जिन्दगी अनिश्चितै अनिश्चितताको श्रृङ्खला हो। केबल जन्म र मृत्यु निश्चित छ, बदल्न पनि सकिन्न। धर्तीमा रहेका हरेक मानवले जन्म र मृत्युको दोसाधमा कयौं वसन्तहरु पार गर्दछन्। जन्म स्वयम रुदै भने मृत्यु पश्चात रोईदिने अरु कोही। धर्ती रंगमञ्च हो, मानव पात्र हुन्। बाल्यवस्था पारिलो काख र मायामा बित्छ। युवा परिवारको निम्ति जिम्मेवारी लिन्छ। कर्मयोगी बन्छ। अनि वृद्ध हुन्छ।
मृत्युको पर्खाइमा साँझ बिहान गन्छ। दिन आउछ, सदाको निम्ति यस रंगमञ्चबाट आफ्नो भूमिका अरु कसैलाई सुम्पेर जान्छ। यही हो मानव जीवन चक्र। सत्य छ। अनपढ भए पनि अनविज्ञ कोही छैन।
सहनशीलताको गहना पहिरिएकी हुन्छिन् नारी। पराइको घर त्यसै बिरानो। लोपोन्मुख हुन्छन् रहरहरु। गर्भवती हुन्छिन्। कोखमा फूल फक्रन्छ। सुन्दरतामा ह्रास आउँछ। दिनहुँ दुखाइ जटिल बन्छ तर आमा बन्नु भाग्य र बरदान ठान्छिन्। हर्षित हुन्छिन्।
नौ महिना बित्छ। फूलले संसार देख्ने सुनौलो अवसर पाउँछ। आमाको न्यानो स्पर्शले रुदै गरेको नवआगन्तुकको शरीर चुम्छ। पोषिलो स्तनपानबाट ममता अझ दर्वीलो बन्छ। हुर्काउन कत्ति पनि सम्झौता गर्दिनन्। झिँझो पनि मान्दिनन्।
घरमा सन्तान जन्मिएको दिन बाबा उफ्रदै गाउँमा खुसीको डाँक छोड्छ। खुसी असीमित छ। नयाँ जिम्मेवारी थपियो। सन्तान हुर्काउनु छ। कतै चोट पो लाग्लाकी भन्ने डर पनि छ। मुटु काप्ने जाडो भनौँ या भदौरे गर्मी नभनी कर्ममा लाग्छ। हरेक कोशिसबाट आवश्यकता पूरा गर्छ।
यसरी हजार सपनाको बलिदान दिन्छन् आमा-बाबा। तल्लीन रहन्छन् उज्ज्वल भविष्य निर्माणका खातिर। बुढ्यौलीको सहरा ठान्छन्। समयले कोल्टे फेर्छ। बिहान उदाएको सूर्य अस्ताउन थाल्छ। जवानीमा जति शक्ति भएतापनि शरीर एउटा मेशिन झैँ हो।
चल्छ, चल्छ अनि बिग्रन्छ। बाबाको केश सेतो रंगले रंगीन थाल्छ, शरीरका मलिन छालाहरु चाउरिन्छन्। कार्य क्षमता घट्दै जान्छ। आमा पनि खिइन थाल्छिन्। उमेरले परनिर्भर बनाउँदै जान्छ। सन्तानले बनाएको नयाँ संसारमा रम्न तत्पर छन्। नानी-बाबुलाई काखमा खेलाउन उत्सुकता जागेको छ।
अफसोस, मनका रहरहरु मनमा नै कुन्ठित हुन्छन्। सरसफाइ गर्न नसक्ने हुन्छन्। घिनलाग्दो पहिरन पहिरिन्छन्। अनि चिनाउन लाजमर्दो देखिन्छन्। आमाको पेटिकोटमा शौंच हुन थाल्छ। अमर्यादित शब्दका प्रहारहरु आउन थाल्छन्। सन्तानबाट सित्तैमा नपाल्ने जाहेरी आउँछ।
हिजोसम्म घामपानी नभनी उर्काउने आमाबाबा सडकमा फ्याँकिने कचिरा भए। उपाय के छ त भन्दा? वृद्धाश्रम। बुढ्यौलीको आरामदायी घर हो वृद्धाश्रम। झन्झट् नै पार लगाउने ठाउँ। तर यो कुनै नर्क नभइ पवित्र स्थल हो।
सायद त्यही भएर होला, धेरैजसो मन्दिरको छेउ या नदी किनारको तटमा अव्यवस्थित छ। विभिन्न थरिका फूलहरु संगालिएको फूलबारी हो वृद्धाश्रम। नयाँ परिवार बनाउने ठाउँ अनि मनका व्यथा आपसमा ओकल्ने संगम स्थल साथै बेसहारालाई सहारा दिने सुन्दर घर हो वृद्धाश्रम।
यति धेरै विशेषता बोकेको आश्रय दिने स्थलको उद्देश्यको बुझाइमा अपूरो छ। सहारा भएका बेसहारा झैं कुँजिएका छन्। नयाँ परिवार छ तर मुटुका टुक्राभन्दा प्यारा सन्तान दूर दराजमा छन्। काखमा खेल्ने नानीको अभाव छ। दुखान्त सुनिदिने संगीहरु छन् तर आँसु पुछिदिने हात छैन।
बाँच्नलाई भोजन पाइन्छ त्यही पनि अतृप्त छन्। विश्राम लिने ओछ्यान छ। निद्रा छैन। मात्र मन भित्र पसाङ्ग्रीएका भावनाहरुको थुप्रो छ। आँसुद्वारा अभिव्यक्त भएका छन् मनका वेदनाहरु। अनि कहिल्यै निको नहुने चोट लागेको छ। बुढ्यौलीमा हुने शारीरिक व्यथाले झन् बढावा दिदैँछ।
के दुधको भार यसरी तिरिन्छ? ममताको फल मिठो हुन्छ तर स्वाद नै चाख्न पाईनन् ती अभागी आमाले। सन्तान इश्वरको बरदान सम्झी हुर्काउने आमा-बाबाले जन्मन साथ अनाथालयमा राखीदिएको भए अहिलेको परिवेशमा खुसी र सुखी हुन्थ्यौँ या हुन्नथ्यौं। यस्तै हो भने ब्रम्हनालमा सुत्नुअघि पर्खने स्थल हो वृद्धाश्रम।
सम्भवतः सबैले भोग्नु नै छ तर मौन व्रतमा छौँ। यो कुरा पनि त्यति नै सत्य छ की विश्व विकासोन्मुख तर्फ लम्कदै छ। नयाँ-नयाँ आविष्कारले दुनियाँ बदलिदै छ। खेतबारी फाडिएका छन्। महलहरु निर्माणाधीन छन्। प्रत्येक व्यक्तिको घरभन्दा बाहिरी संसारमा व्यस्तता बढीरहेको छ। बाध्यता पनि छ, घरमा रहेका परनिर्भरतालाई दिने समयको अभाव छ।
एक मनले मनन् गर्ने हो भने सही पनि लाग्छ तर पक्कै पनि इच्छा भए उपाय निस्केला। वृद्धाश्रम नै प्राथमिक समाधान होइन। विकल्प निकाले सन्तान भएकाले वृद्धाश्रमलाई नै आश्रय स्थल बनाउनु पर्ने थिएन। सामाजिक र मानसिक तनावले झेलिने थिएनन्। शारीरिक पीडा अझ कम हुन्थ्यो।
वर्तमान परिप्रेक्षमा वृद्धहरुको जनसंख्या विश्वभरि नै वृद्धि भइरहेको छ। सहारा भएकाको लठ्ठी भाँचिएको छ। बेसहाराहरु ओझेलमा छन्। एकातिर दक्ष जनशक्ति घट्दो क्रममा छ, आर्थिक भार बढी रहेको छ भने अर्का तिर उमेर ढल्किदै जाँदा वृद्ध स्वयमले भौतिक, मानसिक तथा सामाजिक पीडा भोगिरहनु परेको छ। तसर्थ 'स्वस्थ वृद्धावस्था' का निम्ति सोच्नु जरुरी देखिन्छ।
वृद्ध वृद्धाको जीवनशैली सुधार गर्न जोखिम रोकथामका उपाय अपनाउने, आधारभूत आवश्यकता पूरा गर्ने साथै जटिलता समाधानको निम्ति पुर्नस्थापना गर्नु नै उपयुक्त रणनीति हो। यसरी नै स्वस्थ वृद्धा अवस्था प्राप्त गर्न सकिन्छ।
(लेखक नर्सिङकी विद्यार्थी हुन्।)