अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलनको कार्यक्रम जुमबाट सञ्चालन भइरहेको थियो। साँझको करिब ७ बज्दै थियो। म पनि कथामार्फत् जोडिएकी थिएँ।
छोराले ‘ज्वरो आयो‚ पेट दुखेर पखाला लाग्यो’ भन्यो। कार्यक्रम अन्तिमतिर पुगेको र समीक्षा सुरू हुन लागेकोले ‘एकछिनमा कुरा गरुँला’ भनें। करिब आधा घण्टापछि फेरि श्रीमानले पनि ‘पेट दुखेजस्तो, ज्वरो आएजस्तो भयो’ भन्यो। छोराको कुरालाई त्यति धेरै गहिरिएर नसोचेको म अब भने कसैले पानी छ्यापेर सपनाबाट ब्यूँझाएजस्तै भएँ।
मेरो कथाको समीक्षा सुरू भइरहेको थियो तर दिमागले फिल्म नसकिँदै सिट छोडेर बाहिरिँदा पछाडि बजेको संवाद सुनेजस्तै भइरहेको थियो। मलाई के गरूँ कसो गरूँ भयो। राम्रो कुराको संकेत होइनजस्तो लाग्यो। काखमा रहेको ल्यापटपको स्क्रिनबाट एकैचोटि आँखा र दिमाग हटेर श्रीमान र छोराकहाँ पुग्यो।
सुरूको लकडाउनदेखि नै हामीले घरको बाहेक बाहिरको खाना खाएकै थिएनौं। ‘खानामा केही गडबड भएर पखाला लागेको हो कि के-के खायो’ भनेर छोरालाई सोधं। अलि बढी नै सेन्सेटिभ स्वभावको छोराले नेटमा हेरेर ‘ज्वरो आउनु‚ पखाला लाग्नु‚ जिउ दुख्नु‚ टाउको दुख्नु कोरोनाको लक्षणसँग मिलेकोले अब म एक्लै बस्छु मेरो नजिक तपाईंहरू नआाउनु’ भन्यो। उसको कुरा सुनेपछि मंगलबजारको बीचमा रहेको ठूलो घण्टामा कसैले समातेर ड्वाङ् ड्वाङ् हानेजस्तै मेरो दिमागमा हान्यो। अब के गर्ने कसो गर्ने औडाहा भयो। छोराले उसको नजिक हामीलाई आउनै दिएन।
त्यही रातिदेखि हामीले उसको कोठामा जान छोड्यौं। ज्वरो १०१ थियो भने पखाला लागिरहेको थियो। रातको १२ बजे पनि बाथरुम गएको मैले सुनें। छोराको भन्दा श्रीमानको अलि नर्मल नै थियो। छोरा छोरीको लागि आमा बुवाले हरेक कुराहरू सहेजस्तै उहाँले छोराको लागि रोग सहेको वा भनूं रोग लाग्नुभन्दा पहिले नै जितेको जस्तो मलाई लागिरहेको थियो। उहाँले भित्रभित्रै ज्वरो आएको जस्तो असजिलो भएको र जिउ पूरै दुखेको बताउनुभएको थियो। अनिष्ट हुने हो कि भन्ने मनमा डर त छँदै थियो। त्यसैले, हामीलेसँगै नसुत्ने सल्लाह गर्यौं। छोराको र हाम्रो कोठासँगै थियो। त्यसैले, लिभिङ रुममा नसुति आफ्नै कोठामा छुटै ओेछ्यान लगाएँ। यसले दुवै जनाको क्रियाकलापहरू म राम्ररी सुन्न र अनुभव गर्न सक्थें। एउटै कोठामा बसेर पनि हामी श्रीमान श्रीमति बोल्न सकेनौं। खाटमा उहाँ कोल्टे फेरिरहनु भएको थियो। सायद मलाई जुन चिन्ताले सताउँदै थियो उहाँलाई पनि त्यसैले सताएको हुनुपर्छ।
साँच्चै‚ बाबु-छोरा दुवैलाई कोरोना पोजेटिभ देखियो भने! ओहो‚ सम्झँदा मात्र पनि जिउ पूरै गल्यो। अब भोलिदेखि मैले के-के सावधानी अपनाउनु पर्छ? औषधीको रुपमा के खुवाउने? कसरी छिटो भन्दा छिटो निको पार्ने? कागती‚ बेसार पानी‚ अदुवा‚ गुर्जो‚ तातोपानी‚ वाफ‚ कागती पानी‚ आदि कुराहरू दिमागमा नाचिरहेको थियो। सोच्दासोच्दै मलाई पनि टाउको दुखेजस्तै भयो। मनमा चिन्ता हुँदा सबभन्दा पहिले निद्राले साथ छोड्ने रहेछ। रातभरि निद्रा नै लागेन। जब तनाव छप्पड फाडके साक्षात्कार हुन आउँछ तब हजारौं खर्चगरी लिएका तनाव व्यवस्थापनका कक्षाहरू र त्यहाँ सिकाइएका बुँदाहरू सबै बेकार हुने रहेछ। जुन नहोस् भन्ने चाहेको थिएँ त्यही भयो भन्ने मलाई विश्वास लागिरहेको थिएन। कहाँ गल्ती भयो हामीले अपनाउनु पर्ने सबै सावधानीहरू अपनाएकै थियौं। फेरि एक्कासी छोरालाई कसरी लक्षण देखापर्यो। रातभर मनले मनलाई नै धेरै प्रश्नहरू गरिरहे।
बेला-बेलामा अनलाइनमा आएका कोरोनासँग सम्बन्धित लेखहरू मोबाइलमा सेभ गरेर राखेकी थिएँ।
बिहान उठेर ती फाइलबाट केही काम लाग्ने टिप्स लिन सकिन्छ कि भनेर खोलेर हेरेँ। अरूबेला ज्वरो आउँदा म छामेरै कति छ भनेर थाहा पाउँथे। सुम्सुम्याएरै निको हुन्छ जसरी हामी आमाहरू बिरामी सन्तानलाई सुम्सुम्याइरहन्छौं। तर, अहिले उसलाई छुन त के नजिक पनि जान सकेको छैन। प्राय: बन्द कोठामा बस्न रुचाउने उसलाई मैले कोठाको ढोका बन्द गर्न दिइनँ। म ढोका बाहिरबाटै हेरेर उसको स्वास्थमा आएको उतारचढाव र क्रियाकलापहरू अनुमान लगाउथें। छिनछिनमा घाँटी दुखेको छ? ज्वरो बढेको छ? जिउ दुखेको छ? पखाला कतिपटक भयो? भनेर म सोधिरहन्थें। बेसार, नुन, ज्वानो मसला मिसाएको पानी खाने र बाफ लिन लगाइरहें र तातोपानी हरक्षण पिउन अनुरोध गरिरहें।
सन्तानको पीडामा हरेक आमालाई कति पीडा हुन्छ त्यो भनिरहनु पर्दैन तर त्यही दु:खमा टुलुटुलु हेरिरहनु पर्दाको दु:ख अझ पीडादायी हुने रहेछ। भौतिक शरीर उसको नजिक नपुगे पनि मन घरिघरि पुगिरहन्थ्यो। दिउँसो ज्वरो बढेर तातिएर होला ऊ कपडा खोलेर सुतेको थियो। साँझ ५ बजेतिर झ्यालबाट चिसो हावा आइरहेको थियो। म ढोका बाहिर उभिएर हेरिरहें। उठ् भनेर बोलाइरहें। कम्बलले शरीर ढाक्न भनिरहें। ऊ अर्धनिद्रामा नै थियो।
त्यतिबेला कति लाचार अनुभव गरें। मैले हेरिरहन नै सकिनँ र जे सुकै होस् भन्ने सोचेर मास्क र सेनिटाइजर लगाएर कोठाभित्र गएँ। मानौं यो सेनिटाइजर र मास्क नै ठूलो हतियार र मेरो बचाउको ढाल हो। कम्बलले शरीर ढाकिदिएँ। उत्तानो सुतिरहेको छोरोको निधार छामें, जरो थिएन। मनले सन्तोष मान्यो। हिजो रातभरि र आजको ज्वरो र पखालले ऊ गलेको देखिन्थ्यो। जीवनजलले पनि असर गरेको जस्तो लागेन। जवान छोरा खाटमा अशक्त भएर पल्टिरहेको देखेर कसलाई दु:ख नलाग्ला। उसले फेरेको श्वासप्रश्वासलाई नियालेर सहज असहज अनुमान लगाउँथें। ज्वरो १०१ भन्दा नबढेको, खोकी पनि नभएको तथा सास फेर्न पनि अप्ठ्यारो नभएकोले एक मनले यो भ्रम हो जस्तो लागिरहेको थियो। कोरोनाको महामारी चलेको बेला सामान्य मान्न सकिने अवस्था पनि थिएन। तर म आशावादी थिएँ।
उसले प्रयोग गरेको भाँडा छुट्याएँ। खाना खाएर भाँडा पनि आफैंले नै माझ्यो। सानैदेखि मैले छोराछोरी दुवैलाई बराबरी काम सिकाएकी थिएँ। आवश्यक परेमा भाँडा माझ्ने, लुगाधुने भुइँ पुछ्नेलगायत सबै काम गरे पनि भाँडा माझ्न मन पराउँदैनथ्यो। बिन्ति मलाई भाँडा माझ नभन्नुस् भन्थ्यो। कुनै हालतमा पनि नमाझ्ने भाँडा आज केही नभनी माझेको देख्दा पनि रुन मन लाग्यो।
हरेक पटक उसको थालमा खाना खन्याइदिँदा मलाई पहिलोपटक महिनावारी हुँदा आमाले माथिबाट खन्याएर खाना दिएको‚ यता पनि छोला छोला, उता पनि छोला छोला भनेर सबैतिर छेकवार लगाएर कोठाको कुनामा मात्र बस्न अह्राएको दिन याद आयो। मैले पनि छोरालाई यता नछोउ, उता नछोउ भन्दै धारा, भान्छा, कोठाका सामानहरू सबैमा रोक लगाएको थिएँ। एउटा अपार्टमेन्टमा बस्ने हामी तीन जनाको एउटै बाथरुम थियो। तल्लो फ्लाट लकडाउन भन्दा अगाडिदेखि नै खाली थियो। त्यसैले, हाम्रो फ्लाटको बाथरुम उसको लागि छोडेर हामीले तलको वाथरुम प्रयोग गर्यो।
सामाजिक सञ्जालमा सोधपुछको लागि भनेर दिएको टेकुको फोन नम्बरमा फोन गरेर जानकारी लिने सोच आयो। राति ९:४५ बजे ११:३३ मा फोन गरें। फोन उठ्छ भन्नेमा विश्वास थिएन तर फोन उठेपछि समस्याको समाधान नै भेटेजस्तो भित्रैदेखि खुसी लाग्यो। सबै कुरा बताएपछि उताबाट ‘८/१० दिन अगाडि समुदायका विभिन्न व्यक्तिहरूसँगको सम्पर्कले शंकास्पद रहेको बताए। सबै लक्षण मिल्दोजुल्दो भए पनि शतप्रतिशत कोरोना नै हो भनेर नसोच्नु होला तर ढुक्क हुनको लागि नजिकको अस्पतालमा गएर परीक्षण गरानुस्। रिपोर्ट नआएसम्म बिरामीसँग टाढा नै बस्नुस् भनेपछि अलि अगाडिसम्म तातिरहेको जिउ चिसो भयो। अब के गर्ने भन्ने मात्र सोच आयो। छोराले चैतदेखिदेखि घर, मामाघर भन्दा पर पाइला टेकेको थिएन। बरु हामी अफिस जाँदै थियौं। करिब ८/१० दिन अगाडि साथीहरूसँग तीन दिन लगातार केही स्थानमा मास्क सेनिटाइजरलगायत राहत बाँड्न गएको थियो।
‘कोरोना अब हामीले सँगै लिएर तर बचेर हिँड्नुपर्छ मामू। सधै घर बसेर समस्याको समाधान हुन्न’ भनेर बाहिर निस्केको थियो। अरुको सहयोगको लागि जान लागेको हो भनेर मैले रोक्न पनि सकिनँ। पाँच महिनादेखि घर बसेको छोरालाई मैले त्यतिवेला किन पठाएँ पछुतो लागिरहेको थियो। आफैंले आफैंलाई दोष दिएँ।
आफुलाई जति नै सम्हालेर संयम् अपनाउँछु भने पनि बोलीमा प्रष्ट देखिन्थ्यो। १९ वर्षका छोराले म मा आएको परिवर्तनलाई बुझेर नै होला बेला बेलामा भन्थ्यो, ‘तपाईंहरूको उमेरमा गाह्रो हो म त जसरी पनि सर्भाइब हुन्छु।’ उसले यसो भनेको एकै छिनअघि सुनसरीमा ६ वर्षीय बालिकाको कोरोनाबाट मृत्यु भएको समाचार सुनेकी थिएँ। कोरोनाले बच्चा-युवा-बुढा कसैलाई छोडेको भए पो उसको कुराले मनमा शान्ति पाउँथ्यो। मेरो छोराको आयु यति छोटो लेखेको होला र भावीले? मन कति भक्कानिए कति। समुद्रभित्रको छाल बाहिरी सतहमा देखिँदैन। भित्रैसम्म पुगेर डुब्नुपर्छ। हत्तपत्त नआत्तिने म यसपटक साह्रै निराश भएँ।
तेस्रो दिन बिहान परीक्षणको लागि लग्ने कि के गर्ने भनेर हामीले सल्लाह गर्यौं। ‘अस्पताल जानुभन्दा नजानु नै ठिक होला, झन् सर्ला भन्ने डर’ श्रीमानले भन्नुभयो। छोरालाई कोरोना पोजेटिभ हो भन्नेमा मलाई जस्तै उहाँलाई पनि शंका रहेछ जस्तो लाग्यो। राजधानीको मिलनचोकमा सिभिल अस्पतालका स्वस्थ्यकर्मी बस्ने घर स्थानीयले घेराउ गरेको समाचारहरू सामाजिक सञ्जालभरि नै आइरहेको थियो। विभिन्न स्थानमा स्वास्थकर्मीहरूलाई घरबाट निकालेको‚ दुर्व्यवहार गरेको समाचारहरू दिनहुँ हेरिरहन्थें। कति जनाले आफूलाई स्वास्थकर्मी हुँ भनेर परिचय दिन छोडेको बेला म चिनाजानका स्वास्थकर्मी मेसेन्जरमा खोज्दै थिएँ। साथीहरू तथा परिवारमध्येका स्वास्थकर्मीहरूको नाम टिपें र उनीहरूलाई फोनबाट जानकारी गराएँ।
स्वास्थ्यकर्मी एक-दुई जनाले आज र भोलि सिटामोल र पखालाको औषधी खुवाउने अनि भोलि बेलुकासम्ममा पखाला कम नभए पर्सी बिहान मात्र कोरोना टेष्ट गराउने सुझाव दिए। उनीहरूको सुझाव मान्नुबाहेक हामी के गर्न सक्थ्यौं र त्यसैले ओषधी किनेर खुवायौं। तीन टाइमको औषधीले साँझ पखाला कम भएको थियो भने ज्वरो पनि थिएन। मलाई पखाला कम भयो भने ज्वरो निको हुन्छ भन्ने लागिरहेको थियो। घाँटी दुख्ने सास फेर्न गाह्रो हुनेजस्ता लक्ष्यणहरू थिएन। तर, मानिसैपिच्छे लक्षण फरक हुन्छ भनेकोले यसै भन्न सकेको थिएनँ।
राति साथीको फोन आयो। साथीले हाम्रो स्वास्थ अवस्थाका बारेमा अलि बढी नै चासो राख्यो। साथीले थाहा पो पाइसकेकी के हो भन्ने मनमा डर शंका पनि लाग्यो। नत्र किन कोट्याई कोट्याई सोध्थ्यो! मैले सबै ठिक छ भनेर ढाँटे। कोरोना पोजेटिभ भएकाहरूले समाजमा खेप्नु परेको दुर्व्यवहारको बारेमा बेला-बेलामा समाचारहरू आइरहने भएकोले मैले साथीलाई भन्न चाहिनँ।
साथीले नै उसको श्रीमान् र छोरालाई पनि तीन दिनदेखि ज्वरो तथा पखाला लागेको र औषधी खाएपछि आजबाट आराम भएको बताइन्। उसले नै अर्को साथीको परिवारमा पनि उस्तै समस्या भएकोले मलाई सोधेको बताइन्। अघि ढाँटे पनि अब यथार्थ सबै बताएँ। कुराकानीपछि लामो समयदेखि बोकिरहेको ठूलै भारी बिसाएजस्तै हलुका महसुस गरें। कोरोना पोजेटिभ होइन भन्ने यकिन भयो। केही दिन अगाडि हामी तीन परिवार मिलेर दर खाएका थियौं। साथीले बताए अनुसार त्यस दिन दर खाने १० जनामध्ये पाँच जनालाई भोलिपल्टदेखि (ठ्याक्कै मेरो छोरालाई भएकै दिनदेखि) हल्का ज्वरो र पखाला लागेको रहेछ। सायद फुड प्वाइजन वा खानामा केही गडबड भएको हुनुपर्छ। उनीहरूले पनि सिटामोल र पखालाको औषधी खाए र बिसेक भए।
तर, मैले यसबारेमा पटक्कै सोचिनँ। अर्को कुरा डक्टरकोमा नगई आफैं जान्ने हुँदा यो मानसिक तनाव भोग्नु परेको थियो। साथीहरूले पखाला र ज्वरो मात्र देखे। मेरो छोराले कोरोनासँग जोडेर हेर्यो। साथीले फोन नगरेको भए वनको बाघले नखाए पनि मनको बाघले पक्कै खाने थियो हामीलाई।
लकडाउन सटडाउन र निषेधाज्ञा तीन चरण पार गरी ६ महिनापछि लगभग सबै क्षेत्र खुकुलो हुँदैछ। बन्दाबन्दी मात्र पनि सबै समस्याको समाधान होइन भनेर हामी सबैले बुझिसक्यौं। त्यसैले, हामी हाम्रो जनजीवन सामान्य रुपमा सुचारू होस् भन्ने चाहिरहेका छौं। सामान्य जीवनयापनको क्रममा सबैतिर हाम्रो पहुँच पुगेपछि भाइरस कहाँ हुन्छ, कतिबेला कसरी सर्छ भनेर कसैलाई थाहा हुँदैन।
अहिलेको अवस्थामा आइसोलेसन र सामाजिक दुरी कायम गर्नु महत्वपूर्ण हो तर हरेक स्थान र समयमा यो सम्भव नहुन पनि सक्छ। सतर्कता अपनाए पनि कुन व्यक्तिसँग कतिबेला नजिक भए वा कसलाई छोएँ भनेर सम्झिरहन पनि साध्य हुन्न। कहिलेकाहीँ टाउको दुख्यो वा रुघा लागेजस्तो भए पनि डर लाग्छ। मनमा शंका लाग्न थाल्छ। तीन दिनको तनावले मैले एउटा कुरा अनुभव गरें। हामी सबैले आफ्नो घरमा आइसोलेसनको लागि एउटा कोठा तयारी अवस्थामा राख्नु पर्छ। यदि पोजेटिभ देखिहाल्यो वा लक्षण देखियो भने पनि नआत्तिकन छुट्टै बस्न सजिलो होस्। सकेसम्म एटेज बाथरुम भएको‚ हावा र घाम आउने कोठामा केही सकारात्मक ऊर्जा दिने पुस्तकहरु भएमा एक्लै बस्दा समय बिताउन सहज हुन्थ्यो। यसबाहेक सिटामोल‚ थर्मस‚ थर्ममिटर‚ चिनेजानेका स्वास्थकर्मीहरूको नम्बर राख्नुपर्छ ताकि आवश्यक परेको बेलामा वा स्वास्थ समस्या लगायतका आवश्यक परेमा के गर्ने कसो गर्ने सल्लाह लिन सिकन्छ।
त्यस्तै, प्रत्येक वडा कार्यालयहरू‚ टोल सुधार समिति‚ समूह वा संस्थाहरूले खाने बस्ने व्यवस्थासहित केही बेडको आइसोलेसन सञ्चालन गर्नु आवश्यक देखिन्छ। यसो भएमा भाडामा बस्नेहरू वा घरमा छुटै बस्न नमिल्नेहरूले यस्तो समूहबाट सञ्चालन भएको आइसोलेसनवाट लाभ लिन सकिन्थ्यो। न्यूनतम् शुल्क नै लिएर भए पनि आइसोलेसनको सुविधाले पोजेटिभको संख्यामा कमी नभए पनि बढ्न दिँदैन कि भन्ने विचार आउछ। शंकाको भरमा पाएको तनावको बारेमा आज यो लेख लेखे पनि पोजेटिभ भएको कहानी लेख्न नपरोस्।