हिन्दुहरूका लागि रातो रंगको धुलो जसलाई हामी सिन्दुर भन्छौँ, त्यो पवित्रताको प्रतिक हो। खुसियाली, विजयोत्सव तथा शुभकार्यमा हिन्दुहरु सिन्दुरको प्रयोग गर्छन्। दुई व्यक्ति र परिवारको मिलन ठानिने विवाह मण्डप सिन्दुरको प्रयोग बिना पूर्ण हुँदैन।
अग्नीलाई साक्षी राखी वैदिक मन्त्रोच्चरणका साथ सात जनमको सुखदुखको सहयात्रीको रुपमा जब महिलाको सिउँदोमा सिन्दुर भरिन्छ, तब छोरीका रुपमा जीवन यापन गरिरहेकी उनको परिचयमा थपिन्छ 'बुहारी'। आज म यस लेख मार्फत सिन्दुरले सज्जिनु अघि र पछि नेपाली हिन्दु महिलाको जीवनमा हुने फरकलाई कोट्ट्याउने चेष्टा गर्दैछु।
पहिलो सन्तानको रुपमा मैले छोरीको जन्म दिदा मेरो पण्डित ससुरा खुसीले फुरुंग हुनुहुन्थ्यो। किनकी मेरो कोखबाट लक्ष्मीको रुपमा पहिलो सन्तानको आगमन भएको थियो। तर दोस्रो सन्तानको रुपमा छोरोको अपेक्षा राख्नु र प्राथना गर्नु हाम्रो घरघरको कहानी हो।
कति परिवार या व्यक्ति त दोस्रो सन्तानको रुपमा छोरो नहुने भए सुटुक्क भ्रुण हत्या गर्न दगुर्छन्। यसले प्रष्ट पार्छ की हाम्रो समाजमा अहिले पनि छोरा प्रतिको मोह घटेको छैन। यद्यपि छोरा मुक्तिको मार्ग हो भन्ने मान्यताकै माझमा पनि हाम्रो नेपाली हिन्दु समाजमा जन्मिएको घरमा चेलीको स्थान पुजनीय छ।
केही व्यवहारिक पक्षहरु हेर्दा जन्मेको घरमा र पहिलो महिनावारी हुनुपूर्व छोरीबेटीको स्थान सम्माननीय हुन्छ। नेवारी समाजकी चेलीलाई कुमारीका रुपमा पूजा अर्चना गर्ने संस्कृति विश्वलाई चकित पार्ने खालको छ। जिउदो देवीका रुपमा राष्ट्रका उच्चतम तहका व्यक्तित्वहरुले स-सम्मान आरधना गर्दछन्।
घरकी लक्ष्मीको रुपमा छोरीबेटीहरु कुनै शुभ साइतमा पुजिने पनि चलन छ। घरका गन्यमान्य अविभावकहरुले उनको खुट्टामाथि आफ्नो शिर निहुर्याएर सम्मान व्यक्त गर्दछन्। यस्तो सम्मान चेलीबेटीका लागि अरु धर्म संस्कृतिमा भएको पाइन्न। तर बिडम्बना, महिनावारीलाई अपवित्र मानेर छाउगोठ पुर्याइन्छ या अछुतो मानेर एउटा कुनामा थन्किन बाध्य बनाइन्छ जुन सृष्टिलाई निरन्तरता दिने अत्यावश्यक प्राकृतिक प्रकृया हो। अनि थपिदै जान्छन् अन्यायका कथाहरु।
जन्मिएको घरमा लक्ष्मीको सम्मान पाएकी चेली, श्रीमानको घरमा अरुको खुट्टामा शिर निहुर्याउन बाध्य हुन्छिन्। उनको परिचयमा तुरुन्त परिवर्तन हुन थाल्छ। उनको खाना बनाउने सीप, जीउडाल, रुपरंग, माइतीघरको अहोदा, पढाइलेखाइ हेरेर व्यवहार गरिन्छ। दाइजोको नाममा अनेकन कष्ट र दुर्व्यवहार पनि हुन सक्छ।
जति समाज शिक्षित र तथाकथित सभ्य बन्दै गएको छ, त्यति नै बढी प्रत्यक्ष या परोक्ष रुपमा दाइजो नामको प्रथाले महिलाको सम्मानमा आघात पुर्याउदै लगेको छ। यो प्रथाको दोषी पात्र महिला र पुरुष दुवै हुन् तथापि मैले यो दृष्यलाई पनि सिन्दुरको सकसको रुपमा लिएको छु।
छोरा र छोरी बीचको विभेदको अन्त्य भएको छैन र यसको तातो बहस अझै धेरै बाँकी छ। यद्यपि डाक्टर, इन्जिनियर, पाइलट जस्ता प्राविधिक विषयमा आफ्नो छोरीलाई छोरा समान लगानी गरेर अगाडि बढाउने बाबुआमाको पनि कमि छैन। त्यसैले त हाम्रै समाजमा १८ वर्षीया कलिली पाइलट चेली पुरुष सहपाठीहरुका माझ उडान भरिरहेकी हुन्छिन्।
अस्पतालमा कार्यरत चिकित्साकर्मीहरुमा महिला धेरै नै छन् जुन गर्वको विषय हो। यस्ता थुप्रै उदाहरण नभएका पनि होइनन्। तर ती प्राविधिक या अप्राविधिक दक्षता हासिल गरेका चेलिको महिला हुनुको कथा-व्यथा छुट्टै हुन्छन्।
मेरो एकजना आफन्तको छोरी विदेशबाट डाक्टर पढेर नेपाल फर्किइन्। हुनेखाने तथा नेपाल सरकारको गन्यमान्य पदमा रहेका व्यक्तीसँग विवाह गरिन् तर बुहारी भएपछि खेल्नुपर्ने भूमिका खेल्न नसक्दा उनको पारिवारिक सम्बन्ध सात जनमको त के, एक जनमको लागि पनि भारी पर्न गयो।
मेरो मन मिल्ने एकजना अग्रगामी सोचकी धनी साथी शिक्षिका थिइन्। विवाह पश्चात जागिर र घरव्यवहारको दोहोरो मारमा परिन् र त्यो धान्न सकिनन्। समाजले दोष उनैमाथि थुपार्यो की उनी व्यवहारिक बन्न सकिनन् र सिन्दुरको सम्मान गर्न सकिनन्।
अहिले पनि बुहारीको रुपमा समाजले चाहाने भूमिका वर्षौवर्षदेखि रहेका तथाकथित नै छन्। घरको भान्सादेखि शौचालयसम्मको सरफाई तथा व्यस्थापन महिलाको नै दायित्वमा राखिन्छ। त्यसमा पनि श्रीमती या बुहारी घरमा छ भने घरमा काम गर्न राखिएको व्यक्ति बाहेक अरुले पनि गर्नुपर्छ भन्ने कुरा व्यवहारमा लागु भएको देखिदैन।
बुहारी हुँदाहुँदै छोराछोरी या नातिनातिनाले घरको काम गर्ने कुरा हाम्रो सोचाइमा अहिले पनि आउन सकेको छैन। चाहे त्यो बुहारी जागिरे होस् या नहोस् तर घरको जिम्मेवारी कुशलतापूर्वक उठाउन सक्दा मात्र ऊ असल बुहारी मानिन्छिन्। बुहारी टुसुक्क बस्दा कुटुक्क मन दुखाउनेहरुमा पुरुष मात्र हुँदैनन्, विवाह गरेर गएको घरमा रहने अन्य महिलाको मनमा पनि अमिलो पस्दछ।
यो संयुक्त परिवारमा रहने बुहारीको कथा व्यथा मात्र होइन, पुरानो सोचमा हुर्किएकाहरुको मात्र पनि होइन, विद्यावारिधी गरेका, समाज परिवर्तनको नेतृत्व गर्छु भन्नेहरु पनि भीडभाडमा महिला समानताको वकालत गर्छन् तर घर भित्र पस्न नपाउदै पुरुषत्वको ध्वाँस पोख्दै आहारविहारका लागि भर्खरै दिनभर लखतरान काम गरेर फर्किएकी श्रीमतीको नै भर पर्छन्। कसैले फकाएर, कसैले थर्काएर, कसैले नबोलेर त सकैले नटेरेरे घर गृहस्थीको अविभारा महिलामाथि नै थोपर्छन्।
त्योभन्दा रमाइलो पक्ष त म श्रीमतीको काममा सघाउछु भनेर घरको भाडा माझ्ने, खाना बनाउने, कपडा धुने पुरुषलाई जोइटिङ्ग्रेको उपनामले खिल्लि उडाइन्छ। यसरी महिला र पुरुषले गर्ने कामको वर्गीकरण गर्दै सिन्दुरभरि सुख र सन्तुष्टीमा सात-सात जनमसम्म सँगै बाच्ने मर्ने कसम खाएर ल्याएकी श्रीमतीको दायित्व किटान गरिन्छ।
सन्चो होस् या विसन्चो, स्फूर्त होस् या थकित, जागिरे होस् या पूर्ण रुपमा गृहणी, महिलाले घरगृहस्थी सम्माल्नुपर्ने जिम्मेवारीबाट टसमस हुन नसक्दा पीडा त हुन्छ नै। त्यसमा पनि हरेक तीन जना महिलामा एक जना महिला आफ्नो जीवनसाथीबाट दुर्व्यवहार हुने गरेको तथ्यांक हेर्दा कसको आङ सिरिङ्ग नहोला? मलाई माफ गर्नुहोला, कथमकदाचित सिन्दुरको सकस सबै महिलासँग सतप्रतिशत मेल नखाएमा।
फेरि पनि मेरो आफ्नै उदाहरण- मेरो एउटी छोरी मात्र छिन्। उनको दायित्व भविष्यमा आफ्नो जन्म दिने बाबुआमाको रेखदेख गर्नुपर्ने पनि हुनसक्छ। यद्यपी हाम्रो समाजले विवाहपछि उनको दायित्व श्रीमानको परिवारको ख्याल राख्नु भनेर सिकाएको छ र त्योभन्दा बाहिर जान थुप्रै चुनौतीहरुको सामना गर्नुपर्छ।
श्रीमतीको परिवार मेरो आफ्नै हो भनेर त्यसलाई सम्हाल्न तयार पुरुषहरु कति हुनुहोला! यो प्रश्न आफैलाई सोध्न मैले पुरुष पाठकहरुसँग अनुरोध गर्दछु। जबसम्म श्रीमतीको परिवार आफ्नो ठान्ने सोच पुरुषमा हुँदैन, तबसम्म छोरो प्रतिको मोह कम हुन गाह्रो छ।
आफ्नो जननीको हेरविचार गर्न नसक्दा एउटी छोरीलाई अथाह पीडा हुन्छ। समाज परिवर्तन मिलेर गर्ने हो। सम्बन्धलाई सहज मिठो र दीर्घकालीन मिलेर नै बनाउने हो। कामको वर्गीकरण लैङ्गिक बनोटका आधारमा भन्दा पनि क्षमता परिस्थिति समयानुकूल गर्दा सृष्टि कत्ति राम्ररी चलाउन सकिएला!
भागवत गितामा उल्लेख गरे झैँ महिला पृथ्वि हो, पुरुष बीउ हो र संसारको सृजना यो दुई समूहको समायोजन हो। यत्ति पवित्र सम्बन्ध हरिवंश आचार्यको गित जस्तो 'तिम्रो माया उनन्सय मेरो माया सय, एक थपी दिन्छु म हुन्छ दुई सय' भइदिए कत्ति जाती हुन्थ्यो होला!
अर्को मननयोग्य पक्ष भनेको पुरुषको सामर्थ्यलाई महिलाको शक्तिले सन्तुलनमा राखेको हुन्छ जसले संसारमा सकारात्मक उर्जा उत्पन्न गराउँदछ। सृष्टिकर्ता ब्रम्हा, पालनोषणकर्ता विष्णु र संभार गर्ने शिवलाई सन्तुलनमा राख्ने शक्ति देवीहरुसँग रहेको हिन्दु दर्शनले बताउँछ।
धर्मका मात्र होइन, कर्मका कुरा हेर्दा पनि श्रीमानको घरपरिवारबाट सहयोग पाएकी महिला निक्कै सफल र सुखी बन्दछिन्। अन्त्यमा, सिन्दुर विवाहिता हिन्दु नारीको सौभाग्य हो जसको संरक्षण र सम्मान नारी र पुरुषको सहकार्य हो।