सामाजिक सञ्जालमा केही महिनाअघि कक्षा पाँचमा पढ्ने एघार वर्षे बालकको सुसाइड नोट देखेँ। पत्र भाइरल बनाउन चालिएको फन्डा मात्र थियो वा साँच्चै मुटु उधिन्ने घटना भएकै हो भनेर, पोस्टको विश्वसनीयता जाँच गर्न गुगल चहारेँ। थुप्रै विद्यार्थीका सुसाइड नोट असरल्ल स्क्रिनमा देखिए।
आखिर कलिला केटाकेटीलाई के त्यस्तो अपेक्षा र दबाव हुन्छ जसको कारण उनीहरू अगाडिको सुन्दर जिन्दगी नै समाप्त गर्छन्।
म झल्याँस्स भएँ आफ्नो उमेर सम्झेर। २५ वर्ष, स्नातक उत्तिर्ण। आजसम्म उही दसमा पढ्दाको जस्तै विद्यार्थी। अब विस्तारै आफ्ना सपना पछ्याउन पाइला चाल्दै गर्दा, पहिलो गाँसमै कोरोना लागेर थच्चिएको युवा।
यहाँ उभिएर आफूले आफैंलाई सिर्जना गरेका केही दबाव अहिले महशुस गर्न सक्छु। तर फेरि दस कक्षामा पुगेर सोच्दा मसँग दबावकै रूपमा नभए पनि आफ्नो लागि रहर र आफ्नाका लागि आशाको रूपमा जसरी पनि डिस्टिंसन ल्याउनु थियो। जसरी पनि।
किनभने पढाउने शिक्षकहरूले नै सबै विद्यार्थीलाई हलमा भेला पारेर अरू बेला चोर्नु पाप हो तर एसएलसीमा चोर्नु कला भन्ने ज्ञान बाँड्नु भएको थियो। त्यसले सूक्ष्म रूपमा दबाव सिर्जना गरेकै थियो। सायद १६ वर्षमा इच्छा पूरा गर्न नसेकेका उनी आज फर्केर हेर्न पाएको भए, मेरो दसको मार्कसिटमा भरिएका डिस्टिंसन नम्बर जस्तै उनका ती इच्छाहरूको पनि जीवनमा महत्व र प्रभाव शून्यप्राय थियो भन्ने बुझ्ने थिए।
म पढेको बोर्डिङ स्कुलले विद्यार्थीको अंग्रेजी सुधार्न नियम बनायो। जसको नाम दिइयो 'स्कार्फ रूल'।
कक्षामा सबभन्दा राम्रो अंग्रेजी बोल्ने विद्यार्थीलाई स्कार्फ लगाइयो र उसलाई कक्षा शिक्षिकाबाट कलम र डायरफ पनि दिइयो। त्यस डायरीमा प्रत्येक दिन नेपाली बोल्ने साथीहरूको नाम लेख्नु पर्ने थियो। स्कार्फ पाउने विद्यार्थी, अपराध महाशाखाको जागिरेझैं नेपाली बोल्ने अपराधी खोज्न निस्किन्थ्यो। अन्य साथीहरू ऊबाट भागी हिँड्थे। एक हप्ताको अन्तरालमा ऊ एक्लो हुन पुग्यो। अन्य साथीहरू आफ्नो नाम लेखिदिने डरले उसको आखाँ छलेर हिँड्न थाले।
यही हुलमा अर्काे एक विद्यार्थी थियो। जो भर्खर कक्षा पाँचमा गोरखाको हिमाली भेग, जगतबाट झरेको थियो। उसका लागि राजधानीको नेपाली नै अजंगको पहरो सावित भइरहेको थियो। त्यसमाथि स्कार्फ रूलको अंग्रेजी। हरेक दिन डायरीमा उसको नाम आउनु स्वभाविक थियो। कक्षा शिक्षकको दैनिक कार्यतालिका नै हाजिर गर्ने, उसको कान बटार्ने र पढाउन थाल्ने हुन्थ्यो।
यहीक्रममा केही हप्तापछि एक उल्लेख्य परिवर्तन आएको कक्षा शिक्षकले महशुस गरिन्। कक्षामा उसलाई स्याब्बासी दिइन्। नेपाली बोल्यो भनेर टिपिने नाममा उसको नाम चढ्न छोडेको थियो।
तर अन्तर्यमा ऊ मौन थियो। धुम्धुम्ती एक्लै बस्नु र अरू कसैसँग नबोल्नु, रुद्रघन्टीबाट बोलौं न त भनेर सकिनसकी बल गर्दा ऊ आफ्नो आँखाअघि मिसको 'चिमुसी ची' गर्दै दुइटा औंला कानतिर सोझिएको देख्थ्यो। र, स्वर फेरि उही बाटो फर्काउँथ्यो र पेटतिर कल्याङ् मल्याङ् भएर बिलाउँथ्यो।
स्टाफ मिटिङहरूमा स्कार्फ रूलले अंग्रेजी बोल्ने बानीमा सुधार गरेको रिपोर्टिङ हुँदै गयो। जतगबाट झरेको विद्यार्थीको बोली 'मे आइ कम इन र गुड मर्निङ'मा खुम्चिँदै गयो।
विद्यालय समय अनुकूल आफ्ना विद्यार्थी अंग्रेजी भाषामा पोख्त हुन् भन्ने चाहान्छ। स्वाभाविक हो। जुन आम अभिभावकको माग पनि हो। कक्षा शिक्षक आफ्ना कक्षाका सबै विद्यार्थी अंग्रेजी बोलून् ताकि व्यवस्थापकको नजरमा आफू अब्बल शिक्षकमा दर्ज होउँ भन्ने चाहन्छन्। विद्यार्थी स्वंय मिसको कान निमोठाइबाट बच्न पनि बोल्न नचाहने कुरै भएन।
तर बोर्डिङ स्कुलमा भर्ना हुनासाथ न त अंग्रेजी बोल्न जानिने भाषा हो न त भाषा सिकाउने विधि कान निमोठाइ नै। बरू यसको उपाय हो, क्रमिक रूपमा अंग्रेजी व्याकरणका सामान्य नियम, शब्दावली अभ्यास र ज्ञान अनि निरन्तरको कोसिस। असंख्य गल्तीबीच 'तिमी सिक्न सक्छौ' को डाढस। तब न विद्यार्थीले अंग्रेजी भाषा सिक्दो हो।
हाम्रो शिक्षण सिकाइको मुख्य समस्या पढाउने विधि र सिकाउने तरिका नै देखिन्छ।
सिकाइलाई नियममा बाँधेपछि विद्यार्थीले कुन सहजताका साथ अपनाएका छन्, त्यसमा ध्यान दिनुभन्दा पनि अंग्रेजी बोल्नुपर्ने नियम जसरी पनि आत्मसात गर्नु पर्ने वातावरण सिर्जना गरिन्छ। नजान्ने विद्यार्थीलाई निरीह, कमजोर र बोल्न नसक्ने बनाइन्छ। जसले गर्दा उसले अन्य विषयमा समेत आफ्नो क्षमता अनुरूप प्रदर्शन गर्न सक्दैन। नयाँ साथी बनाउन सक्दैन। उसको स्वाभिमान शिक्षकको गाली र कक्षामा साथीहरूको अपमानयुक्त हाँसोसँगै हराएर जान्छ।
यसरी फक्रन लागेका फूलहरू स्कुलको खडेरीमा ओइलाउँछन्। स्कुल लागेको घन्टीदेखि, छुट्टिको घन्टीसम्म ऊ उकुसमुकुस हुन्छ।
शिक्षण सिकाइको विधि आवश्यकता, रूचि र क्षमताको समीकरणबाट निर्माण भएको हुन्छ। आवश्यकता अनुरूप विषयको छनोट र त्यस विषयमा विद्यार्थीको रूचि अभिवृद्धि गर्दै उनीहरूको क्षमता बढाउनु नै सिकाइको उद्देश्य हो। तर हाम्रो शिक्षण सिकाइका कार्यक्रमले विद्यार्थीको रूचिअनुरूप सिकाइ तरिका अपनाएको देखिँदैन। पुस्तान्तरणमा प्राप्त प्राचीन तरिका नै अपनाइरहेको पाइन्छ।
हरेक वर्ष बोर्डिङ स्कुल नयाँ-नयाँ 'स्किम' कासाथ आउँछन्। तर स्किमभित्रको तरिका सधैंको जस्ताको तस्तै। जान्ने विद्यार्थीमा रोमान्चकता र नजान्ने, कमजोर विद्यार्थीमा डर पैदा मात्र गरिरहेको हुन्छ।
चाहे तपाईं स्कार्फ झुन्ड्याउने योजना ल्याउनुस्, वा टिलिक्क टल्कने ब्याज भिराइदिनुस्, त्यो भिर्ने क्लासका पढाइमा राम्रो गर्न सक्ने टाठा विद्यार्थी नै हुन्। जान्ने, पढ्न रूचि राखेका त पढिरहेकै छन्, कमजोर विद्यार्थी लाई पढ्न प्ररित गर्ने, उनीहरूमा 'म पनि गर्न सक्छु' को आत्मविश्वास भर्ने योजना ल्याएर, बाल मनोविज्ञानमा आधारित शिक्षण पद्धति अपनाउन हामी चुकिरहेका छौं।
बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थीको दैनिकी उनीहरूले बोक्ने झोलाभन्दा गह्रुँगा लाग्छन्। बिहान ९ बजे बस स्टेसनमा पुग। ४ सम्म स्कुलमा बिताऊ। ५ः३० मा घर आइपुगेर खाजा खाँदै खेल्न मात्र के सुरू भएको हुन्छ, होम ट्युसन सुरू। होम ट्युसनपछि डायरी पल्टाऊ। आठ विषयका आठथरी होमवर्क। सबै सक्काउनु छ। र भोलि फेरि हतार हतार उही चक्र।
सामान्य रूपमा बुझ्दा यत्ति देखिए पनि, ऊसँग तपाईं खुलेर जब कुरा गर्नुहुन्छ वा आफ्नो विगतमा फर्कनु हुन्छ, तब त्यहाँभित्रको छुट्टै संसारको भेउ पाउनु हुन्छ। साथीले चुङ्गी अड्काइदिएको थक्थकी, सरले बिना कारण कन्सिरीको रौं तान्दाको रिस, कक्षा टेस्टमा कम नम्बर आउँदाको तनाव र अपमान जस्ता कयौं विषय उसको बाल मनोविज्ञानमा दौडिरहेका हुन्छन्। जुन उसले तपाईंको तालिका अनुसार सब काम गर्दै मिलाउनु छ।
कलिलो ऊ कति बेला सुस्ताउँछ? कति बेला सोच्छ? कति बेला लामो सुस्केरा छोड्छ? उसका नितान्त व्यक्तिगत मनोभावलाई कहिले हल गर्छ?
जब तपाईंको कार्यतालिकामा उसका निमित्त समय छुट्याइएको छैन भने ऊ तपाईंको कार्यतालिकामा हस्तक्षेप गर्छ। उसको आफ्नो गृहकार्य शिक्षकका लागि गरिदिएको हुन्छ। आफ्नो अभिभावकका लागि पढिदिएको हुन्छ। उसको शरीर त स्वचालित हुन्छ तर दिमाग बन्द।
अनि ऊ विद्रोह गर्न सक्छ। घुर्काउन सक्छ। नबोली घन्टौं बसिदिन सक्छ। कहिलेकाहीँ बदलाको भाव पनि उर्लिन सक्छ।
त्यसैले विद्यार्थीको समष्टिगत विकास हुने खालका बाल मनोविज्ञानमा आधारित पाठ्यक्रम निर्माणदेखि प्रत्येक निकायको रचनात्मक भूमिका आवश्यक पर्छ। मुख्य भूमिका परिवार र स्कुल व्यवस्थापनकै हुन्छ।
सिकाइमा बाल मस्तिष्कलाई बुझ्नु र उनीहरूको रूचिअनुसार पढाउनु चुनौतीको काम र कला पनि हो। बालबालिकाले के, कति, कहिले र कसरी सिक्न सक्छन् भन्ने कुरा पत्ता लगाउनु र सिकाएपछि त्यस विषयमा कहाँ, कसरी र किन कमजोरी छ भन्ने ठम्याउनु निकै महत्वपूर्ण मानिन्छ। शिक्षकले विद्यार्थीले सिक्न सकेन भन्दा पनि मैले सिकाउन सकिनँको दुष्टिकोणबाट हेरेक खन्डमा समष्टिगत रूपमा सबै विद्यार्थीले बुझ्ने तरिकाहरू सिर्जना गर्न सक्छन्।
नयाँ शैक्षिक सत्र यो वर्ष अझै सुरू हुन सकेको छैन। वैकल्पिक विधिबारे छलफल चलिनैरहेको छ। भर्चुअल माध्यम, एफएम रेडियो र टिभीको प्रयोग गरेर पठनपाठन विस्तारै कहीँ कतै सुरू हुन थालेको छ।
यसैबीच भर्खरै सोलुबाट एउटा भाका घन्किँदै युट्युबमा आइपुग्यो-
गणित सजिलो
अभ्यास गरेमा हुन्न बोझिलो
डिग्री ९० हे साथी समकोण
त्योभन्दा नि सानो छ है न्यूनकोण
सरलकोणमा १८० डिग्री
हिसाब गर्दा सम्झन्छ नि निस्फिक्री
यो गीतले कोणको नियम मात्र सिकाएको छैन। थप हिसाब सिक्न विद्यार्थीलाई आह्वान गर्दै हिसाब गाह्रो विषय हैन है पनि भनिरहेको छ। अझ, सधैं सिर्कना लिएर कक्षाकोठामा पस्ने शिक्षक ठट्यौली पारामा भाका हालेर मायालु शैलीमा हिसाबका सूत्र सिकाइरहेका छन्। सायद विद्यार्थीले पहिलोचोटि यति सजिलो गरी नडराई भाका हालेर पनि सूत्र सिक्न सकिन्छ भन्ने थाहा पाए।
भर्खर सकिएको एसइई परीक्षाको आन्तरिक मूल्यांकनले पनि नयाँ तरिकाको परीक्षा प्रणालीलाई सानो ढोका खोलिदिएको छ।
अबको सिकाइ बालबालिकालाई आफूप्रति आत्मविश्वास जगाउने, चुनौती, बाधा र सफलतामा संवेगात्मक सन्तुलन कायम गर्न मद्दत पुर्याउनका साथै व्यावहारिक सीप र मानवीय मूल्यको विकासका लागि सहयोग पुर्याउने किसिमको हुनुपर्छ। यसको बहस अहिले वैकल्पिक शिक्षण विधि र परीक्षा प्रणालीमाथि छलफल भइरहेका बेला निकै सान्दर्भिक हुन जान्छ।
आखिर लौरोको सट्टामा गितार बोकेर जब शिक्षक कक्षामा छिर्छन् तब खुसी नहुने कुन विद्यार्थी होला र?