जलवायु परिवर्तन अहिलेको जल्दोबल्दो विश्वव्यापी समस्या हो। यसको असर विकासोन्मुख देशको कृषि तथा जीवनयापनमा नाटकीय रुपमा बढ्दै गरेको देखिन्छ।
जलवायु परिवर्तनले गर्दा देखा पर्ने अनेक वातावरणीय समस्या जस्तैः गर्मीयाममा लामो समयसम्म सुख्खा खडेरी, वर्षायाममा अतिवृष्टीका कारण डुबान तथा पहिरो र भूमण्डलीय उष्मीकरणको कारणले हाम्रा पुराना बालीनालीका जातहरू तथा पशुपंक्षीहरूले पहिलेको जति उत्पादन दिन सकेका छैनन्।
तसर्थ, जलवायु परिवर्तनसँगै कृषिमा अनुकूलता ल्याउन पर्ने अहिलेको मुख्य चुनौती रहेको छ। पर्याप्त स्रोत साधनहरुको अभावमा विकासोन्मुख देशका किसानहरुमा जलवायु परिवर्तनबाट कृषिमा देखा पर्ने समस्याबाट लड्न सक्ने क्षमता विकसित राष्ट्रको तुलनामा न्यून हुन्छ।
त्यसैले हाम्रो जस्तो मुलुकमा कृषिको लागि अबको दिशा भनेको एकै साथ जलवायु परिवर्तन न्यूनीकरण गर्नु, जलवायु परिवर्तनको असरबाट कृषिलाई बचाउनुका साथै बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै कृषि उत्पादनमा पनि वृद्धि गर्नु पर्ने देखिन्छ। जुन तीन कुरा अहिले हामीले अपनाइरहेको कृषिले सम्बोधन गर्न कठिन छ। तसर्थ, देश तथा किसानको हितको लागि अबको हाम्रो बाटो भनेको जलवायुमैत्री कृषि प्राणालीलाई अंगाल्दै जानु हो।
जलवायुमैत्री कृषि भन्नाले यस्तो कृषि प्रणाली हो जहाँ जलवायु परिवर्तन गर्न निर्णायक भूमिका खेल्ने कृषिका क्रियाकलापहरुबाटै निस्कने हरितगृह ग्याँसहरुको उत्सर्जनलाई केही हदसम्म कम गरिन्छ र जलवायु परिवर्तनका असरहरूबाट कृषिलाई बचाउनुका साथै कृषि उत्पादनलाई दिगो रुपमा बढाउन पहल गरिन्छ।
जलवायुमैत्री कृषि प्रणालीले हाम्रा पुराना वातावरणमैत्री कृषि क्रियाकलापहरुदेखि नयाँ विकसित कृषि प्रविधिहरुलाई एकीकृत गरी सम्पूर्ण कृषि प्रणालीलाई नै वातावरणमैत्री दिगो तथा जलवायु अनुकूल बनाउँछ। विभिन्न अनुसन्धान अनुसार नेपलामा अपनाउन सकिने केहि जलवायुमैत्री कृषि प्रविधिहरु यस प्रकार रहेका छन्:
१. सघन धान खेती प्रविधि (एसआरआई)
कम बीउ, पानी र रासायनिक मल तथा अत्याधिक प्राङ्गारिक मलको प्रयोग गरेर पहिलेभन्दा बढी धान उब्जाउने गरी गरिने धान खेतीलाई नै सघन धान खेती प्रविधि भनिन्छ। यसमा ८-१० दिनका कलिला बेर्नालाई २५-३० सेमीको फरकमा एउटा एउटा बेर्ना गरी रोपीन्छ र पानीलाई लामो समयसम्म खेतमा जम्न दिइदैन तथा यसमा रासायनिक मलभन्दा पनि प्राङ्गारिक मलको बढी प्रयोग गर्ने गरिन्छ।
सघन धान खेतीको लागी ३०-५०% कम पानी खपत हुन्छ तथा सामान्य धान खेतीको भन्दा २२-६४% ले मिथेन ग्याँस उत्सर्जनमा कमि आउनुका साथै धानको विरुवामा जलवायु परिवर्तनका कारण बढीरहेको खडेरी तथा बढ्दो तापक्रमलाई सजिलै सहन सक्ने क्षमतामा वृद्धि हुन्छ।
२. एकीकृत शत्रुजीव व्यस्थापन (आईपिएम)
वातवरणलाई कम प्रभाव पारी बालीनालीका शत्रुजीवहरू जस्तै रोग, किरा, झारपात, चरा, मुसा आदिलाई आर्थिक, न्यायोचित एवं पर्यावरणीय दृष्टिकोणले दिगो रुपमा बालीनाली संरक्षण गर्नुलाई आईपिएम भनिन्छ। यो विधिमा बालीनालीलाई शत्रुजीवहरुबाट बचाउन रासायनिक विषादीहरुको प्रयोग कम गरिने वा गर्दै नगरिने हुँदा किसानका लागि सस्तो, सुलभ, सुरक्षित र दीर्घकालीन एवं वातावरणमैत्री मानिन्छ।
बालीनालीमा प्रयोग गरिएका विषादीहरु माटो, जीवजन्तुहरु, हावापानीमा लामो अवधिसम्म सक्रिय अवस्थामा रहने तथा पारिस्थिति प्रणाली खलबलाई नयाँ समस्याहरु पैदा गर्ने हुन्छ। त्यसैले यस्ता समस्याहरु आउन नदिन तथा भइरहेको समस्याहरु पनि न्यूनीकरणको लागि एकीकृत शत्रुजीव व्यवस्थापन उत्तम विकल्प हो।
३. एकीकृत मल खाद्य व्यवस्थापन
बिरुवालाई चाहिने सबै खाद्यतत्त्वहरू आवश्यकता अनुरूप, न्यायोचित रूपमा उपलब्ध गराउन, रासायनिक मलसहित प्राङ्गारिक मलहरूको यथासम्भव स्रोतहरूलाई अधिकतम उपभोगमा ल्याइ बाली व्यवस्थापन, माटो व्यवस्थापन र खाद्यतत्त्व व्यवस्थापनलाई टेवा दिँदै वातावरणमा न्यून असर पार्दै माटोको दिगो उर्वराशक्ति व्यवस्थापन गर्दै जाने प्रकृयालाई एकीकृत खाद्यतत्त्व व्यवस्थापन भनिन्छ।
किसानले माटोमा बोटबिरुवालाई आवश्यक पर्ने जैविक पदार्थ गोठेमल/कम्पोष्ट मल, हरियोमल, प्राङ्गारिक पदार्थ/बालीका अवशेष, घरायसी कुहिने फोहरबाट उपलब्ध गराउन सक्छन् तथा चाहिएको अवस्थामा माटोलाई असर नगर्ने गरी रासायनिक मल हालेर मलखाद्य व्यवस्थापन गर्नु पर्छ जसबाट माटो तथा वातावरणमा प्रतिकुल असर नपारिकन उत्पादन बढाउन सकिन्छ।
४. संरक्षण तथा शून्य खनजोत कृषि प्रविधि
न्यूनतम खनजोत वा कुन पनि खनजोत नगरिकन बाली लागाउने प्रविधिलाई नै संरक्षण तथा शून्य खनजोत प्रविधि भनिन्छ। यस प्रविधि मार्फत एउटा बाली भित्राइ सकेपछि कमसेकम खनजोत गरेर वा कुनै पनि खनजोत नगरी अर्को बाली लगाइने हुनाले बढ्दो जनशक्ति अभाव एवं जलवायु परिवर्तनको असरबाट कृषि र किसानलाई बचाउन सकिन्छ।
शून्य खनजोत प्रविधि अन्तर्गत संरक्षित कृषिका तीन आधारभूत स्तम्भहरु, माटोलाई कमभन्दा कम चलाउने, माटोको गुणस्तर वृद्धिका लागि छापोको प्रयोग गर्ने र बालीचक्र जस्ता कुराहरुको कुनै न कुनै माध्ययमबाट अवलम्बन भएको हुन्छ।
सो कारणले गर्दा शून्य खनजोत प्रविधिबाट माटोमा कार्वन खपत बढाउने र हरितगृह ग्याँस उत्सर्जनमा कम गराइ जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न मद्धत गर्ने एक जलवायु मैत्री असल कृषि अभ्यास हो। शून्य खनजोतमा लसुन खेती तथा गहुँ खेती अहिले किसानको स्तरमा मन पराइएका शून्य खनजोतका प्रविधिहरू हुन्।
५. बाली चक्र प्रणाली
कुनै एक जमिनमा हरेक वर्ष एकै बाली नलगाई बाली फेरी फेरी लागाउने पद्धतिलाई बाली चक्र प्रणाली भनिन्छ। एकै बाली उही जग्गामा वर्षौसम्म लगातार लगाउँदा बालीमा रोग किराको प्रकोप बढ्नुका साथै माटोको उर्वराशक्तिमा पनि कमि आउने हुन्छ। त्यसैले बाली चक्र अपनाउँदा धेरै मलपानी आवश्यक पर्ने र कम मलपानी आवश्यक पर्ने बालीलाई एकपछि अर्को मिलाई लगाउने त्यस्तै गरी फरक जरा प्रणाली भएका बालीहरुलाई एक पछि अर्को गरी लगाउनु पर्दछ जसले गर्दा माटोको उर्वराशक्ति नाश नहुने एवं माटो र बाली पनि स्वस्थ हुने गर्दछ।
६. मिश्रितबाली/अन्तरबाली कृषि प्रणाली
एकै समयमा एकै जमिनमा दुई वा सोभन्दा बाढी बालीहरु रोपी खेती गर्ने तरिकालाई मिश्रीतबाली वा अन्तरबाली भनिन्छ। मिश्रित खेती अपनाउदा एकै जमिनमा धेरै बाली तथा प्रजाति हुने हुँदा यदि जलवायु परिवर्तनको असरले कुनै एक बालीले उत्पादन दिन सकेन भनेपनि अरु बालीको उत्पादनले किसानमा पर्ने आर्थिक भारलाई न्यूनीकरण गर्छ।
मिश्रित खेती प्रणाली मार्फत रोग किरा तथा झारपातहरूको खतरालाई कम गर्न मद्धत पुग्छ। यो खेती प्रविधिले जलवायु परिवर्तनका असर तथा अन्य वातावरणीय प्रतिकुलताले देखा पर्ने खडेरी, डुवान, हावाहुरी जस्ता खतराहरूबाट जोगिन मद्धत गर्छ।
यो पद्धति अपनाउँदा रासायनिक मल र विषादीको कम प्रयोग अथवा प्रयोग नै नहुने, माटोका खाद्य तत्वहरूको नाश नहुने भएकाले जलवायु परिवर्तनको न्यूनिकरणमा पनि सकरात्मक भूमिका रहन्छ। उदाहरणको लागिः मकैसँगै दलहन बाली (बोडी, भट्टमास) लगाउँदा समग्र उत्पादनदेखि वातावरणमा समेत फाइदा पुग्ने हुन्छ।
७. थोपा सिँचाइ प्रविधि
पानीको अभाव भएको ठाउँमा वा पानि अभाव हुने मौसमा निरन्तर र उचित मात्रामा बिरुवालाई थोपा थोपाको रुपमा पानी दिईरहने प्रविधिलाई थोपा सिँचाइ प्रविधि भनिन्छ। सिँचाइको लागि परम्परागत रुपमा आवश्यक पर्ने पानीको अभाव बढ्दै गएपछि कम पानीको प्रयोगबाट सिँचाइ गर्नको लागि थोपा सिँचाइ प्रविधि विकास भएको हो।
पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण सुख्खा बढेर पानीको तीव्र अभाव भएका ठाउँहरुमा थोपा सिँचाइ प्रविधिको उपयोग बढेको छ। थोपा सिँचाइ प्रविधिको प्रयोगबाट कम पानीले धेरै सिँचाइ गर्न सकिन्छ। यस प्रविधिको प्रयोगले अधिकतम चिस्यानले गर्दा बिरुवाहरुमा लाग्ने रोगहरुमा कमी हुनुका साथै झारहरुको विकास पनि कम हुने गर्दछ जसले गर्दा सहज रुपमा बाली उत्पादनमा वृद्धि हुन्छ।
८. आकाशे पानीको संकलन प्रविधि
आकाशे पानी संकलन प्रविधि भन्नाले प्राकृतिक रुपमा परेको पानीलाई घरको छानामा वा अन्य कुनै सङ्कलक वस्तु हुँदै सङ्कलन गरी भण्डारण गर्ने विधि हो। सतही बहावलाई संकलन गरी कृषि बालीमा पठाइ भू-क्षय हुनबाट रोक्न र घरको छानाबाट संकलन गरी भण्डारण गरिएको पानीलाई भाडा पखाल्न, गाडीहरु सफा गर्न, लुगा धुन प्रयोग गर्न सकिन्छ।
विशेषतः यो प्रविधि पानी कम पाइने पहाडी तथा तराइका भेगमा उपयुक्त हुन्छ। यो प्रविधि ग्रामीण भेगमा मात्र नभइ सहरी क्षेत्रमा पनि उत्तिकै प्रयोग गर्न सकिन्छ। वर्षा भएको समयमा घरको छानाबाट वा भिरालो जमिन वा गल्लीबाट बग्दै जाने पानीलाई एक निश्चित क्षेत्रको सबै तर्फबाट एक तर्फ तर्काउँदै एक ठाउँमा जम्मा गरी (घैटो, घ्याम्पो वा ट्याङ्की, पोखरीमा) राख्ने र आफ्नो आवश्यकता अनुसार उपयोग गर्नाले पानीको अभाव भएको ठाउँमा पानीको समस्याबाट पार पाउन सकिन्छ।
९. सौर्य उर्जाबाट पानी तान्ने प्रविधि
वस्ती तथा खेतबारीभन्दा तल रहेको पानीको स्रोतको पानीलाई सौर्यशक्तिको मद्धतले माथि तानेर आवश्यकता अनुसार संकलन गरी प्रयोग गरिने विधिलाई सौर्य पम्पिङ प्रणाली भनिन्छ। सौर्य पाताद्वारा उत्पादित विद्युतबाट संचालन हुने पानी तान्ने प्रणाली नै सौर्य पम्पिङ प्रणाली हो।
सौर्य पम्पिङ प्रणालीलाई पेट्रोलियम पदार्थ (मट्टितेल, डिजल, पेट्रोल, एलपीजी आदी) बाट अथवा राष्ट्रिय प्रशारण लाइनको विद्युतबाट चल्ने विद्युतीय पम्पको विकल्पको रुपमा प्रयोग गर्न गरिन्छ। सोलार पम्प प्रविधि सौर्य उर्जाको प्रयोगबाट सञ्चालित हुने भएकोले विद्युत् सुविधा नपुगेको ठाउँमा बहु-उपयोगी प्रणालीको रुपमा प्रयोग गर्न सकिन्छ जसले गर्दा पेट्रोलियम पदार्थको प्रतिस्थापन हुनुका साथै पानी नहुने ठाउँमा पानीको सहज उपलब्धता हुन्छ।
१०. बायोग्याँस
बायोग्याँस नवीकरणीय वैकल्पिक उर्जा हो। अक्सिजनको अभाव गराएर गोबर तथा अन्य कुहिने पदार्थ एउटा बन्द भौतिक संरचना भित्र कुहाएर बन्ने मिथेन ग्याँस उत्पादनलाई बायोग्याँस भनिन्छ। बायोग्याँस बाल्दा सफा निलो ज्वाला बल्छ र उत्पादन भएको मिथेन बलिसक्दा कार्बनडाइअक्साइड निस्किन्छ र उक्त ग्याँस वातावरणको लागि मिथेनभन्दा २१ गुणा कम हानिकारक हुन्छ।
बायोग्याँसको प्रयोगले दाउरा तथा मट्टितेलको प्रयोगमा कमी ल्याउँछ जसबाट वन विनाशमा समेत उल्लेख्य कमी आउँछ, किनकी आज पनि खाना पकाउनको लागि करिब ७०% मानिसहरु दाउराको प्रयोग गर्ने गर्दछन्। साथै बायोग्याँसले स्थानीय मानिसको स्वास्थ्यमा सुधार ल्याउँछ भने महिलाको कार्य बोझ घटाउन पनि मद्धत गर्छ।
११. सामुदायिक बीउ बैँक
सामुदायिक बीउ बैँक मूलतः कृषकद्वारा उनीहरुकै लागि स्थानीय स्तरमा बीउ तथा त्यससँग सम्बन्धित जानकारी उपलब्ध गराउने पद्धतिको वा व्यवस्था हो। कुनै पनि समुदायका कृषकहरुलाई आवश्यक पर्ने विभिन्न किसिमका बीउ उत्पादनको योजना तर्जुमा, उत्पादन, निरीक्षण तथा सुपरिवेक्षण, सुरक्षित भण्डारण र सुलभ रुपमा विक्रीवितरण गर्ने व्यवस्था समुदायका सदस्यहरु आफै मिलेर संचालन गर्ने पद्धतिलाई सामुदायिक बीउ बैंक भनिन्छ।
यस पद्धतिअनुसार समुदाय र वरिपरिका कृषकहरुको आवश्यकता र माग अनुसार स्थानीय तथा उन्नत दुवै किसिमका बीउहरुको संरक्षण र संवर्द्धन गरी कारोबार गर्न सकिन्छ।
१२. कृषि बिमा
वातावरण प्रतिकुल हुँदा किसानहरुको बालीनालीमा क्षति पुग्ने एवंम् जनावरहरू अपांग हुने वा मर्ने गर्छन् जसबाट किसानलाई आर्थिक भार पर्न जान्छ। तसर्थ किसानलाई आर्थिक भारबाट बचाउन कृषि बाली तथा पशुपंक्षी बिमा नै एक अपरिहार्य उपाय हुन सक्छ।
कृषिलाई व्यवसायीकरण गर्न पनि यो अवधारणा उपयोगी छ किनकी मानिसहरू सम्भावित क्षतिको डरले ठूलोस्तरमा खेती तथा पशुपालन गर्नबाट डराउँछन्। नेपाल सरकारले पनि हाल यस्तो बिमालाई प्रमुखताका साथ अघि बढाएको छ र बिमाको लागि लाग्ने प्रिमियममा ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ जसले गर्दा किसानहरूले बिमा कम्पनीहरूलाई बुझाउनु पर्ने प्रिमियम निकै कम पर्न जान्छ।
१३. धान खेतमा माछा पालन
धान खेतमा माछा पालन एक किसिमको एकीकृत तथा पर्यावरणीय खेती प्रविधि हो। धान खेतमा माछा पालन भन्नाले ढिलो पाक्ने धानको जात २०/२५ सेमीको फरकमा रोपेर १५ दिनपछि खेतमा माछाका भुराहरु छोडी गरिने एकीकृत खेती प्रविधि भन्ने बुझिन्छ।
कमन कार्प माछाले धानबालीमा आउने लेउ खाइदिने र माटोमा भएको प्रांगारिक पदार्थको मिनरलाइजेसन् प्रक्रियामा सहयोग गर्ने हुनाले माटो स्वस्थ हुनुका साथै माटोको उर्वाराशक्ति पनि बढ्ने गर्छ जसले गर्दा धानको उत्पादनमा समेत वृद्धि हुन्छ। यस खेतीमा रासायनिक मल को प्रयोग न्यून हुनुका साथै अन्य विषादीको प्रयोग शून्य हुने भएकोले यसलाई वातावरण मैत्री मानिन्छ।
विभिन्न अनुसन्धान अनुसार यस्तो खेतीमा माछाले आफ्नो आहारा खोज्ने क्रममा अक्सिजन ग्याँसलाई पानी तथा माटोको तल्लो तहसम्म पुर्याउने भएकाले ३४% कम मिथेन ग्याँस उत्सर्जन हुनुका साथै धानको उत्पादनमा पनि १०-१५% ले वृद्धि भएको पाइन्छ।
१४. धान खेतमा हाँस पालन
धान खेतमा हाँस पालन पनि एक किसिमको एकीकृत तथा पर्यावरणीय खेती प्रविधि हो। यस किसिमको खेती प्रविधिबाट धानबाली र हाँस दुवैलाई फाइदा हुन्छ। हाँसले धान खेतमा भएको हानिकारक किरा फट्यांग्रा तथा झारपात खाइदिन्छ, जसले गर्दा विषादी हाल्न तथा धानलाई धेरै गोडमेल गर्नु पर्दैन साथसाथै धान खेतमा भएको किरा तथा झारपातबाट हाँसलाई पोषिलो आहार प्राप्त हुन्छ र त्यस्तैगरी हाँसको विष्टाले धानबालीमा प्राकृतिक मल प्रदान गर्छ जसले गर्दा धानमा धेरै रासयनिक मल हाल्न पर्दैन।
धान खेतमा हाँस निरन्तर चरिरहँदा माटोमा रहेका नाइट्रोजन, फोस्फोरस र पोटास जस्ता पोषक तत्वहरूको धान बालीलाई उपलब्धता बढाउँछ र यसबाट परम्परागत तरिकाको तुलनामा उत्पादन लागत कम हुने तथा धानको उत्पादन करिब १५% सम्मले वृद्धि पनि हुने विभिन्न अनुसन्धानले बताएको छ।
१५. कृषि वन प्रणाली
विभिन्न प्रकारका बहुउपयोगी रुखहरू तथा कृषि बालीलाई एकै समयमा एकै ठाउँमा लगाइ माटोको गुणस्तर र वातावरणमा सुधार गर्दै कृषि, वन तथा पशुपालनलाई एकीकृत रुपमा व्यवस्थापन गर्ने प्रणाली नै कृषि वन प्रणाली हो।
कृषि वन एउटा यस्तो भू-उपयोग प्रणली हो, जसमा वातावरण सुहाउदो कृषिबालीहरु तथा अन्य फलफूलका बिरुवाहरु, घासपातहरु, जडीबुटीहरु, काठजन्य प्रजातीहरु तथा पशुपालन एकैसाथ निश्चित ठाउँ तथा समयमा खेती गरेर धेरै किसिमको उत्पादन लिन सकिन्छ। त्यस्तैगरी कृषि वन प्रणालीमा एक बालीमा उत्पादन कम भएपनि कृषकले आर्को बाली तथा बिरुवाबाट फाइदा लिन सक्छन्।
कृषि वनले गर्दा भू-क्ष्य र पहिरोको रोकथाम, पानीको संरक्षण तथा माटोको उर्वराशक्ति बढ्छ। कृषि वनले जैविक विविधता संरक्षणमा महत्वपूर्ण भुमिका खेल्नुका साथै रुख र विरुवाले कार्बन शोषण गरी माटोमा कार्वन स्थिरीकरण गर्न मद्धत गर्छ र जलवायु परिवर्तन न्यूनीकरणमा सहयोग गर्छ।
१६. बायो चार
वन वा खेतबारीबाट प्राप्त हुने झारपात, पतिंगर आदिबाट बनेको कोइलाको धुलोलाई बायोचार भनिन्छ। बायोचारको प्रयोगले माटो खुकुलो भइ बिरुवाको जराले सजिलै अक्सिजन प्राप्त गर्न सक्ने तथा माटोमा सूक्ष्म जैविक क्रियाकलापमा वृद्धि हुने हुँदा कृषि उत्पादन बढ्नुका साथै माटो स्वस्थ र उर्वर हुने गर्दछ।
यसमा पाइने कार्बन र खरानीको भागले करेसाबारीमा कीटनाशकका रुपमा पनि काम गर्दछ। अनुसन्धानले ३०-४०% बायोचार माटोमा मिसाएर लगाएमा तरकारी बालीले राम्रो उत्पादन दिने देखाउँछ साथसाथै बायो चारका रुपमा जमिनमा लामो समय कार्बन सञ्चित राख्न सकिने भएकाले यस प्रविधिले जलवायु परिवर्तन न्यूनीकरणमा पनि सहयोग गर्दछ।
१७. मौसममा आधारित कृषि सुझाव प्रणाली
मौसम पूर्वानुमानसँगै कृषकहरुलाई सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा विभिन्न संचारका माध्यम जस्तै मोबाइल फोन, एफएम, रेडियो, पत्रपत्रिका, कृषि मौसम बुलेटिन आदिबाट मौसम अनुकूल उनीहरुको बालीनालीको उचित व्यवस्थापनको तौरतरिका सुझाउनुलाई नै मौसममा आधारित कृषि सुझाव प्रणाली भनिन्छ।
यस प्रणालीमा बदलिँदो मौसमबाट कृषिलाई कमभन्दा कम असर परोस् भन्ने उद्देश्यले किसानहरुलाई व्यवस्थापन विधि सहित सजग गराउने गरिन्छ जसबाट समग्रमा किसानलाई फाइदा पुग्ने हुन्छ। उदाहरणको लागि १/२ दिनपछि ठूलो पानी पर्ने कुरो पहिले नै किसानलाई कृषिमा गर्न सकिने व्यवस्थापन विधि सहित जानकारी गराउँदा उनीहरू भवितव्यबाट सजिलै बच्न सक्छन्।
(लेखक लि-बर्ड उत्थान परियोजना, दैलेखका कार्यक्रम अधिकृत हुन्। )