'कस्तो छ आमा?' मैले आमालाई सोधेँ।
'बाबु मैले सासु ससुराको किरिया गर्न पाइनँ, कोरोनाको किरिया गर्दैछु। सासु ससुराको किरिया गरेको भए पनि यत्ति गाह्रो हुँदैन थियो की झैँ लागीरहेछ।'
चीनको वुहानबाट निक्लेको कोरोना संसार डुल्दै हाम्रै घरमा नौ महिनामा छिर्यो।
त्यो पनि सुगर प्रेसर, थाइराइड भएको ७० वर्षीय आमालाई नै लाग्यो। आमाको यो वाक्य सुनेपछि मेरो हृदय क्षतविक्षत भयो। कोरोनाले आत्तिएको मन झन् आत्तियो। जीवनमा जे नहोस् भन्यो त्यही हुन्छ। जे होस् भन्यो त्यही हुँदैन।
बाहिर घाम लागेको थियो। मन अध्याँरो भएपछि पहेलो सूर्य पनि कालो लाग्यो। अरुलाई लागे पनि आमालाई त कोरोना लाग्नै हुँदैन भन्ने कुरा संसारभर फैलदा नै सोचेको थियौँ तर त्यही भयो जुन नहोस् भनेको थियौँ।
२०७७ असोज ९ गते, घर नजिकैको केएमसी अस्पतालबाट मेसेज आयो। 'योर आरटी-पिसिआर टेस्ट फर कोभिड इज पोजिटिभ' भनेर। अरुमा पोजिटिभ हौ है भनिन्छ, रोगमा पोजिटिभ कत्ति नराम्रो रहेछ। पोजिटिभ आएपछि घरमा त्रासको वातावरण छायो। के गर्ने? कसो गर्ने? के हुने? ध्यान नदिएको कोरोनाका पुराना कथा अरुका अनुभवहरु पढ्न थालियो।
तनाव लिन्न भने पनि तनाव हुने यस्तो बेला। जुन बेला पनि आमासँगै बसिरहूँ झैँ लाग्थ्यो तर बस्न मिल्दैनथ्यो। अंगालो हाल्न मन लाग्दथ्यो तर मिल्दैनथ्यो। हरेक दिन आमालाई ढोगेर सुरु हुने मेरो दिन ढोग्न मिल्दैनथ्यो। मान्छेलाई छुनै नमिल्ने र बस्नै नमल्निे यो रोग अचम्मको रहेछ।
सबैतिरबाट विस्तारै फोन आउन थाल्यो। शुभकामनाका फोन पनि लिन मन नलाग्ने समय हुँदो रहेछ।
कसरी सर्यो? कसले सार्यो? भन्ने छलफल चल्यो घरमा। म बाहिर हिडिरहने, मैले पो सार्नु पर्ने तर घरमा जारको पानी लेराउनेले सारेको पत्तो लाग्यो। पानी ल्याउने मान्छे पाँच जार पानी ल्याएर तीन दिनपछि सुतेछन्। त्यसपछि आमालाई देखियो। घरमै बसे पनि के लाग्दो रहेछ र, कहाँबाट आउने आउने रहेछ यो कोरोना भन्ने भयो।
आमालाई टाउको दुख्ने, डायरिया हुने ज्वरो आउने, स्वाद र गन्ध नहुने, जीउ दुख्ने, खुट्टा गल्ने सबै कोरोनाका लक्षणहरु थियो। आफू सानो छँदा आमाले कति गरेर स्याहार सुसार गर्नु भएको थियो। कोरोना त रोग पनि कस्तो? आफ्नोलाई परिवारबाट टाढा बस भन्ने।
आफन्तलाई पराई बनाउने रोग रहेछ यो। न भेट्न हुने न गफ गर्न हुने न कोही भेट्न आउन मिल्ने। आमालाई रोग लाग्ने अनि आफू टाढा बस्नु पर्दाको पीडा शब्दमा व्यक्त गर्न सकिदैनथ्यो। अनुहार हेर्दा केही नहोस् भगवान भन्न मनबाटै आउदथ्यो।
साँच्चै आमाले कोरोनाको किरिया बसे झैँ नै गर्नु भयो। हरेक दिन नुहाउनु भयो। ट्वाइलेट, बाथरुम छुट्टै प्रयोग गर्नु भयो। लगाएको कपडा दैनिक आफै पछार्नु भयो। सुकाउनु भयो। घाममा बस्नु भयो। एक्लै कोठामा बस्नु भयो। खानेकुरा लगेर हामीले दिन्थ्यौँ। त्यो खानु भयो।
किरिया गर्दा काँडा पानी भनेर खाइन्छ। सफा सुग्घर गरिन्छ। दैनिक स्यानिटाइज गर्ने। तातो पानी चार पाँच लिटर खाने। गुर्जुको लहरा, पिपला, बेसार अुदवा टिम्बुर पानी बेस्कन पकाएको झोल तीन पल्ट दिनको खाने गर्नु भयो। अलिक ढिलासम्म आमाको आवाज आएन की लौ, आमा उठ्नु भएन की लौ, के भयो भनेर डर हुन्थ्यो। सिंगो फ्ल्याट आमाको लागि छाडियो। कोही माथि र कोही तल गरेर मिलेर बसियो।
औषधी नभएको रोग कोरोना लागेको आमाको सुगर प्रेसरको औषधी खानु पर्ने थियो। हरेक दिन सुगर जाँच्नको लागि कान्छो भाइ निर्मल ढकाल जानु पर्दथ्यो। माइलो भाइ बिमल ढकाल र बुहारी शर्मिला ढकाल विदेशबाट के छ? कसो छ? भनेर कल गरिरहन्थे।
दिन बित्दै थियो। आमालाई खोज्ने फोनहरु आईरहे। यहि बीचमा आमाको फोन बिग्रियो। उहाँले तीन दिन पूरै फोन पनि छुन पाउनु भएन। दिदी बहिनीसँग फोनमा गफ गर्ने गर्नु हुन्थ्यो, त्यो पनि गर्न पाउनु भएन। झन् एक्लै के सोचेर बस्नु भयो होला। समाजसँग घुलमिल हुने मान्छे, एक्लै बस्दा साह्रै पीडादायक हुन्छ त्यो क्षण। एक्लोपनले नै मान्छे आतिन्छ। आमाले हरेश भने खानु भएन।
हामी आत्तिन्छौँ भनेर 'मलाई ठिक छ भनिरहनु भयो।'
हामी आमा आत्तिनु होला भनेर 'तपाईलाई चाँडै ठिक हुन्छ भनिरह्यौँ।'
दुवैले दुवैको कुरा बुझेको थियौँ। एकले अर्कालाई पिर पर्दछ भनेर दुवैलाई सान्त्वना दिन्थ्यौँ। भित्री मन भने दुवैको रोएको थियो। न केही भइहाल्ने हो की भन्ने आशंका दुवैलाई लागेको थियो। कोरोनाले यहाँ यति मर्यो, उहाँ यति मर्यो अनि दिनहुँ सलह झैँ बढेको काठमाडौँको कोरोना बिस्फोटसँग पनि आमा परिचित हुनु हुन्थ्यो, मोबाइल बनेपछि। हामी पनि परिचित थियौँ। तर दुवैले त्यो देखाउदैनथ्यौँ।
तीन/चार दिनपछि उहाँको डायरिया ठिक भयो। डायरिकाको औषधी खाएर। ज्वरो ठिक भयो, ज्वरोको औषधि खाएर। टाउको दुख्न ठिक भयो, टाउकोको औषधी खाएर। घर अर्कै भएको थियो, घर जस्तै भएको थिएन। कोरोना आतंकले घरमा बढी घर गरेको थियो। घर भित्रै मास्क, पन्जा लगाएर हिड्न थाल्यौँ। सब छुट्टा छुट्टै कोठामा बसेके थियौँ। आफूले खाएको थाल आफै माझ्ने गर्न थाल्यौँ। हरेक दिन तातो पानीले नुहाउन थाल्यौँ।
हामी सबै घरभित्रै बस्यौँ। बाहिर निक्लन मन लागेन। आमालाई ठिक होस् अनि निक्लौँला भन्ने लाग्यो। एकले अर्कोलाई सर्ला भन्ने त्रासले हामी सबै सबैसँग डराइ रहेका थियौँ।
आमाले भन्नुभयो- 'बाहिर कोही पनि नजाउ है, घरमै बस।'
अरु बेला त आमाले भनेको नकाट्ने म यस्तो बेला कही गइनँ। घरमै बसेँ। हामी सबै घरमै बस्यौँ। बाहिरका मान्छे पनि आउने कुरा भएन। पानी पनि गेटमा लेराईदिन्थ्यो र बाहिर कतिबेर राखेर भित्र लैजान थालियो। घरको दैनिकीमा पूरै परिवर्तन आयो।
के हो कोरोनाको लक्षणहरु भन्ने नै आँखा नदेख्नेले हात्ति छाम्ने कथा जस्तो भएको अवस्थामा फेरि आमालाई जीउ चिलाउन थाल्यो। लौ के भयो? यो पनि त्यसकै नयाँ लक्षण हो की झैँ लाग्ने। आमाले भने कति सहेर बल्ल भन्नु हुँदो रहेछ, हामी भने त्यहि कुराले झन डराउने।
फेरि त्यही बेला मेरै भतिज डाक्टर रमेश ढकाललाई कोरोना भएको आठ दिनमा निमोनिया भयो। ग्रान्डि अस्पताल नै भर्ना गर्नु पर्ने भएपछि त्यसले झन् भित्र भित्रै डर थप्यो। कोरोना केही हैन भनेर हिड्नु नहुने रहेछ, कोही ज्वरो आएर बेहोश भएको सुनियो। कोही एक महिनासम्म थला जस्तै परेको सुनियो।
अनेकौँ अनेक कहानी र किस्साहरु। देशका ठूला ठूला मान्छेलाई कोरोना लागेको समाचार आउथ्यो। मेरी आमालाई कोरोना लागेको समाचार आउने कुरा पनि भएन। सहरमा त एक घरको कुरो अर्को घरकोलाई थाहा हुँदैन। आमालाई कोरोना लागेको आठ दिनपछि बल्ल छिमेकीहरुले सोधे।
'के हो, कोरोना लागेको हो र तपाईहरु सबैलाई?'
हो, आमालाई लाग्यो भन्न पनि मन नलाग्ने। अँ हुँ गरे उत्तर दिनु मन लाग्यो, फेरि भोलिपल्ट घाममा बस्न आमा आउनु भयो र भनिदिएँ, हो लागेको। कुरा गर्दा गर्दैको छिमेकी अलिक पर सरे, सायद मैले नै सार्दछु झैँ गरेर।
जे होस्, आमाले कोरोनाको किरिया राम्रैसँग गर्नु भयो।
प्लास्टिकको प्लेटमा भात लगेर दिन्थ्यौँ। चुप्प लागेर खानु भयो। जसरी किरिया गर्ने किरियापुत्रीलाई फलफूल र चामलहरु अरुले लगेर दिन्छन। मान्छेहरु नजिक आउदा मास्क लगाउनु भयो। पन्जा लगाउनु भयो। किरिया बस्ने मान्छेले झैँ 'ए छोला है, छोइएला है, भित्र नआउ है' भनिरहनु भयो। किरिया गर्न बसे झैँ एक कोठाको जीवन सुरु भयो उहाँको।
हात भाँचिदा वा खुट्टा भाँच्चिदा कति भेट्न आउथे। तर आमाको मन भाँचिएको यो बेला कोही भेट्न आउन नमिल्ने यो कस्तो रोग भन्नु हुन्थ्यो, दिक्क हुनुहुन्थ्यो। एकदिन आमाले भन्नु भयो 'बाबु, किरिया गर्दा बाजेले गरुड पुराण भन्थे। अहिले मोबाइल नै पुराण भन्ने बाजे भएको छ।'
देख्दा हामी दुवै मुसुक्क हाँस्थ्यौँ। घरमै लगाएको मास्कले हाँसेको पनि नदेखिने। तर मन भित्र के-के हुरी चल्छ। आमाको केही थाहा भएन। हाम्रोमा के हुरी चल्छ, आमालाई थाहा भएन। डर भने प्रशस्त थियो, कतै केही भईहाल्यो भन्ने। यही डरले कहिले काहीँ रातको २/३ बजे सम्म निन्द्रा लाग्दैनथ्यो।
किरिया गर्न बस्दा सालको टपरीमा खान पर्दथ्यो, घिउ र भात हालेर। अहिले चिकेन, अन्डा सब खानु हुन्छ। किरियामा पनि अुदवा कागतीहरु खान्थे। कोरोनाले त्यही खाए ठिक हुँदो रहेछ।
किरियाको पहिलो दिन कोरा बारेर बस्ने गरिन्छ। त्यो भित्र कोही छुन नहुने भनेर पराल राडी हालिन्छ। त्यसमाथि राडीमा नै सुतिन्छ। यहाँ पनि एकै कोठामा बसिन्छ। किरिया बस्नेको कुरुवा हुन्छन्। बस्नेलाई कुकुरले छोला वा केही आवश्यक होला भनेर यहाँ पनि बेला मौकामा कहिले भाइ निर्मल, कहिले म, कहिल मेरी श्रीमती सिर्जना आमालाई हेर्न गईरहन्छौँ।
आमालाई सायद त्यो कुराले पीडा हुन्छ होला भनेर म भने एक/दुई पल्टभन्दा बढी गइनँ। दिनको एकपल्ट नगए फेरि आमाले आफै बिरामी भएछ छोरा ठान्नु होला भनेर एकपल्ट के छ आमा भन्न पुग्दथेँ।
मान्छे मर्दा सास बाहिर जान्छ। बाँच्दा सास बाहिर भित्र गर्दछ। कोरोना हुँदा त सास पनि पर बसेर फेर्नु पर्ने। फेरि त्यो सासको अक्सिजन लेवल घट्न दिन नहुने, ज्वरो बढ्न नदिने तातो सक्नेसम्मको खाने भनीरहन्थ्यौँ। आमालाइ हेर्न राधिका बहिनीले पनि साह्रै मद्धत गरिन्।
आमा एक्लै हुँदा हामीलाई दिक्दारी थियो। हामी छुटिएर बसेर सँगै खान बस्न गफ गर्न नपाउँदा आमालाई रोग सहितको दिक्दारी थियो। आफन्तले आफन्तलाई छुनै नपाउने, यो कस्तो रोग होला। त्यही भएर पनि आमाले भन्नु भएको होला, कोरोनाको किरिया गर्दैछु।
न्युज पढ्छु। कोरोनाको कारण ५० वर्षीयको मृत्यु, ३० वर्षीयको मृत्यु र हुँदा हुँदा तीन वर्षीय बालिकाको मृत्यु आउँछ, मन बेस्कन झस्किन्छ। कतै केही होला आफ्नो मान्छेलाई र आफ्नो मान्छेसँग बोल्न, भेट्न गफ गर्न नपाइएला भनेर मन बेस्कन आत्तिदो रहेछ।
आमालाई हरेक दिन भिटामिन सी, बी कम्प्लेक्स दिईरहियोँ। खाट उहाँको लागि बहुत प्यारो भएको छ। चार पाँच दिनपछि विस्तारै घाममा आउन थाल्नु भयो। बस्नु भयो। तैपनि आमा भौतारिरहेको मैले प्रष्ट देख्थेँ। कसरी उहाँ खुसी हुनुहुन्छ भने जस्तै गर्न थाल्यौँ। हामीले पिर नलिएको बताउन थाल्यो। हिजो भएको कुरा आमाले आज भन्न थाल्नु भयो।
'मलाई हिजो त कस्तो टाउको पनि दुखेर खुट्टा पनि गलेको थियो, आज त ठिक छ।' फेरि भोलिपल्ट त्यही भन्नु हुन्थ्यो। विचरा कति गाह्रो भएको रहेछ भन्ने उहाँले भोलिपल्ट हिजोको कुरा भन्दा थाहा पाउदथ्यौँ।
विस्तारै दिदी-बहिनीसँग गफ गर्न थाल्नु भयो। सानिमाहरुसँग भाइ-बुहारीसँग फोनमा मेसेन्जरमा गफ गर्न थाल्नु भयो। त्यसले पनि मन भुलायो। सात वर्षको नातिनी सिमललाई हेर्न नपाउँदा बडो छट्पटिएको छु भन्न थाल्नु भयो। आँसु आउला झैँ कुरा गर्न थाल्नु भयो।
आमालाई निन्द्रा मस्त पर्न थाल्यो। भोक लाग्न थाल्यो, स्वाद थाहा पाउन थाल्नु भयो। तैपनि डर मनमा छदै थियो। हावा नै डर लाग्ने बगिरहे झैँ लाग्थ्यो काठमाडौँको। ह्वात्तै केही भईहाल्यो भने के गर्ने होला भने झैँ लागिरहन्थ्यो।
अस्पताल जानु पर्यो भने बेड छैन भन्दैछन्। कतै आमालाई अस्पताल लैजानु पर्यो भने अनेक अनेक तर्कना आईरहन्थ्यो। मनमा नकरात्मक नसोचौँ भन्दा पनि समाचारहरुले त्यतै तिर धकेल्दथ्यो। डरले हैन, आत्मबलले जित्नु पर्दछ यो रोगलाई भने पनि आमाले विभिन्न कुरा सोचेको थाहा हुन्थ्यो।
सोध्न मन लाग्दथ्यो 'आमा के गर्दै हुनुहुन्छ?'
उहाँ झस्किएर अ हँ, यत्तिकै बसिराछु भन्नुहुन्थ्यो। थाहा हुन्थ्यो, मन ठेगानमा छैन उडिरहेछ भन्ने कुरा। चीनलाई पनि गाली गर्न मन लाग्यो। आमाले पनि एकदिन भन्नु भयो 'कहाँबाट कसरी आयो यो चिनियाँ रोग, यत्रो महिनापछि हाम्रै घरमा, चिनियाँ खत्तम रहेछन्, सामान नक्कली रोग कडा।'
ख्वाँक्क आमाले खोक्नु भयो भने डर लाग्ने। हाँच्छियू गर्नु भयो, झन् डर लाग्ने। ज्वरो बढ्यो भने त सातै जाने। आमालाई कोरोना संक्रमण भएको १० दिन भईसकेथ्यो। आमाले पनि थाहा पाउनु भएछ र भन्नु भयो 'बाबु अमेरिकाको राष्ट्रपति ट्रम्पलाई पनि कोरोना लागेछ नि, मास्क नलगाउनेलाई लाग्छ भन्थे देखिस् त?'
छक्क परेँ, आमा त हामीले लुकाउन खोजेर के गर्नु? हातमा भएको त्यो भाँडो मोबाइलबाट सब थाहा पाएर बस्नु हुने रहेछ। के गर्नु, तैपनि आमालाई नरमाइलो लागिरहेको छ की, दिक्क लागिरहेको छ की, के-के के-के सोचिरहनु भएको छ की झैँ लाग्ने। मान्छेको एक्लोपनले मन मस्तिष्क कमजोर भएको हुन्छ। सुगर प्रेसर श्वास प्रश्वास नापे पनि दिमाग नाप्ने यन्त्र बनेको छैन। कोरोनाले मानसिक स्वास्थमा निकै असर पारेको छ। आमाको पनि त पर्यो होला झैँ लाग्ने।
विस्तारै १३ दिन बित्यो। किरिया पनि १३ दिन गरिन्छ। भन्न त मर्नेको लागि किरिया गरेको भनिन्छ तर बाँच्नेको लागि हो। मरेर जाने त कहाँ पुग्छन् पुग्छन्, बाँच्नेलाई मन नभड्कियोस भनेर १३ दिन राखिएको होला। भन्न त गरुड पुराणमा मृतात्माको शरीर बन्दै आउँछ र ९ दिनमा पूर्ण शरीर बनेर १३ दिनमा श्राद्ध गरेर बिदाइ गरिन्छ। आमाले कोरोनालाई त्यसै गर्नु भयो। उहाँले कोरोनालाई जितेर आफ्नै जीउ बलियो बनाउनु भयो।
१४ दिनको बिहान काठमाडौँ मेडिकल कलेज गइयो। फेरि नाकमा एक पल्ट हामी सबैको घोच्यो। मुखमा एक पल्ट घोच्यो। अर्थात स्वाब दियौँ र घर आयौँ। परीक्षा दिएर आए जस्तै भएको थियो। कुनै सिम्टम त थिएन तैपनि डर मनभरि थियो।
बेलुकीपख फोनमा म्यासेज आयो।
'योर आरटी-पिसिआर टेस्ट फर कोभिड इज नेगेटिभ, केएमसी हस्पिटल।'
क्या खुसी लाग्यो। कोरोना पोजिटिभ देखिएको दिन दिमाग पूरै नेगेटिभ भएको थियो। घरमा मान्छे नै मरे झैँ लागेको थियो। कोरोना नेगेटिभ आएको दिन घरमा मान्छे नयाँ जन्मेको जस्तै खुसी आयो। यत्रो दिन आमासँगै बसेर पनि घरभरि कसैलाई पनि पोजिटिभ आएन। सबैलाई नेगेटिभ आयो। हामी सबैको दिमाग पोजिटिभ आयो।
मेरो सात वर्षको छोरी सिमलले भनी- 'बाबा, आमालाई ठिक भयो अब हामी कतै जाउँ न।'
घर बस्दा बस्दा उनी पनि हैरान भएको रहीछिन्। आमाले पनि भन्नु भयो- 'बाबु, कोरोनाको किरिया गरिहालेँ मैले, अब यो फर्केर आउदैन दोहरिएर। यो धेरै कमलाई लाग्दो रहेछ, जाउँ न त कतै सिमल पनि यही भन्दैछे।'
यसो भन्दा आमाको आवाज बजिरहेको थियो। छोरीलाई अंगालो मारेर उहाँ बेस्कन रुनु भयो। अंगालो मारेर रुदै भन्नु भयो- 'कहिले देखूँ जस्तो भएको थियो तिमीलाई छोरी।'
हामी सबैको आँखा रसाए। सायद आमाले सबै रोग भएर पनि मैले यो रोगलाई जिते भनेर रुनु भएको थियो र छोरीलाई अंगालो हालेर रुनुको मतलब म बाँचे भन्ने हर्ष पनि थियो।
कोरोना १३ दिन किरिया बसे झैँ बसे ठिक हुने रहेछ। आत्मबलको साथै यसलाई उचित खानपान र आराम चाहिने रहेछ। आमाले भन्नु हुन्थ्यो 'बाबु कोरोनाको किरिया मैले त गरे, सबै लाग्नेले यसै गर्नु पर्ने रहेछ।'
मृतात्मालाई बिदाइ गर्ने किरियाको कुरा आमाले कोरोनासँग जोड्नु भयो। आमा भन्दै हुनुहुन्छ 'संसारभरका मान्छेलाई भन्नु, कोरोनाको किरिया गरौँ।' अर्थात् १३ दिन ढुक्कैले पथ परहेज गरौँ। आफू बाँचौँ र अरुलाई बचाऔँ।
केही हैन कोरोना पनि नभनौँ। के-के न हो कोरोना पनि नभनौँ। बस मन बलियो र खानपान र सरसफाइले यो रोग जित्न सकिदो रहेछ भन्ने मेरो आमाको अनुभवले पनि बतायो। कोरोनाको किरिया गरौँ र कहिल्यै नआउने गरी यसलाई भगाऔँ।