अरु बेला त ठिकै हो, गाउँमा पानी परेको बेला फोनमा बोलेको केही बुझिदैन। काट्टिएको आवाजका टुक्राहरुलाई जोडेर मनैमन उताबाट बोलेका कुराहरू बुझ्न् खोज्छु र बुझेन भने 'होर?' भन्दै हाँसीदिन्छु। विद्यार्थीहरुलाई फोन गर्दा उनीहरुले जहिले गाउँको कुनै न कुनै रमाइलो कुरा सुनाइरहेका हुन्छन्।
'फटकशिलामा त केही लकडाउन लागेको छैन सर, हामी त घाँस काट्न आका छम्' रमाइलो मान्दै कक्षा ८ पढ्ने अनिसाले फोनमा भनेकी थिइन्। केटाकेटीहरु बन्द रहेको स्कुलको सुनसान चौरमा जम्मा हुन्छन्, अनि त्यहाँ गफ सुरु भैहाल्छ। म पनि कहिलेकाहीँ गफमा सामेल हुन घण्टी दिन्छु।
मेरो घण्टी कहिले स्कुलको चौरमा बज्छ, कहिले घाँस काट्दै गरेको हसियाँको छेउमा बज्छ, कहिले मकै भाच्दै गरेको बारीमा त कहिले घरको आँगनमा बज्दै गरेको रेडियो सँगसँगै बज्छ। कुनैकुनै बेला घण्टी बज्दैन, उताबाट एक युवतीको आवाज आउँछ, फोन सम्पर्क हुन नसकेको र फोन नम्बर नमिलेको कुरा माफी माग्दै सुनाउँछ।
फोन गर्नु अघि अनलिमिटेड भोइस प्याक लिनु त मेरो बानी नै भैसक्यो। विद्यार्थीहरुको नाम र नम्बर भएको कापी लिएर फोन गर्न बसेपछि त समय गएको पत्तै हुँदैन। कति कुरा गरिन्छ कति। सबै फोन कलमा एउटा प्रश्न जहिल्यै हुन्छ 'अब हाम्रो स्कुल कहिले खुल्छ?'
अरुसँग बेलाबेला कुरा हुन्छ तर आजभोलि सागरसँग कुरा भएको छैन। 'सर आज बेसि गएको थिएँ, फर्किदै गर्दा मोबाइल कता झरेछ, कता' दुखी भएपनि सकेसम्म हँसिलो आवाजमा सागरले बुबाको मोबाइलबाट फोन गर्दै सुनाएको थियो।
सागरको टुकटुके मोबाइल हराउँदा उसलाई जतिकै मलाई पनि दु:ख लागेको छ। त्यही मोबाइल भएर त मैले यस्तो परिस्थितिमा पनि सागर र सँगसँगै घर भएका अरु विद्यार्थीहरुसँग जुनै बेला पनि कुरा गर्नसक्थेँ। सागरको बुबा धेरैजसो घर बाहिर नै काममा जानुहुन्छ। सागरलाई पनि बुबाको मोबाइल बेलाबेला माग्न अप्ठ्यारो नै लाग्दो होला। तर आजसम्म जे भयो, त्यसले मेरो विश्वासलाई बलियो बनाएको छ।
यो भौतिक दूरीमा त विद्यार्थी-शिक्षकको सम्बन्ध अझै नजिक भएको छ। फोनमा कुरा गर्दैगर्दा गत साल स्कुलमै छोडेर आएको अनुहारहरु आँखा अगाडि झल्झली आउँछ, र स्कुलका सम्झनाहरुको रिल दिमागमा घुमेपछि हावाको काल्पनिक पर्दामा ती क्षणहरु देखापर्छन्।
गत साल दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन हुने दिन स्कुल पुग्ने बितिक्कै सागरले भनेको कुरा अहिले याद आउँछ। 'सर म गणितमा पास हुन्छु कि नाइ, मलाई पढाइ छुट्छ भन्ने कुराको एकदमै डर लाग्छ।'
बुबा काम गर्ने ठाउँको नजिकै पर्ने नागर्जुनको एक स्कुलमा पढिरहेको सागर, गाउँ फर्कनु परेपछि श्री कालिका चेतना माविमा भर्ना भएको थियो। विद्यालय परिवर्तन गरेको कारण १० कक्षा भर्ना हुनुपर्ने सागर कक्षा ९ मा भर्ना हुनुपरेको थियो। ९ कक्षा दोहोराउनु परेको कारण सागर खुसी थिएन।
सागर प्रथम त्रैमासिक परीक्षामा गणित विषयमा मात्रै फेल भएको थियो, अरु सबै विषयमा उत्कृष्ट अंक ल्याएको थियो। सागरलाई गणितकै कारण यो वर्ष पनि पछि परिन्छ कि भन्ने डर थियो।
कोरोनाको जोखिम अवस्थाका कारण सबै विद्यालय बन्द भएको बेला धेरै चिन्तित विद्यार्थीहरु मध्य सागर पनि एक हो। वैशाखको पहिलो सातामा सागरले मलाई फ्रेन्ड रिक्वेस्ट पठायो। सागरलाई फेसबुकमा चिन्ने बित्तिकै मैले ऊसँग मोबाइल नम्बर मागेँ र नम्बर पाउने बित्तिकै कल गरेँ।
आफैलाई शंका लाग्दालाग्दै म सागरलाई स्कुल चाडै खुल्ने आश्वासन दिदैँ थिएँ र अहिलेको लागि घरमा भएको किताबहरु पढ्न र घरमै बसेर नयाँ सीपहरु सिक्न सल्लाह दिदैँ थिएँ। प्रत्येक फोन कल र मेसेजमा उसको पहिलो प्रश्न, 'स्कुल कहिले खुल्छ सर?' नै हुन्थ्यो र मेरो जवाफ 'चाँडै' हुन्थ्यो। केही दिनसम्म त विश्वास पनि गरेको होला। तर जेष्ठ महिना लाग्दा पनि स्कुल खुल्ने छाँटकाँट नदेखेपछि मेरो उत्तरमाथि सागरको त के, मेरो आफ्नै विश्वास उठिसकेको थियो। अब सागरले मसँग च्याट गर्न र फोनमा कुरा गर्न पनि अन्कनाउन थालेको थियो।
टिच फर नेपालबाट वैशाखको पहिलो हप्तामै सबै विद्यार्थीमाझ कोभिड सम्बन्धी सचेतना जगाउन सर्भे कार्यक्रम सुरुआत भैसकेको थियो। त्यही समय मैले सबै विद्यार्थीहरुको फोन नम्बर संकलन गरेको थिएँ। मैले पढाएको विद्यार्थीहरु मध्य १०-१२% विद्यार्थीसम्म मात्रै म फोन र फेसबुक मार्फत पुग्न सकेको थिएँ।
सागर त्यो मध्य एक थियो, त्यसैले म उसलाई यति सजिलै गुमाउन चाहन्न थिएँ। मैले उसको मन फेरि जित्नु नै थियो। त्यसदिन स्कुलमा मैले उसको प्रश्नको जवाफमा पनि 'प्रयास गर्ने मान्छे कहिल्यै फेल हुँदैन' भनेको थिएँ। सागर दोस्रो त्रैमासिक परीक्षामा पास र अन्तिम परीक्षामा कक्षा प्रथम नै भएको थियो, म कसरी उसलाई सजिलै हारेर छोडन सक्थेँ र!
फेरि सागरलाई कल गरेँ, केही रमाइलो कुरा गरेँ। तर बीचमा फेरि सागरको गम्भीर प्रश्न आयो, 'हाम्रो स्टडिको मलाई लास्ट चिन्ता लागि रहेको छ सर!' अहिलेसम्म मैले सागरलाई गणितसँग सम्बन्धित हल्का फुल्का सामग्रीहरु त पठाउँदै थिएँ तर मलाई अब केही फरक गर्नु पर्छ जस्तो लाग्यो।
मैले सागरलाई यो समय आफ्नो सफ्ट स्किल तिखार्ने राम्रो अवसर भएको बताएँ। सफ्ट स्किलको कुरा सुनेपछि सागरले चासो देखायो। मैले सफ्ट स्किलमा मुख्यगरी टाइम म्यानेजमेन्ट, नेटवर्कीङ, टिम वर्क, क्रिएटिभिटी थिन्किङ र कन्फिल्क्ट म्यानेजमेन्ट हुने बताएँ।
सागरसँग यस सम्बन्धी कुरा गर्दै गर्दा उसले आफ्नो क्रिएटिभिटी बढाउन किताब पढ्दै गरेको बतायो र अहिले हरिवंश आचार्यको जिवनी 'चिना हराएको मान्छे' पढ्दै गरेको बतायो। त्यो कुरा सुनेर म धेरै खुसी भएँ र आफूले पनि 'डि अल्केमिस्ट' पढ्दै गरेको बताएँ। हामी दुवैले किताब पढिसकेपछि बुक रिभ्यु लेखेर एकअर्कालाई देखाउने वाचा पनि गर्यौँ।
मैले सागरलाई अहिले हुँदै गरेको अनलाइन पोडकास्ट प्रतियोगिताको बारे पनि बताएँ। बन्द रहेको विद्यालय र किताबभन्दा अलि पर गएर सोच्दा मैले सागरको इच्छाको विषय भेट्टाउन सकेको थिएँ। र अब म उसलाई प्रतियोगिताको लागि साथ दिदैँ थिएँ।
प्रतियोगिताको नतिजा आयो र सागरले तेस्रो स्थान हासिल गर्यो। यसले उसलाई पक्कै उत्प्रेरित गर्यो होला। त्यसको केही दिनमै सागरले मलाई 'चिना हराएको मान्छे' को बुक रिभ्यु पठायो। म खुसीले गदगद् हुँदै बुक रिभ्यु फेस्बुकमा पोस्ट गरेँ। टिएफएनका अमिर दाइलाई पनि शेयर गरेँ। उहाँले हरिवंशका छोरालाई चिन्नुहुँदो रहेछ, शेयर गर्नुभयो।
उहाँको कमेन्ट आएको थियो, 'थ्यान्क यू अमिर फोर शेयरिङ।' यो खुसीको खबर सागरलाई शेयर गर्दै गर्दा स्वयम हरिवंश आचार्यले त्यो पोस्ट आफ्नो फेस्बुक पेजमा शेयर गर्नु भएछ। खुसीको सीमा नै रहेन।
यसपछि सागरलाई मैले अन्य अनलाइन अवसरहरुको बारे खबर गर्दै गएँ र सागरले खुसी खुसी सहभागी पनि गर्यो। सागरले मलाई उसको प्रतिभाहरु अडिओ, भिडिओ, चित्र, कविताहरुको रुपमा पठाएको छ। मैले त्यो विभिन्न प्लेटफर्महरुमा शेयर गरेँ।
उनीहरुले पठाइएका कलाहरु देखेर म खुसीले गदगद हुँदै अचम्मित हुन्छु। स्कुलको निलो शर्ट र निलो पेन्टभन्दा बाहिर भएको अनलाइन भेटमा विद्यार्थीहरुले मलाई आफ्ना रंगीन कलाहरु देखाएका छन्। सागरले झैँ दिनेशले पनि आफूले यस लकडाउनको समयमा इँट्टा थप्ने काम सिक्दै गरेको भिडिओ पठायो।
रामचन्द्रले यो समयमा गाउँमा बन्दै गरेको पानी ट्यांकीको कामको लागि सहयोग गरिरहेको कुरा फोनमा बतायो। मैले फोटोहरु मागेपछि धमिलो क्यामराबाट भएपनि बन्दै गरेको पानी ट्यांकीको भिडिओ नै पठायो। अनिसाले रेडियोमा 'म सिक्दै छु' कार्यक्रम सुनेपछि टिच फर नेपालले बनाएको रेडियो कार्यक्रम राम्रो लागेको र बहिनीसँगै बसेर जहिले सुन्ने गरेको भन्दै कार्यक्रमको बारे लेखेर फोटो पठाइन्।
शिक्षाले पनि सागर सँगसँगै प्रतियोगिताहरुमा भाग लिएर अनलाइन हस्तलेखन प्रतियोगितामा तेस्रो भइन्। अमृतले त गितारको मोडल नै बनाएको छ। 'बज्न त बज्दैन सर, तर पछि म सेम यस्तै गितार किन्छु' भन्दै मेसेज गरेको थियो।
गत साता कारखानाबाट आयोजित 'कोभिड-१९ पछिको हाम्रो शिक्षा' एक अनला्इन प्यानल डिस्कसन कार्यक्रममा सागरले पनि सहभागी जनाउने मौका पायो। सागरले त्यस कार्यक्रममा आफ्नो कुरा शेयर गर्दै, अझै पनि पढाइलाई लिएर चिन्तित भएको र यअर लस हुने होकी भन्ने डर रहेको कुरा बतायो। स्कुल पुनः संचालन नभएसम्म यो चिन्ता त रहिनै रहने छ।
तर यो कुरा सागरले निर्धक्क अनलाइन प्लेटफर्ममा नयाँ साथीहरू बीच शेयर गरिरहेको देख्दा म कताकता खुसी भएँ। लाग्यो, कोभिड-१९ का धेरै परीक्षाहरु मध्य यस परीक्षामा हामी पास भयौँ।
हिजो सागरले फेसबुकमा मेसेज गर्यो, 'सरी सर, मोबाइल हरायो, अब प्रतियोगिताहरुमा भाग लिन गाह्रो हुन्छ होला।'
दुई वटा हँसिलो इमोजी सहित मैले जवाफ पठाएँ, 'गाह्रो त पहिला पनि थियो, हामीले त्यतिबेला पनि धेरै कुरा गर्यौ, अब पनि गर्दै जानेछौ, अनलाइन आउने बेला मेसेज गर्दै गर है।'
प्रयास नै जितको पहिलो लक्षण हो। प्रयास गरेकै कारण सागरले लकडाउनको समयमा पनि गाउँबाट नै धेरै कुरा गर्न सफल भएको छ। अझै प्रयास जारी रार्ख्दै गयो भने अरु धेरै विद्यार्थीहरुलाई अवसरहरु दिलाउन सकिन्छ भन्ने विश्वास मनमा छ।
यो कुरा सोच्दै गर्दा सिठी बजेको आवाज सुनेँ। झ्यालबाट बाहिर हेर्न मन लागि हाल्यो, पुलिसका एक टोली बाटोमा फाट्टफुट्ट हिडिरहेका मान्छेहरुलाई घरबाट बाहिर ननिस्कन भन्दै हिडिरहेका थिए। बाटोमा बल खेलिरहेका दिदीभाइ हत्तपत्त घर भित्र दगुरे।
ला, भाइले त तर्सेर बल बाटो मै छोडेर भागेछ। धोकाको दैलो तिर पुगेपछि बल्ल दुवैले बललाई सम्झे जस्तो गरे। दिदीले आँट देखाएर खुर्रर बल तिर दौडी। बल च्याप्प समाउदा पुलिस छेवैमा पुगिसकेको थियो। दिदी छिटो भाइ तिर भागी, अलि तर्सेजस्तो गरी दैलोमै ठिंग उभिरही।
पुलिसले हाँस्दै उनीहरुलाई दुई हात जोडेर 'नमस्ते' भनेर इशारा गरे। दिदीभाइले जवाफ फर्काएनन्। अघि डराएका थिए, अहिले त लजाएछन्। पुलिसहरु सिठी बजाउदै अघि बढे।
हिँडिरहेका पुलिसलाई हेर्दाहेर्दै म आफ्नै बाल्यकाल पुगेछु। दोस्रो जनयुद्धको बेला कर्फ्यू लागेको थिए। म कक्षा ३ बाट कक्षा ४ मा पुग्दै थिएँ। २०६३ सालको वैशाख ५ गतेसम्म त वास्ता नै गरिएन। ६ गतेदेखि पो चिन्ता लाग्न थालेको थियो। नयाँ कक्षा, नयाँ किताब, नयाँ रोल नम्बर, नयाँ होमवर्क डायरी पाउने बेला पो हो त यो।
साथीहरु पनि नभेटेको कति भैसकेको थियो। त्यसैत्यसै स्कुलको धेरै याद आयो। अब त कर्फ्यू रोकेपनि हुने नि कति भित्र बस्नु सोच्दै घर बाहिर चिहाउन ढोका खोलेको मात्रै के थिएँ, बन्दुक भिडेका पुलिसको बथान घर अगाडि नै हिडिरहेका थिए। त्यति बेला मैले 'नमस्ते' पाएको थिइनँ।
एउटा पुलिसले ठूल्ठूला आँखा पार्दै डरलाग्दो आवाज निकाल्दै म तिर चोर औँला तेर्साएको थियो। मेरो सातो गयो। त्यसपछि त झन् स्कुलको झल्झली याद आयो। अब त स्कुल जानै नपाउने होकी भन्ने डर बढ्दै गयो। दाइलाई पनि त्यस्तै भएको होला सायद। भोलिपल्ट त हामीले स्कुलमा जस्तै ख्यालख्यालै प्रतियोगिताहरु कोठा मै आयोजना गर्यौ, ख्यालख्यालै पुरस्कार वितरण कार्यक्रम पनि गर्यौ।
स्कुलका रमाइला कुराहरु सबै ख्यालख्यालै भएपनि कोठा भित्रै गर्यौ। त्यही समयमा मैले मेरो जीवनकै एक महत्त्वपूर्ण कुरा सिकेँ। मैले चेस खेल्न सिकेँ। खेलैखेलमा मैले सबै नियमहरु बुझेछु। मलाई एकदमै खुसी लाग्यो। कक्षा ४ को भुरालाई पनि चेस खेल्न आउनु भनेको स्कुलमा ठूलै कुरा हुने वाला थियो। आहिले त चेस मेरो सबैभन्दा मनपर्ने खेल नै हो।
त्यो समयमा मैले चेस खेल्न त सिकेँ नै सँगसँगै स्कुललाई माया गर्न पनि सिकेँ। स्कुल जान नपाउनुको दु:ख महशुस गरे र पढाइको महत्त्वको बारे बुझेँ।
फेरि सम्झेँ, आजभोलि पनि मलाई त्यस्तै त भएको छ नि। स्कुलको, गाउँको, माया गर्ने भाइबहिनी जस्तै विद्यार्थीहरुको याद आइरहेको छ। अब स्कुल खुल्दै नखुल्ने होकी भन्ने डर पनि छ।
फेरि कल्पिन्छु, कति विद्यार्थीलाई मलाई जस्तै भएको होला? कतिले नयाँ खेल सिके होला? कति बादल हेर्दै स्कुल सम्झदै होलान्? कतिले स्कुल जान नपाउनुको दु:ख महशुस गरे होलान्? अनि कति त स्कुल फर्केर आउन नसकिने मोडमा पुगे होलान्?
सागरले यस लक्डाउनको समयमा अनलाइन प्रतियोगिताको लागि बनाएको भिडिओ: https://youtu.be/jQvA3ZzJ-_4
सागरले शेयर गरेका केही तस्बिरहरु: