सानोमा पढ्दा 'ह्युमन इज अ सोसल एनिमल' भनेर पढ्ने गरेको। ह्युमनको ठाउँमा म्यान भन्ने चलन थियो। अरु प्राणीभन्दा मान्छेहरु फरक छन् किनकी मान्छेमा विवेक हुन्छ भनेर बुझाइन्थ्यो। तर अहिले एउटा प्रश्नले एकदम घचघच्याउने गर्दछ।
के मान्छेमा साँच्चीकै विवेक हुन्छ र? भए पनि के विवेक प्रयोग गर्छन् र? भने जस्तो लाग्छ। सबै मान्छे अविवेकी भन्न त अवश्य पनि मिल्दैन तर कतिपय यस्ता घटनाहरु हुन्छन् जस्ले गर्दा यो प्रश्न दिमागमा नाचिरहन्छ। तलका प्रतिनिधि घटनाहरु जस्ले यो प्रश्न बारम्बार घच्घच्याइ रहन्छन्।
पहिलो, चाडबाडले जनताको दैलो टेक्न थालेपछि हुने बजार अनुगमनको प्रसंगले खुबै चर्चा पाउने गर्दछ। सरकारले अरु बेला त के गर्छ कुन्नी थाहा भएन, तर चाडबाड आएपछि बजार अनुगमनको प्रसंगले राम्रै स्थान पाउने गर्दछ। अहिले म्याद गुज्रेका उपभोग्य सामानमा नयाँ लेबल लगाएर बजारमा पठाउने कुराको चर्चा हरेक ठाउँमा चलिरहेको छ।
जुन सामान अब प्रयोग गर्न अयोग्य छ, त्यस्ता सामानमा नयाँ लेबल लगाएर बजारमा पठाएर ग्राहकको जीवनमाथि खेलवाड गरी कुस्त पैसा कमाउन पल्किएकाहरु के विवेकी प्राणी नै हुन् त? पैसा सबैलाई चाहिन्छ तर के पैसा नै सबै थोक हो त? अरुलाई मार्नसम्म तयार भएर कमाएको पैसाले आनन्द मान्ने मान्छेहरु कुन कोणबाट विवेकी हुन्, बुझ्न सकिएन।
दोश्रो, महिला तथा बालबालिका माथि हुने हिंसाका घटनाहरु दिन दुई गुणा रात चौगुणा जसरी बढीरहेका छन्। सबै अखबारहरुमा कम्तिमा एउटा दैनिक जसो यस्ता घटना सम्बन्धी समाचार छापिएकै हुन्छन्। अखबार हेर्दा त रिङ्गटै लाग्न थालेको छ।
'२१ वर्षीया युवतीमाथि यौन हिंसा र यातना, छोरी जन्माएकैले निरन्तर यातना, बसमै बन्धक बनाएर दुई दिनसम्म सामूहिक बलात्कार, कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ, बालिका बलात्कारको आरोपमा होम ट्युसन पढाउने युवक पक्राउ, ५ लाखको कपाली तमसुक बनाएर बलात्कारीलाई उन्मुक्ति।' यी अखबारका हेडलाइनहरु हुन्, त्यो पनि केबल २४ घण्टा भित्र छापिएका।
यति लेख्दै गर्दा अन्य यस्तै समाचारहरु थपिने क्रममै होलान्। हेडलाइन मात्र पढ्दा त रिस उठ्छ भने पूरै समचार पढ्दा त के ती अपराधीहरु मान्छे कै जुनी लिएर जन्मेका थिए र भन्ने प्रश्न उठ्दछ। निर्मला पन्त, सम्झना विक जस्ता बालिकामाथि भएका जघन्य अपराधका त यहाँ लेखाजोखा गरेको नै छैन। यस्ता कुकर्म गर्न पछि नपर्ने प्राणीलाई कसरी विवेकी प्राणी भन्ने?
अनि त्यसपछि पर्छन्, आफ्नै देशको सम्पत्ति तोड्फोड गर्ने देशका माननीयहरु। जुन जनताले चुनेर आफ्नो प्रतिनिधित्व गर्लान् भनेर चुनेर पठाए, उनीहरुले नै तिरेको करबाट जोडेको सम्पत्ति आफूले नै कमाएर दिएझैं गरी तोड्फोड गर्छन्।
मान्छे हुनुको अस्तित्व नै धर्मसंकटमा पर्ने गरी गर्ने गतिविधि हेर्दा यस्तो लाग्छ की, 'माननीय' शब्दलाई 'हाननीय' भनेर रूपान्तरण गर्दा पो उचित हुने जस्तो देखिन्छ। प्रजातान्त्रिक प्रणाली भएको देशमा प्रजातन्त्रकै धज्जी उड्ने गरी नेता ज्युहरुले गर्नु भएको हर्कतलाई कसरी विवेकी प्राणीले नै गरेको भनेर चित्त बुझाउने होला?
मान्छेमा हुने त्यही विवेकका कारणले नै गर्दा मान्छे अन्य प्राणीभन्दा भिन्न र विशेष छ। यस्ता कुकर्म गर्नेहरुले त्यो विशेषतालाई धुल्मिल्याउँदै छन्। त्यस्ता अपराधीहरुलाई जित्न नदिनका लागि कडाभन्दा कडा सजाय दिन जरुरी छ।
जनस्वास्थ्यमाथि खेलवाड गरेको अपराध, हिंसा जन्य अपराध, तथा जनतामाथि कुठाराघात गरेको आरोपमा मात्र हैन, सम्पूर्ण मानव जगतको विशेषता माथि नै घात गर्ने अपराधको लागि पनि सजाय दिनु पर्ने देखिन्छ।