मैले आजकल आफैसँग प्रश्न सोध्ने गर्छु, म डराउने कि नडराउने? अनि फेरि अर्कौ प्रश्न मनमा आउँछ, डराउन त डराउने तर कोसँग मात्र डराउने? मलाई जन्माउने, मलाई हात समाएर हिड्न सिकाउने आफ्नै बाबुसँग डराउने हो कि?
मलाई सानोदेखि नै हुर्काइ ठूलो बनाउने आफ्नो काकासँग डराउने कि? मलाई जिन्दगीभर हरेक सुख-दुखमा साथ दिन्छु भनेर विवाह गरेर लैजाने श्रीमानसँग मैले डराउन पर्ने हो कि? बुहारी हैन, छोरी बनाउछु भनेर धुमधामले घर लैजाने ससुरासँग डराउने हो कि?
परिवार, आफन्त, समाज, इष्ट मित्र को-कोसँग मैले डर मान्न पर्ने हा? अनि कहिलेसम्म? आजकल पत्रिका पढ्न, फेसबुक हेर्नै डर लाग्छ। आङ नै सिरिङ्ग भएर आउछ, हरेक दिन हुने बलात्कारको घटनाको बारेमा पढ्दा अनि सुनिरहनु पर्दा।
अनि फेरि अर्को प्रश्न मनमा उब्जिन्छ, कतै म पनि असुरक्षित त छैन? म मात्र हैन, मेरी आमा, मेरी छोरीको बारेमा सोच्न पुग्छु, डरले झन् कसिलो गरी डेरा जमाउन थाल्छ। सोचेर नै मन काप्न थाल्छ, कतै कुनै राक्षसको नजर हामी माथि त परेको छैन?
हरेक दिन हामी डराइ-डराइ बाच्न परेको छ, देश अहिले कारोनाको महामारी जुधिरहेको छ, तर हामी महिला भने साथ साथै आफू असुरक्षित हुनको डरसँग बाचिरहेको छौँ। क्वारनटाइनमा बस्दा होस् या अन्त कतै, जहाँ भए पनि सुरक्षित महशुस गर्न सकेका छैनौँ। देशमा लकडाउनले अर्थतन्त्र डामाडोल भइरहेको छ, धेरै मान्छेहरु फुर्सदिलो भएर घर बसिरहेका छन्, अहिले फूर्सदिलो हुने केही व्यक्तिहरुसँग डराउनु परिरहेको छ।
सधैँ घरबाट बाहिर अफिस जान भनेर निस्कने गर्छु, तर मनमा डर लिएर बाहिर जानुपरेको छ। डर लाग्छ, घरबाट त म सुरक्षित बाहिर आए, अब बाहिरबाट घर सुरक्षित पुग्छु कि पुग्दिन भनेर। अँध्यारोमा मात्र हैन, उज्यालो पनि एक्लै हिड्न डर लाग्छ।
मैले आमाको गर्भबाट जन्मिएर ९२ वर्षमा पुग्दासम्म असुरक्षित महशुस गर्दै डराइ-डराइ बाच्न परेको छ। सायद हाम्रो सरकारको नजरमा बलात्कारको घटना संख्यात्मक रुपमा अरु देशको तुलनामा कम घटेको आँकडा छ होला, सो चिन्ता नलिन भन्नु भएको छ। तर मलाई त डर लाग्छ नि, बलात्कार हुनेहरुको कम आँकडामा म पनि त पर्न सक्छु कि?
हरेक दिन घर फर्किएपछि, म आज सुरक्षित फर्किएँ भनेर खुसी हुन नपाउदै अर्को पल भोलि के हुने होला भनेर डरले सताउन थाल्छ। के अब हामी सधैँ डराइ-डराइ मात्र जिउने हो र?
डर अनि असुरक्षित समाजमा हामीले कहिलेसम्म बाच्नु पर्ने हो? महिला भएर जन्मिएको हुनाले अब सधैँ डरलाई नै आत्मासाथ गरेर बाच्नु पर्ने हो? अनि जसले बलात्कार गर्छ, उसले डराउनु पर्ने समय कहिले आउने छ त? बलात्कार त परै जाओस्, कुनै महिलाको बारेमा गलत मात्र सोचेर पनि पुरुष डराउने अवस्था कहिले आउन्न र?
जबसम्म बलत्कारीलाई कडाभन्दा कडा सजाय दिइने कानुन बन्दैन, तबसम्म उसको मनमा डर पैदा हुन सक्दैन। जबसम्म समाजले बलात्कार हुनेलाई भन्दा बलात्कार गर्ने पुरुषलाई बचाउन छोड्दैन, तबसम्म महिलाले सुरक्षित भएर बाच्न पाउने छैन। समाजले मात्र हैन, परिवारले पनि छोरा बलत्कारी छ भने बचाउनुको सट्टा सजाय दिन सके भने थोरै भएपनि महिलाले राहतको सास फेर्न सक्छिन्।
बलात्कारले महिलाको शरीरमा मात्र घाउ हुँदैन, उसको मनमा पनि घाउ हुन्छ, उसको पूरा जीवनमा धक्का लाग्छ। सायदै कुनै महिला बलात्कारको पीडाबाट कहिले बाहिर निस्कन सक्छिन् होला, हरेक दिन हरेक पल मृत्यु नजिक आफूलाई महशुस हुन्छ। कुनै पुरुषले सायद एकपटक बलात्कार गर्छ होला तर उसको जीवनमा सधैँभरिलाई बलात्कारको ठप्पा लाग्छ।
जब हिम्मत गरेर न्याय माग्न पाइला अगाडि बढाएको मात्र हुन्छ, फेरि उसको बलात्कारको नयाँ सिलसिला सुरु हुन्छ। कहिले समाज, कहिले न्याय माग्न जाँदा सम्बन्धित हरेक क्षेत्रबाट फेरि त्यही अपमान सहनुपर्छ। यस्तै हुने भएर होला कतिपय बलात्कारको घटनालाई कि त दबाउने प्रयास गरिन्छ, कि त मिलापत्र गराउने गरिन्छ तर त्यस्तो गर्दा फेरि कुनै महिला त्यही बलत्कारी शिकार हुन पुग्छिन्।
अझ बलात्कारको प्रयासको घटनाहरु त कहिले बाहिर नै आउदैन, सायद उसले पहिलो प्रयास गर्दा नै उसलाई रोक्ने कदम हिम्मत गरेर अगाडि बढाउन सकेको भए फेरि अर्को महिलालाई उसको शिकार हुनबाट बचाउन सकिन्थ्यो होला।
हुन त हाम्रो समाजमा सगिंता जस्तै कतिले थोरै शाहस गरेर आवाज उठाउन खोज्दा समाजका केही अगुवाइहरुले उसको आवाजलाई दबाउने गर्छन् जसको नतिजा उसले आफैलाई मार्नुभन्दा अर्को विकल्प नै देख्दिनन्।
हरेक दिन यस्तै यस्तै घटनाहरुको बारेमा सुन्दा, पढ्दा शरीर पूरै काप्न थाल्छ, मन डराउन थाल्छ। थाहा छैन, कहिलेसम्म हामीले यस्तै डरमा बाच्नु पर्ने हो?