हामी सबैको अनुभवमा हाम्रो समाज, हाम्रो परिवारमा पक्कै पनि हाम्रो साथी, हाम्रो नातेदार बहिनी, दिदी, आन्टी, आमा, कोही न कोही स्तन क्यान्सरसँग लडिरहेको हुनुहन्छ वा लडिरहेको हुनुहुन्थ्यो। अझै प्रष्ट रुपमा भन्नुपर्दा, यो रोग नभएको सायद कुनै टोल, गाउँ तथा सहर नहोला।
तथ्यांक हेर्ने हो भने विश्वमा महिलाहरूमा हुने क्यान्सरहरुमा स्तन क्यान्सर पहिलो नम्बरमा पर्दछ। तर हाम्रो देश नेपालमा यो क्यान्सर, पाठेघरको मुखको क्यान्सरपछि दोस्रो नम्बरमा आउँछ। ग्लोबलक्यान (डब्लुएचओ) २०१८ को तथ्यांक अनुसार, प्रत्येक दिन नेपालमा ६ जना महिलाहरुलाई स्तन क्यान्सरको पहिचान हुने गर्दछ र प्रत्येक दिन ३ जना महिलाहरूको मृत्यु यस क्यान्सरले गर्दा हुने गर्दछ।
अझैँ संसारको सबैभन्दा विकसित मुलुक अमेरिकाको कुरा गर्ने हो भने, अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांक अनुसार प्रत्येक आठ जना महिलामा एक जनालाई स्तन क्यान्सर हुने जोखिम छ। अमेरिकामा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढी स्तन क्यान्सरबाट महिलाहरूको मृत्यु हुने गर्दछ।
अक्टोबर, अंग्रेजी वर्षको यस महिनालाई स्तन क्यान्सर विरुद्ध जागरण फैलाउने अभियान महिनाको रूपमा संसारभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ। यो महिनामा हामी सबै गुलाबी रंग मग्न हुन्छौँ। मानिसहरु गुलाबी रंगको रिबन लगाएर, गुलाबी रंगका पहिरन लगाएर, विभिन्न कार्यक्रम (जस्तै: बाटोमा हिड्ने, नाचगान गर्ने तथा अरु सामूहिक कार्यक्रम गर्ने) गरी समाजका सबै महिलाहरुमा स्तन क्यान्सरको जोखिमबाट कसरी आफूलाई सुरक्षित राख्ने तथा समयमै पहिचान गरे स्तन क्यान्सर निदान हुने क्यान्सर हो भन्ने सन्देश दिनु नै यस जागरण अभियानको मुख्य उद्देश्य हो।
अहिलेसम्मको वैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याकै यही कारणले हुन्छ भन्ने पत्ता लगाउन सकेको छैन तर केही कारणहरु छन् बढ्दो उमेर (धेरैजसो स्तन क्यान्सर ५५ वर्षभन्दा माथिका महिलाहरुलाई)
२) परिवारमा कसैलाई स्तन वा डिम्बासयको क्यान्सर भएमा
३) रेस (जातीय, गोरा महिलाहरुलाई धेरै)
४) इन्क्रिज्ड ब्रेस्ट डेन्सिटी
५) जेनेटिक्स ( बिआरसिए१, बिआरसिए२)
६) धेरै सानो उमेरमा महिनावारी भएको महिला अथवा धेरै उमेर भएर महिनावारी सुकेका महिलाहरु।
अरु जोखिम बढाउने कारणहरु जो हाम्रो दैनिक जीवनशैलीसँग सम्बन्धित छन्:
१) धेरै गर्भनिरोधक औषधी प्रयोग गर्नु
२) हर्मोन थेरापी धेरै लिनु
३) ढिलो उमेरमा सन्तान जन्माउनु वा सन्तान नहुने महिला
४) अत्याधिक धूम्रपान र मादक पदार्थ सेवन गर्ने महिला
५) धेरै मोटो महिला वा शारीरिक व्याम नगर्ने महिलाहरु
स्तन क्यान्सरको जोखिमलाई कम गर्ने केही उपायहरु पनि छन्:
१) रक्सी तथा सूर्तीजन्य पदार्थबाट टाढा रहनु
२) स्तनपान गराउनु
३) शरीरको तौल स्वास्थ्य लेवलमा राख्नु
४) योगा, कसरत र दैनिक शारीरिक व्याम गर्नु र पौष्टिक खानेकुरा खानु।
स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरेर उपचार गर्नुपर्छ भन्ने सन्देश सम्पूर्ण महिलाहरुसम्म पुर्याउनु नै स्तन क्यान्सर जागरण अभियानको जरुरी छ। स्तन क्यान्सरका लक्षणहरु:
१) स्तनमा नयाँ गिर्खा तथा गाँठोहरु देखिनु
२) स्तनको आकार र प्रकारमा परिवर्तन आउनु
३) स्तन दुख्नु वा सुन्निनु
४) स्तनमा खाल्टो पर्नु
५) स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु
६) शरीरको अनावश्यक तौल घट्नु
स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरी समयमै उपचार गर्नु नै यस रोगको निर्मूल पार्ने अचूक अस्त्र हो। यदि यो क्यान्सरलाई समयमै पहिचान गरी उपचार गर्यो भने यसलाई सतप्रतिशत निर्मूल पार्न सकिन्छ। र यदि ढिलो अर्थात् स्टेज ३ वा ४ मा पत्ता लागे यसलाई निदान पार्न सकिदैन। यस्तो अवस्थामा यस क्यान्सरलाई प्यालिएटिभ उपचार गरी बिरामीको दुखाइ तथा पीडा कम गरी बाँकी जीवन सजिलो बनाउन प्रयास गरिन्छ। स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गर्नको लागि २ महत्तपूर्ण उपायहरू छन्:
१) ब्रेस्ट सेल्फ इग्जामिनेशन अर्थात् आफ्नो स्तन आफै जाँच्ने
यस अन्तर्गत १८ वर्षको उमेरभन्दा माथिको महिलाहरूले प्रत्येक महिनाको एक पटक महिनावारी भएको ५ देखि ७ दिनमा आफ्नो स्तन आफै जाँच गर्ने। महिनावारी सुकिसकेको महिलाहरूले प्रत्येक महिनाको एउटै दिनमा आफ्नो स्तन जाँच गर्ने। जसले गर्दा स्तनको आकार तथा प्रकारमा हुने परिवर्तनको बारेमा सुरुको अवस्थामा थाहा हुन्छ। र केही परिवर्तन भेटिएमा तुरन्त चिकित्सकको परामर्श लिने।
२) म्यामोग्राफीद्वारा ब्रेस्टको स्क्रीनिङ गर्ने
कुनै पनि रोगको लक्षण देखिनुभन्दा पहिले त्यस रोगलाई पहिचान गर्ने प्रबिधिलाई स्क्रीनिङ भनिन्छ। स्तन क्यान्सरलाई सुरुको अवस्थामा पत्ता लगाउनको लागि महिलाहरूले स्क्रीनिङ जाँच गर्नु पर्छ। स्तन क्यान्सरको सबैभन्दा उत्तम वैज्ञानिक स्क्रीनिङ गर्ने प्रबिधि भनेको म्यामोग्राफी हो।
अमेरिकन क्यान्सर सोसाइटीको गाइडलाइन अनुसार ४५ वर्षदेखि ६५ वर्षसम्मको महिलाहरूले वर्षमा एक पटक म्यामोग्राफी जाँच गर्नुपर्छ। म्यामोग्राफी एक प्रकारको एक्स-रे हो जसले स्तनको आकार तथा प्रकारमा भएको परिवर्तनलाई पहिचान गर्ने गर्दछ। म्यामोग्राफीसँगै अथवा म्यामोग्राफी गर्न नमिल्ने महिलाहरूलाई स्तनको भिडिओ एक्स-रे तथा एमआरआई पनि गर्ने गरिन्छ। यदि यी जाँचहरुमा स्तन क्यान्सरको शंका भएमा बायोप्सी गरेर स्तन क्यान्सर भए/नभएको निश्चित हुन्छ।
अन्त्यमा, अहिलेसम्मको वैज्ञानिक अनुसन्धान तथा हामी क्यान्सर रोग विशेषज्ञको अनुभवको आधारमा, जो महिलाहरुको दैनिक जीवनशैली स्वस्थ तथा अनुशासित हुन्छ, उनीहरुमा स्तन क्यान्सरको जोखिम अरुभन्दा न्यून हुन्छ। त्यसैले तपाई सबै महिलाहरुले आफ्नो दैनिकीमा शारीरिक व्याम, योगा र पौष्टिक खानासँगै स्वस्थ जीवन निर्वाह गर्नुहोस्। स्तन क्यान्सर सम्बन्धी केही शंका भएमा चिकित्सकको परामर्श लिनुहोस् र उमेर पुगीसकेपछि चिकित्सकको सल्लाह बमोजिम प्रत्येक वर्षमा एकचोटी म्यामोग्राफी गर्नुहोस्।
(डा. शाह मेडिकल ओन्कोलोजिस्ट हुन्।)