भन्नको लागि एक्काइसौँ शताब्दीमा टेकिसकेको भए पनि लैंगीक विभेद नेपाली समाजमा अझै पनि व्याप्त रहेको पाइन्छ। नारी पुरुष बराबरको नारा गुन्जिए पनि अझैसम्म नारी पुरुष बीचको अन्तर एउटा ठूलो खाडलको रुपमा रहिरहेको छ। त्यस गहिरो खाडललाई पुर्न अझै पनि नारीहरुले धेरै चुनौतीहरुको सामना गर्ने बाँकी छ।
आजकल सहर बजारमा मात्र नभइ गाउँघरमा पनि सकेसम्म छोराछोरी दुवैलाई विद्यालय पठाइन्छ। तर फरक वा भिन्नता कहाँनेर पाइन्छ भने गाउँघरमा अझै पनि छोरालाई सकेसम्म निजी विद्यालय र छोरीलाई सरकारी विद्यालय पठाउने चलन रहेको छ।
विद्यालय पठाएर औपचारिकता भनौँ या पछि योग्य बर पाउन चाहिने न्यूनतम योग्यता पुर्याउनकै लागि भए पनि छोरीलाई विद्यालय पठाउने चलन बसिसकेको छ। यस पछाडिको उदेश्य त्यति गजब्बको नभएता पनि छोरीहरुले नि अक्षरसँग साक्षात्कार हुने अवसर भने पाएका छन्।
छोरीहरुलाई आजभोलि पढ्ने अवसर त दिइन्छ तर त्यसको साथमा 'पछि बिहे गरेर घर खानै पर्छ' भन्ने एक प्रकारको दबाब पनि दिमागमा पैदा गराइन्छ। खाना पकाउनु, भाडा माझ्नु, लुगा धुनु एउटा लैंगीक भूमिका मात्र नभइ सबै लिंगका व्यक्तिलाई चाहिने आधारभूत जीवन उपयोगी सीप हो तर छोरालाई पढाइमा मात्र ध्यान दिन र छोरीलाई चुलाचौकामा पनि बिहान-बेलुका सहयोग गर्न अपेक्षा गरिइन्छ।
छोरीमान्छे जति नै शिक्षित र व्यस्त नारी भएता पनि समाजले ऊबाट घर चलाउन सक्ने क्षमतामा प्रश्न गरिरहेको हुन्छ। अरु टाढाको उदाहरणमा गइरहनु पर्दैन, हाम्रै घर परिवारमा पनि एउटै उमेर समूहका दुई नारी र पुरुषबीच घरमा केही काम वा केही कार्य आट्न लागियो भने पुरुषको सल्लाह सुझावलाई बढी मान्यता दिइन्छ।
सुरुमा त सोधिदै सोधिइदैन र सोधिए पनि खासै ध्यान दिइदैन। कतै न कतै केटीहरुको धारणा वा सुझावलाई कच्चा वा अपरिपक्कको संज्ञा दिइन्छ। उस्तै शैक्षिक योग्यता भएका नारीपुरुषबीच पनि तलबमै विभेद रहेको पाइन्छ। कतिपय अवस्थामा एउटै प्रकारको कामको लागि पनि नारीपुरुषको तलब वा ज्यालामा अन्तर रहने गरेको पाइन्छ।
यो सबै सोचाइ, बुझाइ र व्यवहार सर्वप्रथम त पितृसत्तामक समाजको देन हो। बढ्दो आधुनिकीकरण र जनचेतनाको कारण यो विषयमा विविध बहस भैरहँदा पोथी बासेको मन नपर्ने जस्ता भनाइहरु सुन्नमा कम हुँदै छ तर पनि समाजका पढेलेखेका बुद्धिजीवी भनाउदाहरुले नै दिनभर भाषणमा जे-जे भने पनि भरे श्रीमती थाकेर घर फर्किदा पनि खातेदारीको अपेक्षा गरिरहेका हुन्छन्।
अझै पनि शिक्षित पुरुषहरुले पनि आफूभन्दा आफ्नो श्रीमती वा दिदीबहिनीहरुले धेरै कमाएको सहन नसकेको उदाहरण पनि प्रशस्त पाइन्छ। लैंगीक हिंसाको सन्दर्भमा पनि पीडित महिला नै भैरहेकी हुन्छिन्। कतिपय पुरुषले श्रीमती कुट्न पाउनु आफ्नो नैसर्गिक अधिकार जस्तो पनि मान्ने गरेको पाइन्छ।
यो सब भनिरहँदा पुरुषको मात्र दोष वा गल्ती छ भन्न मिल्दैन। लैंगीक विभेदको भूमिकामा कति महिलाहरु आफै मुख्य भूमिकामा रहेको पनि पाइन्छ। कतिपय नारीहरु आफ्नै कारणले हेपिएका उदाहरणहरु पनि छन्। एउटा सासुले आफ्नो छोरी अग्रसर भएको र बुहारी घरको पर्खालमै सीमित तथा छोराको अधिनमा रहेको रुचाउछिन्।
नारी स्वभावले नै संवेदनशील र सहनशील हुन्छन्। पुरुषको अत्याचार होस् या घरपरिवारको रुखोपन उसले यो सब सहनु नै आफ्नो लागि सही मान्न थालिसकेकी हुन्छिन्।
हामी यस्ता विषयमा प्रायः समाजलाई दोषी ठहराइरहेका हुन्छौँ तर यो बिर्सिन्छौँ की हामी आफै समाज हौँ। हामीले नै समाजको प्रतिनिधित्व गर्छौँ। सुरुआत आफैले गरे मात्र समानताले गति पाउन सक्छ। तसर्थ छोरीलाई विद्यालय पठाएर मात्र होइन, उसलाई संसार जित्ने हौसला प्रदान गरेर, उसको आवाज र सुझावलाई पनि प्राथमिकता दिएर उपयुक्त वातावरण सिर्जना गरिदिनु पर्छ।
आफ्नो श्रीमतीलाई घरधन्दा र चुलाचौकामा मात्र सीमित नगरे उसको कला, क्षमता र सीप प्रस्फुटन गर्ने वातावरण बनाइदिनु पर्छ। केटी मान्छेलाई पनि समान अवसर र साहस भरिदिनु पर्छ। सुरुआत आफैबाट गरे मात्र समाज आफै बन्दै जान्छ र बल्ल नारीपुरुष बराबर भन्ने भनाइले सार्थकता पाउन सक्छ।