नुन लिन पट-पटी फुटेका खुट्टामा हप्तौँ हिँड्ने मेरा हजुरआमाका पुस्ताले त्यो असहजतालाई पैतालामुनि नै पार्नुभयो। मेरी ९३ वर्षीय हजुरआमा, उहाँका जीवनक्रममा भएका विकासहररुदेखि निकै आश्चर्य चकित हुनुहुन्छ। उहाँले हामी गरिब थियौँ वा अरू देशभन्दा गरिब छौँ भन्ने नै महशुस गर्नु हुँदैन।
उहाँका ३ सन्तानको १ वर्ष नपुग्दै नपुग्दै परलोक भए तर पनि त्यसलाई जसको पनि त्यस्तै त थियो भन्दै सामान्य रूपमा लिनुहुन्छ। उहाँका लागि पूरा संसार तिनै हिमालले घेरिएको भू-भाग मात्र थियो।
तर ठूला ठूला महल, लोभ लाग्दा गाडी र आलिसान जीवन ‘ब्ल्याक एन्ड ह्वाइट’ टिभीमा देखेर हुर्केका हामीलाई रङ्गिन संसारसँग परिचित हुने ढोका खोल्यो। देश विश्वसँग खुल्दै गएपछि पढाइ वा कामका सिलसिलामा ती देशहरुको विकास हेर्ने अवसर पाएका हामीहरुले बल्ल विकसित विश्वसँग प्रत्यक्ष साक्षात्कार हुने मौका पायौँ।
यी डाँडा पाखा बाहिर पनि संसार रहेछ छ भन्ने कुरा महशुस गरेका हामी बल्ल हाम्रो ढुङ्गा माटाका घरका बारेमा निम्छरो महशुस गर्न थाल्यौँ। चाहे त्यो मध्य पूर्वका समुन्द्री सहरमा काम गरेर आफ्ना परिवार पालना हिँडेका युवा हुन् वा अमेरिकाका शीतकालीन समुन्द्री सहरमा दिन रात काम गरी आफ्ना महत्त्वाकांक्षा पूरा गर्न हिँडेका हजारौँ विद्यार्थीहरुले नै किन नहुन्, हामीले आफ्नो र देशको सापेक्षिक गरिबी महशुस गरेकै छौँ।
हामी गरिब हुनु पछाडिका अनेकौँ तर्क वितर्क दिएकै छौँ। असफल राजनीतिमाथि भारे हात फलेकै छौँ। भाग्यबाट, धर्म, भूगोल, नेता, त कहिले आफैलाई दोषारोपण गरेकै छौँ।
कुरोको चुरो
यद्यपि विकास प्रक्रिया बहुआयामी र विकास पद्धतिको बुझाइ आफैँमा जटिल प्रकृया हो। यसका निर्धारकहरुमा धुर्ब-सत्यहरु खोजिनु गलत रहन्छ भन्ने मेरो बुझाइ छ। जस्तो अविकासका पछाडि धर्म सांस्कृतिक जडतामा दोष देखाउनेले रूढिवादी मुस्लिम साउदी अरब वा कतार लगायत देशहरुको विकास क्रमलाई कसरी व्याख्या गर्छन्?
स्रोत र साधनको तर्क दिनेले स्रोत संसाधन कम भएका तर अति विकसित हङकङको विकासलाई कस्तो तर्कले आफूलाई बचाऊ गर्छन्? भूगोलको तर्क दिनेले प्रतिकुल मौसम भएका ‘स्कान्डिनेभियन’वा मध्यपूर्वका देशहरुको विकासलाई कसरी बुझ्दछन्?
युवाको डम्फु बजाउनेले भर्खरै अपदस्त ९४ वर्षमा पनि प्रधानमन्त्री रहेका मलेसियालाई आर्थिक उचाइमा पुर्याएका महाथिर मोहम्मद बारेमा के भन्छन्? टेक्नोक्रेट-टेक्नोक्रेट भनेर हौवा पिट्ने म जस्ताले कसरी टेक्नोक्रेटले ल्याएका आफ्नै देश वा विदेशका दुर्दशाको प्रतिरक्षा गर्छौँ? के ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको मन्त्रिमण्डल टेक्नोक्रेटिक थिएन र? हामी त्यसैमा सन्तुष्ट थियौँ भने शासन परिवर्तनका लागि किन हामी सडकमा उर्लन पर्ने थियो?
अझ हामी कुनै देश कसरी विकास भए भन्ने उदाहरणहरु दिँदा एक पक्षलाई मात्र पक्ष पोषण गर्दछौँ। दक्षिण कोरियाको उदाहरण दिँदा त्यसको शीतकालीन भू-राजनीतिलाई बेवास्ता गर्दछौँ। सिङ्गापुरको उदाहरण दिँदा यसको सानो भूगोल र फलतः यसको विभिन्न नीतिको प्रयोगात्मक प्रयोग गर्न सक्ने विशेष अधिकारलाई नजरअन्दाज गर्दछौँ।
त्यसैले विकास नहुनुलाई यो या त्यो कुराको मात्र दोष हो भनेर कुनै एक आयामिक विश्लेषणभन्दा ऐतिहासिक विकास क्रम, भूगोल, आर्थिक-सामाजिक प्रणाली, राजनीतिक संस्था, राजनीतिक पात्र र प्रवृत्ति, भूराजनीति, स्रोत-साधनको अवस्था र अर्थतन्त्रको गुरुत्व सबैलाई समष्टिमा बुझ्नु पर्छ। हामी कसरी विकसित हुन सक्छौँ भन्ने मन्थनको प्रस्थान बिन्दु पनि त्यही बोध हो।
इतिहास
हामी विश्वको आर्थिक इतिहासबाटै हाम्रो छलफल सुरु गरौँ। साझा युगदेखिको समयलाई अध्ययन गर्ने हो भने यसको सुरुदेखि १९ औँ शताब्दीको मध्यसम्म पनि भारत र चीन नै विश्व अर्थतन्त्रका महारथी थिए। सुदूर तेस्रो स्थानमामा कहिले तत्कालीन रोमन (इटाली), कहिले बाइजान्टिन (टर्की), कहिले फ्रेन्च त कहिले ब्रिटिस साम्राज्य रहे। औद्योगीकरणपछिको समयमा मात्र अमेरिका र रुस लगायतका पश्चिम युरोपका अर्थतन्त्रले ठूलो आकार ग्रहण गरे जबकी औद्योगीकरणको सुस्ताइमा भारत र चीन धेरैपछि परे।
त्यसैले नेपाल लगायत एसियाको ठूलो भूगोल नै औद्योगीकरणपछिको विश्वमा पछि पर्न गयो। औद्योगीकरणको सुरुआत किन हाम्रो भेगबाट हुन सकेन त भन्ने कुरा यस लेखले नसमेट्ने विषयवस्तु रह्यो तर अरू समकालीन देशहरुभन्दा किन हामी सापेक्षिक रूपमा पछि पर्यौं भन्ने तर्फ भने हाम्रो ध्यान जानै पर्छ।
मेरो हजुरआमाको पुस्ताले आफूलाई गरिब ठानेनन्। उहाँका कुराहरुको सार हामी अविकसित थिएनौँ तर विशेष तरिकाले विकसित थियौँ भन्ने रहन्छ। उहाँका अनुसार हाम्रो भेगमा खानाका लागि उर्वर जमिन थियो र उपलब्ध स्थानीय स्रोतको प्रयोगबाट पारिवारकी चल्दथ्यो। हामीले आविष्कारहरु गरेनन् भन्ने कुरा उहाँ स्वीकार गर्नुहुन्न। 'हलो, जाँतो, घट्ट, शिल्पीहरु चाही के त?' उहाँको प्रश्न रहन्छ।
विश्वका अरू क्षेत्रमा विकासको स्वरूप बेग्लै किसिमको थियो। आफ्ना आवश्यकताहरु पूरा गर्न उनीहरुले फेरि आफू अनुकूल विकास गरे वा आविष्कारहरु बनाए जसको आडमा पछिल्लो क्रममा हाम्रो जीवनस्तरभन्दा स्तरीय बन्न पुग्यो।
जब हाम्रा नेतृत्वलाई संसारको ढोका खुल्यो अनि बल्ल उनीहरुले पनि हाम्रो भौतिक अविकासको महशुस भयो। हाम्रा लागि अरू देशका विकास क्रम देख्ने राजा, महाराजाले आफ्नै सन्तति र आफू निकटका व्यक्तिहरुलाई मात्र मात्र धनी बनाउने सपनाहरु देखे। समग्र देश र देशवासीलाई विकसित बनाउने सपनाहरु देखेनन्, चाहेनन्।
अर्थ राजनीति शास्त्री द्वय डारोन अकेमेलोगु र जेम्स रोबिन्सनको किताब ‘किन राष्ट्रहरु असफल हुन्छन्’ (ह्वाई नेशनस् फेल) किताबका अनुसार नेपालमा सापेक्षिक अविकास हुनुमा नेपालका ऐतिहासिक ‘एक्स्ट्र्याक्टिभ’ अर्थ-राजनीतिक राज्य व्यवस्था हुन् जसले धेरै व्यक्तिहरुको सामूहिक भलोको ठूलो मूल्यमा केही सीमित समूहको मात्र फाइदा पुर्याउने उद्देश्य राखे।
यसको एक उदाहरण १०४ वर्षे राणा शासन हो जसले नीति निर्माण र राजनीतिक प्रक्रियालाई आम नागरिकहरु बाट टाढै राखे र विभेदकारी धार्मिक वा सामाजिक प्रावधानहरुका आडमा ठूलो जनसङ्ख्यालाई शोषण गरे। यसका अलावा, ती अन्यायपूर्ण प्रावधान परिवर्तन गर्ने कदम चालेनन्। पछिल्लो क्रममा राजनीतिक अस्थिरता, सामाजिक अन्याय र त्यसले निम्त्याएको राजनीतिक द्वन्द्व र त्यसको राजनीतिक निकासले अल्झाएको राजनीति र सोबाट प्रभावित अर्थतन्त्र कछुवाको गतिमा मात्र चल्यो।
यस अर्थमा अहिलेको औद्योगीकरण प्रेरित भौतिक विकासको क्रम पश्चिमा देशहरुबाट सुरु भएको हो। हामी सापेक्षिक रूपमा समान अवस्थामा रहेका देशहरु पनि विकास हुन नसक्नुमा तिनै विकास देखेर पनि समग्र जनसाङ्ख्यिक विकासमा बाधक बन्ने शासकहरु र त्यसपछिका राजनीति अन्योलका समयहरु हुन् भन्दा कुनै अतिशयोक्ति हुँदैन।
आर्थिक अवसर
प्रति व्यक्ति आयमा पश्चिमा विश्वको दाँजोमा आउन भने केही समय लाग्ने भए पनि अर्थतन्त्रको आकारको आधारमा त भारत र चीन फेरि पनि अग्रस्थानमै केही समयमै उक्लिने नै छन्। स्टानफोर्ड विश्व विद्यालयका इतिहासकार इयान मोरिसको किताब ‘पश्चिमा जगतले किन अहिले विश्व शासन गर्दछ?’ (ह्वाई वेस्ट रुल्स फोर नाव) किताबमा विश्वको अर्थतन्त्रको गुरुत्व पश्चिम जगतबाट एसियामा २१औँ शताब्दीको मध्यमा पुन:आगमन हुने निश्चित प्राय: ठान्दछन्। त्यसैले, नेपाल विकासको आधार पनि मैले यही सर्ने आर्थिक गुरुत्वमा र यिनै दुई भीमकाय अर्थतन्त्रको विकास क्रम नै देख्दछु।
यसो भनिरहँदा हामी सबैले दुई अति महत्त्वपूर्ण तथ्यको जनाकारीमा राख्नै पर्दछ। पहिलो: यो नेपालको लागि अवसर मात्र हो, प्रतिफल नै होइन। यसले देशको संवृद्ध भविष्यको सुनिश्चितता गर्दैन। यसको सुनिश्चितता यो विश्व अर्थतन्त्रको बललाई हामीले कसरी प्रयोग गर्न सक्छौँ भन्ने कुरामा नै निर्भर रहन्छ। अर्को मनन गर्नु पर्ने महत्त्वपूर्ण पक्ष भनेको हामी मुम्बई र शाङ्घाइको बीचमा होइन, भारतका सबैभन्दा गरिब दुई राज्य विहार र उत्तर प्रदेश र चीनका प्रान्तहरुमा कम विकसित मध्यको एक तिब्बतको बीचमा छौँ।
यस तथ्यले नेपालका लागि नयाँ अवसरको सिर्जना पनि गर्दछ। नेपालको सिमाना रहेका विहार र उत्तर प्रदेशमा सम्पूर्ण भारतीय जनसङ्ख्याको पच्चीस प्रतिशत जनसङ्ख्या छ। यसको मतलब यो हुन्छ की नेपालको दक्षिणमा विशाल अर्थ-बजार अवस्थित छ जुसको दक्षिण एसियामा व्यापार मार्गको उल्लेखनीय विस्तार भएपछि नेपाली उद्यमीहरुले फाइदा लिन सक्दछन्। हामीलाई दक्षिणी भारतको ठूलो बजारमा निर्मित सामान वा अतिरिक्त उर्जाको ढुवानी गर्न पनि सक्छौँ।
उर्जा, प्रविधि र उत्पादन
शरीर, उद्योग या मेसिन चलाउन आवश्यक कुरा उर्जा नै हो। त्यस कारण अर्थतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष उर्जा हो। औद्योगीकरण-पूर्व आर्थिक गतिविधि लगभग प्राय: शारीरिक बलबाट हुन्थे र प्रमुख उत्पादन कृषि उत्पादन नै थिए। त्यसैले, औद्योगीकरणको पूर्व सन्ध्यामा संसारको चिनीको भाँडो भनेर चिनिने क्युबा प्रति व्यक्ति आयका हिसाबमा सबैभन्दा धनी देशमा पर्दथ्यो।
औद्योगीकरण पश्चात् उर्जाको आवश्यकता जीवहरुभन्दा पनि निर्जीव मेसिनहरुमा बढी हुन थाल्यो। अनि उत्पादन बढाउने उर्जाको प्रमुख स्रोत ‘कार्बोहाइड्रेट’ नभई अरू कच्चा तेलका ‘हाईड्रो-कार्बन चेन’बन्न पुगे। फल स्वरूप आजको मितिमा तेलका खानीको विशाल मुहान भएको कतार प्रति व्यक्ति आयका हिसाबमा सबैभन्दा धनी देश बनेको छ जबकी कृषि गरेर ‘दाल-भात पावर २४ आवर’मा गर्व गर्ने हामी निकै पछि छौँ।
अबको विश्व-अर्थतन्त्रमा कुनै एक देशको उर्जा, प्रविधि र युवल नोवा हरारिले भने जस्तै ‘डाटा’कुनै एक देशले कति प्रभुत्व जमाउँछ भन्ने कुरामा निर्भर गर्दछ। हाम्रो हकमा पनि यी तीन कुराहरुमा कसरी आफ्नो गति कायम गर्छौँ भन्ने कुराले हाम्रो विकासको गति पहिल्याउँछ।
उत्पादकत्व बढाउने प्रविधि आविष्कार गर्ने क्षमता हामी आफैले राख्नु पर्दछ र त्यसो गर्न विश्वस्तरीय खोजकर्ता र खोज-अनुसन्धान केन्द्रको स्थापन गर्नु आवश्यक रहन्छ। साथसाथै विश्व बजारमा रहेका अत्याधुनिक प्रविधि भित्राउन र त्यसको प्रयोगमा किमार्थ कुनै सम्झौता गरिनु हुँदैन। डाटामाथि पकड जमाउन सक्ने विश्वव्यापी प्रविधि सम्बन्धी संस्था हालको लागि नेपालमा नभए पनि डाटाको प्रयोग मार्फत व्यापारको वृद्धि र नीतिगत क्षमताको वृद्धि पनि अति-आवश्यक रहन्छ।
उर्जाको निरन्तर र सर्वव्यापी उपलब्धताले तमाम अर्थतन्त्रलाई चलायमान बनाउँछ र आर्थिक गतिविधिका नयाँ आयामहरुको सुरुवात पनि गर्दछ। हामीले सानैदेखि सुन्दै आएको उर्जाको प्रमुख आधार जलविद्युत हो। सन् २०४५ सम्म नेपालले पर्याप्त लगानी गरेमा ४४ गिगावाटसम्म जलविद्युत उत्पादन हुन् सक्ने र सो विद्युत् भारतलाई बेचेर करिब ११ खर्बसम्म आम्दानी गर्न सक्ने युयसएड अन्तर्गतको एक प्रतिवेदनले जनाउँछ।
सो रकम त्यो समयमा प्रक्षेपण गरिएको साढे तीन करोड जनसङ्ख्याले भाग गर्दा करिब साढे तीस हजार मात्र हुन् आउँछ। जुन रकम हालको प्रतिव्यक्ति आयको एक तिहाइभन्दा पनि कम हो। त्यसैले विद्युत् बेचेर मात्र धनी बन्ने सपना सपनाभन्दा त्यसको उपयोगितामा व्यापक रूपमा उद्योगहरु खोल्न सक्ने क्षमता हामीले देखाउन सक्नु पर्छ।
कृषि र सेवा अर्थतन्त्र
देश विकसित हुँदै गएपछि कृषिले अर्थतन्त्रमा ओगट्ने हिस्सा घट्दै जान्छ र विस्तारै उत्पादन र सेवा क्षेत्रको भार बढ्दै जान्छ। धेरै विकसित मुलुकहरुमा कृषि क्षेत्रको कुल ग्राहस्थ उत्पादनमा योगदान र कृषि पेशामा संलग्न जनसङ्ख्या दुवै १ अङ्कमा छन्। अझ अति विकसित देशहरुको सोही तथ्याङ्कहरु १ प्रतिशतभन्दा पनि कम छ।
हाल, नेपालको लगभग दुई-तिहाइ जनसङ्ख्या कृषिमा प्रत्यक्ष संलग्न छ र कृषि क्षेत्रले कुल ग्राहस्थको लगभग एक-चौथाइ भाग ओगट्छ। त्यसर्थ कृषिको आधुनिकीकरण मार्फत थोरै क्रियाशील जनशक्ति प्रयोग गरेर धेरै उत्पादन गर्न सक्नु नै कृषिको आधुनिकीकरण पहिलो क्रम हुन सक्छ तर कृषिको आधुनिकीकरणबाट मात्र विकसित बन्न सकिन्छ भन्ने मैले कुनै आधार देख्दिनँ।
युरोपका धनी भूपरिवेष्टित देशहरुको कुल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा सेवा क्षेत्रबाट आउँछ। कुल गृहस्थ उत्पादनको ९० प्रतिशत लक्जेम्बर्गमा, ७४ प्रतिशत स्विजरल्याण्डमा र ७० प्रतिशत अस्ट्रियामा सेवा अर्थव्यवस्थाबाट आउँछ। हामीले लिनुपर्ने दिशा पनि त्यही नै हो।
हामीले विद्यालयमा पढ्ने विशिष्ट अन्तर्राष्ट्रिय संस्थाहरुको प्रमुख कार्यालय कहाँ छ भन्ने हाजिर जवाफका प्रश्नहरुमा जेनेभा भने धेरै उत्तरहरु मिल्ने गरेको मलाई सम्झना छ। त्यसैले हामीले जेनेभा (स्विजरल्याण्ड), भियना (अस्ट्रिया) वा पछिल्लो क्रममा नैरोबीको (केन्या) जसरी सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्न सक्नुपर्दछ।
संक्षेपमा भन्नुपर्दा अन्तर्राष्ट्रिय बैंकिङ, बिमा सेवाहरु र बहुराष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाहरु निकट भविष्यमा फस्टाउनको लागि नेपालले राजनीतिक वातावरणको सुनिश्चितता र अधम चातुर्यता अपनाउन सक्नु पर्दछ।