पृथ्वीमा जब डायनासोरसहरु लोप भए तब गैँडा प्रजातिहरुको उदय भयो। करिब ५५० लाख वर्ष अगाडि जुन भौगोलिक कालखण्डलाई इओसिन भनिन्छ। सो समयमा गैँडा समूह अन्तर्गतको जनावरहरुको भारतमा उत्पत्ति भएको मानिन्छ जुन बेला भारत र नेपाल एसिया महाद्विपबाट छुट्टै रहेको थियो।
इओसिन न्यानो र तातो समय थियो। त्यसबेला प्यारासेराथेरियम नामक स्थल स्तनधारी प्राणीहरु रहेको थियो। जसको उचाइ कुम्भसम्म ५ मिटर र तौल २० टनसम्म रहेको मानिन्छ। यसले अग्लो रुखहरुको पात, हाँगाहरु आफ्नो आहारको रुपमा रहेको थियो। यही प्राणी समूहसँग जोडिएको गैँडा पेरीसोड्याकटाइल समूह अन्तर्गतको प्राणी हो जुन अहिलेको घोडा, जेब्रा र तापिरको पूर्खाहरु रहेको छ।
यसरी, इयोसिनबाट ओलिगोसिन र मियोसिन हुँदै करिब ५६ लाख वर्ष अगाडि रहेको प्लीयोसिन भौगोलिक कालखण्डको अन्त्य तिर र इओसिनको सुरुआती तिर, जुन समय पृथ्वी बरफ रहित थियो तर चिसो थियो। सो समयमा एसियाको अग्लो क्षेत्र तिब्बत क्षेत्रमा वुल्ली गैँडाको (लामो भुत्ला भएको गैँडा) उत्पत्ति भएको मानिन्छ। यसरी गैँडा युरोप र एसियाली क्षेत्रहरुमा फैलिएको मानिन्छ।
यसरी फैलिएको गैँडा विभिन्न समयको जलवायु परिवर्तन, विभिन्न मांसाहारी जनावरको शिकार र मानवको शिकारबाट परिवर्तित र बच्दै अहिले ५ प्रजातिमा सीमित रहेको छ। यी ५ प्रजाति मध्ये, एक सिंगे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ। भारतको आठ वटा संरक्षित क्षेत्रमा र नेपालको चारवटा संरक्षित क्षेत्रमा पाइन्छ।
दुवै देशमा गरी ३५०० भन्दा बढी एक सिंगे गैँडा रहेको छ। नेपालको चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा कुल जम्मा ६४५ वटा गैँडा रहेको छ।
गैँडा, मध्यवर्ती क्षेत्र र जनसहभागिता
विसं २०५२ सालमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली लागु भएसँगै मध्यवर्ती क्षेत्र स्थापना भयो। जसले निकुञ्ज क्षेत्र बाहेक पनि बासस्थानको व्यवस्थालाई अंगिकार गर्यो। विषेशगरी मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनहरु गैँडाको लागि उत्कृष्ट बासस्थानको रुपमा सावित भयो। उदाहरणको रुपमा चितवका बाघमारा, कुमरोज, नमुना मध्यवर्ती सामुदायिक वन आदिहरु लिन सक्छौँ।
यसरी सामुदायिक वन मार्फत समुदाय र गैँडा संरक्षण अगाडि बड्दै आएको छ। तसर्थ, मध्यवर्ती क्षेत्र परिकल्पनाले जनसहभागितासँगै जनतामा जैविक विविधता संरक्षणको अपनत्व रहँदै आएको छ। जनसहभागितासँगै गैँडाको संख्यामा आएको वृद्धि अर्को सफलता हो। राणाहरुको प्रत्यक्ष निगरानी, राजा महाराजाको शिकार आरक्षदेखि जनतासम्म आइपुग्दा, जैविक विविधता संरक्षणमा अनगिन्ती आरोह र अवरोह आएको देखिन्छ।
तर, प्रतिकूल परिस्थितमा आफ्नो स्वार्थलाई तिलाञ्जली दिएर, गैँडा संरक्षणमा अहोरात्र खट्ने अग्रज प्रति प्रशंसा गर्न कुनै शब्द छैन। निकुञ्ज प्रशासन, नेपाली सेना र समुदायसँगको त्रिकोणात्मक अन्तर सम्बन्ध र सहकार्यमा नै गैँडा संरक्षणको दिगो भविष्य देखिन्छ। समुदायलाई प्रकृतिप्रतिको अपनत्व कायम राखी उनीहरुलाई जिम्मेवार बनाउन आवश्यक छ।
साथै, संरक्षण गरे बापत आउने हरेक किसिमको लाभको न्यायोचित बाँडफाँड गरी समुदायलाई अग्रपंक्तिमा स्थान दिन आवश्यक छ। यसको लागि आवश्यक नीति, योजना तर्जुमा, कार्यक्रम, आदि समुदायको हितमा हुन नितान्त जरुरी छ।
जलवायु परिवर्तन र गैँडा
गैँडा र गैँडाको बासस्थानमा जलवायु परिवर्तनको नकारात्मक असर परेको सङ्केत देखिन्छ। यसले गैँडाको जीवनचक्रलाई नै असर गर्न सक्छ भने बासस्थानको गुणमा ह्रास आउन सक्छ। जस्तैः पानीको घोल हराउँदै जाने, घाँसे मैदान घट्दै जानु, अतिक्रमित झारको फैलावट, अनावश्यक रुखहरु फैलनु आदि।
गैँडा विज्ञ सान्ताराज ज्ञवालीको अनुसार, विषेशगरी गैँडाको बासस्थान जुन नदीतटिय क्षेत्र र सँगै रहेको घाँसे मैदान र घोल हो। त्यस क्षेत्रमा नदीको बहाब अनुसार घाँसे मैदानको प्राकृतिक व्यवस्थापन हुँदै जाने हो। तर, जलवायु परिवर्तनले हिमालबाट सिर्जित हुने नदीहरुमा सिधैँ प्रभाव पार्दछ जसले गर्दा अन्तिममा तराईमा बग्ने खोलासम्म प्रभाव परी गैँडाको बासस्थानमा प्रतिकूल असर पर्दछ।
योसँगै बेला बखत आउने ठूला आकस्मिक बाढी (फ्यास फ्ल्ड) ले गैँडा बगाएको दृष्टान्त हामी माझ ताजा छ। यी सस्याहरुको बेलैमा दिगो निकासको लागि पूर्व तयारी गर्न टड्कारो आवश्यकता छ।
गैँडाको खाग व्यापार र गहिरो अन्धविश्वास
वन्यजन्तुको गैरकानुनी करोबार धेरै जटिल, अर्बौं डलरको, विभिन्न तह र पात्रहरु सम्मेलित भएको हुन्छ। गैँडाको खागको गैरकानुनी व्यापार र खपत हुन्छ। खागको मूल्य सुन, चाँदी, हिरा, लागूऔषधभन्दा बढ्दै गएको अध्ययनहरुले देखाएको छ। जुन यस प्रजाति संरक्षणको लागि प्रमुख चुनौतीको रुपमा रहेको छ। यसको खपत सांस्कृतिक, सामाजिक, परम्परागत औषधीको रुपमा प्रयोग हुने गर्छ।
साइटिसले यी सबै व्यापारहरुमा रोक लगाए पनि यिनीहरुको व्यापार हुँदै आएको छ। अध्ययनले देखाए अनुसार यस्तो व्यापार बढ्नुमा एसियाली क्षेत्रमा व्यापक आर्थिक प्रगति हुनु हो। विषेशगरी चीन र भियतनामको आर्थिक प्रगतिसँगै सो क्षेत्र खाग व्यापारको प्रमुख बजारको रुपमा स्थापित भएको मानिन्छ।
अचम्मको कुरा के छ भने, चिनियाँहरु र भियातनामीहरुमा यस्तो अन्धविश्वास छ की, उनीहरु यस्तो परम्परागत चिनियाँ औषधीमा खागको प्रयोग निजी पालेको (विषेशगरी अफ्रिकी देशहरुमा निजीरुपमा कानुनै बनाएर पालन गर्ने गरेको छ) भन्दा जंगली गैँडाको खाग नै खोज्छन् र त्यसको लागि जति पनि पैसा तिर्न इच्छुक हुन्छन्। यस्ता जरा गाडेर बसेको अन्धविश्वासले गैँडा प्रजातिको भविष्यमा प्रश्न चिन्ह खडा गरिदिएको छ।
प्रभावकारी व्यवस्थापनको खाँचो
गैँडा हरियो घाँस खाने शाकाहारी प्राणी भएकोले घाँसे मैदानको व्यवस्थापन अत्यावश्यक छ। सीमित व्यवस्थित घाँसे मैदानहरु हुँदा गैँडाहरु घाँसको खोजीमा मध्यवर्ती क्षेत्रमा विचरण गर्न आउँछन् र सो सँगै मानव गैँडा द्वन्द सिर्जीत हुन्छ। घाँसे मैदान व्यवस्थापनका अनेकन चुनौतीहरु छन्।
जस्तै सीमित स्रोत साधन हुनु, व्यवस्थापन गर्न धेरै क्षेत्रफल हुनु, तल्लो तहसम्म वैज्ञानिक ज्ञान प्रवाह नहुन, प्रशासनिक ढिला सुस्ती आदि। तसर्थ, माथिका चनौतीहरु निराकरण सहित चक्रिय ब्लकमा आधारित घाँसे मैदान व्यवस्थापन गर्न आवश्यक छ। जसले गर्दा घाँसे मैदानको योजनाबद्ध र सरल तवरले व्यवस्थापन हुने, अनियन्त्रीत वन डढेलोमा धेरै कम हुने र गस्ती कार्य थप प्रभावकारी हुन्छ।
निकुञ्ज समुदाय घाँसे मैदान साझेदारी अगाडि बढाउन पनि सकिन्छ। मध्यवर्ती क्षेत्रको समिति, सामुदायीक वन समूह, समुदायमा आधारित चोरी शिकार नियन्त्रण समूह, मध्यवर्ती क्षेत्रमा रहेको सहकारीसँग साझेदारी गरी घाँसे मैदानको व्यवस्थापन गर्न आवश्यक छ। घाँसे मैदान व्यवस्थापनको समयलाई विषेश ध्यान दिन जरुरी छ।
घाँसे मैदान व्यवस्थापनको पनि उचित समय हुन्छ र सोही समयमै नभए त्यसको कुनै अर्थ हुँदैन। त्यसैगरी, घाँसे मैदान व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग (ढिलो आयो कडा आयो भने झैँ) हालसालै भएको छ। हुन त यसको केही नकारात्मक प्रभाव त होला नै तर निकुञ्जको हजारौँ हेक्टरको घाँसे मैदान हातले काटेर सम्भव पनि छैन।
तसर्थ, बृहत स्तरमा घाँसे मैदान व्यवस्थापनको लागि प्रविधि प्रयोग गर्नु अत्यावश्यक देखिन्छ। गैँडा नदीतटीय क्षेत्रमा पाइने प्रजाति भएकोले नदीमा बग्ने पानीको गुणस्तर के-कस्तो छ र यसले गैँडालाई कस्तो असर पार्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ।
त्यस्तै, पानीका घोल र मुहान समय समयमा सरसफाई तथा उचित व्यवस्थापन गर्न जरुरी छ। गैँडा घोल प्रेमी प्रजाती हो तसर्थ पुरिन लागेका घोल बेलैमा व्यवस्थापन गर्ने, जल कुम्भी जस्ता अतिक्रमित झार हटाउने, आवश्यक ठाँउमा नयाँ घोल निर्माण गर्ने र यी घोलहरुको नियमित रुपमा अनुगमन गर्न अत्यावश्यक छ।
चोरी शिकार अर्को प्रमुख समस्या हो। गरिबीसँगै अशिक्षाको कारण यसको दर बढ्न सक्दछ। झन् अहिलेको कोभिड-१९ महामारीको प्रभावमा चोरी शिकार सोचे तथा आंकलन गरेको भन्दा अत्याधिक रुपमा हुन सक्दछ। तसर्थ, तत्काललाई आधुनिक र कडा सुरक्षा प्रबन्ध बढाउने र दिगो रुपमा भने निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा समाजिक, आर्थिक, शैक्षिक विकासलाई प्राथमिकतामा राखेर संरक्षण अभियान संञ्चालन गर्नु पर्दछ।
अन्ततः गैँडाको चोरी शिकार र यसको अंगहरुको व्यापार, बासस्थान विनाश, खण्डीकरण तथा क्षयीकरण गैँडा संरक्षणको प्रमुख चुनौतीहरु हुन्। यसलाई निराकरण गर्न संघीय, प्रदेश तथा स्थानीय सरकार र यी सरकार अन्तर्गत रहेको सम्पूर्ण निकाय तथा साझेदारी संघ-संस्थाबीच उच्च र प्रभावकारी समन्वय तथा सहकार्य हुन जरुरी छ भने संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय र क्षेत्रीय (विषेशगरी चीन र भारतसँग) सन्धी तथा सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्दै आफ्नो भूमिकालाई सक्रिय बनाउनु पर्ने देखिन्छ।
यस्तो गर्न सके, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको उद्देश्य तथा नेपालको दिगो विकास लक्ष्य अनुसारको गैँडाको संख्या सन् २०२२ सम्म ६५०, सन् २०२५ सम्म ७०० र सन् २०३० सम्म ७८३ बनाउने राष्ट्रिय लक्ष्य सजिलै प्राप्त गर्न सकी जैविक विविधता संरक्षणमा ठोस उपलब्धि हासिल हुने देखिन्छ।