केही दिनअघि मैले श्रीमानको ल्यापटप खोलेको थिएँ। डेक्सटपमा तमाम फाइल थिए। तीमध्ये एउटा फाइलले मेरो ध्यान आकर्षित गर्यो। मेरो ध्यान आकर्षण हुनुको कारण थियो उक्त फाइलको नाम।
‘अनि दाजुभाइ कतिजना ?’ शीर्षक रहेको फाइलले मलाई यो मसँग नै सम्बन्धित हो भनेर अनुमान गर्न केही गाह्रो भएन।
मलाई यसभित्र के लेखिएको होला भन्ने कौतहुलता यति बढेर गयो कि मैले कुन प्रयोजनका लागि ल्यापटप खोलेको थिएँ भन्ने समेत भुलें।
मैले धेरैबेर नसोची उक्त फाइल खोलें। पढें।
जब फाइल खोलेर पढें, नि:शब्द भएँ। भित्रबाट भक्कानो फुट्न लागेजस्तो भयो। नाक पोलेजस्तो भयो। ओठहरू काम्न थालें। तर पनि मैले आफूलाई सम्हालें। मैले ल्यापटप पनि यस्तो ठाउँमा खोलेको थिएँ , जहाँ म बरर्र आँसु झारेर आफ्नो मन हलुंगो बनाउन सक्ने स्थितिमा थिइनँ। वरिपरि मान्छेहरू थिए।
हुन त म त्यहाँ रूँदा केही ठूलो फरक त पर्ने थिएन। त्यहाँ जो जो उपस्थित हुनुहुन्थ्यो, उहाँहरू मेरो रोइ हाल्ने अद्भुत कलासँग अपरिचित त हुनुहुन्नथियो। म सानो कुरामा पनि रोइदिन्छु। रिस काबुमा राख्न नसक्दा पनि रोइदिन्छु। खुसी हुँदा पनि रोइदिन्छु। केही कुरा सोच्दासोच्दै पनि रोइदिन्छु। सिनेमाको कुरा गर्ने हो भने त झन् मेरो आँखाबाट एक थोपा आँसु झार्न नसक्ने सिनेमालाई पनि के सिनेमा भन्नु हौ भन्ने सोच राख्दछु।
अर्थात्, मैले सिनेमाको रेटिङ गर्दा रेटिङको मुख्य आधार नै उक्त सिनेमा हेर्दा मैले झारेको आँसुलाई लिने गर्दछु।
तर, मैले त्यो बेला आँसु रोकें किनकी मैले त्यो पढ्दा पढ्दै सोचिसकेको थिएँ, म यसको उत्तर लेख्छु। त्यहाँ मेरा लागि केही प्रश्न त थिएनन् , तर मैले सोचें म लेख्छु , केही त पक्कै लेख्छु। जानी नजानी भए पनि। अर्थ नपुर्याय भए पनि। म लेख्छु।
***
श्रीमानको लेखमा मैले पीडा भेटेको थिएँ। उहाँको पीडा।
अझ भनौं उहाँले मसँग बिहे गर्नुपर्दा भोग्नुपरेका पीडा। उहाँको लेखको सारांश थियो मेरो श्रीमतीका दाजुभाइ छैनन् र यो कुराले म तर्फका आफन्तको अति नै धेरै ध्यानाकर्षण गरेको छ।
उहाँको लेखमा मैले दिक्दारी भेटेको थिएँ। उहाँले हाम्रो बिहेको कुरा भए लगत्तैदेखि अत्यन्तै सुन्नुपरेको प्रश्न रहेछ, ‘अनि दाजुभाइ कतिजना ?’ झट्ट सुन्दा सामान्य लाग्छ। एकपटक सुन्दा सामान्य लाग्छ। तर, बारम्बार एउटै प्रश्न उही मान्छेले सोध्दा को आजित नहोला र ?
उहाँले लेख्नु भएको छ, ‘मलाई यो प्रश्न एकैजनाले दुई दिन भित्रमा ६ पटकसम्म सोधे।’
जसले पटक पटक सोधिसकेका थिए, उनीहरूले बिहेको दिन जन्तीको गाडीबाट उत्रिनासाथ यो प्रश्न तेर्स्याउन भ्याएका रहेछन्।
हामी ढोगभेटमा जाँदा पनि केही ठाउँमा यो प्रश्नको सामना गर्नुपरेको थियो। उहाँका अनुसार यो प्रश्न सोध्नेमध्ये अधिकांशले पहिले बारम्बार यो प्रश्नको उत्तर पाइसकेका थिए।
सानैदेखि यही कुरा सुनेर दिक्क भइसकेकी म ती शब्दले भारी भएकी थिएँ। यो समाजले म र मेरी बहिनीलाई दाजुभाइ नभएका केटीहरू भनेर ट्याग लगाइदिसकेको थियो। म हजारौं पटक रोइसकेको थिएँ। आफ्नो श्रीमानको लेखमा पनि यही पीडा भेट्दा म सामान्य रहन नसक्नु अस्वभाविक हो र ?
मैले मेरी बहिनी जन्मिँदा अब भाइ पाइदिनु भन मामुलाई जस्ता कुराहरूदेखि लिएर, मनमा बिझ्ने अन्य धेरै कुराहरू सुनेको छु। मेरी मामुले वंश धान्ने छोरा त जसरी भए पनि चाहिन्छ हौ भनेर धेरै पटक सुन्नुपरेको छ।
मेरा बाबाले घरमा आफैं रङरोगन गर्दा छोरा पनि छैनन् के गर्न पैसा जोगाउन पर्यो सर ? यो सम्पत्ति पनि पछि कसले लाने हो ? के का लागि यत्रो दु:ख गर्नुहुन्छ भन्ने पनि धेरै छन्।
मेरी बहिनीले ‘तँ चाहिँ छोरा भइदिएको भए, परिवार पूरा हुन्थ्यो’ भनेको पनि बारम्बार सुन्नुपरेको छ। धेरै भाइटीकाहरू शब्द वाणका कारण रूँदै बितेका छन्।
बारम्बार यस्ता नानाथरि कुरा पटक पटक सुन्नु परेर अलि ठूली नै भएपछि पनि कतिपटक मामुलाई भाइ पाइदिस्योन पनि भनेकी थिएँ।
कस्तो समाज हो यो ? छोरीमात्र हुने बुवाआमा र छोरीहरूलाई त होच्याएकै थियो, छोरीमात्रै भएको घरमा बिहे गर्ने मान्छेलाई पनि गिज्याउने र अपमानित गर्ने प्रयत्न गर्न बाँकी राखेन।
अझै पनि मान्छेहरूले छोरा र छोरीबीचमा यस्तो सोच राखेको देख्दा अचम्म लाग्छ। यस्तो सोच राख्नेदेखि दया लाग्छ। छोरा र छोरी एकै हुन् भनि छोरीमै मात्रै सीमित हुने बुवाआमा देख्दा अत्यन्तै खुसी पनि लाग्छ।
सोच्छु, जसले आफैंले यो सबै भोगिरहेका छन्, उनीहरूले त हामी छोरीमात्रै हुनेहरूलाई पक्कै जथाभावी भन्दैनन्। अनेक कुरा गर्ने त तिनिहरू नै हुन्, जसका छोरा छन्।
छोरा र छोरी बराबर भनेर छोरा नजन्माएका मान्छेले त यो कुरा गर्दै गर्दैनन्। जसले छोरी भएर पनि छोराको लालचामा अनेक गरेर वा प्राकृतिक रूपमा नै छोरा पाएका हुन्छन् , उनीहरूले नै गर्ने कुरा हुन् यी सबै।
बुढाबुढीका कुरा छोडौं, आफूलाई आधुनिक भन्नेहरू पनि यस्तो सोच पालिरहेका हुन्छन्।
मौका मिल्नासाथ छोरीमात्र हुनेहरूलाई होच्याउन छाड्दैनन्। छोरा र छोरी दुवै हुने र छोरा छोरा मात्रै हुने हाम्रा समाजका मान्छेहरू नै हुन् यसरी छोरी मात्र भएका मान्छेलाई होच्याउन खोज्ने।
मान्छेको सोचमै खोट भएपछि के पो लाग्दो रहेछ र ? कतिपय छोरैछोरा हुने अनि छोरा र छोरी दुवै हुनेहरूले पनि छोरीमात्रै हुनेको कहिले चित्त दुखाइदिनु हुन्न। प्याच्च भन्नु हुन्न।
आशा गर्छु उहाँहरूले मलाई मात्रै नभएर मजस्ता अरूलाई पनि केही नराम्रो भन्नु भएको छैन।
छोरा र छोरीको विषयले समाजमा ठूलो खाडल खनेको छ। थाहा छैन यो खाडल कहिले पुरिन्छ। हामी छोरीहरू र छोरीहरू मात्रै हुने बुवाआमाले यस्ता होच्याएका कुरा सुन्नु नै नपर्ने दिन कहिले आउँछन्???
म चाहन्छु, यो सबै भेदभावहरूको अन्त्य होस्। मान्छे मान्छे बीचमा कुनै खाडल नहोस्। सबैले बराबर महशुस गर्न पाउने दिन चाँडै आओस्। वर्ण, वर्ग, जात, लिङ, धर्म आदिका आधारमा मर्नु र मारिनुपर्ने अवस्थाको अन्त्य होस्।
आजको भोलि नै त दुनियाँले यत्रो ठूलो कोल्टे नफेर्ला , केही समय त लाग्ला हरेक भेदभावको अन्त्य हुनलाई। तर, त्यो दिन पक्कै आओस्। पक्कै आओस्।