विश्वजगत नै कोभिड-१९ को महामारीबाट प्रभावित भईरहँदा नेपाल पनि यस महामारीको चपेटाबाट बच्न सकेको छैन। दिन प्रतिदिन कोभिड-१९ को संक्रमणले उचाइ छोइरहँदा झन्-झन् जनमानसमा यसको शिकार भइने त्रास बढ्दै गएको छ।
कोभिड-१९ को संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्देशिका नै तयार गरी बारम्बार जनसमुदायमा यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न अनुरोध गरिरहेको छ। यस संक्रमणबाट जोगिन र यसलाई फैलन नदिनको लागि सामाजिक स्थलमा दूरी कायम गर्ने, अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने र बारम्बारको अन्तरलमा साबुन पानीले हात धुने या सेनिटाइजरको प्रयोग गर्ने।
हाल बजारमा सेनिटाइजरको उपभोग धेरै नै बढेको देखिन्छ। यस्ता सेनिटाइजरहरु साबुन पानी नभएको ठाउँमा निकै उपयुक्त हुन्छन्। जता पनि बोकेर हिड्न मिल्ने अनि कम समय मात्र प्रयोग गर्दा पनि प्रभावकारी हुने हुनाले यस्ता सेनिटाइजरको माग बढेको हो। विश्व स्वास्थ्य संगठनले सेनिटाइजर उत्पादनको लागि सेनिटाइजर फर्मुलेशनको मापदण्ड नै तोकिदिएको छ।
जसमा दुई प्रकारका अल्कोहल, इथाइल अल्कोहल ८०% र आइसोप्रोपाइल अल्कोहल ७५% साथ साथै ग्लिसरोल १.४५% र हाइड्रोजन पेरोक्साइड ०.१२५% हुनपर्दछ। तर बजारमा तोकिएको मापदण्ड बिपरित अन्धाधुन्ध ढंगले विषाक्त रसायन जस्तै मेथानोलको प्रयोग गरी स्थानीय तहमा गुणस्तरहीन सेनिटाइजर उत्पदान भैरहेको र नरोकिएको पाइएको छ।
यस्ता ढंगबाट तयार भएको सेनिटाइजरले स्वास्थ्यमा ठाडै नराम्रो असर पार्दछ। मेथानोल नामक सो रसायनले स्वास्थ्यमा गम्भीर असर पार्दछ। यसले छालाको सतहबाट शोषित भइ शरीरमा प्रवेश गरी श्वासप्रश्वासमा समस्या निम्ताउने, टाउको दुखाउने र धेरै मात्रामा शरीरमा प्रवेश गरेको खण्डमा त झन् आँखाको ज्योति समेत गुमाउनु पर्ने साथसाथै मृत्युको मुखमा पुर्याउने खतरा समेत हुन्छ।
अन्य विभिन्न रसायन जस्तै हाइपोक्लोराइट, हाइड्रोजन पेरोक्साइड, इथेनोलहरु प्रभावकारी भएता पनि लामो समयसम्म प्रयोगमा ल्याईराख्दा यसले स्वास्थ्यमा असर नपार्ला भन्न सकिन्न। केही समय अघि विभिन्न स्थानहरुमा कीटाणुशोधनको नाममा हाइपोक्लोराइट र अन्य केही रसायन शरीरमा छर्किएको देखियो जुन सरासर गलत अभ्यास हो। यसले गर्दा छाला सुक्खा बनाउने, छाला चिलाउने चर्कने र फुट्ने समस्या देखा पर्दछन।
यसले श्वासप्रश्वासमा पनि सिधैँ असर गर्दछ, झन् ठाडै आँखामा पर्नाले आँखा चिलाउने, पोल्ने र रातो हुने समस्या सँगसँगै अन्य गम्भीर समस्या पैदा गर्दछ। अझ यस्ता हानिकारक रसायन युक्त सेनिटाइजरले स-साना बालबालिका बढी प्रभावित हुने गर्दछन। बजारमा बासनायुक्त लोभ्याउने सेनिटाइजर उपलब्ध हुनाले त झन् बालबालिकाले स्वादका लागि खाइदिन पनि सक्ने हुनाले निकै जोखिम निम्त्याइरहेको छ।
बजारमा पाइने यस्ता मापदण्ड विपरित तयार भएका सेनिटाइजरले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने भएकाले सम्बन्धित निकायले गुणस्तरहीन सेनिटाइजरमा प्रतिबन्ध लगाउनु पर्दछ। रसायनयुक्त सेनिटाइजर प्रभावकारी भएता पनि स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छन्। त्यसैले गुणस्तर मान्यता प्राप्त सेनिटाइजर मात्र प्रयोग गर्नु पर्दछ। साबुन पानीले हात बारम्बारको अन्तरालमा धुनुलाई नै प्राथमिकता दिनुका साथसाथै सकेसम्म सेनिटाइजरको प्रयोग कम गर्नु नै फाइदाजनक देखिन्छ।
(लेखक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँका मेडिकल ल्याब टेक्नोलोजिष्ट हुन्।)