मिति तोकियो र सूचना आयो। बोलाएको दिनमा म कार्यालय पुगेँ र अन्तर्वार्ता दिएँ। मनमा अझै पनि आशा लिएर फर्केको थिएँ। मेरो नाम छनौट हुँदा खुसीको सीमा थिएन। आफ्नो खुसी आमाबाबालाई सुनाएँ। पहिलो पटक आमाबावालाई केही नभनेर आफ्नै दमले काम पाएकी थिएँ।
डोल्पा आउने समय नजिकिँदै गर्दा त्यसैबेला कोरोना भाइरस महामारी सुरू भयो। जाने मिति सर्दै गयो, आश भने सारेकी थिइनँ। केही महिनाको लकडाउन र पर्खाइपछि अलि खुकुलो भयो। डोल्पा जाने निर्णय भयो। तयारीतिर लागेँ। अस्पताल गएर कोरोना परीक्षण गरेँ।
२०७७ साल असार १७ गते डोल्पा जाने जुर्यो।
डोल्पा जाने त्यो दिन मेरो मनमा अलि कम खुसी थियो। काठमाडौंमा हुर्के-पढेकी म, विकट ठाउँमा जाँदा कस्तो अवस्था भोग्नुपर्ने हो भन्ने चिन्ताले पिरोलेको थियो। त्यसैमा पहिलोपटक घरबाट टाढा जाँदै थिए।
त्यो दिन बिहान उठेँ र झोलामा सामान राख्दै तयारी गरेँ। आमाले टीका लगाएर केही रकम हातमा राखिदिनुभयो।
विमानस्थलतिर लागेँ। विमानस्थलमा बाहिर सबै ३१ जना जम्मा भएपछि, भित्र गयौं। विमानको पर्खाइमा रहँदा घरबाट फोन आइरहेको थियो। केही समयपछि हाम्रो यात्रा सुरू भयो। विमानबाट देखिने दृश्यले मेरो मन हर्षित भइरहेको थियो। जहाजमा पनि मेरो पहिलो यात्रा थियो, त्यसैले होला रमाइलै लाग्यो।
करिब एक घन्टाको यात्रापछि हामीले जुफाल विमानस्थलमा अवतरण गरेका थियौं। पहिलो पटक हिमाली क्षेत्रमा लामो समयका लागि आएकी थिएँ। सिरसिर हावाको बेगले मलाई नै स्वागत गरेको आभास भएको थियो। हामीलाई जुफालबाट सदरमुकाम दुनैसम्म जानुपर्ने थियो। हिँडेर जान सम्भव भएन।
गाडी पहिले नै खोजिएको रहेछ। हामी गाडीमा बसेको त्यहाँका स्थानीयले हेरिरहेका थिए। उनीहरूका आँखा संकोचले भरिएकाजस्ता मलाई लाग्यो। सायद महामारीका बेलामा पुगेर पनि होला। हामीलाई गाडीले दुनैसम्म पुर्याइदियो। दुनैमा हामीलाई नेपाली सेनाका जवानको केही सोधपुछ गरे।
दुनै पुगेपछि हाम्रो पैदल यात्रा पश्चिमतिर सुरू भयो। त्यतिबेला निक्कै तिर्खा लागेको थियो तर पानी खान भने पाएका थिएनौं। लामो समयको हिँडाइपछि पानीको सफा मुहान देखियो अनि त्यही मुहानको पानी खायौं।
केही घन्टा हिँडाइपछि म थाक्न थलिसकेकी थिएँ। हिँड्न एकदमै गाह्रो भएको थियो। विस्तारै हिँडेर अरू बास बसेको लावन भन्ने ठाउँमा पुग्यौं। होटलजस्तो सानो घर थियो। खाना पाकिरहेको थियो। एकैछिन बस्यौं र खाना खाएर सुत्न गयौं।
थकाइ लाग्दालाग्दै पनि निद्रा भने लागेन। सानो ठाउँ तर धेरै जना भएकाले पनि सुत्न गाह्रो थियो। जसोतसो सुतियो।
भोलिपल्ट बिहान उठेर आगो बालेको ठाउँमा गयौं। त्यहाँ बिहानको खाजाको रूपमा चाउचाउ पाकेको रहेछ। चाउचाउ पिरो भएकाले धेरै खान सकिनँ।
खाजा खाएपछि दोस्रो दिनको यात्रा सुरू भयो। त्यसदिन मेरो जन्मदिन परेको थियो। फोनमा नेटवर्क पनि थिएन। सायद आमाबाबाले र दिदीले फोन गर्नुभएको थियो। केही पर नेटवर्क आउँछ भने पनि पानी परेकाले आएन।
यात्रामा कसैलाई जन्मदिन भन्ने थाहा नभए पनि काठमाडौंबाटै मसँगै आएका साथीहरूलाई भने थाहा थियो। बाटोमा हिँड्दा केही ठाउँमा मिठाइको खोजी भयो। जन्मदिन पर्ने भएकाले मैले केही मिठाइ काठमाडौंबाट ल्याएकी थिएँ। सबैलाई त्यही दिएँ। मिठाइ दिएपछि जन्मदिन भन्ने कुरा थाहा पाएर सबै जनाले शुभकामना दिनुभयो।
केही समय हिँडेपछि खाना खान लैनी भन्ने ठाउँमा सबै जम्मा हुनुभएको रहेछ। हामी अलि ढिला हिँडेका कारण अलि ढिलै भयौं। हामी पुग्दा खान लाग्नुभएको रहेछ। सबैले खाना खायौं र फेरि आफ्नो गन्तव्यतिर लाग्यौं।
साँझपख हुन लागेको थियो हामी बाटोको एउटा पाटीमा बास बस्ने भएका रहेछौं। कछुवा हिँडाइले त्यहाँ पुग्यौं। नजिकै खोला थियो। झोला पाटीमा राखेर खोला छेउमा बसेर हात खुट्टा धोएँ र खोलाको कलकल आवाजको आनन्द लिँदै बसे। एकछिन पछि फेरि पाटीमा गएर सबैसँग गफ गर्न थालेँ।
मेरो पनि सुत्ने व्यवस्था पाटीमै थियो। सानो पाटी तर मान्छे धेरै थियौं। भुइँमा पाल मात्र ओछ्याएको थियो। त्यसमा मेरो पछ्यौरा ओछ्याएर अनि सुतेँ। राति अचानक पेट दुख्न थाल्यो। महिनावारी भएको आभास भयो। दुखाइले सुत्न सकिनँ।
बिहान उठेर सबै यताउता गर्न लाग्यौं। आगो फुकेर खाजा र पानी तातिरहेको थियो। खाजा खाएर हामी तेस्रो दिनको यात्रामा लाग्यौं। महिनावारीको पीडा र हिँडाइको पीडा सहँदै विस्तारै हिँडिरहे। सबै साथीहरू विस्तारै जाने निर्णय अनुसार हिँड्यौ। सबै अगाडि भए भने, हामी ४-५ जना भने पछाडि बिस्तारै हिँड्यौं।
खाजाको भरमा धेरै समय हिँडेपछि भोक लाग्न थाल्यो। आफूसँग भएको खाजा खाँदै हिँड्यौं। हामी लगभग ८ः३० बजेतिर बास बस्ने भनेको ठाउँमा पुग्यौं। अरू जना भने दिउँसै पुगेका रहेछन्। हामी पुग्दा सबैले खाना खाइ सकेर, सुत्ने तरखरमा रहेछन्। त्यसपछि सिसौला भन्ने ठाउँको खुला आकाशमुनि पालको ओछ्यान र पालको ओढ्नेमा हामी सुत्यौं। म चाहिँ चिसो नहोस् भनेर ध्यान दिएर पल्टिएँ।
बिहान उठेँ, उता आगो ताप्नका लागि आगो फुकिएको थियो। खाजा पाकेको थियो। खाजा खायौं र आज हिँडाइको अन्तिम दिन थियो। त्यसैले गन्तव्यतिर लाग्यौं। पहिलेजस्तो बाटो उकालो ओरालो थिएन। सम्म खोलाको तिरतिरै हिँड्यौं। करिब चार घन्टाको हिँडाइपछि गन्तव्यमा आइपुग्यौं।
हामी आउने जानकारी पहिले नै पाएकाले डोल्पोबुद्ध गाउँपालिका अध्यक्षले चौरमा खाना व्यवस्था गर्नुभएको रहेछ। एकछिन थकाइ मारेर खाना खानतिर लाग्यौं। खाना खाएपछि प्रहरीले हाम्रो बारेमा विवरण लिए।र अन्ततः म मेरो गन्तव्यमा पुगेँ।
वरिपरि डाँडा, हावा बेगले चलेको थियो। महामारी बेलामा गएकाले १४ दिन क्वारेन्टाइनमा बस्ने निर्णय भयो।
क्वारेन्टाइनपछि मेरो काम सुरू भयो। म डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँको क्रिस्टल माउन्टेन आधारभूत विद्यालयमा पढाउन थालेँ। करिब तीन महिना भइसक्यो आफ्नो काम गर्न थालेको।
खानबस्ने व्यवस्था विद्यालयले गरेको छ। खाने-बस्ने वातावरण र परिकार काठमाडौंको भन्दा धेरै नै फरक पाएँ। उवाको पिठो, रोटी र आलु खाइन्छ।
सहरिया खाजा मोमो, पिज्जा कहिलेकाहीँ मिस हुन्छ। यहाँको खानामा बानी पर्न पनि निकै समय लाग्यो। आफूलाई खाने बानी परेको खाना नपाइए पनि यता आएर काम गर्न पाउँदा निकै खुसी छु।
यता निकै चिसो हुँदो रहेछ। पहिलो पटक यता आएकाले मलाई यहाँको मौसम पचाउन करिब एक महिना लाग्यो। अझै पनि मौसम बदलिँदा बिरामी पर्ने हो कि भन्ने मनमा एउटा डर जस्तो छ। डाक्टरले दिनुभएको सल्लाहले पनि मलाई यो ठाउँ आउन भने रोकेन।
आफ्नो ख्याल राख्दै काममा तत्पर भएर लगिरहेकी छु।
म यहाँ २ देखि ५ कक्षासम्म विज्ञान विषय पढाइरहेकी छु। यस्तो बेलामा पनि अभिभावकले आफ्ना बच्चा स्कुल पठाइरहेका छन्। बालबालिका पनि रमाएर पढ्छन्।
समग्रमा भन्नुपर्दा बालबालिकासँग म पनि रमाएरै पढाउँदै रमाइलोसँग दिन बिताइरहेकी छु।