हाल मुलुकमा निजी र सरकारी अस्पताल गरी करिब ९५ हजार जति नर्सहरू सेवारत छन। त्यसमध्ये ६० हजारको हाराहारीमा स्टाफ नर्स छन्।
लाखौं खर्च गरेर अध्ययन गरेका नर्सहरूको स्थिति कस्तो छ त देशमा ? यस बारेमा कसैको चासो चिन्ता सोधखोज केहीँकतै भएको देखिँदैन।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रसँग आफ्नै ज्यानको बाजी थापेर कार्यरत नर्सहरूको बारेमा सरकार, मिडिया या कुनै सरोकारवाला निकायको ध्यान पुगेको देखिँदैन।
समाजका हरेक निकायको दु:खका कथाहरू देशका मूलधारका मिडियाहरूले गम्भिरताका साथ ल्याउँछन् तर लाखौं खर्च गरेर अध्ययन गरेका नर्सहरूको शोषण र दु:खका कथाहरूले कमै प्राथमिकता पाएका छन्।
लाखौं खर्च गरेर अध्ययन गर्दा त्यहाँ आर्थिक लगानी मात्रै हुँदैन वर्षौको लगन र मेहेनत पनि हुन्छ। बिरामीको सेवा गर्न भनेर फ्रन्टलाइनमा २४ घण्टा खटिएका नर्सहरूप्रति राज्यको , स्वास्थ्य संस्थाहरूको र हालका दिनमा समाजको व्यवहारले पेशाप्रति आशा होइन निराशा जगाएको छ।
कोरोनाभाइरस आएसँगै नर्सहरूका पीडामाथि पीडा थपिएका छन्। हुन त यतिबेला स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको अवस्था दु:खद छ। यद्यपी नर्सहरूको तुलनामा डाक्टरहरूको स्थिति सन्तोषजनक छ। नर्सहरू जहिले पनि बिरामीसँग सिधै सम्पर्कमा हुन्छन्।
सबभन्दा पहिले बिरामी सम्पर्कमा आउने भनेकै नर्ससँग हो। उनीहरूले हात डोहोर्याएर, रगतको चाप नापेर, शरीरको तापक्रम जाँचेपछि मात्रै डाक्टरहरूले बाँकी काम गर्ने हुन्। तर यहाँ डाक्टरहरूले मात्रै एक्लै कोरोना विरूद्धको लडाइँमा अहोरात्र खटिएका भन्ने ढंगले बाहिर प्रचार गरिएको छ !
पहिलो कुरा त नर्सहरूलाई ननस्टप १२ / १३ घण्टा सेवा दिन बाध्य पारिएको छ। कतिपय निजी अस्पातलहरूमा योभन्दा ज्यादा छ समय खट्नुपरेको स्थिति छ।
भोकै तिर्खै दिशापिसाव गर्ने समय समेत नपाई यसरी आफ्नै ज्यानको जोखिम मोलेर काम गर्दा समेत न त जागिरको सुरक्षा छ न त काम गरुन्जेल पर्याप्त तलब सुविधा छ!
भर्खंरै देशका निम्ति कोरोना संक्रमणको बेला सेवा गर्ने स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरूलाई सम्मानित गरेका समाचारहरू सुनियो।
सम्मानित हुनेमा डाक्टरहरू धेरै हुनुहुँदो रहेछ। स्वास्थ्य क्षेत्रका उच्च ओहोदाका कर्मचारीहरू पनि हुनुहुँदो रहेछ तर फ्रन्टलाइनमा मृत्युसँग आमनेसामने गरेका नर्सहरू कहीँकतै पुरस्कृत भएको नदेख्दा नरमाइलो लाग्यो।जो साँच्चिकै विशुद्ध सेवाभावले मैदानमा खटिएका छन्, उसैप्रति सरकारले उपेक्षा गर्दा मन चसक्क दुख्दो रहेछ!
कोभिड -१९ आएसँगै स्वास्थ्यकर्मीहरू त्यसमा पनि विशेषगरी नर्सहरूलाई समाजले गरेको दुर्दुर अझ दु:खद छ। कतिपय नर्सहरूलाई त परिवारबाटै समेत जागिर छोड्ने दवाब दिइयो।
महामारीको समयमा घरबेटीले घर छोड्न दबाव दिएका, सार्वजनिक स्थानहरूमा अछुतको व्यवहार गरिएका, नर्स भएकै कारण तरकारी किन्न समेत नपाएका समाचारले हाम्रो समाजको चेतनाको स्तरलाई उदांगो पारेको छ।
यस्ता गतिविधि गर्नेलाई सरकारले कुनै कारबाही गरेको पाइएन। यसले नर्सहरूको मात्रै नभएर सम्पूर्ण स्वास्थ्यकर्मीहरूकै मनोबल गिरेको छ।
अस्पातलमा निरन्तर १२ घण्टा ड्युटी गर्नुपर्ने, यसरी काम गर्दा पनि समयमा तलब नपाइने, कतिपय निजी अस्पतालले त उचित बीमाको व्यवस्था नगरिदिने गरेको छ। यो विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतको अपराध पनि हो।
अस्पातलको कार्य वातावरण एकातिर यस्तो छ भने घर परिवार समाजले जागिर छोड्नेदेखि सामाजिक बहिष्कार गर्ने सम्मका गतिविधिले नर्सहरूलाई मानसिक रूपमै विक्षिप्त बनाएको छ।
विश्व स्वास्थ्य संगठनले नै धेरै पहिले नै कोभिड - १९ लाई पेन्डेमिक भनेर भनिसकेको थियो। नेपाल लगायतका देशहरू यसको उच्च जोखिममा रहेको समेत बताएको थियो। तर यसप्रति सरकार पटक्कै गम्भीर देखिएन।
बरु यो कोभिड -१९ को मौका छोपेर कमाउने ध्यानमा लागे देशका जिम्मेवार मान्छेहरू! यतिका समय पाएर पनि नेपाल सरकारले कोरोनाविरूद्ध लड्न आवश्यक तयारी गरेन। अस्ति भर्खरसम्म काठमाडौंका ठूला अस्पातलहरूमा पनि पिपिई सेट थिएन। बिना कुनै सुरक्षा कोरोना उपचारमा नर्सहरू संलग्न थिए।
महामारीका बेला यस्तै हुन्छ भनेर जिम्मेवारहरू उम्कन खोज्छन् तर पर्याप्त समय साधन स्रोत हुँदाहुँदै पनि सरकारले आवश्यक सामग्री जोहो गर्न सकेन यो आफ्नो लाचारीपन छोप्ने तर्क मात्रै हो।
देश विकासको प्रमुख मेरुदण्डको रूपमा रहेको स्वास्थ्य क्षेत्रको फ्रन्टलाइनर नर्सहरूप्रति सरकार समाज र स्वास्थ्य संस्थाहरूको नीति र व्यवहार बदल्नुपर्ने आवश्यकता देखियो।