सरकारी संयन्त्र कता चुक्यो?
सरकारले पहिलो चरणको लकडाउन क्रमशः खुकुलो बनाउँदै गइरहेको थियो। लकडाउनको अवस्थामा भक्तपुर छिर्ने नाकाहरु अव्यवस्थित भएको समाचारहरु आउने गरेको थियो। जिल्लाका सीमानाहरुमा गस्ति गर्नेहरुले राम्रै कमाइ गरिआएका थिए। त्यसबाहेक पहुँचवालाहरु एम्बुलेन्सको दुरुपयोग गरी आफ्नो गन्तव्यस्थल पुगिरहेका दृष्यहरुले सामाजिक सञ्जालहरु तरंगित पनि भइरहेका थिए।
बजारमा सुरुआती लकडाउन अवधिमा भारतमै अल्मलिएका भारतीय मूलका व्यापारीहरु, लामो दुरीका सवारीसाधनहरु औपचारिक रुपमा सञ्चालनमा नआउँदै टोल बजारमा देखिन थालेका थिए। यस परिस्थितिमा भक्तपुर सहर पनि कोरोनाको उच्च जोखिमयुक्त क्षेत्रमा परिणत हुँदै थियो। क्रमशः काठमाडौँ उपत्यका कोरोना संक्रमणको हबको रुपमा देखिन थालिसकेको थियो।
सीमा नाकामा भरपर्दो चेकजाँच, उपयुक्त क्वारेन्टाइन स्थल, सीमामा खटिने जनशक्तिको कमजोर नैतिकता, नियमित स्वास्थ्य प्रतिवेदन संकलन गर्न नसक्नु जस्ता अकर्मण्यताले भारतसँग खुल्ला सीमानाका भएका जिल्लाहरु जस्तै काठमाडौँ उपत्यका पनि असुरक्षित रहन गयो। लकडाउन संक्रमण फैलिन नदिने उपाय हुँदाहुँदै, राज्य संयन्त्रले माथि उल्लेख गरेका कमजोरी हटाउन नसक्दा जनताहरुमा नैराश्यता छायो।
थोरै पैसाको लोभमा सरकारी प्रोटोकलको बेवास्ता गरिदा घनाबस्ती रहेको उपत्यकामा संक्रमण उच्च दरमा बढ्न थालेको पुष्टि हुन्छ।
मलाई कसरी संक्रमण भयो?
काठमाडौँ उपत्यका हुँदै भक्तपुर जिल्लामा पनि संक्रमण दर बढ्न थालेको कारण अत्यावश्यक काममा बाहेक घर बाहिर हिड्न छोडेको थिएँ। साथीभाइ भेटघाट ठ्याम्मै रोकिसकेको थियो। कोरोना रोगको प्रकृति फरक छ। मानिसदेखि मानिस डराउनु पर्ने।
केही महिनाअघि मोहन मैनालीको किताब मान्ठा डराएको जुग पढेको थिएँ, एक समय नेपालीहरु नेपालीहरुसँगै डराएर जीउनुपर्ने राजनीतिक संकटकालको कालकोठरीको जीवन व्यतित गर्न बाध्य बनेका थियौँ। आज अदृष्य भाइरसको कारण पुनः फरक ढंगले मानिससँग डराएर जीउनुपर्ने बाध्यता आइपर्यो। हामी अपरिचितसँग सावधान र सचेत हुने भयौँ तर परिचितसँग खासै डराएनौँ।
फलतः परिचितहरुबाटै हामी संक्रमित हुन थाल्यौँ। मास्कको प्रयोग धुलो छेक्न मात्र गर्न थाल्यौँ। कुराकानी अस्पष्ट हुने भएर मास्क सारेर, झिकेर कुराकानी गर्न थाल्दा कोरोनाको संक्रमणको जोखिम बढ्न थालेको देखिन्छ। फ्रिजमा रहेको चिसो मेवा र काँक्रो खाँदा मलाई रुघा लागेको थियो।
कोरोना संक्रमितहरुका र विज्ञहरुको अनुभव र विचार सुन्दा, कोरोना हुनबाट जोगिन रुघालाई बढ्न दिनु हुँदैन। अघिपछि जस्तै निको होला भनी कुरी नबस्न भन्ने सल्लाह अनुसार साइनेक्स औषधी र ज्वरो आउँदा सिटामोल खान थालेको थिएँ। ल्यापटप बनाउने बहानामा साथीकहाँ गएको थिएँ, १/२ मिटरको भौतिक दूरी थियो। दुवैको मास्क छदै थियो।
चिया खान मास्क निकालेको याद छ। ल्यापटप बनाउँदा पनि साथीले स्यानिटाइजरको प्रयोग गरेकै थियो। साथीका दाइ र काका पनि कम्प्युटर मर्मत कोठामा आए, अलग्ग सोफामा बसेका थिएँ। ४० मिनेटको बसाइ सकाएर घर फर्केको थिएँ। घर फर्किदा साथीको ससुराबालाई कोरोना संक्रमण भएर साथी पनि कन्ट्याक्ट ट्रेसिङमा भएको जानकारी पश्चात् रिपोर्ट नआउञ्जेल आफू पनि कोठामा अलग्ग क्वारेन्टाइनमा बस्न सुरु गरेको थिएँ।
साथीको रिपोर्ट नेगेटिभ आउने कामना गर्दै तीन दिन बिताएँ। कुनै लक्षण नदेखिएका साथीको पोजेटिभ रिपोर्ट आएकोले शंका लागि पुनः परीक्षण गराएँ, त्यसमा पनि पोजेटिभ देखिएपछि साथी एकान्तबासमा गए। तत्पश्चात् आफूपनि संक्रमणको दायरामा परिसकेको कारण मन बैचैन हुन थाल्यो। अनिन्द्रामै रात बित्न थाल्यो।
साथीसँग सम्पर्क भएको हप्तादिनपछि शनिबार स्वाब संकलन भयो। पुरानो रुघा निको भईनसकेको कारण मेरो नतिजापनि सुखद् नहुनेमा चिन्तित थिएँ। यो समयमा कलेजको काममा अलि धपेडी महशुस गरेको थिएँ। राति अबेला काम गर्दाको थकान अघिपछिभन्दा बढी नै महशुस गरिरहेको थिएँ।
स्वाब रिपोर्ट नगेटिभ हुनेहरुको आइतबार ४ बजे नै खबर मोबाइलमा आईसकेको रहेछ। जसको आएन, उनीहरुको रिपोर्टमा खराबी भएको संभावनाले बलियो रुप लिदैँ गइरहेको थियो। यो रात म मात्र होइन, जहान परिवार पनि रिपोर्टको तनावमा निदाउन सकेनन्।
सोमबार धड्कन बढ्न थालेको थियो। आज सुन्न नपरे हुन्थ्यो भन्ने लागेका खबर सुन्न पर्ने भयो भनी विचलित भइरहेको थिएँ। नभन्दै १०:३० बजेतिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको फोन आयो। नर्भस भइयो, डरले छात्ती धक्क फुलिसकेको थियो। रिपोर्ट पोजिटिभ आएको जानकारी दिइयो र स्वास्थ्य अवस्थामा कुनै खराबी भए नभएको सोधनी भयो।
लगत्तै एकान्तबासमा बस्न निर्देशन दिइयो। स्वास्थ्यमा तत्काल कुनै खराबी देखिए ११३३ मा रिपोर्ट गराउन र अस्पतालको व्यवस्थापन हुने जानकारी समेत पाइयो। संक्रमण पहिले नै आफूसँग भएको पनि हुन सक्थ्यो। अन्ततः बजारमा किनमेल गर्दा आफूभित्र सरेको पनि हुन सक्थ्यो। संयोग वा विडम्बना भनुम्, नेवारी उखान याद आयो ‘काग बस्नु र हांगा भाँच्नु।’
हो, यस्तै हुन गयो। अन्य श्रोत वा कारण खोज्ने झंझट कसले गर्ने पो हुन्। छोटो समय भेटघाट भएका साथी संक्रमित भएपछि उसैतिरबाट संक्रमण आयोभन्दा सबैलाई सजिलो हुने रहेछ। अरुलाई दोषी बनाउनु न्योयोचित नहोला। आफ्नै असावधानीमा गुनासो गर्नु उपयुक्त ठानेँ।
कोरोना पुष्टिपछिको अवस्था
आफूपनि कोरोना संक्रमित भइयो भन्ने आधिकारिक जानकारी मिलेपछि आफैलाई कमजोर महशुस गर्नपुगेँ। हिजोसम्म अनुहारमा देखिने हाँसोको रेखाहरु क्षणभरमा हराइसकेका थिए। जबरजस्ती हाँसेको अभिनय गर्न थालेँ। आफू त एकान्तवबासमा हुने भइयो, घर परिवारलाई मानसिक तनाव र कार्यबोझ थपिने भयो।
आफ्नो कारण ७५ वर्ष नाघेका बा-आमा र ८ महिनाको बच्चालाई केही भईहाल्ला की भन्ने पीरले सताउन थाल्यो। परिवारका सबै सदस्य नै तनावमा परेको देख्न सकिन्थ्यो। देखाएर रुन कसैले सकेन तर एकान्तमा रुन कसैले छेकेन। अब कसलाई खबर गर्ने, कसलाई नगर्ने, निक्कै अप्ठ्यारो अवस्थामा परियो। हिम्मत गरेरै परिवारका सदस्यहरुको र नजिकका साथीहरुलाई मेसेन्जरमा कोरोना संक्रमित भएको जानकारी दिएँ।
क्षणभरमै जिल्ला जनस्वाथ्य कार्यालयको फोन आयो। स्वास्थ्य स्थितिको जानकारी लिइकन होम आइसोलेसनको व्यवस्था मिले नमिलेको जानकारी लियो। खासै स्वास्थ्य समस्या नभएकोले घरमै आइसोलेसनमा बस्न सकिने सुझाव मिल्यो।
केही समयपछि भक्तपुर नगरपालिकाको जनस्वास्थ्य केन्द्रबाट फोन आयो। माथि भएजस्तै कुराकानी भयो। लगातारका यी तीन कलले ढाडसका साथै झर्को पनि मिल्यो। भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्रका कोरोना फोकल चिकित्सकबाट तत्काल कन्टयाक्टमा बसेकाहरुको विवरण उपलब्ध गराउन अनुरोध भयो। अहिले बल्ल त संक्रमित भएको थाहा पाएँ, बुझेर भोलि खबर गरुमला भनेर फोन राखिदिएँ।
त्यसपछि भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वको फोन आयो। ज्वरो बढीरहेको जानकारी दिएँ। अप्ठ्यारो भए अस्पताल जाउँ भन्ने सल्लाह दिनुभयो। पिर नलिन, तनावमा नबस्न र उपचार प्रबन्धको चिन्ता नलिन ढाडस दिनुभयो। हुन्छ, केही परे खबर गरुमला भनेर कृतज्ञताका साथ फोन राखिदिएँ।
यतिञ्जेलसम्ममा घरको माथिल्लो तल्ला छोडी तल्लो तल्लामा एकान्तबासमा बस्न आइसकेको थिएँ। नजिकका आफन्तहरुको फोन आउने क्रम सुरु भईसकेको थियो। मानसिक तनाव र शारीरिक अस्वस्थताका कारण फोन उठाउने मन हुँदैनथ्यो। अत्यन्त जरुरी फोन बाहेक अन्य फोनहरु बेवास्ता गरिबसेँ।
एकान्तबासको अनुभव लिइसकेका र घरमै कोरोनाको उपचार गरिरहेका चिनजानका साथी भाइहरुको फोन आउन थाल्यो। अनुभव सुनेर आफ्नो उपचारका खाका दिमागमा कोर्न थालेँ। तनावले ज्वरो नियन्त्रण बाहिर जान सकिने संभावनालाई ख्याल गर्दै तनावरहित बन्ने अभ्यास थालेँ। कोरोना रोगका नकारात्मक असरभन्दा यसलाई परास्त गर्न सकिने खालका समाचार र जानकारीहरु नेटमा खोज्न थालेँ।
बिहानदेखि बेलुकासम्मका नियमित रुटिन अनुशरण गर्न थालेँ। पौष्टिक आहार, पुग्दो मात्रामा तातो पानी, जडिबुटी पानी, उपयुक्त खानपान, योग ध्यान, व्यायाम र सरसफाइमा दिनचर्या व्यतित हुँदै गयो। भोलिपल्ट सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाको फोन आयो। सञ्चो बिसञ्चो र घर सिल्ड गर्ने नगर्ने छलफल भयो। म आफू घर सिल्ड नगरेकै अवस्थामा सुरक्षित भएकोले सिल्ड गर्न आवश्यक नभएको जिकिर गरेँ।
परिवारको स्वाब रिपोर्ट नेगेटिभ नहुञ्जेल कोही घरबाट नबाहिरिने वचन दिएँ। सुरक्षा, सावधानी र स्वास्थ्यको ख्याल राख्न अनुरोध गर्दै उहाँले फोन राख्नु भयो। घर सिल्ड गर्ला, बटुवा छर छिमेकीले आतंकित नजरले परिवार र मलाई हेर्ला की भन्ने ठूलो चिन्ता टरेकोमा आनन्दको श्वास फेरेँ। संक्रमितको घरको सिल्ड गर्ने नियम प्रति पुनः विचार गर्नुपर्ने देख्छु।
औषधी उपचार
घरमै भतिजो चिकित्सक भएकोले म ढुक्क थिएँ। सबैको यस्तो अनुकूलता नहुन सक्छ। चिकित्सक साथीहरुलाई सम्पर्क गरी स्वास्थ्य अवस्थाको जानकारी गराउँथेँ। आएका सुझावहरुको टिपोट बनाउँथेँ। दैनिक अनुगमन तालिका बनाएर तापक्रम, अक्सिजनको मात्रा, रोगका अन्य लक्षणहरु, औषधीहरुको सेवनको तालिका बनाएर चिकित्सिकहरुलाई शेयर गर्थेँ।
४/५ दिनसम्म ज्वरो ९८ देखि १०१ सम्म बढ्ने घट्ने भइरह्यो। मेरो लागि ज्वरो नै कोरोनाको लक्षणका रुपमा देखेँ। अलि बढी असजिलो हुँदा ६ घण्टाको फरकमा सिटामोल खाएँ। फार्मेसीका साथीले केही हप्तादिन अगाडि नै कोरोना भइहाले अत्यावश्यक औषधीहरु राख्न दिएको सुझाव अनुसार औषधी जोरजाम थियो। सिटामोलसँगै भिटामिन सी, डी, हल्का खोकी देखिदा कफट्याब र ज्वरो निको भएपछि कुनै व्याक्टेरियल इन्फेक्सन नहोस् भनेर अजिट्र्रोमाइसिन ५ दिनका लागि चिकित्सकीय परामर्श अनुसार सेवन गर्न थालेँ।
दिउसो बाफ लिने, साँझको व्यायामपछि स्टिमबाथ लिइ तातोपानी नुहाउन थाल्दा निक्कै ताजगी अनुभूति हुँदो रहेछ। कोरोनाले छाती र फोक्सोमा असर पुर्याउन सक्ने र श्वासप्रश्वासको समस्या आउन नदिन निक्कै सतर्क र सजग हुनुपर्दो रहेछ। जसको लागि नियमित तातोपानीको सेवन र बाफ लिने गर्नुपर्ने रहेछ।
कोरोना संक्रमणको व्यवस्थापन कसरी गर्ने?
१. कोरोना पोजिटिभ भएको दिन टेकु अस्पतालदेखि प्रहरी प्रशासनसमेत ५ ठाउँबाट विभिन्न कलहरु आए। केही समय अन्तरालमा सोधिने उही प्रश्नहरुको संख्या र उही जवाफले कोरोना संक्रमित बिरामीलाई मानसिक तयारी नसकिदै आक्रान्त पारेको महशुस हुँदो हो। तसर्थ कोरोना बिरामीसँग नियमित सम्पर्क र अद्यावधिक जानकारीका लागि एकल कार्यालयले जिम्मेवारी लिनुपर्ने देखिन्छ।
वान विन्डो सर्भिस डेलिभरी मेकानिजम अर्थात् एक निकाय सेवा प्रवाह संयन्त्र हुने हो भने ३ तहका सरकारको समन्वययकारी भूमिका पनि देखिन्थ्यो भने अर्कोतिर बिरामीले आफू एक्लो नरहेको भन्ने महशुस गर्न सक्दछ। बिरामी एक्लै बस्नुपर्ने यस प्रकारको रोगमा बिरामीलाई दरिलो आड, भरोसा र साथ चाहिने हुन्छ। सोको बन्दोबस्त पनि चुस्त हुने थियो।
२. सुरुमा तारन्तार फोन आएपनि दिन बित्दै गएपछि कुनैपनि निकायको सम्पर्क भएन। घरमै एकान्तबासमा रहेका बिरामीहरुको दैनिक स्वःअनुगमन चार्ट इमेल मार्फत् वा फोन मार्फत् बुझिलिए हरेक साँझ छोटो चिकित्सकीय परामर्श उपलब्ध हुन सकेको भए सरकारी सेवाको अनुभूति बिरामीहरुले पाउथे। ठूलै तनावबाट मुक्त हुन्थे।
३. संक्रमित भइदा मानसिक तथा शारीरिक दुवै दृष्टिबाट कमजोर भइन्छ। यस अवस्थामा साथीभाइ, इष्टमित्रहरुले बिरामीलाई फोन गरी उही प्रश्नहरु तेर्स्याइनुका सट्टा मेसेन्जर वा एसएमएस मार्फत् जिज्ञासा वा संवाद राखिदिदा सहज हुने थियो।
४. सरकारको अहिलेको अवस्थामा संक्रमण नियन्त्रण गर्ने नीतिहरु असफल भईसकेको देखिन्छ। सरकार आत्मसमर्पणको अवस्थामा पुगेको देखिन्छ। सबै कार्यालयहरु खुलेको अवस्थामा संक्रमित हुनेहरुको संख्या अझ बढ्ने निश्चित छ। तसर्थ, अस्पतालमा बेड र आइसोलेसन सेन्टरहरु व्यवस्थित ढंगले विस्तार गर्नुपर्ने देखिन्छ। भएका सरकारी आइसोलेसन सेन्टरहरुको व्यवस्थापकीय कमी कमजोरीले सम्भव भएसम्म घरमै आइसोलेसनमा बस्नेहरुको संख्या बढनेछ।
तसर्थ सबै परिवारले घरमा आइसोलेसन बस्न मिल्ने कोठाको प्रबन्ध गर्न आवश्यक छ। मितव्ययी ढंगले बाथरुम, शौचालय र सम्भव भए सानो भान्छाकोठा समेतको प्रबन्ध गर्न आवश्यक प्राविधिक र आर्थिक सहयोग सरकारले गर्नुपर्ने देखिन्छ। यसले भोलि संक्रमित भइ सरकारी आइसोलेसन सेन्टरमा आउनुपर्दाको खर्चलाई निक्कै कम गर्न सहयोग गर्छ।
५. आइसोलेसनमा बस्दा बिरामी वा बिरामीका परिवारले गर्नुपर्ने कामहरु के-के हुन् र गर्न नहुने कार्यहरु के के हुन्? सो खुल्नेगरी हाते पुस्तिकाहरु बनाइ बिरामीको घरमा पुर्याउन आवश्यक छ। धेरै बिरामीले चिकित्सकीय परामर्श पाउन सकेको हुँदैन। तसर्थ यस्ता पुस्तिकाले स्वःउपचार र रोग प्रतिरोधात्मक पद्धति विकास गर्नमा समेत सहयोग मिल्नेछ।
६. सकारात्मक सोच नै रोग परास्त गर्ने हतियार भएकोले सकारात्मक सोच विकास गर्न योगाभ्यास, ध्यान, तनाव व्यवस्थापन र शारीरिक व्यायामका विविध उपयोगी भिडिओहरुको सानो संग्रह पनि इमेल वा अन्य माध्यमबाट बिरामीको हातसम्म पुग्ने व्यवस्था गर्न सकेमा एकान्तबासको अवधि निक्कै फलदायी हुने थियो।
७. संक्रमित व्यक्ति घरको प्रमुख आर्थिक श्रोत हुनसक्ने भएकोले पौष्टिक आहार, घर परिवार खाद्यान्नको जोहो आदिको अवस्था बुझी स्थानीय वडा कार्यालयले खाद्यान्न र आधारभूत औषधीमूलोको व्यवस्था गरिदिन सके स्थानीय सरकारको महत्व बढ्ने थियो।
८. धेरै संक्रमितहरुले धेरै थरिका सल्लाह शुभचिन्तकहरुबाट पाउने गर्दछन्। सबैले भने बमोजिम गर्ने हो भने एक दिनभरि पनि नपुग्ने अवस्था छ भनी गुनासो व्यक्त गर्ने गरेको पाइन्छ। सही के हो, गलत कुन हो, अहिलेको आफ्नो स्वास्थ्य अवस्थामा गर्नुपर्ने के हो? सोको उचित परामर्श बिरामीलाई खट्केको हुन्छ। यो खट्को कसरी टार्ने सो सम्बन्धमा स्थानीय सरकारले कोरोना फोकल एकाइहरु, विज्ञ व्यक्तिहरुको टिममा छलफल गरी निचोड प्रस्तुत गर्न सकिएमा निक्कै सान्दर्भिक हुने थियो।
९. सामाजिक संजालमा कोरोना केही पनि होइन भन्ने खालका भ्रमहरु निक्कै प्रचार प्रसार भइरहेको छ। भ्रामक समाचार रोक्न सरकार असक्षम भयो। भ्रामक समाचार र खबर दिनेहरुलाई सरकारले निर्ममतापूर्वक निषेध गर्नु आजको तड्कारो काम हो। वैज्ञानिक तथ्य प्रमाण बाहेक स्वनामधारी विज्ञहरुको युट्यूबदेखि अन्य मिडियाहरु अन्तरवार्ताहरुमा पूर्णतः निषेध गरिनुपर्छ। गलत अफवाह फैलाएको आरोपमा जेलमा किन नहाल्ने?
१०. कोरोना ज्यान लिने रोग हो भनेर आतंकित हुने खालको समाचारहरुको निक्कै बाढी आउने गरेको छ। मेरो भोगाइमा कोरोना रोगको समयमै जानकारी पाई उपचार गर्न सकियो भने ठूलो दुर्घटना हुन नपाउँदै निको हुन सकिने प्रकृतिको रोग हो, सामान्य व्यक्तिको हकमा। असामान्य दीर्घ रोगी र श्वासप्रश्वाससँग सम्बन्धित बिरामीहरुको लागि यो रोगले असामान्य क्षति पुर्याउन सक्नेतर्फ निक्कै नै सतर्कता र सावधानी लिन आवश्यक छ।
११. यो रोगको लक्षण देखिए त अरुलाई संक्रमण हुनबाट जोगाउन सकिने थियो। तर लक्षण नदेखिने प्रकृतिका संक्रमितहरुको अनावश्यक आत्मविश्वासले धेरैलाई संक्रमण गराईरहेको हुन्छ। तसर्थ, संक्रमितको सम्पर्कमा पुगिसेकेकाहरु, स्वाब दिईसकेकाहरु र लक्षण नदेखिएका संक्रमितहरु थाहा भएको दिनदेखि रिपोर्ट नेगेटिभ नआएसम्म स्व-एकान्तबासमा बसिदिएको खण्डमा धेरै हदसम्म समुदायस्तरमा यो रोगको संक्रमण फैलिन नदिन भूमिका खेल्न सक्थ्यो।
११. कोरोना रोकथाम र नियन्त्रणका लागि आत्म अनुशासन र इमान्दारीता सबै तह तप्काका नागरिक, कर्मचारी, व्यापारीहरुसँग हुन आवश्यक छ। यस समयमा अनुशासनहीन र अनैतिक कार्य गर्ने जोसुकै कर्मचारीलाई अपराधीको रुपमा दण्डित गरी कानुनी शासनको प्रत्याभूति सरकारले जनतालाई दिन सक्नुपर्छ। सरकार कर्तव्यच्युत भईदिदा सरकारी निर्देशनको पालना कसले गराउने?
सरकारको आग्रह नागरिकले कसरी मानिदिन्छ? तसर्थ सरकारले जारी गरेका निर्देशनहरुलाई हामी सबैले गम्भीरतापूर्वक पालना गरी अनुशासनमा बसेर कोरोना संक्रमण नियन्त्रण र रोकथाममा ठूलो सहयोग पुर्याउन सक्छौँ।
(लेखक त्रिवि केन्द्रीय व्यवस्थापन विभाग, कीर्तिपुरका उपप्राध्यापक हुन्।)