धेरै दिनपछि गत आइतबार पर्यटन दिवसका दिन म पोखरा गएको थिएँ। संयोगवश त्यस दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस पनि थियो।
पोखरा मेरो कर्मभूमि, मलाई आफ्नै काखमा हुर्काएर संसार चिनाउने सहर मात्र नभई मलाई आजको पहिचान दिने सहर पनि हो। पोखरा विमानस्थलमा ओर्लनेबित्तिकै म छुट्टै आत्मियता महशुस गर्छु।
तर, कोरोना महामारीसँगै भएको लकडाउन तथा निषेधाज्ञाका कारण जान नपाउँदा मैले पोखरालाई धेरै नै मिस पनि गरिरहेको थिएँ। यसैले यसपटक सकेसम्म सुरक्षा सावधानी अपनाएरै भए पनि गएँ।
पोखराको चर्चाअघि एकछिन काठमाडौंतर्फै फर्कौं। कोरोना संक्रमण दर सबैभन्दा उच्च भए पनि काठमाडौंमा मानिसहरू निष्फिक्री हिँडिरहेका छन्। असोज १ गतेपछि काठमाडौंमा चहलपहल धेरै नै देखिन्छ। खासगरी रेस्टुरेन्ट, डिमार्टमेन्टल स्टोरमा निकै भीडभाड छ। उडान नभएर पर्यटक नआएजस्तो अथवा पर्यटनमा त्यति ठूलो धक्का पुगेजस्तो काठमाडौं देखिँदैन।
कोरोनाले सताएको काठमाडौं यही हो भन्ने अनुमान गर्न गाह्रो जस्तो देखिन्छ। ठमेलका केही क्षेत्र र केही ठूला होटलमा बाहेक अन्यतिर पर्यटक नहुँदा पनि ठूलो असर छैन। म आफैं कतिपय रेस्टुरेन्टमा त बस्ने ठाउँ नपाएर फर्किनु परेको अवस्था पनि छ। सडकमा पनि उत्तिकै जाम हुन थालेको छ।
पोखरा आउँदा भने अवस्था एकदमै फरक देखेँ। मलाई पोखराले यति निराश बनायो कि मैले भोलिपल्टै फर्कने विचार गरेँ र यो लेख लेख्ने जमर्को गरेँ।
पोखरा पुगेकै रात साथीसँग डिनर जानु थियो। फिस्टेल होटल गएँ, बन्द रहेछ। म अचम्म परेँ। त्यसपछि सांग्रिलामा फोन गरेँ, सांग्रिला पनि बन्द। होटल बाराही पनि बन्द रहेछ। सोध्दै जाँदा पोखराका बहुसंख्यक होटल बन्द पाएँ। टेम्पल ट्रीमा फोन गरेँ, होटल भर्खर खालेको भने, तर पनि एउटै रुममा पाहुना रहेनछन्।
साँच्चै भन्नुपर्दा यस्तो बिजोग पोखराको त मैले अनुमान नै गरेको थिइनँ।
एक 'बिजनेस-म्यान'का रूपमा भन्नुपर्दा मलाई अधिकांश समय काठमाडौं बस्नुपर्ने बाध्यता छ। तर म मन भित्रैदेखि पोखरा बस्न रुचाउँछु। काठमाडौंको व्यावसायिक आकार र अवसरका कारण हामीलाई काठमाडौं बस्नुपर्ने बाध्यता छ।
तर समाज, साथीभाइ, संस्कृति, हावापानी लगायत थुप्रै कारणले म पोखरा नै बस्न रुचाउँछु। पहिले जहाज चल्दा त म महिनामा चारपटक पोखरा आउँथे, कम्तिमा पनि ३ दिन बस्थेँ।
काठमाडौंको अवसरका कुरा गर्नुपर्दा हाम्रो होटल 'आनन्द पशुपति' त्यत्रो कोरोना महामारीमा पनि कहिल्यै बन्द गरेनौं। अहिले खाता हेर्दा ६१–६२ लाखको कारोबार गरेछौं। विदेशबाट आउनेलाई पनि राख्यौं, विदेश जानेलाई पनि राख्यौं। इन्डियन, बंगलादेशी, अमेरिकी, जापानी दूतावाससँग सहकार्य गरेर उता जाने टिमलाई व्यवस्थापन गरेर विदेश पठायौं। हामीले मात्र होइन, केही व्यवसाय भएन भन्दाभन्दै पनि काठमाडौंका होटलहरुले धेरथोर व्यवसाय गरेकै छन्।
पोखराको अवस्था देखेर भने म साँच्चै आश्चर्यचकितसँगै चिन्तित पनि भएको छु। मलाई लाग्यो, यसरी बाह्य कारणले पर्यटक आएनन् भनेर होटलमा ताला लगाएर बस्ने हो भने पोखराको पर्यटनले कहिल्यै उन्नति गर्न सक्दैन।
त्यसै पनि उद्यमीले सधैं संकटमा अवसर खोज्छ भनिन्छ। अर्थात, अहिलेको जस्तो अकल्पनीय संकटमा पनि सुरक्षाका मापदण्ड विश्वसनीय ढंगले लागू गरेर ग्राहकलाई आश्वस्त पार्न सकियो भने बजारमा प्रशस्तै अवसर छन्।
हामी पोखरेलीहरू अब पर्यटनको परम्परागत शैलीबाट माथि उठ्नैपर्छ। हामीले ताल र हिमाल देखाएर, बिल्डिङ ठड्याएर मात्र पोखरा पर्यटनको भविष्य छैन। अब हामी सबै पोखरेली व्यवसायीहरूले सोच्नुपर्ने बेला भएको छ कि विदेशबाट पर्यटक आएनन् भने पनि आन्तरिक रुपमै र अझ गण्डकी प्रदेशभित्रकै पर्यटकका लागि पनि योजना बनाउनुपर्छ।
पोखराको हिमाल र तालबाहेक अरु केबाट पर्यटक ल्याउन सकिन्छ भन्नेमा विमर्श गरौं। यस्तो योजना नबनाउने हो भने पोखराको पर्यटन संकटमा छ।
यतिबेला म सुनिरहेको छु कि पोखराका धेरै होटलले ऋण तिर्न नसकेकाले राम्रो प्रोपर्टी समेत बिक्रीमा राखेका छन्। यो एकदमै ठूलो दुर्भाग्य हो। यस्तो दुर्भाग्य मैले काठमाडौंमा एकदमै कममात्र देखेको छु।
पोखराजस्तो पर्यटनको अपार र अद्वितीय सम्भावना बोकेको क्षेत्रमा यसरी पर्यटन उद्यमी नै पलायन हुने अवस्था आउनुले हामीलाई सोच्न बाध्य बनाएको छ।
मेरो निचोड के भने, पोखरामा 'बक्स टाइप' होटल र कोठामात्र बनाएर पर्यटन विकास हुन्छ भन्ने हामी पोखरेलीको जुन सोचाइ र मान्यता छ, अब त्यसमा परिवर्तन आउनैपर्छ। हाम्रो सोचाइमा परिवर्तन आएन भने ठूलो लगानी जोखिममा पर्छ र पोखरा पर्यटन दिगो बनाउन सकिँदैन। हामी धेरै पछि पर्नेवाला पनि छौं।
पोखराको पर्यटन भनेको के हो ? हामीले यहाँ के बनाउनु पर्छ? के बनाउन सक्यौं भने आन्तरिक पर्यटकलाई पनि बाह्रैमास ल्याउन सकिन्छ भनेर बहस छलफल र योजना बनाउनु जरुरी छ।
काठमाडौंपछि पोखरा नै दोस्रो गन्तव्य हो भन्नेमा विवाद छैन। आन्तरिक पर्यटकका लागि त पोखरा पहिलो रोजाइ हो। नेपालीमात्र नभई भारतीयका लागि पनि पोखराजत्तिको रोजाइको ठाउँ अन्त छैन।
तर, लकडाउनपछिको यो अवस्थाले भने हामी सबैलाई सोच्न बाध्य बनाएको छ। त्यसैले पोखरेलीहरूले लगानी गर्नुअघि दस पटक सोच्नुपर्छ। ताल र हिमालसँगै अब नयाँ 'प्रोडक्ट' दिन सकेनौं भने हाम्रो भविष्य अँध्यारो छ। सबैले बेलैमा मनन गरौं।