उजेली- अर्थात् उज्यालो, रात बितेर मिर्मिरे भएपछि, घाम उदाएपछि आउने बिहानीको लाली।
रातको अँध्यारो छिचोलेर प्रकाश परेपछि आउने तातो, न्यानो उजेली, दिनको सुरूआत गर्ने उजेली, आहा! चराहरू उड्न थाल्ने, संसारलाई ब्युँझाउने उजेली। लाग्दो हो, आज अचानक उजेलीको चर्चा किन? कारण छ नि।
बिहान उठ्दा देखेको उज्यालोले उजेलीको यो बखान गरेको होइन, यो त बाल विवाहविरूद्ध जनचेतना फैलाउने उजेली नामको चलचित्र हेरेर राति निदाउन नसकेर, बाहिर चकमन्न अँध्यारो हुँदा पनि उही उजेलीलाई सम्झिँदै गर्न लागेको उसैको वर्णन हो।
सुरूआत यु-ट्युबलाई धन्यवाद टक्राएर गर्न चाहें। यदि यु-ट्युब नहुँदो हो त, मेरो बाबा-आमाको विवाह अगाडि नै बनेको यो फिल्म सायद मैले हेर्न पाउने थिइनँ।
'उजेली' हेर्न बस्दा कुनै ठूलो कलाकार अथवा खतरा परिदृश्यको कल्पना नगरी बस्नुपर्छ किनकी यसमा न त कुनै चर्चित कलाकार छन् न कुनै सुन्दर डाँडामा खिचिएको म्युजिक भिडिओ।
यसमा छन् त केवल उजेलीका निर्दोष सपना, पढ्ने चाहना, ठूलो मान्छे बन्ने र'हामी त बिहे गर्दैनम्' भन्ने साहस।
यहाँ गीतको सट्टामा उजेलीको बिहेमा बज्ने बाजा छन् जुन अन्त्यसम्म पनि कानमा गुञ्जिरहन्छ।
छोरालाई दूध भात खान दिने र छोरीलाई भने मकै भट्ट पनि सबैले खाएपछि बल्ल खालिस् भनेर भन्ने उजेलीकी आमा पनि छन्।
'छोरीलाई धेरै पढाए आमा बाबुको हातबाट फुत्किन्छन्' भन्ने गाउँले पनि छन्।
‘उजेली’का सबै पात्र साधारण लाग्छन्, जो छोरीलाई सानैमा बिहे गरेर पठाउनु नै उसको भलो हो भन्नेमा विश्वस्त छन् र त्यसैलाई धर्म मानेका छन्।
उजेली र ममा यति मात्र फरक छ, उजेलीका बुवाआमाले उसलाई बिहे गरेर पठाएर आफ्नो कर्तव्य पूरा गरे तर मेरा बाबा मामुले मलाई न बिहे गर भन्नु भयो, न त यो बन नै भन्नुभयो, जे गर्न मन छ, जे बन्न मन छ, त्यही गर्ने र बन्ने स्वतन्त्रता दिनुभयो।
उजेलीले बुवाआमाको विरोध गरिन, ज्ञानी भएर आफ्नो बाहुनको खुट्टाको पानी खाई तर मैले भने अहिलेसम्म बाहुन भनेर घरमा पूजा गर्न आउने गुरु र आफ्ना साथीहरूलाई मात्र चिनेकी थिएँ। यस्ता कति नै फरक छन् म र उजेली बीच तर पनि हामी उस्तै छम्, किनकी मैले उसको विवशता बुझ्छु र उजेलीले मेरो।
म चाहेर पनि उजेलीलाई पढ भन्न सक्दिनँ तर उसको पढेर ठूलो मान्छे बन्ने सपना मैले आफूमार्फत् साकार गर्न सक्छु।
यस्ता कैयौं उजेलीहरू सानैमा ठूला भएका छन्, हुर्किनै नपाई, बालापनमा रमाउन नपाई, तर पनि घर धन्दामा खुसी खोजेकै छन्, पक्कै पनि त्यो खुसी तिनले रोजेका भने थिएनन्।
१० हिउँद काटेकी छोरीको उमेर ढल्क्यो रे, ऊ छिप्पी रे सुन्दा २२ वटा हिउँद काटेकी म बुढियाँलाई लाजै लाग्यो, म त त्यसो भए छिप्पिएर पनि काम नलाग्ने भइसकें होला। हुन त अहिले र त्यो फिल्म बन्दाका परिस्थिति बिल्कुलै फरक छन्।
अहिले त कानून बनेका छन्, मानिसहरू केही हदसम्म सचेत भइसकेका छन्- बिचरा हाम्रा हजुरआमाहरूले त्यही उजेलीकै जस्तो जीवन बिताए होलान्। जसरी म अहिले निष्फिक्री आफ्ना जीवनका नयाँ आयामहरू आफैं रोज्दै छु, मेरा हजुरआमाहरूले त्यो मौका पाएनन्।
अरुको आङको जुम्रा देख्ने आफ्नो आङको भैंसी नदेख्ने भन्छन्, त्यसैले म भने आफ्नै आङको भैंसीबाट कुरा गर्न चाहें।
मेरो घरतिरको हजुरबुवा अर्थात् मेरो बाबाको बाका दुइटा श्रीमती हुनुहुन्थ्यो। जेठी मुवाको नाम सुन्तली अनि कान्छी मुवा (मेरो बाबाको आमा)को नाम चाहिँ पम्फा।
सुन्दा अजिब सुनिए पनि पम्फा भनेको फूल हो है फेरि। जेठी मुवाको बिहे त बच्चामै भएको थियो रे।
एउटा ठूलो बुवा र सबभन्दा ठूलो फूपु जन्मिएपछि बुवाले अर्की श्रीमती ल्याउनुभएछ।
बुवाले मुवासँग प्रेम विवाह गर्नुभएको रे। अब कसरी लभ पर्यो? सुन्तली मुवा त्यति राम्री हुँदाहुँदै किन अर्को श्रीमती ल्याउनुभाको? भनेर सोध्ने उमेर नपुग्दै बुवा मुवा दुबै बितेर जानुभयो।
मेरो मुवा बिहे गरेर आउँदा परिपक्व हुनुहुन्थेन (सही उमेर किटानी गर्न गार्हो छ, पहिला पहिला छोरी मान्छेको चिना बनाउँथेनन् त्यसैले ठीक उमेर नै थाहा छैन)।
मुवाका छ जना छोराछोरी हुनुहुन्छ- पाँच जना दिदीहरू र अन्तिममा मेरो बाबा। बाबा जन्मिएपछि त मुवाको रजस्वला पनि हुन छोडेको रे, त्यसैले बाबा आमाको दूधबाट पनि वञ्चित रहनुभयो।
उजेलीको कथाले आज मुवाको याद दिलायो। मुवाको जीवनमा पनि यस्ता कति घटना घटे होलान्।
'हजुरले यति धेरै छोरा-छोरी कसरी जन्माउनुभयो?', ' बुवासँग लभ कसरी पर्यो?' भनेर सोध्न पाइनँ भनेर सोच्थेँ, तर अहिले लाग्छ नसोधेकै ठिक रैछ क्यार।
छ जना त जिउँदै छोरा-छोरी हुन् मेरो मुवाका, अरु तीन जना पनि हुनुहुन्थ्यो रे- एउटा छोरी र दुई जना छोरा तर तीनै जना बाँच्नु भएन। तीन जना बच्चाको मृत्यु सहेर मुवाले आफूलाई सम्हाल्ने मौका पाउनु भयो कि भएन होला!
उजेलीलाई पढ्ने सौख थियो, मेरी मुवालाई के को सौख थियो खोई। मामु भन्नुहुन्छ, मुवाको आमालाई पढ्न लेख्न आउँथ्यो रे तर मुवालाई भने नआउने। राति- राति सँगै सुत्दा ढाड मिच्दिँदै हामीलाई कथा सुनाउनु हुन्थ्यो मेरी मुवा।
मुवाले सुनाएको सुनकेशरी मैंयाको कथा मैले लेखेर स्कुलमा बुझाएको थिएँ र पछि स्कुलको वार्षिक पत्रिकामा पनि छापिएको थियो।
मुवालाई देखाएँ देखाइनँ याद नै छैन, तर देखाएको भए आफूले सुनाएको कथा छापिँदा मुवा पक्कै खुसी हुनुभाथ्यो होला!
पाँच-छ जना नाति खेलाउने इच्छा थियो रे मुवालाई। दाइपछि म जन्मिँदा, छोरी भनेर हेर्न पनि आउनु भएन भनेर मामु अझै चित्त दुखाउनु हुन्छ।
भाइ जन्मेपछि डाक्टरले अब बच्चा पाउन मिल्दैन भन्यो भनेर निराश हुनुभाथ्यो रे मुवा।
यो सबमा मुवाको दोष थियो र? जन्मदेखि दाजुभाइले धेरै माया पाएको देखेर हुर्किनु भयो, बिहेपछि छोरै छोरा जन्माउनु भनेर आशिर्वाद पाउनुभयो, नाति मात्रै खेलाउने इच्छा त समाजले नै थमाइदिएको थियो नि! जे देख्नुभो, जे सिक्नुभो, जे भोग्नुभो, त्यही अनुसार व्यवहार गर्नुभो।
मलाई यसमा केही गुनासो छैन मुवा, हजुरले कुनै नौलो कुरा गरेको भए पो गलत भन्नु। त्यतिबेलाको चलन नै त्यस्तै थियो।
एउटा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याउने, त्यहीमाथि लभ गरेर ल्याउने मेरो हजुरबा त्यतिबेलाका लागि महसुर नै मान्न पर्छ।
पहिलो विवाह गर्दा यस्तै १२-१३ वर्षको हुनुहुन्थ्यो रे बुवा। अब बच्चैमा बिहै हुँदा थाहा नभएर त होला नि अलि उमेर भएपछि आफैंले रोजेको जीवनसाथी खोजेर ल्याउनुभयो।
तर एकचोटि विवाह गरेपछि, श्रीमानले अर्की ल्याए पनि सहनु पर्ने मजबुरी ठूली मुवाले जस्तै अरु कति उजेलीहरूले भोगे होलान्।
मलाई त याद छैन त्यति, तर बाबा मामु भन्नुहुन्छ, बुवाले मलाई बिछट्टै माया गर्नुहुन्थ्यो रे। गाउँ होस् वा बेंशी मलाई बोकेर हिँड्नुहुन्थ्यो। छोरा हुनुपर्ने भनेर भनिराख्नु हुन्थ्यो रे। अरु भए अपमानित महशुस गर्थे होलान्, तर मलाई यो कुरा मेरो तारिफ जस्तो लाग्छ।
त्यो जमानामा दुई वटा बिहे गर्ने व्यक्तिले छोरी मान्छेलाई त्यसो भन्नु पछाडि केही त कारण थियो होला।
बुवाले छोरामा हुनुपर्ने त्यस्तो के गुण ममा देख्नुभएछ भन्ने कौतुहलता अझै छ मनमा, यस्ता कति प्रश्नका उत्तर मैले अब पाउन सक्दिनँ।
उजेली हेरेपछि मैले मेरा पूर्खाहरूको कथा बुझ्दै छु। जे कुरालाई अहिले हामी लैङ्गिक समानताको विरूद्धमा छ भनेर वकालत गर्छौं, यही कुरा त्यतिबेला परम सत्य थियो, परमात्माको आदेश थियो। त्यसको दुःख सजिलै अपनाएका थिए मान्छेले, अझ भनौं महिलाले।
मुवा, आज हजुर यहाँ भएको भए हजुरलाई पनि यो फिल्म देखाउने थिएँ। हजुरका जीवनका किस्साहरू सुन्ने थिएँ। जे कुरा मैले पढेर जान्न सकिनँ हजुरले आफ्ना भोगाइले मलाई पढाइदिनुहुन्थ्यो होला।
हुन त मामुको जीवनको अनुभव पनि उजेलीभन्दा कम छैन।
सत्र हिउँद काटेपछि नै मामुलाई बिहेको प्रस्ताव आउन थाले। बुबा (मामुको बुबा) लाई छोरीको बिहे गर्दिन मन थिएन रे, उजेलीको बुवालाई जस्तै अझै पढाउन, व्यवहारिक बनाउन मन थियो रे तर बाबाको तर्फबाट कर गरेपछि विवश भएर बिहे छिनिएको रे।
सत्र वर्षकै उमेरमा, सारी लगाउन नआउने, टपरी गाँस्न नआउने, उकाली ओराली नगरेकी मेरी मामुको विवाह, देख्दै नदेखेको मेरो बाबासँग भयो।
बाबा पनि एक्काइस मात्र टेक्नुभएको थियो। पढाइ नसकी, जागिर नखाइ विवाह बन्धनमा बाँधिएका मेरा बाबा मामुले जीवनमा कति व्यवहारिक दुःख भोग्नुपर्यो, त्यसको गिन्ती नै छैन।
भर्खर बिहे भएकी मेरी मामुलाई जेठानी पर्नेले अब घरकाले पढाउँदैनन् भन्दा कति दुःख लाग्यो होला। त्यत्रो घरधन्दा भएको घरकी एकमात्र बुहारी त्यहिमाथि बिरामी सासू र तिन छोराछोरी, सजिलो पक्कै थिएन होला।
अठार वर्षमै आमा बनेकी मेरी मामुको स्वास्थ्य अहिले कमजोर हुनु कुनै आश्चर्यको कुरै होइन।
मेरी सबभन्दा ठूली फूपुको बिहे यस्तै आठ-दस वर्षमा भएको थियो। भिनाजूसँग गट्टा खेल्दै हुर्किनु भयो। भिनाजूले साह्रै माया गर्नुहुन्थ्यो रे। सबै त्यति भाग्यमानी हुँदैनन्, दिदी पनि कहाँ त्यति भाग्यमानी हुनुभो र!
मेरो बाबा जन्मिँदा दिदीको जेठो छोरा दुई वर्षको भइसक्नु भाको थियो। छिट्टै आमा बन्नुभाको दिदीको तेस्रो बच्चा पेटमै हुँदा भिनाजूको दुर्घटनामा मृत्यु भयो- त्यसपछि तीन बालबच्चाको जिम्मा दिदी एक्लैमा पर्यो।
अहिले दिदी सुखी हुनुहुन्छ तर उहाँको संघर्ष उहाँको फुलेको कपालमा कतै अल्झिएको छ, दिदीले बिर्सिनुभाको छैन।
त्यसैले 'उजेली' चलचित्र होइन, यथार्थ हो हाम्रो।
त्यो भूत कालको कुरा हुन सक्दैन किनकी उजेलीजस्ता कैयौं बाल दुलहीहरू अहिलेका हाम्रा आमा, हजुरआमा, फुपू, सासू हुन्। उनीहरूको दु:ख हामीले बुझ्न सक्दैनौं तर उनीहरूको सोच पितृसत्तात्मक छ भनेर दोष थुपार्न पनि सक्दैनौं।
याद नभएदेखि नै बिहान उठेर पतिको खुट्टाको पानी खानुपर्छ भनेर सिक्दै आइरहेका उजेलीहरूको के दोष, दोष कसैको छैन, दोष छ त केबल भगवानको, जसको भरमा मारे पाप पाले पुण्य भनेर बाबु आमाले आफ्नी नाबालक छोरी एक अन्जान व्यक्तिलाई सुम्पिने गर्थे र अझै पनि सुम्पिन्छन्।
अहिले यो कोभिड-१९ को त्रासले गर्दा कैयौं बालबालिका पठनपाठनबाट वञ्चित भएका छन्,युनिसेफलगायतका अन्य अन्तराष्ट्रिय संघ संस्थाले यो महामारीको समयपछि बालिकाहरू पढाइमा फर्किंदैनन् भन्ने अनुमान लगाएका छन्।
बाल विवाहको दर बढ्ने आंकलन गरिएको छ। यतिका वर्षदेखि चलाउँदै आएका अभियानहरू, जनचेतना सबै धराशायी हुनेछन् र उजेलीको कथा फेरि नदोहोरिला भन्न सकिन्न।
अब यस्तो हुन नदिन, उजेली जस्ता पात्रहरूसम्म यो कुरा पुर्याउन आवश्यक देखिन्छ, तिनका बुवा-आमालाई सम्झाउन सक्नुपर्छ, अब अरु कुनै छोरीलाई उजेली नबनाउनु भनेर।
आखिर नाम उजेली भएर मात्र जीवन उज्यालो हुन्न रहेछ, ज्ञान र समयको परिपक्वताले नै जीवन, परिवार र समाज सार्थक हुन्छ।
'उजेली' बाट केही सिकौं छोरीलाई पनि पढाऔं, कोरोना होस् वा भगवानको आदेश, नाबालिक छोरीको बिहे गराएर सजायको भागीदार नबनौं।