सुरूमा सोनी तामाङलाई हार्दिक श्रद्धाञ्जलि।
बेथानचोक-४, चलाल गणेस्थानकी उनलाई वैदेशिक रोजगारबाट फर्किएपछि साउन १७ गते गाउँपालिकाले ढुंखर्क स्वास्थ्य चौकीमा क्वारेन्टिनमा राखेको थियो।
उनको सुसाइड नोटलाई आधार मान्दा साउन २३ गते उनले क्वारेन्टिनमै रहँदा आत्महत्या गरिन्। पोस्टमार्टम रिपोर्टमा पनि आत्महत्या नै देखिएको प्रहरीले जनाएको छ।
सोनीले आफ्नो ज्यान आफैं लिनुपर्ने अवस्था कसरी आयो? वा, उनलाई आत्महत्याका लागि दुरुत्साहन गर्ने को थियो? यसबारे प्रहरीले अनुसन्धान गर्ने नै छ।
म यही घटनासँग जोडिएको एउटा सन्दर्भ यहाँ उल्लेख गर्दैछु, जसका बारेमा खासै चर्चा सुनिएको छैन।
सोनीको 'आत्महत्या'पछि उत्पन्न परिस्थितिले क्वारेन्टिन राखिएको ढुंखर्क स्वास्थ्य चौकी झन्डै झन्डै रणभूमिमा परिणत भयो। मृत्युको पीडा र आक्रोशका कारण परिवार, आफन्त र गाउँलले स्वास्थ्य चौकी तोडफोड गरे, जसलाई स्वाभाविक प्रतिक्रिया मान्न सकिन्छ।
उक्त घटनापछि मेरो दाजु सीताराम तिमल्सिना र बुवा प्रेमबहादुर तिमल्सिनाले चरम असुरक्षाबीच त्रासदीपूर्ण छ घन्टा बिताउनुपरेको थियो। उहाँहरूलाई समयमै नलुकाइएको भए ज्यान जाने खतरासम्म रहेको प्रत्यक्षदर्शी बताउँछन्। यसलाई चाहिँ मैले स्वाभाविक मान्न सकेको छैन।
मेरो दाजु गाउँपालिकाको स्वास्थ्य संयोजक र बुवा गाउँपालिका अध्यक्ष नभएको भए सायद हाम्रो लागि त्यस्तो अवस्था आउँदैनथ्यो।
घटनाको सुरूआत दाजु सीताराम, ढुंखर्क स्वास्थ्य चौकीका कार्यालय सहायक उत्तम अधिकारी र गाउँपालिकाका एक सदस्यमाथि हातपातबाट भएको थियो। त्यति बेला घटनास्थलमै रहनुभएका बुवा स्थिति नियन्त्रणबाहिर जाने देखेर अन्यत्र लाग्नुभयो। भीड नियन्त्रणको प्रयास गर्नेहरूकै सल्लाहमा बुवाले घटनास्थल छाड्नुभएको थियो।
स्वास्थ्य चौकी तोडफोडपछि केही व्यक्ति दाइ र बुवालाई खोज्न हाम्रो घरतर्फ लागे।
भीड हाम्रो घर पुग्नुअघि नै वरिपरिका सबै पसलका सटर बन्द भइसकेका थिए। हाम्रो परिवार निर्माणाधीन घरको माथिल्लो तलामा बस्छ। भीड त्यहाँ पुग्दा आमा, भाउजू र भतिजी मात्र घरमा थिए।
दाइ र बुवालाई खोजी गरेपछि आमाले सबै कोठा देखाएर उहाँहरू घरमा नभएको जानकारी दिनुभयो। त्यसपछि त्यो भीड गाउँपालिकाको अस्थायी कार्यालय पुग्यो, जुन हाम्रो घरबाट झन्डै आधा किलोमिटर टाढा छ।
त्यहाँ मूलढोकामै ताल्चा लागेकाले उनीहरूले पर्खाल चढेर भित्र खोजी गरेछन्। त्यहाँ पनि नभेटिएपछि भीड फेरि हाम्रो घर पुगेको थियो।
त्यति बेलासम्म बनेपाबाट गएको प्रहरी घटनास्थल पुगिसकेको थियो। घटनास्थल नियन्त्रणमा आइसके पनि भीडले घर तोडफोड गर्यो। घरका सिसा फोरिए। स्थानीय केही साथीहरूले भने भीड पुग्नुअघि नै भाउजू र भतिजीलाई घर छाड्न भनिसकेका रहेछन्। पेट्रोल छर्केर घरमा आगो लगाउनेसम्म हल्ला फैलिएको जानकार बताउँछन्।
उनीहरूले सिसा फुटाउन थालेपछि स्वास्थ्य चौकीमा रहेको प्रहरी टोली तत्काल हाम्रो घर पुगेर भीड तितरबितर पारेको थियो।
प्रहरी, जनप्रतिनिधि र आफन्तको आपसी सहमतिमा रातको करिब ९ बजेतिर सोनीको शव बनेपा लगियो। शव लगेपछि उनका आफन्त र गाउँले पनि घर फर्के। त्यसपछि भने स्थिति विस्तारै सामान्य बन्दै गयो।
बुवा उमेरले ६८ वर्ष लाग्नुभयो। उहाँको सार्वजनिक जीवन चार दशकभन्दा लामो छ। मैलेभन्दा बढी त्यहाँका स्थानीयले उहाँका बारेमा अझै राम्रो बताउन सक्छन्।
२०३३ सालमा गाउँफर्क सदस्यबाट सुरू उहाँको सक्रिय राजनीतिक जीवनमा माओवादी सशस्त्र विद्रोहपछिकै सबभन्दा त्रासदीपूर्ण घटना यही थियो।
उहाँ २०३८ सालमा साविक ढुंर्खकको उपप्रधानपञ्च र २०४३ मा प्रधानपञ्च निर्वाचित हुनुभएको थियो। उहाँ प्रधानपञ्च रहँदा २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि बुवा कांग्रेसमा आबद्ध हुनुभयो र २०५४ सालमा ढुंखर्क गाविसको अध्यक्ष निर्वाचित हुनुभयो। संघीयतापछि पुराना पाँच गाविस मिलेर बनेको बेथानचोक गाउँपालिकामा उहाँ कांग्रेसबाटै अध्यक्ष निर्वाचित हुनुभएको थियो।
उहाँको लामो राजनीतिक जीवनमा थुप्रै अप्ठ्यारा परिस्थिति आए, व्यक्तिगत समस्याहरू पनि आए। तर, यसपटकको जस्तो संकट सायदै उहाँको जीवनमा आयो होला।
माओवादी द्वन्द्वकालमा पनि हाम्रो परिवार प्रताडित नभएको होइन। तत्कालीन नेकपा माओवादी कार्यकर्ताले २ लाख रुपैयाँ चन्दा मागेपछि असुरक्षित महशुस गर्दै उहाँले गाउँ छाड्नुपरेको थियो। पाँच वर्षपछि मात्र उहाँ गाउँ फर्कनुभयो।
यसपटकको परिस्थिति भने भिन्न रह्यो।
एउटै घटनामा बाबुछोरामाथि नै सुरक्षाको यति खतरा हुन्छ भन्ने अनुमान कसरी गर्नु! घरमा रहेका आमा, भाउजू र भतिजीले भोग्नुपरेको मानसिक पीडा र अपमान कसरी बुझ्नु!
घटनापछि काठमाडौंमा रहेको मैले पहिलो टेलिफोन सम्पर्क दाइलाई गरेको थिएँ। त्यति बेलासम्म उसले कुटाई खाइसकेको थियो। त्यसपछि बुवालाई सम्पर्क गरेँ। उहाँले सुरक्षित छु भनेपछि केही राहत महशुस भयो। तर, ढुक्क हुने अवस्था थिएन। जे पनि हुन सक्छ भन्ने डरले छटपटी हुनु स्वाभाविक थियो।
पछि दाइको फोन बन्द भयो। बुवासँग भने पटक-पटक सम्पर्क गरिराखेँ। वडा नम्बर ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठ र केही साथीहरूसँग त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिने प्रयास गरेँ।
घटनाको केही दिनपछि कुरा गर्दा आमाले भन्नुभयो, 'अहिलेसम्म पनि राम्ररी निद्रा लागेको छैन। भात खाको हो कि विष खाको हो भन्ने हुन्छ!'
घटनाको भोलिपल्ट बुवा वडाध्यक्षहरूका साथ गाउँपालिकामा हुनुहुन्थ्यो। छलफलको विषय अब कसरी अघि बढ्ने भन्ने थियो। घटनाबारे चासो राख्ने धेरैले मलाई सल्लाह दिएका थिए, 'बुवालाई केही दिन काठमाडौं बोलाउनु ठिक हुन्छ।'
मलाई पनि बुवा र दाइ दुवैलाई काठमाडौं बोलाउन ठिक होला भन्ने लागेको थियो। तर, बुवा मान्नुभएन।
उहाँले भन्नुभयो, 'गाउँ छाड्नु समास्या समाधान होइन, मर्नै परेछ भने पनि गाउँलेकै बीचमा मर्छु। म मरे तिमीहरू छौ नि!'
उहाँको यस्तो जवाफ सुनेर म नाजवाफ भएँ।
अहिले पनि म बारम्बार आफैंलाई प्रश्न गर्छु, बुवा गाउँपालिका अध्यक्ष हुनु र दाइ स्वास्थ्य संयोजक हुनु उहाँहरूको उपराध हो? अरूलाई परेको अन्यायमा न्याय दिलाउन उभिने बुवा आफ्नै विषयमा किन यति कमजोर बन्नुपर्यो?
गणतन्त्रमा न्यायका विषयमा हामी वकालत गरेर थाक्दैनौं। के उहाँहरूमाथि अन्याय भएको होइन? त्यो घटनामा के हाम्रो परिवार अपराधी थियो?
सार्वजनिक पदमा रहनेले जनताप्रति जवाफदेही हुनुपर्छ भन्ने म मान्छु। त्यसको अर्थ सार्वजनिक पद धारण गर्नेमाथि आक्रमण गर्न पनि पाउनुपर्छ भन्ने सोच राख्नु कहाँसम्म जायज हो? हामी कुन समयमा छौं?
क्वारेन्टिनमा कमजोरी थियो र छ भने पदीय जिम्मेवारीका हिसाबले गाउँपालिकाका पदाधिकारी, सम्बन्धित वडाका पदाधिकारी, व्यवस्थापनसहित स्वास्थ्य संयोजक, उपस्वास्थ्य चौकी कर्मचारी, सुरक्षाकर्मीमाथि छानबिन गरेर कानुनअनुसार कारबाहीको भागीदार बनाउन सकिन्छ। तर, उनीहरूमाथि सांघातिक हमला गर्नु र घरमा तोडफोड गर्नु कहाँको न्याय हो?
घटनापछि सामाजिक सञ्जालमा आएका केही टिप्पणी झनै पीडादायी थिए। रिसमा कसैले वेद पढ्दैन भन्नेजस्ता अभिव्यक्तिले आक्रमणलाई सही ठहर्याउन खोज्यो। हुन त अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै आफूलाई लागेको भन्न पाइन्छ, तर यस्ता घटनामा प्रहरी अनुसन्धान कुर्नुपर्छ कि पर्दैन?
गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा अध्यक्षका रूपमा बुवाको आलोचना हुनुलाई मैले स्वाभाविक मानेको छु। धेरैले त्यो विषयमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले गाउँपालिकाको, अझ खासगरी बुवाको कदमको विरोध गरेका छन्। अध्यक्ष भएका नाताले उहाँ त्यसको जस र अपजस दुवैको भागीदार हुनैपर्छ। त्यसो भन्दैमा कुरै नबुझी कसैलाई दोषी करार गर्न त मिल्दैन कि?
मलाई यो पनि थाहा छ, घटनाको दिन सही र गलत भन्ने अवस्थामा स्थानीय बासिन्दा थिएनन्। जसले बोल्यो उसैमाथि आक्रमण हुने खतरा थियो। अहिले अवस्था सामान्य हुँदा पनि मान्छेको विवेकले केही बोल्न आवश्यक नठान्नु चहिँ आश्चर्यलाग्दो छ।
म फेरि पनि भन्छु- सरकारी तहबाट घटना र त्यसपछिका परिघटनाको छानबिन होस्। सोनी त्यो अवस्थामा पुग्नुको कारण पत्ता लगाइयोस्। भोलिका दिनमा कुनै अर्को सोनीले स्वयं आफ्नो मृत्यु रोज्नु नपरोस्। मानवअधिकारवादी संस्था र घटना छानबिन गर्ने निकायलाई म यसमा सत्यतथ्य जाँच गर्न आह्वान गर्छु।
हाम्रा लागि कसैले बोल्नुपर्छ भन्ने छैन। तर, सबैलाई एकपटक न्यायको पक्षमा उभिन म आग्रह गर्छु। किनभने, अन्यायले जित्यो र न्याय मर्ने अवस्था आयो भने भोलिका दिनमा असंख्य सोनीहरूले उस्तै मृत्युको बाटो रोज्नुपर्ने हुनसक्छ।
अन्यायले नजितोस् भनेर मात्र पुग्दैन, न्याय मर्न नदिन हामी कति जागरुक हुन्छौं भन्ने पनि त्यत्तिकै महत्वपूर्ण कुरा हो।
(तिमल्सिना हाम्रो खेलकुद डटकमका सम्पादक हुन्)