गत असोज ८ गते बिहीबार बिहान ११ बजे।
सदाझैं कार्यालयमा नियमित कामहरू गरिरहँदै गर्दा अनायसै मोबाइलको रिङटोनले ध्यान खिच्यो।
विश्वव्यापी महामारी कोभिड १९ परीक्षणको लागि स्वाब दिएर घरमा बसिरहनु भएकी सहकर्मी साथीको फोन थियो त्यो। मैले के छ खबर ? भन्न नपाउँदै उताबाट मलिनो आवाजमा साथीले आफू संक्रमित भएको खबर सुनाउनु भयो।
सँगै टेबल शेयर गरेर काम गर्ने साथी संक्रमित भएको खबरले मेरो मुटु ढक्क फुल्यो। एकछिन अघिसम्म तन्दुरूस्त शरीरका मांसपेशीहरू गले जस्तो भए। झ्याल बाहिरको दृष्यहरु धमिलो देखिए।
अघि सम्मको सुन्दर कर्मथलोमा भाइरस नै भाइरस मात्र देखिन थाले। टेबल, कुर्सी, कम्प्युटर, वरपरका फाइल, कागजपत्र आदि सबैमा लाखौं संख्याका डल्ले भाइरसहरू नाचिरहेको आभाष भयो।
आफू पनि संक्रमित भएको महशुस भयो। एक गिलास तातोपानी पिएँ। एउटै विभागमा सँगै काम गर्ने अन्य सहकर्मीहरू पनि उत्तिकै जोखिममा थिए।
जसमध्ये तीन जना त पाँच/छ महिना अगाडि मात्र पहिलोचोटि आमा बनेकाहरू थिए। आफ्नै घर सम्झें जहाँ सतहत्तर हिउँद काटिसक्नु भएको बा, सत्तरी वर्ष टेकेकी र विगत पन्ध्र वर्षदेखि मधुमेह र प्रेसरको नियमित औषधि सेवन गर्दै आउनु भएकी आमा हुनुहुन्थ्यो।
साथै, भर्खर सुत्केरी अवस्थाबाट तंग्रिँदै दुई छोराहरू र बाआमा सम्हाली रहेकी श्रीमती पनि। प्रार्थना गरें गाउँको बेंशी खेतमा रहेका कुलदेवतादेखि काठमाडौंका पशुपतिनाथसँग।
एक जना सहकर्मी संक्रमित भैसकेता पनि बाँकी कसैलाई केही नहोस भनेर। आफैंलाई अनुभूति भयो, कमजोर अवस्थामा पुगेपछि जति सुकै नास्तिक भनिएकाले पनि अन्तिम सहाराको रूपमा अदृष्य भगवानसँग गुहार माग्दा रहेछन्।
त्यसैले होला, भौतिकवादको उन्मादमा मान्छे मार्ने, मन्दिर भत्काउने, मूर्ति फुटाउने जस्ता कार्यहरूमा आफ्नो ऊर्जाशील युवावय खर्च गरेका कम्युनिष्ट नेताहरूले पनि पछि कमजोर बनेको अनुभव गरे पछि भैंसी पूजा, शक्ति पीठहरूको भ्रमण, विभिन्न बाबा माताहरूको दर्शन र होलीवाइन सेवन सम्मको क्रियाकलापबाट आत्म शुद्धीकरणको प्रयास गरेको।
पन्ध्र मिनेट जति पछि अलि कम शिथिलता महशुस भयो, सायद तन र मन दुवैले सम्भावित जोखिमलाई स्वीकार गर्न थाले होला। काम गरिरहेका अन्य सहकर्मी साथीहरूलाई साथीमा संक्रमण पुष्टि भएको खबर सुनाएँ।
यस्तो लाग्थ्यो कि, पन्ध्र मिनेट अगाडि आफूले भोगेको पीडा सहकर्मीलाई समेत बोकाएर थप पीडा महशुस गरिरहेको छु।
कार्यालयका तत्काल गर्नैपर्ने केही काम सकाएर क्षेत्रपाटीस्थित रोजवड होटलतिर हिँडे कोभिड-१९ परीक्षणको लागि। जहाँ राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुका स्वास्थ्यकर्मीहरू कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिरहेका थिए।
प्रशस्त पानी पिएर गएता पनि अफिस रहेको स्थान धर्मपथबाट क्षेत्रपाटी सम्मको त्यति छोटो दूरीमा पनि आंत सुकेर आयो। जति अगाडि बढ्यो त्यति नै धड्कन बढ्न थाल्यो। क्षेत्रपाटी चोकमा रहेको फलफूल पसलेलाई रोजबड होटल कहाँनिर पर्छ ? भनेर सोध्न खोज्दा मुखबाट आवाज नै आएन।
अनुहार पहेंलो भएछ। मसिनो र टुक्रिएको आवाजको मेरो प्रश्न पछि ती पसले दाइले दाहिने हातको इसाराले करिब सय मिटर अगाडि गएर बायाँ मोडिन भने। होटल पुगेर स्वाब दिएको जानकारी अफिसमा गराएपछि भारी मन लिएर मनमैंजुस्थित घरतर्फ लागें।
म मानसिक रूपमा कमजोर भएको थिएँ। कमजोर अवस्थामा मनमा धेरैजसो नकारात्मक कुराहरू खेल्दा रहेछन्। कन्ट्याक्ट ट्रेसिङमा परेर परीक्षणको लागि स्वाब दिँदा मात्र पनि मलाई संक्रमित भैसकेको आभाष भैरहेको थियो। थप पीडा त यदि ममार्फत् यो खतरनाक भाइरस वृद्ध बा, आमा र कलिला छोराहरूमा सरिसक्यो कि भन्ने डरले गर्दा भएको थियो। आफैंलाई एक सम्भावित अपराधी सरह आत्मग्लानी भयो।
घर पुगेर बा आमालाई कसरी भन्ने, आइसोलेसनको बसाइँ कसरी व्यवस्था गर्ने, बा आमा, छोराहरू र श्रीमतीलाई पनि संक्रमण भैसकेको रहेछ भने कसरी व्यवस्थापन गर्ने भन्ने जस्ता कुरा मनमा खेल्दै गर्दा घर आइपुग्नै लागेछ।
नजिकैको एन्जेल्स मार्टबाट आइसोलेसनमा बस्दा चाहिन सक्ने केही सामानहरू किनें। ती सामानसहित संक्रमित मन लिएर घर पुगें। नियमित समय भन्दा अगावै घर आइपुगेको र मेरो केही फरक व्यवहारले बा, आमा र श्रीमतीलाई ससंकित बनायो।
सँगै काम गर्ने सहकर्मीलाई कोरोना संक्रमण पुष्टि भएकाले मेरो पनि कोरोना परीक्षणको लागि स्वाब दिएर अलि चाँडै घर आइपुगेको जानकारी गराउँदै आफू आइसोलेसनमा बस्ने र रिपोर्ट नआउन्जेलसम्म सतर्क हुन र परिवारका सदस्यबिच पनि दूरी कायम गर्न भनें।
मेरो कुरा सुनेर बा, आमा र श्रीमतीको अनुहार अँध्यारो भयो। नजिकै रहनु भएका दिदी भिनाजुलाई पनि जानकारी गराएँ। घरको परिस्थिति यस्तो बन्यो कि मलाई संक्रमण पुष्टि भएर पनि अवस्था गम्भीर भैसकेको जस्तो। जबकी मैले कन्ट्याक्ट ट्रेसिङमा परेर परीक्षणको लागि स्वाबमात्र दिएको थिएँ।
पछि संक्रमण पुष्टि भएपछि थाहा भयो, कोरोना भाइरसको सामाजिक तथा मानसिक असर यसको शारीरिक असरभन्दा कयौं गुना बढी हुँदो रहेछ। झन् बढी तनाव त यसले बा, आमा र सात महिनाको छोरामा पार्न सक्ने अनिष्ट सम्झेर भयो।
कमजोर र अत्तालिएको अवस्थामा मान्छेको दिमागमा धेरैजसो नकारात्मक विचारहरूले डेरा जमाउँदा रहेछन्। नकारात्मक सोचहरूको अधिक प्रभावले नै त मान्छेलाई डिप्रेसनमा पुर्याउने गर्दछ।
सामान्यतया बाह्र घण्टामा आइपुग्नु पर्ने मेरो रिपोर्ट आउन पाँच दिन लाग्यो। पाँच दिन सम्मको अधैर्यतालाई समाप्त गर्दै बिहीबार दिएको स्वाबको पोजिटिभ रिपोर्ट अर्को हप्ताको सोमबार तीन बजेतिर मात्र स्वास्थ्य सेवा विभागको टेलिफोनमार्फत् आइपुग्यो।
सँगै स्वाब परीक्षण गरिएका अन्य साथीहरूको नेगेटिभ रिपोर्ट आइतबार नै आइसकेकाले संक्रमण पुष्टि भैसकेकोमा म लगभग आश्वस्त भैसकेको थिएँ।
टेलिफोनको खबर त थप पुष्टि मात्र थियो। पूर्ण रूपमा होम आइसोलेसनमा बसेको नै पाँच दिन भैसकेको थियो। मेरो आफ्नै संक्रमणको खबरभन्दा पनि परिवारका अन्य सदस्यको चिन्ता बढ्न थाल्यो। तुरून्तै परीक्षण गर्दा भर्खरमात्र भाइरस सरेको रहेछ भने पत्ता नलाग्ने हुनाले केही दिनपछि परीक्षण गर्ने सल्लाह भयो।
बा, आमाको स्वास्थ्यमा अचानक समस्या आउँछ कि भन्ने चिन्ता कायमै थियो। यहीबीच बा र छोरालाई रुघा लाग्यो। मनमा झन् डर बढ्यो। संक्रमित भएर आइसोलेसनमा बसेको अवस्थामा आत्मबल बलियो हुनुपर्नेमा म कुहिएको कर्कलो जस्तै गलिरहेको थिएँ।
आराम र निन्द्राको ठाउँ चिन्ता र तनावले लिए। मेरो छातीमा पीडा हुनाको साथै अक्सिजन लेभल घट्न थाल्यो। भिनाजुले बाहिरको अवस्था सम्हाले पनि मन बेचैन थियो। बन्द कोठाबाट पर्दा उचालेर बाहिर चियाउन बाहेक गर्न सक्ने अरु केही थिएन।
म पूर्ण आइसोलेसनमा बसेको आठौं दिनमा बा, आमा, श्रीमती र छोराको स्वाब परीक्षणको लागि दिइयो। स्टार हस्पिटलका स्वास्थ्यकर्मीले पिपिइ लगाएर साँझ सात बजे स्वाब संकलन गरिरहँदा वरिपरिका छिमेकीहरू कौतुहलतापूर्वक कौसीबाट हेरिरहेका थिए। कतै फेरि मेरो घरमा पनि कोरोना संक्रमितको घर भनेर ब्यानर टाँसिदेलान् भन्ने डर।
फेरि, बा आमा, श्रीमती र छोराको स्वाब परीक्षणको नतिजा पर्खाइको पीडा थपिएको थियो। उहाँहरूको स्वाब दिएको रात जीवनमा हालसम्मकै लामो र पूरै अनिँदो रात रह्यो।
स्वाब संकलन गर्न आउने स्वास्थ्यकर्मीले भोलि दिउँसोमात्रै रिपोर्ट आउँछ भनेकाले हामी सबै नै अर्को दिउँसोको पर्खाइमा थियौं।
बिहान पाँच बजेतिर आँखा के झकाउन लागेका रहेछन् मोबाइलमा म्यासेज आयो। अपेक्षा नगरेको उक्त समयको म्यासेज श्रीमतीको रिपोर्ट तयार भएको जानकारी रहेछ। रिपोर्ट हेरें। धन्य संक्रमण देखिएन। सबभन्दा नजिक रहने उनको नेगेटिभ रिपोर्ट आएपछि राहत स्वरूप अलिकति शक्ति र साहस आयो।
बाँकी रिपोर्टको लागि मोबाइलमा म्यासेज कुरेर बसें। सामान्यतया केही मिनेटको अन्तरालमा आउनु पर्ने रिपोर्ट दश बज्दासम्म आएन। फेरि बेचैनी बढ्न थाल्यो किनकी रिपोर्ट ढिला आउनुको संकेत संक्रमण पुष्टि हुने सम्भावना रहेको थियो।
तनावै तनावको एघार घण्टापछि बल्ल साढे चार बजे बा, आमा र छोराको पनि रिपोर्ट आयो। अघिल्लो दिन मात्र स्वास्थ्य मन्त्रालयले पोजेटिभ रिपोर्ट पनि ल्याबहरूले नै दिन सक्ने व्यवस्था गरेको र श्रीमतीको भन्दा ढिलो रिपोर्ट आएकोमा शंकाले लंका जलाइसकेको थियो। हातगोडा काँपेर लुला भए, धड्कन बढ्यो अनि टाउको भारी भयो। बडो कठिनसँग कम्प्युटर खोलेर रिपोर्ट हेरें। सबै रिपोर्ट नेगेटिभ थिए। संसार जिते जस्तो भयो।
धन्य, मैले बा, आमा, श्रीमती र छोराहरूमा संक्रमण सारेको रहेनछु। ठूलो पाप र अपराधबाट मोक्ष मिलेकोको अनुभति भयो। सायद, विगत तीन चार महिनादेखि नै छुट्टै कोठामा बस्ने, परिवारसँग सकेसम्म कम घुलमेल गर्ने, स्वास्थ्य मापदण्डको पालना गर्ने प्रयासको सुखद परिणाम थियो।
अहिले घरकै आइसोलेसनमा छु। छातीको पीडा हल्का हुनाको साथै शरीरमा अक्सिजन लेभल पनि सुधार भैरहेको छ। लाग्दैछ कोरोना भाइरसलाई जितियो अब।
हाल काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बनिरहेको छ। नजिकिँदा चाडपर्वसँगै मानिसहरूको आवतजावत र भीडभाड बढिरहेको छ। भौतिक दूरी कायम, गुणस्तरीय मास्कको सुरक्षित तरिकाले प्रयोग तथा स्वास्थ्यका लागि न्यूनतम मापदण्ड पनि पालना गरेका देखिँदैन।
यस किसिमका क्रियाकलापले समुदायस्तरमा फैलिरेहेको संक्रमण ज्यामितीय अनुपातमा वृद्धि हुन जान्छ। आफू मात्र संक्रमित नभई साथीभाइ तथा परिवारका अन्य सदस्यहरूमा समेत संक्रमणको कारक बन्न सकिन्छ।
आफ्नो असावधानीले गर्दा परिवारका अन्य सदस्य, सहकर्मी तथा साथीभाइमा संक्रमणको कारक बन्नु आफू स्वयं संक्रमित हुनुभन्दा कयौं गुना बढी पीडादायी हुन्छ।
तसर्थ, अति आवश्यक नपरेसम्म घर बाहिर ननिस्कौं। भीडभाडसँग टाढै बसौं। कार्यालय, पसल तथा बाटोघाटोमा सतर्क बनौं। स्वास्थ्य मापदण्डहरूको पूर्णपालना गरौं। महामारी अनुभव गरेर सिकिने विषय होइन।
सानो असावधानीको ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं। यसैमा मानव जीवनको सार्थकता छ।