भेटिएपछि छुट्टिनु जीवनको सामान्य नियम हो। तर, जाने मानिसलाई गरिने कतिपय विदाइ असाध्यै विदारक हुन्छन्। अझ कतिपय अवस्थामा त मनले स्वीकारै गर्दैन।
मेरो निम्ति यो विदाइ यस्तै बनिदियो।
महामारी सुरू भएयता मैले बाहिर हिँडडुल नियन्त्रित गरेको थिएँ। अझ विशेष गरेर भिडभाड हुने ठाउँहरू त हम्मेसी जान्नँ थिएँ। यसबीच बितेका आफन्तदेखि साथीभाइका शवयात्रामा पनि सरिक भइनँ।
केही महिनासम्मै आफूलाई घरभित्रै सीमित राखेको मैले गत शुक्रबार भने मन थाम्न सकिनँ र एउटा शवयात्रामा सरिक हुनपुगेँ।
त्यो मेरो जीवनकै पहिलो शिक्षकको शवयात्रा थियो।
मेरी गुरुआमालाई अन्तिम विदाइको निम्ति पशुपति आर्यघाट पुग्दा चितामा आगो लगाइसकिएको थियो। मैले वरपर नजर डुलाएँ। त्यहाँ वीरगन्जदेखि आएका अनि त्यो परिवारका थुप्रै चिनेजानेका अनुहार देखिन थाले।
सायद पछिल्ला केही दिनको लगातार झरीले होला, चिताका दाउरा भिजेका देखिन्थे र प्रतिफलमा त्यहाँ बाक्लो धुवाँको मुस्लो निस्किरहेको थियो। तिनै धुवाँभित्र मेरा स्मरण कोट्याउँदै मैले गुरुआमाको अन्तिम छवि तयार पार्न खोजेँ। त्यो सदैव मुस्काउने चेहरा अनि चहकिला जीवन्त आँखा।
हरेकपटक म वीरगन्ज जाँदा जब जब हिमाञ्चल केबिन भएर गुज्रन्थेँ, मेरा आँखाले त्यो पसलमा को बसिरहेको छ भनेर पुलुक्क हेर्थ्यो। अरू नै कोही छ भने म सरासर हिँड्थेँ। ममता म्याडम बस्नुभएको रहेछ भने भित्र गएर नमस्ते गर्थेँ।
पछिल्लो समय उहाँ विशेषगरी सामाजिक कार्यमा महिलाहरूको सक्रियता बढाउने हिसाबले व्यस्त हुन थाल्नुभएको थियो। त्यसैले पसलको काउन्टरमा उहाँ देखिन छाड्नुभएको थियो।
मैले पछिल्लो समय उहाँलाई यसरी खोज्नुको कारण थियो। म उहाँसँगै एकपटक स्कुल जान चाहन्थेँ। एक दिन त्यो चाहना पूरा भयो।
मैले मेरी प्रथम गुरुआमालाई जुन ठाउँमा जीवनकै पहिलोपटक भेटेको थिएँ, त्यसै स्थानको मेरो भेट नै जीवनको अन्तिम पनि हुनेछ भन्ने मैले कहिल्यै चिताएको थिइनँ।
धेरै मानिसका लागि ममता राजकर्णिकार एक व्यवसायी, एक सामाजिक कार्यकर्ता, एक अत्यन्त असल मानिस हुनुहुन्थ्यो। उहाँले थुप्रै उदार गतिविधिमा संलग्न हुनुहुन्थ्यो।
ममता म्याडम सहरकै प्रख्यात हिमाञ्चल केबिन परिवारकी छोरी हुनुहुन्थ्यो। मेरो गृहनगर वीरगन्जले पाएको त्यो पहिलो व्यवस्थित मिठाइ पसल हो। झन्डै सत्तरी वर्षअघि उहाँको हजुरबुवा पद्म राजकर्णिकारले ललितपुरबाट बसाइँ सरेर वीरगन्ज पुग्नु भएपछि तराईवासीलाई अनेकथरि मिठाइको स्वाद चखाउनुभएको थियो।
त्यति बेला वीरगन्ज अहिलेजस्तो व्यापक नभई धमाधम विस्तार हुँदै गरेको मधेसी सहर थियो। त्यस्तो ठाउँमा मिठाइका लागि काठमाडौं उपत्यकाकै प्रसिद्ध राजकर्णिकार परिवारले आफ्नो खानदानी विरासत बोकेरै बसाइँ सरेको थियो।
यति हुँदाहुँदै म अरू नै कुराका लागि ममता म्याडमसँग अझ बढी नजिकिएको थिएँ। उहाँ मेरो पहिलो शिक्षक हुनुहुन्थ्यो। मलाई पहिलो बाटो देखाउने मानिस, जसलाई म असाध्यै श्रद्धा गर्थेँ। म जहाँसुकै भए पनि उहाँलाई कस्तो छ, के गरिरहनुभएको छ भनेर चासो राखिरहन्थेँ।
सन् २०१९ को मार्च पहिलो तारिख मैले १८ वर्षको अन्तरालपछि अर्थात् विश्वविद्यालयबाट स्नातक गरिसकेपछि फेरि आफ्नो पहिलो पाठशाला ‘क्रेश इन्टरनेसनल स्कुल’ मा पाइला राख्ने मौका पाएको थिएँ। स्कुलको ढोकाबाट पस्नेबित्तिकै मेरो मनभित्र पुराना सम्झनाको हुरी चल्न थालेको थियो।
त्यो समयका एकपछि अर्का घटना दिमागमा सिनेमाका दृश्यजस्तै बग्न सुरू भए।
सुरुंगजस्तो चिप्लेटी, बाँदरले जस्तै झुन्डिएर चढ्ने सिँढी, खेल्ने मैदान अनि मैले जीवनमै पहिलोपटक थुप्रै साथीहरूदेखि गुरुआमा र गुरुबासँग साक्षात्कार गरेका कक्षाकोठाहरू। यी सब मेरो बाल्यकालका अभिन्न हिस्सा थिए।
म यी तमाम सम्झनाको बाढीमा चुर्लुम्म डुबिरहँदा ममता म्याडम भने मुसुमुसु हाँस्दै मलाई नियालिरहनुभएको थियो।
मैले उहाँलाई केही मिठा यादहरू सुनाएँ। भर्खर भर्खर घरबाट बाहिर पठाइन थालेको मलाई त्यो ताका स्कुल आउन भनेपछि पटक्कै मन लाग्दैन थियो। म त्यसै बगैँचाको चिप्लेटीलाई छोपेको सुरुंगभित्र लुकेर एक्लै रुने गर्थेँ।
एकपटक स्कुलमा जादुगर ल्याएर रमाइला जादुहरू पनि देखाइएको थियो। अनि एकपटक मेरो हजुरबुवा स्कुलभरिका सबैलाई पुग्ने गरी आइसक्रिमका प्याकेट बोकेर टुप्लुक्क आइपुग्नुभएको थियो। त्यो दिन मेरो जन्मदिन थियो।
एकपटक हामी सबैलाई राखेर थरिथरिका तस्बिर खिचिएको थियो। एकपटक मलाई स्कुलको कार्यालय कोठामै राखेर ‘होमवर्क’ गर्न लगाइएको थियो।
त्यस्ता अनेकानेक ‘एकपटक’ हरूले एकछिनसम्मै मेरो दिमागमा फन्को लगाउन थाल्यो।
मेरा भनाइहरू कहिल्यै नथामिएलान् जस्तै गरी धाराप्रवाह अघि बढिरहेको थियो। ममता म्याडम पनि मेरा बयान सुनाउन्जेलसम्मै सुनिरहने हिसाबले मुसुमुसु हाँसेर ग्रहण गरिरहनुभएको देखिन्थ्यो।
बाल्यकालको कुरा गर्ने हो भने मलाई ममता म्याडम भनेपछि असाध्यै डर लाग्थ्यो। साँच्चै।
त्यसको पछाडि एउटा कारण त यो पनि हुनसक्छ, त्यो ताका मबाट कुनै गल्ती भयो कि मेरो ममीले ‘पख् तेरो ममता म्याडमलाई भनिदिन्छु’ भन्नुहुन्थ्यो।
जे होस्, समय बित्दै गयो र म पनि बुझ्ने हुँदै गएँ। त्यो बुझाइ भनेको उहाँ मेरो जीवनकै पहिलो गुरुआमा हो, जसको ठाउँ अरू कुनै पनि शिक्षक वा मार्गदर्शकले अब लिन सक्दैनन् भन्ने थियो। यसरी उहाँ मेरो निम्ति महत्वपूर्ण बन्दै जानुभयो।
क्रेश इन्टरनेसनल स्कुलको संस्थापक र प्रिन्सिपल दुवै भूमिका निर्वाह गरेको २० वर्ष पूरा भइसक्दा पनि उहाँको त्यो बेलादेखिकै हँसिलोपन र आफ्ना विद्यार्थीलाई गर्ने मायामा कुनै कमी आएको थिएन। उहाँलाई मैले सदैव उस्तै देखेँ।
उहाँको काम गर्ने शैलीले पनि मलाई असाध्यै प्रभाव पारेको थियो।
प्रभावकै कुरा गर्ने हो भने ममता म्याडमको जीवनका धेरै कुरा मेरा निम्ति प्रेरणादायी बनेका छन्। एउटा उदाहरण त भर्खरै उहाँले हामी सबैबाट कसरी विदा लिएर जानुभयो भन्ने पनि हो।
भारतसँग नेपाललाई जोड्ने प्रमुख नाका भएकै कारण वीरगन्ज कोभिड–१९ बाट असाध्यै प्रभावित हुन पुग्यो। कोरोना भाइरसले त्यस सहरका धेरै निर्दोषको ज्यान लिइदियो। त्यो क्रमले अहिले आएर ममता म्याडमलाई पनि हामीबाट खोसेर लगेको छ। उहाँका भाइ र आमाको पनि यही कारणले केही दिनअघि निधन भएको थियो।
स्थानीय प्रशासनले पहिलो ‘लकडाउन’ खुला गर्नासाथ वीरगन्जको प्रसिद्ध राजकर्णिकार परिवार यो भाइरसको शिकार बन्न पुगेको थियो। त्यसपछि उहाँलाई परिवारका अन्य सदस्यसँगै थप उपचार निम्ति काठमाडौं ल्याइयो।
सुरूमा उहाँको भाइ विजय राजकर्णिकारको निधन भयो। त्यसपछि आमा केदारनानीले पनि देहत्याग गर्नुभयो। र, अन्तिममा भेन्टिलेटरका सहायताले अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा तीन महिनाभन्दा लामो अवधिसम्म संघर्ष गर्दागर्दै उहाँ पनि विदा हुनुभयो। यो भाइरसले उहाँको फोक्सोलाई निको हुनै नसक्ने गरी बिथोलिदिएको थियो।
यति लामो समय सघन उपचार कक्षमा जीवनका लागि लडिरहने कुरा म आफ्नै हकमा कल्पनासमेत गर्न सक्दिनँ। आमा र भाइ सँगसँगै कोभिड–१९ सँगको लडाइँ र उनीहरू दुवै लडाइँमा पराजित हुँदा पनि हरेस नखाएर भाइरसले क्षति पुर्याएको फोक्सो ठिक पार्न एकोहोरो लामो समय लडिरहनुभयो। यो वास्तवमै बहादुरी थियो।
मेरी गुरुआमाले साँच्चै नै एउटा बहादुरको मृत्यु अंगाल्नुभयो।
तपाईंले हामीलाई छाडेर गए पनि हामीभित्र भरिदिनुभएको शिक्षा, नैतिक मूल्य र मान्यता अनि ज्ञानले तपाईंलाई हामी सबै बाँचुन्जेलसम्म बचाइरहनेछ।
त्यसैले म तपाईंलाई विदाइको हात हल्लाउन तयार छैन म्याडम। बरू म तपाईंलाई धन्यवाद भन्नेछु।
हामीलाई असल तरिकाले बाँच्न सिकाउने अनि ज्ञानी बनाउने ती सम्पूर्ण प्रयासका लागि धन्यवाद। जीवनको लामो यात्रामा तपाईंले सिकाएझैं गरी चालिने मेरा कदमहरूका निम्ति धन्यवाद।
मेरो जीवनकै पहिलो गुरुआमा बनिदिनुभएकोमा मुरी मुरी धन्यवाद। मैले बोलुन्जेल अत्यन्त धैर्यपूर्वक सुनिदिनुभएकामा धन्यवाद।
पहिलो गुरुआमाका रूपमा मेरो जीवनलाई धन्य बनाउने काम तपाईंभन्दा अर्को कुनै मानिसबाट हुन सक्थ्यो भन्ने म कल्पना पनि गर्न सक्दिनँ।
ती तमाम कुराहरूका निम्ति फेरि पनि धन्यवाद म्याडम।