कोरोनाले कुनै वर्ग, पेसा, धर्म, देश भनेन। सारा विश्व विषम परिस्थितिबाट गुज्रिरहेको कसैबाट छिपेको छैन।
सबै पेसा, वर्ग र समुदाय प्रताडित छ। त्यसैले विभिन्न क्षेत्र तथा पेसामाआबद्ध पुरुष र महिला श्रमिक पीडित छन्। पटक पटकको सरकारको निर्णयले ब्युटिसियन (सौन्दर्य प्रशाधन) पेसामा कार्यरत स्वरोजगार श्रमजिवी झन् बढी पीडित र अपहेलित हुनु परेको छ।
कोरोनासँग लडाइँ लड्न सरकारी निर्णयअनुसार सबै पेसाले तोकिएको लकडाउन तथा निषेधाज्ञा मानेर घरमा आफैंलाई बन्दी बनाए। दैनिक ज्यालादारी तथा श्रमजिवीको अर्तनाद सुन्न नसकेर बाध्य भएर संघीय सरकारले साउन ६ गतेबाट देशभरको लकडाउन खुकुलो बनायो।
पुनः संघीय सरकार आफैंले लकडाउन नगरी देशभरका स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्न अख्तियारी प्रदान गर्यो। त्यसपछि मुलुकभरका स्थानीय प्रशासनले अनुकूलता हेरी पेसा-व्यवसाय वर्गीकरण गर्दै निषेधाज्ञा जारी गर्न थाल्यो।
राजधानी रहेको उपत्यकाको हकमा भदौ ३ गतेबाट लकडाउनको नाममा निषेधाज्ञा सुरू गर्यो। मुलुक संघीयतामा गएर तीन तहको सरकार हुँदै गर्दा पनि हाम्रो मानसिकता अझै पनि काठमाडौंले के बोल्छ भन्ने परिपाटीमा अल्झेको देखिन्छ।
उपत्यकाका तीन प्रशासकबाट भदौ २४ गते रातीबाट निषेधाज्ञा केही खुकुलो गरेर समय तोकी पेसा-व्यवसाय सञ्चालन गर्ने, सहरभित्र तथा लामो दुरीका यातायात पनि सञ्चालन गर्ने अनुमति प्रदान गर्यो। तर हालसम्म पनि ब्युटिसियन पेसामा काम गर्ने, नाइ तथा ब्युटिपार्लरहरूलाई निषेधाज्ञा जारी छ।
उपत्यकाले जे बोल्छ, त्यसै मुताबिक देशभरका स्थानीय प्रशासनबाट यो पेसालाई त्यहीअनुसार व्यवहार गरिरहेका छन्। यस क्षेत्रमा कार्यरत ट्रेड युनियनहरूबाट काठमाडौं लगायत विभिन्न सहरमा यस पेसालाई पनि खुकुलो पारी जीविकोपार्जनका लागि सरकारलाई झकझक्याउन प्रर्दशन लगायत गतिविधी भए।
र पनि सरकार ज्युँकात्युँ मुकदर्शक भएर बसेको छ। दसैं, तिहार र छठ जस्ता राष्ट्रिय पर्व दिनानुदिन नजिकिँदै जादा यस क्षेत्रका श्रमिक कसरी त्यसको व्यवस्थापन गर्ने भनेर चिन्ताग्रस्त अवस्थामा छन्। तर पनि सरकार चुपचाप बसेको देखिन्छ।
मूलतः तराई मूलका व्यक्तिहरू जो नाइ पेसामा आबद्ध छन्, उनीहरूले के पहाड, के हिमाल नभनी आफ्नो थातथलो छाडेर पेसा-व्यवसाय गरी जनताको सेवा गर्दै आएको कसैबाट छिपेको छैन। त्यस्तै सीप सिकेर गाउँटोलमा स्वरोजगार पेसामा क्रियाशील महिला दिदीबहिनीहरू आफ्नो ब्युटिपार्लरअगाडि रहेको साइनबोर्ड घामपानीले पखाली सकेर फुस्रो भएको, कामका औजारहरू खिया लागेको, माकुरोको जालो लागेको टुलुटुलु हेर्न बाध्य भएका छन्।
सर्वहारावादी श्रमिकको जगमा स्थापित सरकारले लगभग सबै पेसा-व्यवसाय खोल्दै गर्दा यो पेसालाई नजर अन्दाज गरेको देख्दा अचम्म लाग्न थालेको छ। लगभग सबै पेसा खुकुलो बनाउँदै गर्दा यसलाई किन राज्यबाट विभेद हुन गएको हो, बुझ्न सकिएन।
लोककल्याणकारी राज्य हो भने त सबैलाई समान दृष्टिकोणबाट हेर्नु पर्ने हो। घोषणाअनुसारको राहत तथा घरभाडा छुट त दुरको कुरा रह्यो। अब पनि स्वास्थ्य मापदण्ड अवलम्बन गरेर यो पेसा खुकुलो नपार्ने हो भने यो मूलतः स्वरोजगार रहेको पेसा-व्यवसाय पूर्ण रुपले ध्वस्त हुनेछ।
नेपाली उक्तिअनुसार बोल्नेको पिठो पनि बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने कुराको स्पष्टतता सरकारी निर्णयमा झल्किन्छ। के निषेधित क्षेत्र उल्लंघन गर्दै यस पेसामा क्रियाशीलहरूले प्रहरीसँग पैठेजोरी खेलेपछि मात्र सरकारको आँखा उघ्रिने हो त!
युरोप, भारतका लगभग सबै प्रान्तमा स्वास्थ्य मापदण्ड अपनाएर सैलुन तथा पार्लरहरू खोलिसक्दा यहाँ चाहिँ किन अझै बन्देज? यो बुझिनसक्नु छ। हामी सबैले ६ महिना बढीको अवस्था हेरिसक्यौं र अबको दिन भनेको बन्दी भएर बस्नेभन्दा पनि सबै स्वास्थ्य मापदण्ड अपनाएर आफूआफू सचेत भई र कोरोनासँग लडाइँ लड्दै पेसा गर्नुको विकल्प छैन।
दैनिक ज्यालादारी, पुरुष तथा महिला श्रमजिवीहरू सबैले आफू लगायत परिवारका लागि पनि सचेतना अपनाउँदै पेसा सुरूवात गर्नु नै पर्छ। यसको कुनै विकल्प छैन। तर सरकारको यो पेसामा किन मौनता हो?
सबै श्रमिकले भोकका लागि जोहो गर्दै घरमा हुने समस्यासँग पनि जुध्नुपर्ने बाध्यता छ। काम नभएपछि आर्थिक समस्या पर्ने नै भयो। त्यही कारण घरमा कलह, झगडा हुने निहुँ बन्छ। कहिलेकाहीँ त्यही सानो निहुँ हिंसामा परिणत भइदिन्छ। यसप्रकारको हिंसाप्रति को जिम्मेवार हुने भन्ने प्रश्न पनि हामीमाझ टड्कारो रुपमा खडा भएको छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार चैत ११ को लकडाउनपछि विभिन्न प्रकृतिका हिंसामा बढोत्तरी भएको पाइन्छ र आत्महत्यादर बढ्दो छ।
ब्युटिसियन क्षेत्रमा अधिकांश महिला संलग्न छन् जो अनौपचारिक तथा स्वरोजगार पेसामा पर्छ। त्यस्तै नाइ पेसामा मुलुकका विभिन्न ठाउँका मान्छे आवद्ध छन्। ब्युटिसियन पेसामा सामान्य पढलेख गर्नेदेखि उच्च शिक्षा लिएका, एकल महिला, गृिहणीका साथै आयआर्जनको विकल्प नभएकाहरू क्रियाशील छन्। गाउँदेखि नगरसम्म ब्युटिपार्लर तथा मान्यता प्राप्त प्रशिक्षण केन्द्र खोलेर स्वरोजगार पेसा-व्यवसाय सञ्चालन गर्ने महिला संख्या देशभर लाखौं छ।
सिटिइभिटी अन्तर्गतका इन्स्टिच्युटबाट प्रशिक्षण लिई प्राप्त प्रमाणपत्रका आधारमा विदेशमा रोजगार गर्नेको संख्या पनि लाखौं पुगेको छ। ती विदेशिएका महिलाबाट पनि मुलुकको जिडिपीमा धेरथोर योगदान नै गरेको छ।
तर हालसम्मको निषेधाज्ञाले यो पेसामा संलग्न धेरै स्वरोजगार पेसाकर्मी विस्थापित हुने अवस्था आइसकेको छ। कतिपयले भाडा तिर्न नसकेर कोठा छाडिसकेका छन। हुन त लकडाउनको सुरूआती दिनमा सरकारले घरभाडा छुट गराउने लगायत अन्य राहत घोषणा गरेको थियो। तर त्यो नतिजामूखी तवरबाट कार्यान्वयन हुन नसकेको हामी सबैले देखेकै हो।
अब त सरकारबाट कुनै राहत पाउने आशा पनि मर्दै गएको छ। त्यसैले आफ्नो पेसा-व्यवसाय सञ्चालन गर्नुको विकल्प देखिएको छैन। पेसा सुरू गर्दा ग्राहकसँग सम्पर्कमा रहेर अग्रमोर्चामा काम गर्नुपर्ने भएकाले समस्या धेरै छन्। तर राज्यले कसरी संक्रमणबाट सुरक्षित रहेर सञ्चालन गर्ने भन्ने सन्दर्भमा उपाय सुझाउनेबारे छलफल गरेको पाइएको छैन।
भारतमा राज्य सरकारहरूले निर्णय गरेर आ–आफ्ना राज्यमा गत जुन महिनाबाट स्वास्थ्य सुरक्षा विधि अपनाएर ब्युटिपार्लर तथा सैलुन खोल्न अनुमति दिइसकेको। बेलायत सरकारले पनि गएको जुलाईबाट सञ्चालनमा ल्याइसकेको छ।
म आबद्ध नेपाल ब्युटिसियन संघले गत जेठ १८ गते राष्ट्रियस्तरमा र सबै प्रदेश समितिबाट जेठ २० गते तीनै तहका सरकारमा ज्ञापन पत्र पेश गरिसकेको छ। तर सरकारले सुनुवाई गरेको छैन। अहिले पनि निषेधाज्ञापछि विभिन्न सहरमा पेसा जिवन्त पार्न खुकुलो गर्न प्रर्दशनहरू भइनैरहेको छ।
त्यसैले अबको दिनमा यस क्षेत्रमा क्रियाशील पेसाकर्मीलाई राज्यले बचाउने हो भने सरोकारवालासँग छलफल गर्नु पर्ने आवश्यकता छ। निषेधाज्ञा खुकुलो पार्दै पेसा सुरू गर्न हालका लागि निम्नानुसारका मापदण्ड अपनाउन सकिन्छः
१) कार्यस्थल हरेक दिन स्यानिटाइज गर्ने
२) एकपटक प्रयोग गरेपछि मास्क,पन्जा पुनः प्रयोग नगर्ने
४) ब्लिचको झोलमा डुबाएर वा तातोपानीले बाल्टी लगायत सामान सफा गर्ने
५) कपुरको प्रयोग डिफयुजरका लागि गर्ने
६) पेसाकर्मीलाई कोभिडबारे सचेतना गराउने
७) सहकर्मी र ग्राहकसँग हात मिलाउने तथा अंकमाल गर्ने काम पूर्ण बन्द गर्ने
८) कार्यस्थलमा नियमित साबुनपानीले हात धुने लगायत सचेतनाका पोस्टर टाँस्ने।
९) पेसाकर्मी तथा ग्राहकले पिपिई, टिस्यु पेपर, एन्टिब्याक्टेरियल साबुन प्रयोग गर्ने
१०) पेसाकर्मीले अनिवार्य मास्क वा ट्रिपल लेयर्ड सर्जिकल फेस मास्क लगाउने
११) रिसेप्सन क्षेत्रमा पत्रिका तथा ब्रोसियर नराख्ने
१२) डिजिटल भुक्तानीको प्रयोग बढाउने
१३) श्रमिकहरूलाई सिफ्टअनुसार काममा लगाउने
१४) सेवा लिन ग्राहक आफू मात्र जाने र बालबच्चा लैजान पूर्ण बन्देज गर्ने
१५) मोबाइल, ह्यान्ड ब्याग, पर्सलगायत व्यक्तिगत सामान निर्मलीकरण गर्ने
१६) सेवा दिनुभन्दा पहिले तथा पछि कामेडोन एक्सट्र्याक्टर, कैंची, प्याक ब्रश, वाटर बाउल, वाक्सिङ उपकरण, नेलकेयर सेट आदि निर्मलीकरण गर्ने
१७) फेसियलका लागि माइक्रो मसाजर प्रयोग गर्ने
१८) पिल अफ वाक्सको लागि डिस्पोजेबल स्पैटुला र वाक्सिङका लागि डिस्पोजेबल स्ट्रिप्स प्रयोग गर्ने
१९) प्रयोग गरिएका सामग्री सबै डिस्पोज गर्ने
२०) श्रमिकले लगाएको लुगा दिनहुँ धुने
२१) डिस्पोजेबल स्पैटुला र ब्रशका साथ सिंगल युज प्याक प्रयोग गर्ने
२२) काम गरिसकेपछि दिनहुँ साबुन पानीले नुहाउने
२३) गाजल लगाइदिएपछि कहिले पनि डिस्पोजेबल स्टिकलाई दोहोरो प्रयोग नगर्ने
२४) प्रत्येक पटकको प्रयोगपछि शार्पनिङ गरेर मेकअप पेन्सिल स्यानिटाइज गर्ने र प्रत्येक पटक सार्पनर सफा गर्ने
२५) लिप वांड्स, मस्कारा स्पुलिएस, क्यु–टिप्स, कटन स्वाब, पाउडर पफ र वेज स्पन्ज जस्ता डिस्पोजेबल मेकअप एप्लिकेटर प्रयोग गर्ने।
यो महामारीको असरबाट रोग, भोक र पेसालाई बचाउन राज्यले सरोकारवाला सबैसँग सहकार्यसाथ छलफल गर्दै सुरक्षा विधि मापदण्ड तय गरेर निषेधाज्ञा हटाई सञ्चालन गरेमा यस क्षेत्रमा कार्यरत स्वरोजगार श्रमजिवीको पेसा बचाउन सकिन्छ र यो राज्यको दायित्व पनि हो।
अन्यथा जुन पेसामा लाखौं परिवार आश्रित छ, उनीहरूको अवस्था दिनानुदिन दयनीय हुने निश्चित छ।
(लेखक विष्णु थापा ट्रेड युनियन काँग्रेस आवद्ध नेपाल ब्युटिसियन संघ प्रदेश–५ की अध्यक्ष हुन्)