आज विश्व कोरोना महामारीको युद्ध लडिरहेको छ। एउटा बिषालु भाइरसको विरुद्धमा दुनियाँको सबै शक्ति लागि परेका छन्। संसारका अधिकांश मुलुकले भाइरस फैलिनबाट रोक्न सुरूमा बन्दाबन्दीमा राखेर केही नियन्त्रण गर्न सफल पनि भए। सैन्य, हातहतियार, ठूल्ठूला अणुअस्त्र आफ्नो सुरक्षा कवचका रूपमा विकास गरेका महाशक्ति राष्ट्र निरीह देखिएका छन्।
विश्वले अपनाइरहेको सत्ताको मोडल माथिनै एउटा भाइरसले गम्भीर प्रश्न तेर्साएर बसेको छ। आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक, वातावरणीय र मानवीय रुपमा प्रभाव पार्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध फेरबदल बनाइदिएको छ। प्रत्यक विश्व संकटले यसको अन्तरनिहित संरचना र संस्थासँग अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभाव पार्छ।
विश्व राजनीति
डिसेम्बर, २०१९ मा देखिएको कोरोना रोग मात्र नभई राजनीति र राष्ट्रियता पनि बनेर आयो। छोटो समयमै विश्वका अधिकांश मुलुक यो महामारीको चपेटामा परे। यो कहरले विश्व राजनीतिमा अवधारणागत परिवर्तन गराइदिने सम्भावना बढाएको छ।
इतिहासदेखि आजसम्म विश्वमा मानव समुदायलाई प्रत्येक १०० वर्षमा प्लेगदेखि कोरोना भाइरससम्मका महामारीले पटकपटक चुनौती दिँदै आएका छन। कोरोनाले विश्व जनस्वास्थ्यमा मात्र होइन, वृहत क्षेत्रमा असर पार्नेछ।
यसले सामाजिक, आर्थिक क्षति निम्त्याइरहेको छ। सामाजिक, राजनीतिक असर पुर्याइहेको छ। सुरक्षा चुनौती थप्दैछ, विश्व कुटनीति फेरबदल गर्न खोज्दैछ। सामाजिक अर्थतन्त्र धरासयी बन्दै छ। सामाजिक राजनीतिमा पनि खतराको घण्टी बजिसकेको छ।
विश्व यतिबेला मानवरक्षाको युद्ध लड्दै छ। सबै मुलुकले विश्व समुदायसँग भाइरसविरुद्ध सहकार्य गर्नुपर्ने बाध्यता छ भने अर्कोतिर महामारीले विभिन्न राष्ट्रबीच विभाजन गहिरिएर जाने चिन्ता छ।
अहिलेको विश्व मूलत: आर्थिक विश्व हो र विश्व राजनीतिले पनि मूलत: आर्थिक मामिलालाई पच्छ्याउँछ। यो महामारीको ठूलो असर विश्व आर्थिक प्रणालीमा परेको छ।
कोरोनाका कारण विश्वको एक तिहाइ जनसंख्या घरमा मुखमा माक्स लगाएर स्वेच्छिक हिरासतमा बसेको छ। विश्व अर्थतन्त्र २.५ प्रतिशतवृद्धि हुने अनुमान गरिए पनि त्योभन्दा तल झर्ने देखिन्छ। संसारको आपूर्ति शृङ्खला ध्वस्त छ। विश्वका उद्योग कलकारखाना तथा श्रम बजार ठप्प छन्। विश्व पुँजि बजारमा भारी संकुचन आएको छ।
यतिबेलाको संकट घातक हुन सक्ने देखिन्छ। विश्व अर्थतन्त्रलाई १२ प्रतिशतका दरले संकुचनमा धकलेको छ। विश्वमा करिब दुई करोड मानिसका रोजगार गुमेको छ।
इतिहास र सभ्यता सधैं जीवन्त र स्थिर रहन सक्दैनन्। कतिपय इतिहास मेटिएर जान्छन्। यो संकटबाट आज विश्व नै हायकायल छ।
जर्मन चान्सलर एन्जेला मर्केलले भनेकी छन्- 'यो महामारी दोस्रो विश्वयुद्धपछिको ठूलो संकट भएकाले गम्भीरतापूर्वक लिनुपर्छ। जर्मन पुनःएकीकरण दोस्रो विश्वयुद्धपछि सबैको साथ सहयोग चाहिने खालको संकट जर्मनीले कहिल्यै भोगेन, उत्तर पश्चिमी युगको सबभन्दा कहालीलाग्दो र ठूलो चुनौती हो।'
कोरोना महामारीले अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन बाटो खोलेको छ। पुराना सम्बन्ध यथावत रहने सम्भावना कम छ। संसारलाई हामीले जसरी जानेका छौं, महामारीले त्यसलाई आधारभूत रुपमै परिवर्तन गरिँदिदै छ।
संयुक्त राष्ट्र संघले यतिबेला गर्नु पर्ने जति सहयोग र समन्वय गर्न सकिरहेको छैन। क्षेत्रीय संगठनहरू आफ्नै स्वार्थमा छन्। पश्चिमा मुलुकाका सबै हिसाबले सम्पन्न संगठन पनि बाहिर निस्किन सकेनन्। दक्षिण एसियाली सहयोग संगठन पनि निष्क्रिय रहयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्यूँझाउन खोजे पनि सुरुवाती अवस्थामाजस्तै रहयो।
खनिज तेलको माग कम हुदा मूल्यमा ५० प्रतिशत गिरावट आएको छ। मध्य पूर्वको सामरिक महत्व घटेको देखिन्छ। तेलकै कारण मध्य पूर्वमा शक्तिशाली राष्ट्रको आफ्नो प्रभावका लागि ठूलो प्रतिस्पर्धा थियो जुन खिचातानी अब सकिने देखिन्छ।
कोरोना पीडितलाई सहयोग गर्ने चिनियाँ नीति देखिन्छ। अमेरिका, इटाली, स्पेन, फ्रान्स, जर्मनी लगायत सम्पन्न देश र नेपाल जस्ता थुप्रै देशलाई महामारी नियन्त्रण र दुनियाँलाई गरेको सहायतले ग्लोबल लिडरको रुपमा चीन देखिन्छ। चिनका धनाढ्य व्यक्ति ज्याक माले कोरोना लडाइँमा निजी क्षेत्रको अगुवाई गरी धेरै देशलाइ स्वास्थ्य सामग्री सहयोग गरे।
चीन हुवावे, बिआरआइ विश्व सञ्जालको भविष्यका रूपमा प्रस्तुत भएको छ। ल्याटिन अमेरिकाको सानो समाजवादी देश क्युबाले महामारी नियन्त्रण गरी इटाली, स्पेन लगायतमा डाक्टरसहित बिरामी उपचार गर्ने टोली पठाएर नयाँ सन्देश दिएको छ। यो देशलाई अमेरिकाले आधा शताब्दीदेखि नाकाबन्दीमा राखेको छ।
आज पनि अमेरिकी साम्राज्यवाद नै भूमण्डलीकृत साम्राज्यवादको नाइकेका रूपमा छ। महामारीले सबै भन्दा बढी क्षति अमेरिकालाई नै परेको छ। विश्वको महाशक्तिका रूपमा रहेको मुलुकले सहायता प्रदान गर्नुको साटो भ्रम सिर्जना गर्नमै समय बितायो।
महामारी सामना गरिरहेको चीनलाई अमेरिकाले उल्टै यो भाइरस चीनले बनाएको जैविक हतियार हो भन्नमै व्यस्त भए। हुन त चीनले पनि आरोप अमेरिकालाई लगाएको छ। अमेरिकालाई सधैं सहयोग र साथ दिएका मुलुकलाई पनि अमेरिकाले यस्तो संकटमा हेरेन, उल्टै चीनबाट किनेर ब्राजिल र जर्मनी लग्न लागिएका सर्जिकल माक्स बीच बाटोबाटै कब्जा गरेर गुण्डाशैली देखायो।
भारतले हाइड्रोक्सी क्लोरोक्विन अन्य देशलाई नदिने निर्णय गरेपछि धम्कीपूर्ण अभिव्यक्ति दिँदै अमेरिकाले निर्णय उल्टाउन लगायो। विश्व संकटसँग युद्ध सामना गरिरहेको विश्व स्वास्थ्य संगठनबाट अमेरिकाले हात झिकेर अमेरिकाले विश्व समुदायको भरोसा गुमाइसकेको छ।
क्षेत्रीय शक्ति संघर्ष, द्वन्द्व र सहकार्य पनि भइरहेको छ। महामारीका कारण भूराजनीतिक प्रभाव बढेको छ। विवादित भूमि कब्जा गर्न महामारीलाई अवसरका रूपमा लिँदा केही देशले सैन्य अडानको सामना गरिरहेका छन्। भारत र चीनको विवादास्पद भूमि लद्दाखमा भएको हमलाको बदला लिन भारतले चिनियाँ एप्स प्रतिबन्ध लगायो।
भारतले कोरोनाकै बाहानमा लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवादमा वार्ता गर्ने नेपालको अनुरोध बारम्बार लत्याउँदै आएको छ। चीन र अमेरिकाको व्यापार युद्धले ठूलो रूप लिएको छ। चीन-हङकङको विवादलाई पश्चिमा देशले उग्र रुप दिन खोजेको देखियो। तर चीनले आन्तरिक मामिला भन्दै मत्थर बनायो।
यो महामारीले कुनै सम्बन्ध भत्काएको छ भने कुनै भत्किएका सम्बन्ध जोडेको छ। अन्तर्राष्ट्रिय सहकार्यलाई भने अझ बलियो बनाएको देखिन्छ। इरान र संयुक्त राज्य इमिरेट्सको बिग्रिएको सम्बन्धमा न्यानोपन आएको छ। फिलिपिन्समा युद्धविराम छ। अफगानिस्तान सरकार र बिद्रोही तालिवानीबीच लामो समयपछि युद्ध विरामका लागि वार्ता अघि बढेको छ। प्यालेस्टाइनसँगको विवादका कारण अरबका धेरै जसो देशले इजरायल बहिस्कार गर्दै आएका थिए। यो महामारी बीचमा इजरायलसँग बहराइन र युएइले सम्बन्ध सुधारका लागि ऐतिहासिक सम्झौता गरेका छन्। राष्ट्रहरूबीच अन्तर्सम्बन्ध तथा सामूहिक बहुपक्षीय सहकार्य ज्वलन्त रूपमा देखिएका छन्।
संकटका बेला कमजोर हुँदै गइरहेको बहुपक्षीयवाद र बहुपक्षीय संस्थाबाट विश्व उदारवादबाट खुम्चिएर राष्ट्रवादतर्फ गैरहेको संकेत देखिन्छ।
अबको विश्व व्यवस्था
हालको विकसित गतिविधिले पुरानै व्यवस्था कायम गर्न सक्ने सम्भावना झिनो छ। यसलाई सही मान्ने हो भने विश्व व्यवस्था कोरोना पूर्वको समयमा फर्किने छैन। विश्व व्यवस्था संरचनागत रुपमै कमजोर थियो। कोरोना धक्काले देशको संरक्षणवादी प्रकृति र उग्रराष्ट्रवादलाई अझ उराल्ने देखिन्छ।
यस्तो अवस्थामा सन् १९९० पछिको एकध्रुवीय विश्व रहने सम्भावना क्षीण छ। १९४० दशकमा तयार पारिएका संस्थाले २०२० को चुनौती थेग्न नसक्ने देखिएकाले समकालीन विश्व व्यवस्था र यस्को संस्था असफल जस्तै देखिएको छ। भाइरस फैलिने क्रम जति तीव्र छ, त्यति नै यसले राज्यको अवधारणा, सञ्चालनका विधि, पद्धति, शासनको स्वरुप र सरकारको भूमिकामा विश्वव्यापी रुपमा नयाँ खालको बहस सुरू गरेको छ।
दोस्रो विश्व युद्ध र सोभियत संघ विघटनपछि एकध्रुवीय रहेको विश्व प्रणाली अब परिवर्तनको संघारनजिक छ। भाइरसले मुख्य दुई विचारधारा, नव उदारवादी लोकतन्त्र र समाजवादी गणतन्त्र बीचको लडाइँ पनि एकै साथ सतहमा ल्यायो। समाजवादीले पुँजिवाद, लोकतन्त्र र उदारवादी व्यवस्थाको कुरुप अवतारको संज्ञा दिएका छन्।
यस्ता संकट पुँजीवादी राज्यव्यवस्थाको उपज हो भनेका छन्। उदारवादी लोकतन्त्रका नाममा पुँजीवादी जालोभित्र मानव सभ्यता माथि गरिएको सैतानी हमला हो भनेका छन्। उदार लोकतन्त्रवादीले बन्द समाजमा रमाउने सर्वसत्तावादी सोच भएका, व्यक्तिगत स्वतन्त्रता स्विकार नगर्ने सैतानले खुला समाजको गलत फाइदा उठाउँदै नियतवस गरिएको अमानवीय कुकृत्य हो भनेका छन्।
चाथाम हाउस थिंक ट्यांकका निर्देशक रोबिन निब्लेटले भनेका छन्- 'यो महामारीले आर्थिक विश्वव्यापीकरणको ढाड अन्ततोगत्वा भाँचिदिएको छ। बीसौं शताब्दीमा स्थापित विश्वको आर्थिक नीति हाल जोखिममा परेको छ। यसबाट विश्वका राजनीतिक नेतृतवको भूराजनीतिक प्रतिस्पर्धा सुरू हुने खतरा बढेको छ।'
यूरेसिया ग्रुपका रोबर्ट काप्लान भन्छन्- 'कोरोनाले पहिलो र दोस्रो विश्वव्यापीकरणको सीमा कोरिदिएको छ जसले संसारमा बढ्दो सैनिकीकरणका साथै दुई ठूला शक्ति समूह र फरक आपूर्ति सञ्जाल स्थापना गरिदिएको छ। समग्रमा यो नयाँ र पुनर्उदयीमान विश्व विभाजनको कथा हो।'
जोन गाल्टनले पहिल्यै अमेरिका २०२० मा महाशक्तिबाट बिदाई हुँदैछ भनेका थिए। युएनका अर्थ सल्लाहकार समेत रहेका अमेरिकी अर्थशास्त्री जेरेमी रिफकिनले आफ्नो पुस्तक 'जिरो मार्जिनल कस्ट सोसाइटी' मा पुँजिवादको मुख्य उद्देश्य वस्तु बेचेर नाफा कमाउनु हो भनेका छन्। उत्पादन अत्यधिक हुँदा वस्तु कसलाई बेच्ने दुविधा भएकाले अन्त्यमा निशुल्क वितरण गर्नुपर्ने अवस्था छिट्टै आउन लागेको उनले लेखेका छन्।
निश्चय नै महामारी नागरिकको स्वास्थ्य तथा वैश्विक अर्थतन्त्रका लागि शताब्दीकै चुनौती बनेर आएको छ। तर यसले उत्पन्न गरेको राजनीतिक परिस्थितिलाई आम मानिसले विश्वका नेतृत्वकर्ताले कस्तो निर्णय लिन्छन् भनेर व्यग्र साथ हेरिएको छ। अब बदलिने विश्व व्यवस्था अहिलेको जस्तै एकध्रुवीय रहने कि दोस्रो विश्व युद्ध पछिको अमेरिका र रुसले नेतृत्व गरेको जस्तो द्विपक्षीय रहने अथवा बहुपक्षीय बन्ला भनेर चासोका साथ हेरिएको छ।
अमेरिका आर्थिक, सामरिक शक्तिका कारण मात्रै महाशक्ति भएको होइन। थुप्रै देशका लागि एउटा उदार राष्ट्र, संयुक्त राष्ट्रसंघ लगायतका विश्व संरचनामा र अनेक मञ्चमा यसको दरिलो उपस्थित पनि शक्तिको श्रोत हुन्।
तर अहिले अमेरिका बाँकी विश्व वास्ता गर्नु हुन्न भन्ने उग्र अलगाववादीको कब्जामा गइरहेको छ। अन्तर्राष्ट्रिय व्यापार गठबन्धनबाट बाहिरिन खोज्दैछ। संकट बेला विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्नुको साटो त्यहाँबाट बाहिरिएको छ। विश्व तापमान वृद्धि कम गर्न बनेका धेरै मञ्चबाट हात झिकेको छ। महाशक्ति राष्ट्रको रवैया कमजोर तुल्याएको छ। त्यसको रिक्तता पूर्ति गर्न चीन लागि परेको छ।
अमेरिकी कब्जा रहेका विश्व बैंक, संयुक्त राष्ट्रसंघले आफ्नो प्रभाव छोड्न सकेका छैनन्। ओपेकको महत्व घटेको छ जहाँ अमेरिकी डलरबाट मात्र मात्र कारोबार हुन्थ्यो, अमेरिकाकै प्रभाव रहन्थ्यो। नवउदारवाद असफलताको बाटोमा जाँदै गर्दा अब विश्वव्यापी रुपमा आर्थिक राष्ट्रवादले ठूलो जग बसाल्ने संकेत देखिन्छ।
अमेरिकी अर्थतन्त्रको ठाउँमा चीन आए पनि अन्य सामरिक शक्ति आर्जन गर्न चीनलाई समय लाग्नेछ। त्यसैले बदलिँदो विश्व एकध्रुव्रीय नै रहने सम्भावना कमै देखिन्छ। भारत र चीनको सीमामा हुने द्वन्द्व रोक्न रुसको मस्कोमा ५ बुँदे सहमति पत्रमा हस्ताक्षर भएलगत्तै बहराइन र इजरायल, युएइ र इजरायलको सम्बन्ध कायम गरी शान्ति स्थापना गर्न अमेरिका आफैं मध्यस्थताकर्ता भएर लाग्नु अर्थपूर्ण तरिकाले हेरिएको छ।
१८ वर्ष लामो द्वन्द्वमा गुज्रिरहेको अफगानिस्तान र आतंकवादी समूह तालिवानीबीच युद्ध अन्त्य गर्न शान्ति वार्ताका लागि वातावरण अमेरिकाले तयार गरेको छ। अमेरिका र तालिवानी समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ। यस्ले विश्वका नवउदारवादी राष्ट्र र समाजवादी राष्ट्रको दोस्रो विश्वयुद्धपछिको जस्तो वैचारिक लडाइँको पनि संकेत दिन खोजेको छ।
विश्व व्यवस्थामा प्रतिस्पर्धा गर्न १९९० पछि गुमेको शक्ति फर्काउन सोभियत संघ बिघटनका साक्षी भ्लादिमिर पुटिनले अहिले आफ्नो राष्ट्रपतिको कार्यकाल २०३६ सम्म रहने व्यवस्था अनुमोदन गरेको बुझिन्छ। जर्मनी पनि शक्तिका लागि आन्तरिक तयारी थाल्दैछ जसबाट अमेरिका सशंकित छ। जापान अर्थिक रुपमा सम्पन्न भइसकेकाले विश्वशक्तिको आशमा छ। बेलायत इयूबाट बाहिरिएर आफू छुट्टै बसेर विश्व व्यवस्थाको दाबेदारी गर्न आन्तरिक तयारीमा लागेको बुझिन्छ।
यता भारत आर्थिक राजनीतिक दुवै रुपमा प्रतिस्पर्धा गर्दैछ। वैदिक साम्यवादको नारा दिएर विश्वको एक मात्र शक्ति बन्ने दाउमा छ। यी दृष्टान्त हेर्दा तत्काल विश्व व्यवस्थामा परिवर्तन हुन नसके पनि निकट समयमै बहुध्रुवीय विश्व व्यवस्था हुने देखिन्छ।
(हेमन्त दशौंदी मप विश्वविद्यालयमामा अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक विषयमा स्नातकोत्तर गर्दैछन् )