जिल्ला प्रशासन कार्यालय भर्खर खुलेको थियो। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा थियौं हामी।
कार्यालयको पहिलो सत्रमा दिनभर गर्नुपर्ने कामको सम्बन्धमा छलफल गर्थ्यौं। देशमा कोरोनाको कहर बढ्दै जाँदा संक्रमितको संख्याले पचास हजारको आकडा पार गरिसकेको थियो।
जिल्लामा शान्ति सुरक्षाको सुदृढिकरण, विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहका साथसाथै कोभिड संक्रमणको रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्नुपर्ने चुनौती समेत थपिएको थियो।
असोज १ गतेबाट सवारीसाधन सञ्चालन हुँदै गर्दा भदौ मसान्तसम्म एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावत नियन्त्रण गरिएको थियो। गृह मन्त्रालयले बाहिरी जिल्ला जानको लागि पास उपलव्ध नगराउनू भनी परिपत्र गरेको थियो।
दाङ सल्यानको लागि पानी पँधेरोजस्तै हो। सल्यानका अधिकांश मानिसको सम्बन्ध दाङसँग छ। सल्यानमा कसैको मृत्यु हुँदा दाङबाट एक हुल मानिस आइपुग्छन्।
दाङमा कसैको मृत्यु हुँदा सल्यानबाट मानिसहरूको लर्को लाग्छ। बिरामी हुँदा, खाद्यान्न अभाव हुँदा भर पर्नुपर्ने दाङमै हो। सल्यानमात्र निर्भर छैन दाङसँग। आलुलगायत करोडौंको तरकारी कपुरकोटबाट निर्यात हुन्छ दाङको लागि।
सामाजिक, साँस्कृतिक, आर्थिक, पारिवारिक हरेक किसिमले एक अर्कामा जोडिएका यी दुई जिल्ला मुलुक संघीय प्रणालीमा गएसँगै छुट्टिए। साविकमा राप्ती अञ्चलमा रहेका दाङ र सल्यान प्रदेश नं. ५ र कर्णाली प्रदेशमा समाहित हुन पुगे।
कर्णाली प्रदेश सरकारले जिल्ला प्रवेशमा पिसिआरको रिपोर्ट अनिवार्य गर्दा दाङमा सहज वातावरण हुन्छ। दाङमा निषेधाज्ञा लाग्दै गर्दा सल्यानमा पसल, व्यवसाय सबै खुलेको हुन्छ, वातावरण सहज हुन्छ।
आम सर्वसाधारणले यो परिस्थिति बुझ्दै बुझ्दैनन्। दाङमा जस्तो छ, सल्यानमा त्यस्तै छ भन्ने सोच्छन्। सल्यानमा जस्तो देख्यो दाङमा त्यस्तै छ भन्ने कल्पना गरिसक्छन्। सीमा नाकामा सुरक्षा निकायले कानूनको पालना गराउँदा परिस्थिति असहज बन्छ।
असहज परिस्थितिलाई सहज बनाउने जिम्मेवारी छ। प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा रहँदै गर्दा ‘आमा असी वर्ष हुनुभयो। सिकिस्त बिरामी हुनुहुन्छ। दिदीको घरमा हुनुहुन्छ। लकडाउन भन्दा पहिले जानुभएको हो। औषधि गर्नुछ उहाँको। गाडी रिर्जभ गरेका छौं। चार जना जाने हो। पास चाहियो’, सेवाग्राही भन्छन्।
गृह मन्त्रालय पास उपलब्ध नगराउनू भनी परिपत्र गर्छ, आम सर्वसाधारण पास चाहियो भन्दै दिनहुँ निवेदन पेस गर्छन्।
मन्त्रालयको निर्णय कार्यान्वयन गराउनुका साथसाथै आम सर्वसाधारणको समस्याको समाधान पनि गर्नुछ। कोभिडको जोखिम नियन्त्रण गर्नुछ।
सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै दाङ जिल्ला प्रशासनमा जिल्ला प्रवेश अनुमतिको लागि निवेदन पठाइदिएँ। केही समय धैर्य गर्न आग्रह गरें।
आमा सबभन्दा प्यारो शब्द। नौ महिनासम्म आफ्नो न्यानो कोखमा राखेर जन्म दिने, बाल्यकालमा काख दिने, जीवनभर आशिर्वाद दिने आमा भन्दा महान् कोही हुन सक्दैनथ्यो। डाँडामाथिको जून भएकी सेवाग्राहीकी आमा सिकिस्त बिरामी हुँदा मैले पनि सक्दो सहयोग गर्नु थियो।
मेरी आमा जस्तै हुँदी हुन् उनको आमा पनि। सेवाग्राहीले आमालाई समयमै भेटून्, उपचार गरून्, सञ्चो बनाऊन् अनि खुसी होऊन् यस्तै चाहनाले उनको काम प्राथमिकतामा राखें। उनको कामको लागि आफैं अग्रसर भएँ। प्रतिलिपि लिन आएका बुढा बा लाई रोकेर काम गरिदिएँ। अफिसको मेल चेक गरिरहें-दाङ जिल्ला प्रशासनबाट कुनै प्रतिक्रिया आएको छ कि भनेर।
सीता चलाउनको नागरिकतामा दस्तखत गरिदिँदै थिएँ म। पास माग्ने सेवाग्राही मेरो अगाडि ठिङ्ग उभिए। हातमा मोबाइल थियो उनको।
‘दाङको सिडिओ साबलाई फोन गरें मैले। दाङको प्रशासन बन्द छ रे। त्यतैबाट पास मिलाएर आउनु भन्नुभयो। यतैबाट गर्दिनु पर्यो’ सेवाग्राहीले बेलिविस्तार लगाए।
चौबिसै घण्टा सेवा प्रवाहको लागि तत्पर भइ राख्नुपर्ने, शान्ति, सुरक्षा, सुव्यवस्था कायम गर्नुपर्ने कार्यालय कसरी बन्द हुन सक्छ?
दाङको प्रमुख जिल्ला अधिकारीलाई राम्रोसँग चिन्थें म। उहाँको कार्यशैलीबाट प्रभावित थिएँ। उहाँबाट त्यस्तो जवाफको कल्पना गर्न सकिँदैनथ्यो। उनको कुरामा विश्वास लागेन। शंकास्पद नजरले हेरें। आँखा झुकाए उनले।
‘आमा के बिरामी हुनुहुन्छ ?’
‘पेट दुख्याऊ छ। जरो आयाउ छ’ अकमकिँदै बोले उनी।
‘आमा बिरामी हुँदाको केही कागजहरू छ ?’
‘छैन। नागरिकता छ।’
नागरिकता देखाए उनले। हेरें मैले। आमाको नाम हेरें। जन्ममिति हेरें। २०१० साल उल्लेख थियो। हिसाब गरें। ६७ वर्ष हुँदो रहेछ। उसको अर्को झूट पत्ता लगाएँ। केही भनिनँ।
‘दिदीको फोन नम्बर छ ? तपाईंको आमासँग कुरा गर्छु। आमा बिरामी हुनुहुँदो रहेछ भने चिठी लेखिदिन्छु।’
‘दिदीको फोन छैन। भिनाजूको छ।’
भिनाजूको नम्बर दिए उनले।
उनको भिनाजूलाई मैले पनि भिनाजू भनें। आफ्नो परिचय दिएँ। उनको घर परिवारको बारेमा कुरा गर्न थाले। उनका छोराछोरीको बारेमा कुरा गं । सञ्चो विसञ्चो सोधें। खुलस्त हुँदै गए उनी।
‘तपाईंको ससुराली कहाँ हो?’ मैले सोधें।
‘सल्यान।’
‘सासू कता हुनुहुन्छ ?
‘यतै हुनुहुन्छ।’
‘जेठान, सालाहरू छैनन् र ?’
‘छन्। लकडाउनमा आउनु भएको हो सासू। यतै हुनुहुन्छ।’
‘कस्तो छ सासूलाई अहिले ?’
‘राम्रो हुनुहुन्छ। भैंसी चराउन जानु भएको छ, छोरीसँगै।’
उनको जवाफले स्तव्ध भएँ म। धन्यवाद भन्दै फोन राखिदिएँ।
सेवाग्राहीको झूट प्रमाणित भयो। हरेक दिन जिल्ला प्रशासनमा आउने दुई चार जना सेवाग्राही झूट बोलिरहेका हुन्छन्।
कोही भत्ताको आशमा अस्वभाविक उमेर बढाएर नागरिकता लिन खोज्छन्, कोही सन्तानको आमा भएर पनि अविवाहित बनी माइतीबाट नागरिकता बनाउन खोज्छन् तर आमाकै नाममा झूट बोल्ने पहिलो सेवाग्राही थिए ती। उनी प्रतिको सम्मान घृणामा परिणत भइसकेको थियो। रिसको पारो बढेको थियो।
‘सद्दे (बिरामी नभएको ) आमालाई सिकिस्त बिरामी भन्न अप्ठ्यारो लाग्दैन ? कहाँ हुनुहुन्छ तपाई ? जिल्ला प्रशासनमा आएर झूट बोल्न हो ? कसले सिकायो झूट बोल्न ?” ठूलो स्वरमा कराएँ। उनी मौन बसे।
‘के को लागि जानु पर्यो दाङ ?’
‘आमाको नामको जग्गा नामसारी गर्न।’ सच्चाई ओकले उनले।
विरक्त लाग्यो। आमाको सम्पत्ति आफ्नो बनाउन छोराले त्यही आमालाई सिकिस्त बिरामी बनाइदिन्छ। कति स्वार्थी सन्तान।
सम्पत्ति प्राप्तिको कत्रो लालसा। सम्पत्ति चाहने सन्तानको आमाप्रति कुनै कर्तव्य हुँदैन? कति लालच छौं हामी सम्पत्तिप्रति।
कुरा गर्न मन लागेन। काम नहुने जानकारी गराएँ। उनको निवेदन उनैलाई थमाइदिएँ।
जिल्ला प्रशासन कार्यालयले दुःख दिन्छ, आम सर्वसाधारण यस्तै सोच्छन्। नागरिकता बनाउँदा दुःख, प्रतिलिपि लिँदा दुःख हरेक काममा दुःख। दुःखको कुरा गर्दा बुद्ध सम्झन्छु म। बुद्धवाणी सम्झन्छु।
बुद्ध भन्छन्, दुःखको कारण छ, त्यही मध्येको एक कारण हो- असत्य।
तपाईं हामी जबसम्म साँचो बोल्दैनौं, तबसम्म दुःखले हामीलाई पछ्याइरहन्छ। जिल्ला प्रशासनमा झन् बढी लागू हुन्छ यो।
जब कुनै सेवाग्राहीले झूटो विवरण (उमेर धेरै बढाएर, सन्तान भएर पनि अविवाहित भनेर) सहित नागरिकता लिन खोज्छ, दुःख पाउँछ उसले। दुःख उसले मात्र पाउँदैन, ऊजस्तै सेवाग्राहीले समेत पाउँछन्। वास्तविक पीडित पनि झन् पीडित बन्छन्। हरेक सेवाग्राहीलाई शंकाको नजरले हेर्नुपर्छ।
कुनै निश्चित निकायको लागि नतोकिएको काम गृह मन्त्रालय तथा मातहतका निकायले गर्ने व्यवस्था छ।
जिल्ला प्रशासनले हरेक समस्याको समाधानमा सहजीकरण गर्न सक्छ। आवश्यकता छ त सेवाग्राहीको इमान्दारिताको, सच्चाइको।
तपाईं इमान्दार बन्नुहोस्, आफ्ना समस्या राख्नुहोस्, सत्य बोल्नुहोस्, जिल्ला प्रशासन सधैं तपाईंको साथमा हुनेछ। जिल्ला प्रशासन दुःखको कारण कदापी बन्दैन, तपाईंहरूको हरेक समस्याको सहजीकरणमा तत्पर रहिरहनेछ।
(लेखक जिल्ला प्रशासन कार्यालय, सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी हुन्।)