लगभग १२ वर्षअघि हाम्रो घरमा बाख्रीका पाठी जन्मिए- खैरी र चिरबिरी।
खैरी सलक्क परेकी थिई। चिरबिरी हेर्दै खरायो जस्तै सेती-काली। चिरबिरी मलाई एकदमै मनपर्थी।
अनि कथामा पल्लो घरकी काकी आइन्।
उनलाई पनि चिरबिरी एकदमै मनपर्ने। उनको धोको थियो, एउटा उन्नत जातको बाख्रा पाल्ने। काकीले आमासँग कुरा गरिन्। चिरबिरी मागिन्।
देउरानी र जेठानीको १५०० रूपैयाँमा कुरा छिनोफानो भएछ। आमाले हामीलाई भन्दा पनि नभनी त्यो राम्री चिरबिरी पाठी तल्लोघरमा पठाइ दिनुभयो। यो कुराको भान पाएपछि म आमासँग रिसाएको थिएँ। यसरी बच्चैमा दिदीबहिनी छुट्टाएको मलाई फिटिक्कै मन परेन।
तल्लो घरमा चिरबिरी कराउँथी अनि माथ्लो घरमा खैरी। कहिलेकाहीँ म उसो लुकेर खैरीलाई तल्लो घरसम्म पुर्याउँथे। कहिले चिरबिरीलाई माथ्लो घर उकाल्थेँ। दुवैलाई भेटाउथे।
दिदीबहिनी यसो बेलाबेलामा भेटून् भन्ने लाग्थ्यो।
पछि हाम्रो घरमा खैरीकै सन्तानको बढ्दै गए। काकीका घरमा चिरबिरीका। चिरबिरी साँच्चै उन्नत बाख्री रैछे। ऊ एक पटकमा ४ वटासम्म पाठापाठी पाउँथी। पाठापाठीको संख्यामा काकीको घर गाउँभरिमै उल्लेख्य थियो। काकीहरूले बाख्रा व्यवसाय राम्ररी नै अघि बढाए। खोर तथा घाँस-सेउला व्यववस्थापनबारे सोच्दै गए। उल्लेख्य आम्दानी पनि हुँदै गयो।
यो थियो घरपालुवाको कथा। अब अर्को छ जंगली।
लगभग ७ वर्षअघि पनौती नगरपालिका ३ को एउटा सामुदायिक वन, 'बाउसे वन'को सानो गुफामा 'चितु' चितुवाको जन्म भयो। चितु बच्चैदेखि ठूलो ज्यान परेकी चितुवा थिई। आमाले ल्याएको आहारामा अन्यभन्दा ऊ बढी हक जताउँथी। बढी लुछाचुँडी गर्थी।
जसै चितु ठूली हुँदै गई, उसको आहारा खोजतलासको क्षेत्रफल फराकिलो हुँदै गयो। बाउसे वनबाट अब उसको पाइला कहिले भक्तपुरको रानी वन पुग्थ्यो त कहिले चिन्डु वन वरपर घुम्थ्यो। उसका हुंकार कहिले खोपासीको थुम्की वनमा हुन्थ्यो त कहिले ढुन्ग्खर्कको अग्ला पहरामा।
पछि चितुका कयौं बच्चा भए। कति मरे कति अन्यत्र वनमा पलायन भए। चितु भने काभ्रेकै जंगल आसपास आहारा खोज्दै हिँड्थी। अचेल चितुले फेरि बच्चा पाएकी छे। जेठमा जन्मिएका बच्चा भख्खर केही महिनाका भए।
यो वर्ष काभ्रेमा धेरै पानी परेकाले चितुलाई बच्चाको स्याहारसुसार गर्न धौधौ भएको छ। धेरै पानी परेकाले भिजी-भिजी शिकार गर्न पनि उसलाई मुश्किल छ। भर्खर बच्चा जन्माएकाले आफू पनि कमजोर र भोको छे।
लगभग एक हप्ता भयो चितुले केही नखाएको। उसका साना छाउरा ५ दिनदेखि भोका छन्। उसलाई अब जसरी पनि आफ्नो र परिवारको पेट पाल्नु थियो। नभए भोकले सबैको चिहान त्यही गुफामा हुने थियो। अलि बढी नै सजग हुँदै चितु आहाराको खोजीमा मानववस्तीतिर चिहाउन थाल्छे।
असारको सिमसिमे झरीबीच मध्यरातमा चिरबिरी तथा चितुको कथा जुध्छ। चितुलाई भोको पेट पाल्नु थियो, चिरबिरीलाई अझै कयौं वर्ष बाँच्नु थियो। आज चितु चिरबिरीका परिवारलाई साँझदेखि ढुकेर बसेकी छ।
मध्यरातको अन्धकारमा सबै उज्याली निभे तर चितु आँखाका ज्योति निभेका छैनन्। झ्यालैमा चिरबिरी र उसकी प्यारी सेती बसेका छन्। चितु वेगले झ्यालको तारबार समाउन पुग्छे। चितुका बलिया पाखुराले झ्यालको तारबार उखेलिन्छ। भित्र बसिरहेका चिरबिरी र सेती आत्तिन्छन्।
उनीहरू भाग्न पनि सकिरहेका थिएनन्। चितुको पन्जाले चिरबिरीको घाँटीमा समाइसकेको थियो। चिरबिरी अझै भाग्न खोज्छे तर चितुका पन्जा तागतिला थिए। भाग्ने अवस्था नभएपछि घाइते चिरबिरी चितुलाई हान्न पुग्छे। उसका तिखा सिङले चितुलाई केही दख्खल पर्छ।
चितुलाई थाहा भयो- चिरबिरीलाई आहारा बनाउनु खतरनाक सावित हुनसक्छ। त्यसैले ऊ सानी सेती पाठी समाउन पुग्छे। उसलाई जसरी भए पनि आज आहार लानु नै छ। भोका बच्चालाई खुवाउनु छ। डरले आत्तिएकी सेती नराम्ररी कराउँछे।
सेती पाठीको चिच्याहटले काकाको निद्रा खुल्छ। उनी खोरतिर दगुर्छन्। त्यतिन्जेल चितुको पन्जाले सेतीको घाँटीमा कयौं गहिरा घाउ बनिसकेका थिए। चितु जसरी पनि सेतीलाई खोरबाहिर पुर्याउनन चाहन्छे।
त्यतिकैमा खोरमा काका आइपुग्छन्। मान्छेको आगमनले चितुको सात्तो जान्छ। ज्यान जोगाउन चितु सेतीलाई छोडेर आएकै झ्यालबाट भाग्छे। आज फेरि ऊ भोको हुने भई। आज फेरि उसका बच्चा भोका हुने भए। आज फेरि उसको परिश्रम निरर्थक सावित भयो।
यता सेती र चिरबिरीका आफ्नै पीडा छ। दुवै दुखाइले चिच्याइरहेका छन्। सेती खोरबाट दगुर्छे। अन्धकारमा उसका पाइला घर तलको चौर नजिक पुगिसकेको छ। तर उसको पीडा कम भएको छैन। घाउको पीडाले रन्थनिएर ऊ चौर नजिकैको बाटोमा पसारिन पुग्छे। चिच्याउँछे। चिरबिरी र सेती दुवैको अवस्था नाजुक छ। केही ढुकढुकी मात्र बाँकी छ।
न चितुले आहारा पाई, न सेती र चिरबिरीको अवस्था सही रह्यो।
यो कथा घरपालुवा र जंगली जनावरको द्वन्द्वको हो, मानव र जनावरबीचको द्वन्द्वको हो।
हुन त मानव तथा जंगली जनावरबीचको द्वन्द्व नयाँ विषय होइन। हाम्रा हरेक परिवेशका प्रबल समस्या हुन्। माथिको कथा त एक प्रतिनिधि घटना हो। कुशादेवी क्षेत्रमा गत एक दशकमा यस्तै सयौं द्वन्द्वका घटना भए। देशव्यापी समस्याको रूप कति वृहत होला?
चिन्डु सामुदायिक वनका अध्यक्ष तथा स्थानीय शिक्षक उद्दवप्रसाद बोलखेले मसँगको कुराकानीमा भनेका थिए, 'समस्या घरपालुवा जनावरप्रतिको आक्रमणमा मात्र छैन। स्थानीयले लगाएको बालीनालीमा नजिकका वनजंगलबाट भित्रिएका बँदेल तथा मृगले गरेको नोक्सानको त आकलन नै छैन। मृगजस्ता जनावर तथा नयाँ रोग-भाइरसको आगमनका कारण अहिले नै गाउँघरमा मुख्य रूपमा हुने मकै जस्ता बालीनालीको उत्पादकत्व कम छ।
कुनै समय आफ्नै खेतबारीमा उत्पादित मकैले आत्मनिर्भर गाउँ परनिर्भर बनेको छ। स्थानीय हजारौं तिर्दै आयातित मकै किन्न बाध्य छन्। यसले पक्कै कुशादेवीको कृषि तथा पशुपालनको भविष्य चिन्तित मोडमा पुर्याएको छ।
सामुदायिक वन र नजिकका निजी वनको उचित व्यवस्थापन नहुँदा जंगली जन्तुहरू सजिलै मानिसका घर तथा खेतबारी नजिक आइपुग्छन्। जसले गर्दा मानव तथा जंगली जनावरबीच द्वन्द्व बढ्नु स्वाभाविक भएको छ। वन त संरक्षित भयो तर बढ्दो मानव-वन्यजन्तु द्वन्द्वले स्थानीय जनधन सुरक्षित नहुने हो कि भन्ने चिन्ता बढेको छ।'
केही महिना अगाडि रिसोर्सेस हिमालय नेपालबाट आयोजित तालिमको सिलसिलामा हाम्रो टोली बर्दिया राष्ट्रिय निकुन्ज पुगेको थियो। निकुन्जको मध्यवर्ति क्षेत्र आसपासमा बस्ने मानिससँग गरेको सामान्य सर्भेमा सर्वसाधारणका यस्तै पीडा झल्किँदै थिए।
निकुन्जका संरक्षित जनावर वस्तीमा छिर्ने, घरपालुवा जनावर आक्रमण गर्ने तथा अन्नबाली सखाप गरिदिने समस्या बताइरहेका थिए। नोक्सानीको आर्थिक सहयोग गर्ने व्यवस्था रहे पनि तरिका निकै झन्झटिलो भएको स्थानीयले सुनाए।
संरक्षित क्षेत्र वरपरको अवस्था त्यस्तो रहँदा कुशादेवी, जुन कुनै पनि संरक्षण क्षेत्रमा पर्दैन, आफ्नै पीडामा रुमलिएको छ। यहाँका स्थानीय पनि घरपालुवा जन्तुमाथि भएको नोक्सानीको बाबजुद स्थानीय सरकारबाट खासै सहयोग नभएको बताउँथे।
कतैबाट केही सहयोग हुने नभएपछि घाटामा परेका स्थानीय वन्यजन्तु मार्न पासो तथा विषको सहयोग लिन पुग्छन्। यस्तो परिपाटीले मानव जनावरको-द्वन्द्व अझै लामै समय चलायमान राख्ने निश्चित देखिन्छ।
बेलैमा यसबारे सोच्नु आवश्यक छ।
(लेखक बोलखे विज्ञान तथा वातावरण विषयको अनुसन्धनात्मक लेखक हुन् र हाल 'जैविक विविधता संरक्षणका लागि अन्तराष्ट्रिय युवा सञ्जाल, नेपालमा कार्यरत छन्।)