प्रसंग चुनौतीको
केही दिन यतादेखि फेसबुकका भित्ताहरूमा च्यालेन्जका बाढी देखिन्छन्। बेस्ट कपल च्यालेन्ज, बेस्ट डटर/सन च्यालेन्ज, फस्ट इम्प्रेसन् च्यालेन्ज आदि। यस्ता च्यालेन्जहरू संसारभर फैलिएका छन्। मानिसहरुको ठूलो जमात यसमा झुम्मिएका छन्।
यसले मानिसहरू अत्यन्तै सतही (सुपरफिसियल) भैरहेका छन् भन्ने जनाउँछ। यी र यस्तै सामाजिक सञ्जालमा छाउने बाढीसँगै सामाजिक सञ्जाल विरोधी विचार र बहसहरू फेरि चुलिएका छन्। यसका विरोधीहरू सामाजिक सञ्जाल नर्क भैसक्यो। पहिला यसको प्रयोग सूचना आदान प्रदान गर्न, एकअर्कासँग जोडिनका लागि हुन्थ्यो।
हाल आएर तथाकथित च्यालेन्ज डिजानरहरूले यसलाई मार्ने काम गरे। यो एउटा इडियट बक्स भैसक्यो। जो मरिसक्यो, त्यसलाई बोक्नुको कुनै अर्थ छैन भन्दछन्। टेड एक्स भन्ने प्रख्यात टक सोमा बोल्दै डा. काल न्युपोर्टले भनेका छन्,
'मसँग सोसल मिडिया अकाउन्ट छैन। त्यसैले म त खुसी छु। मसँग पनि साथी छन्। विश्वमा के भैरहेको छ भन्ने कुराको म पनि जानकार छु। सहकार्य गरिरहेको छु। सोसल मिडिया अकाउन्ट नभएर म ठिक हैन धेरै ठिक छु। सोसल मिडिया अकाउन्ट नभएर पनि म धेरै सफल छु। तपाईहरू पनि सफल र खुसी हुन चाहानुहुन्छ भने यसलाई त्याग्नुस्।'
सोसल मिडियाहरू आधारभूत आवश्यकताका प्रविधि हैनन्। यिनीहरूले मानिसका ध्यान खिच्छन्, उनीहरूको विवरण (डाटा) लिन्छन् र त्यही विवरण बेचेर पैसा कमाउँछन्। सामाजिक सञ्जालका निर्माताहरूले कनेक्सन इन्जिनियरहरूलाई खोजी खोजी हायर गर्छन् जसको काम भनेकै मानिसहरूको ध्यान कसरी तान्न सकिन्छ भनी खोजी गर्नु हो र उनीहरूलाई सामाजिक सञ्जालको लतमा फसाइरहनु हो। यो एउटा फगत मनोरञ्जनको साधन हो जुन अत्यन्तै असुरक्षित छ भन्नेहरू पनि धेरै छन्।
आफ्नो पुस्तक डिपवर्क (रुल्स फर फोकस्ड इन अ डिस्ट्रयाक्टेड वर्ल्ड) मा डा. न्युपोर्कले 'सामाजिक सञ्जालले खासै बिजनेस बढाउँदैनन्। गहिरो असर पर्ने र टिकाउ हुने वस्तु उत्पादन गर्नुस्, सफलता हासिल भएरै छोड्छ। सामाजिक सञ्जाल प्रयोग गरेर प्राप्त गरेको व्यापारिक सफलता क्षणिक हुन्छ। राम्रो उत्पादन छ भने मानिसहरू तपाईलाई खोजी खोजी आउँछन्। सामाजिक सञ्जालका साधनहरू मनिसलाई लतमा फसाउनकै लागि बनाइएका हुन्' भनी तर्क गरेका छन्।
वास्तवमै हामीले हाम्रो महत्वपूर्ण समय बेकारमा फालिरहेका छौँ। सामाजिक सञ्जाल हुँदैनथ्यो भने हामी उक्त समय उत्पादनमा खर्चन्थ्यौँ र अरू सफल बन्न सक्थ्यौँ। इन्स्टाग्राम, ट्वीटर, फेसबुक, भाइबर, म्यासेन्जर आदिमा जम्प गर्दा मानिसहरूको ध्यान विकेन्द्रीत हुन्छ। फेरि आफ्नो लय समाउन समय लाग्छ जसले गर्दा हाम्रो सिर्जनशीलतामा कमी आउँछ। सामाजिक सञ्जालमा खर्चिने समय हामी आफ्नो उन्नति प्रगतिमा लगाउन सक्छौँ।
विकसित मुलुक अमेरिका, बेलायत, क्यानडा आदिमा गरिएको अध्ययनले युवा पिँडीहरू सामाजिक सञ्जालकै कारण अत्यन्तै खतरामा छन् भन्ने बताउँछ। उनीहरुको एकाग्र हुने, सोच्ने, सिर्जनशील बन्ने समय बेकार भैरहेको छ जुन अत्यन्तै डरलाग्दो स्थिति हो। यस्ता अध्ययनहरूका अनुसार मानिसहरु जति धेरै सामाजिक सञ्जाल प्रयोग गर्छन् त्यति नै धेरै एक्लिदै जान्छन्।
हातमा स्मार्ट फोन छ भने रेलमा यात्रा गर्दा, गाडीमा, पार्कमा, घुम्न जाँदा पनि मानिसहरू एक-अर्कासँग अन्तरक्रिया गर्दैनन्। अझ साना बालबालिकाहरू लिएर घुम्न जाँदा पनि महंगा गाडीभित्र केटाकेटीहरू स्मार्ट फोनमै व्यस्त देखिन्छन्। यात्राबाट मानव सभ्यता, संस्कृति, प्राकृतिक सुन्दरता आदिको अनुभव लिनुभन्दा पनि स्मार्ट फोनमै रमाइरहेको देख्न सकिन्छ। यसले मानसिक रोग निम्त्याउँछ।
सामाजिक सञ्जाल र स्मार्ट फोनको उदय भएपछि मानसिक रोगीहरूको संख्यामा पनि नाटकीय रुपमा वृद्धि भएको छ। 'सामाजिक सञ्जालबाट छुट्कारा लिएको केही समय तपाई एक्लो महशुस गर्नुहुनेछ। तर विस्तारै तपाईले परिवर्तन महशुस गर्नु हुनेछ' भन्ने डा. न्युपोर्टको भनाइ छ।
यसैगरी टेड एक्समै कुरा गर्दै वेइली पर्नेलले, क्यानडाका विश्वविद्यालयहरूले गरेको अध्ययनअनुसार क्यानडामा ७० प्रतिशत मानिसहरू औसत २ घन्टा सामाजिक सञ्जाल प्रयोग गर्ने बताएकी छन्। त्यस्तै उक्त अध्ययनले डिप्रेसन, एन्जाइटी र स्ट्रेसका कारकहरूमा सामाजिक सञ्जालहरू पनि प्रमुख हुन् भन्ने देखाएको छ।
हाइलाइट रियल
हाइलाइट रियल सामाजिक सञ्जालमा तनाव सिर्जना गर्ने एउटा कारक हो। उत्कृष्ट र उज्यालो वस्तु नै हाइलाइट रियल हो। हामी सामाजिक सञ्जालका माध्यमबाट खेलकुदमा सबै खेलाडीले राम्रो गरुन् भन्ने अपेक्षा गरे जस्तै सबैतिर उत्कृष्टता हासिल गर्न खोज्छौँ। उदाहरणको लागि हामी जहिले पनि अरू कुरासँग तुलना गर्छौँ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका विलासीका तस्बिरहरू, समुद्री किनार, महंगा रेष्टुरेन्टमा खाना खाएका तस्बिरहरू आदिले मानिसको ध्यान हाइलाइट रियलमा पर्दछ। मानिसहरू आफ्नो अवस्थासँग यस्ता हाइलाइट रियलको तुलना गर्दछन्। त्यस्ता तस्बिरमा देखिएका मानिसहरू भाग्यमानी र आफूलाई अभागी भएको महशुस गर्दछन् र दुखी हुन्छन्।
सामाजिक अभियन्ता, लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले 'विदेशमा बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई त्यहाँका चिल्ला सडक, गाडी, अग्ला भवन, महंगा रेष्टुरेन्ट, समुद्री किनार आदिमा खिचिएका तस्बिर मात्र होइन, त्यहाँको दुःख, संघर्ष गर्दै गरेका तस्बिरहरू पनि सामाजिक सञ्जालमा हाल्न आग्रह गर्दै स्वदेशमा रहेका युवायुवतीहरुलाई विदेशमा स्वर्ग छैन, मेहनत गरे यहाँ पनि भविष्य राम्रो छ भन्ने सन्देश दिन सक्नुपर्ने उल्लेख गरेका छन्। उनले इन्टाग्राममा गरेको यो अपिल साँच्चिकै अर्थपूर्ण छ।
सोसल करेन्सी
सामाजिक सञ्जालका लागि लाइक, कमेन्ट, सेयर, भ्यूज नै सोसल करेन्सी हुन्। आज मानिस तिनलाई पैसालाई जत्तिकै माया गर्छन्। मानिसहरू आफ्ना पोष्टहरूमा लाइक, कमेन्ट, सेयर, भ्यू धेरै होस् भन्ने चाहन्छन्। तर ती अपेक्षा पूरा नहुँदा दुखी हुन्छन्।
फियर अफ मिसिङ
यो अर्को तनावको कारक हो। सामाजिक सञ्जाल प्रयोग कर्ताहरू कनेक्टिभिटी, अवसर, चिनजान हराउने होकी भन्ने चिन्तामा हुन्छन्। यही चिन्ता कम गर्न तस्बिरहरू उचित मौकामा पोष्ट गर्न सकियोस् भनी उनीहरू सेल्फी र राम्रो फोटो खिच्न आतुर छन्। हरेक १० जनामा ७ जना यही चिन्ताका कारण सामाजिक सञ्जाल चाहेर पनि छोड्न सक्दैनन्।
अनलाइन ह्यारासमेन्ट
अध्ययनका अनुसार सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमध्ये ४० प्रतिशत कुनै न कुनै रुपमा अनलाइन दुर्व्यवहारको शिकार भएका छन्। यसको शिकार महिला, अश्वेत, मुस्लिम, दलित, विपन्न र उत्पीडित वर्ग भएका छन्। उदाहरणका लागिः मानिसका निजी मामिलाका तस्बिर, भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, बेइज्जत गर्ने, ब्ल्याकमेल गर्ने जस्ता घृणित क्रियाकलापको नतिजा स्परुप कयौँ मानिसहरूले आत्महत्याको बाटो समेत रोजेका छन्।
मानिसहरू नोटिफिकेसन चेक गर्न नपाएरै हैरान बनिरहेका हुन्छन्। तपाई अरुबाट होइन, आफैबाट पनि दुर्व्यवहारको शिकार भइरहनु भएको छ। सम्झनुहोस्, आफ्ना पोष्टहरूमा लाइक, कमेन्ट, सेयर आएन, नोटिफिकेसन घट्यो भने तपाईलाई कति तनाव हुन्छ।
सामाजिक सञ्जालकर्ताहरू संसारका खतरनाक लागुऔषधभन्दा कम छैनन् जसले मानिसहरूलाई लतमा फसाएर आफ्नो फाइदा अनुकूल प्रयोग गर्छन्। यी र यस्तै कारणले मानिसहरू डिप्रेसन, एन्जाइटी, मनोरोगको शिकार भएका छन्।
क्यानेडियन एसोसिएसन अफ मेन्टल हेल्थले गरेको अध्ययनका अनुसार त्यहाँ कक्षा ७–१२ मा अध्ययनरत विद्यार्थीहरू सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्छन्। यसै कारण उनीहरू डिप्रेसन, एन्जाइटी, आत्महत्याका शिकार भएका छन्। यहाँ टेलिभिजन, मोबाइल, फेसबुकलाई गाली गर्नेहरूको पनि कमी छैन। के तपाईलाई उनीहरूले जबरजस्ती गरेका छन्? तपाई जबरजस्ती रुपमा उनीहरूतिरै तानिइरहनु भएको छ।
सामाजिक सञ्जालमा कसैको सुखी परिवारको फोटो देखेर दुखी हुने पनि यहाँ कमी छैनन्। मानिसका क्षत विक्षत भएका लास पोष्ट गर्छन्। त्यसको कमेन्ट बक्समा धेरै रिप लेखिन्छन्। पोष्ट गर्ने व्यक्तिलाई क्षणिक आनन्द आउँछ। तर यस्ता दृष्यहरूले सज्जन र संवेदनशील मानिसको मन धेरै भाँचिन्छ।
केही दिन अगाडि पूर्वी तराईको मेरो घर नजिकैको महेन्द्र राजमार्गमा एउटा दुर्घटना भयो। उक्त दुर्घटना भिडिओमा कैद छ। सडक छेउमा एक अधवैँशे महिला सडक पार गर्ने पर्खाइमा थिइन्। केही क्षणमा एउटा मोटरसाइकलले ठक्कर दिएर उनलाई सडकमा बजार्यो। उक्त भिडिओ निकै भाइरल बन्यो। रिप लेख्नेको ओइरो लाग्यो। उक्त भिडियोले धेरै दिनसम्म मन खिन्न बनायो।
रथ यात्राको प्रसंग पनि उल्लेख गरौँ। एक ट्राफिक प्रहरी मरणाशन्न हुने गरी कुटिएको दृष्य निकै भाइरल बन्यो। सामाजिक सञ्जालमा एउटा वर्ग नेवारप्रति लक्षित गरेर धेरै गालीगलौजमा उत्रियो। कतिपय मानिसहरूलाई यो अपराध सम्पूर्ण नेवारहरूले गरेका थिए झैँ भयो। कुनै एक झुण्डले गराएको यो घटनामा सामाजिक सद्भाव नै बिथोल्ने गरी टिका टिप्पणी, गाली गलौजमा उत्रिनु सामाजिक सञ्जालको उचित प्रयोग हो त?
अझ सामाजिक सञ्जालमा आउने बिना प्रमाणका सतही समाचारहरू जुन तथ्यपरक र खोजमूलकभन्दा पनि धेरै अतिरञ्जित छन्, जसले मानिसलाई भ्रम पैदा गर्दछन्। उदाहरणको लागिः संसारकै सबैभन्दा अचम्मको मानिस भेटियो, किरण केसी अर्थात रातामकै संसारकै सबैभन्दा धनी व्यक्ति। सानो घटना घट्यो भने त्यसका पछि लागेर खोतलखातल गर्ने प्रवृत्तिका १०/२० जना युट्युबरहरू नै अनुसन्धानकर्ता, न्याय/अन्याय छुट्याउने वकिल अदालत हुन् झैँ बनाउँछन्।
यी र यस्ता धेरै कारणहरूले सामाजिक सञ्जालहरू मर्दै गएको र यिनीहरूलाई त्याग्नु नै भलाइ छ भन्ने स्थिति सिर्जना भएको छ। तर यो समाधान भने होइन। सचेत रहनुस्, सामाजिक सञ्जाल सुरक्षित छैनन् तर हामी सचेत भयौँ भने ती असुरक्षित पनि छैनन्।
अडिट सोसल मिडिया डाइट
जसरी हामी खाना खाँदा डाइटको हेक्का राख्छौँ, त्यसैगरी सामाजिक सञ्जालसँग हेक्का राख्नुपर्छ। सामाजिक सञ्जालले आफूलाई खुसी या दुखी बनाइरहेको छ भनी बारम्बार सोच्नुपर्छ।
क्रिएट वेबर अनलाइन एक्सपिरियन्स्
फेसबुकमा भएका कतिपय साथीहरूले हामीलाई दिक्दार बनाइरहेका हुन्छन्। उनीहरूलाई फलो नगर्नु नै यसको उपचार हो। यसबाट जोगिन राम्रा-राम्रा विचारहरू सम्प्रेषण गर्ने कलाकार, कमेडियन, लेखक आदिलाई फलो गर्नुपर्छ।
सामाजिक सञ्जाल औजार हुन्। यिनको प्रयोग समय घटाएर हाँस्न, हँसाउन, कसैबाट राम्रा कुरामा प्रेरित हुन, सुसूचित हुन गर्न सकिन्छ। सही ढंगले प्रयोग गर्नाले सामाजिक सञ्जालहरूले दुर्घटना निम्त्याउँदैनन्।