अक्टोबर १६ मा विश्वभरि विश्व एनेस्थेसिया दिवस मनाइन्छ। संसारभर यो दिन चिकित्सा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु एनेस्थेसिया दिवसलाई भव्य रुपमा मनाउने गर्छन्। एकआपसमा अनुभव साट्ने, नवीनतम प्रविधि, अनुसन्धान विस्तार गर्ने, एनेस्थेसिया सम्बन्धी जनचेतना जगाउने आपसी एकता एवं भाइचाराको अभिवृद्धि गर्ने जस्ता कार्यहरु यस दिवसमा पर्दछन्।
एनस्थेसिया आधुनिक चिकित्साको एक अभिन्न अंग हो। एनेस्थेसिया चिकित्साले मुलतः शल्यक्रिया कार्यलाई सहज र सुरक्षित बनाउँदछ। परिष्कृत शल्यक्रियाले बिरामीको शारीरिक र मानसिक अवस्थालाई सरल बनाउँदछ।
हुन त प्राचिन कालदेखि नै शल्यक्रिया हुन्थे। तर ती शल्यक्रियाहरु एकदमै क्रुर, कष्टकर, पीडादायीका साथै उच्च जोखिम युक्त हुने गर्दथे। धेरैजसो शल्यक्रियाहरुको परिणाम मृत्यु वा स्थायी रुपमा अंगभंग हुने गर्दथ्यो। शल्यक्रिया सफल भएपनि बिरामीको शल्यक्रिया पश्चातको जीवन कष्टकर हुने गर्दथ्यो।
आधुनिक विज्ञान प्रविधि चिकित्साशास्त्रको विकासक्रमसँगै एनेस्थेसिया शास्त्रको पनि विकास हुन थाल्यो। शल्यक्रियालाई सहज र पीडारहित बनाउन शल्य चिकित्सकहरु, नर्सहरु र अन्य चिकित्सकहरु बीच विचार विमर्श अनुसन्धान हुन थाल्यो। फलतः शल्यक्रियालाई सरल र जोखिम रहित बनाउन, बिरामीहरुलाई बेहोस बनाउने प्रविधिको विकास भयो।
बेहोस बनाउने भनेको बिरामीलाई निद्रामा राख्नु हो। जसले गर्दा बिरामीलाई शल्यक्रिया भैइरहेको अवस्थामा कुनै पनि सम्झना नरहोस्। बेहोस बनाउने प्रक्रिया अस्थायी मात्र हो। शल्यक्रिया समाप्त हुने बित्तिकै बिरामीलाई तुरुन्तै होस आउँदछ। बिरामीहरुको धेरैजसो प्रश्न र डर शल्यक्रिया गरिसकेपछि होस फर्किन्छ कि फर्किदैन भन्ने रहन्छ।
तर आजको दिनमा एनेस्थेसिया विद्याको यति विकास भएको छ की यसमा बेहोस बनाउन प्रयोग हुने ग्यासहरु, औषधीहरु धेरै प्रभावकारी छन्। शरीरमा कम दुष्प्रभाव पार्ने आधुनिक औषधीहरुको प्रयोगले बिरामीहरुको तुरन्तै होस खुल्दछ।
शल्यक्रिया एकदमै पीडादायक प्रकृया हो। त्यो दुखाइ साधारणतया सहनै नसक्ने हुन्छ। पीडादायक शल्यक्रिया गर्नु भनेको एकदमै अमानवीय र मानव अधिकारको हरण हो। यस अर्थमा दुखाइ रहित शल्यक्रिया गराउने मुख्य काम एनेस्थेसियोलोजिष्टको हो। साधारण शारीरिक दुखाइ पीडादायक तथा कष्टकर हुन्छ भने शल्यक्रिया गर्दाको पीडा झन् सहन नै नसकिने हुन्छ।
तसर्थ एनेस्थेसियाको अर्को पक्ष भनेको शल्यक्रियालाई पीडा रहित बनाउनु पनि हो। शल्यक्रिया गर्दाको पीडामा मात्र होइन, एनेस्थेसियाले दीर्घकालीन दुखाइको पनि उपचार गर्दछ। दुखाइ कम गर्ने, दुखाइको पहिचान गर्ने, जाँच पड्ताल गर्ने र यसको दीर्घकालीन उपचार गर्ने पनि एनेस्थेसियाको प्रमुख अंग हो।
यसको लागि ३ वर्षको एनेस्थेसिया विषय अध्ययन गरीसकेपछि पनि दुखाइ सम्बन्धी ज्ञान, सीप, अनुभव आर्जन गर्नु पर्दछ। यसले गर्दा आधुनिक चिकित्सा विज्ञानमा दुखाइ कम गर्ने क्षेत्रको द्रुत गतिमा विकास भैरहेको छ।
एनेस्थेसिया विशेषज्ञहरु प्यालिएटिभ विषयमा पनि काम गर्दछन्। प्यालिएटिभ विषय भनेको मुख्यतः दीर्घ रोग लागेका बिरामीहरुको अन्तिम दिनहरुमा हेरचाह गर्ने र उपचार गर्ने विधि हो। क्यान्सर रोग, स्नायु प्रणालीको चोटपटक, मुटु मिर्गौला, फोक्सो जस्ता प्रमुख अंगहरुमा दीर्घ रोग लागी जीवन कष्टकर भएका बिरामीहरुको जीवनस्तर र अवस्थालाई सरल, सहज, बनाउने काम पनि प्यालिएटिभ विशेषज्ञहरुले गर्दछन्।
एनेस्थेसियाको अर्को क्षेत्र सघन उपचार कक्ष (आइसियू) पनि हो। अति नै सिकिस्त गम्भीर बिरामीहरु जसलाई विशेष निगरानीमा सघन उपचार कक्षमा राख्नु पर्ने हुन्छ। उनीहरुको उपचार प्रकृया पनि एनेस्थेसिया चिकित्सकहरुको प्रमुख एवं नेतृत्वदायी भूमिका रहने गर्दछ।
सघन उपचार कक्षमा कृतिम श्वास प्रकृयाबाट भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने हुन्छ। यसको साथै बिरामीलाई विशेष निगरानीमा राखेर उपचार गर्नु पर्ने हुन्छ। आधुनिक औषधीहरुको प्रयोग, रोगको निदान गर्न विभिन्न उपकरणहरुको प्रयोग, रोग निको पार्न दिनरात अथक परिश्रम र प्रयास पनि एनेस्थेसियालोजिष्टहरुको हुन गर्दछ। यसमा एनेस्थेसिया चिकित्सकहरुको प्रमुख नेतृत्वदायी भूमिका रहने गर्दछ।
विश्वमा एनेस्थेसिया विद्याको सेवा र क्षेत्र ज्यादै विस्तारित हुँदै छ। बेहोस बनाउने परिष्कृत ग्यासहरु, बिरामीको निगरानी र अवलोकन गर्न अति आधुनिक उपकरणहरु, सुरक्षित औषधीहरुको प्रयोगले गर्दा आधुनिक एनेस्थेसिया सुरक्षित भएको छ।
नेपालमा पनि सन पचासको दशकमा सुरु भएको आधुनिक एनेस्थेसिया द्रुत गतिमा विस्तारित हुँदैछ। नेपालको एनेस्थेसियाको चुनौती भनेको जनशक्तिको अभाव, जनचेतनाको अभाव, नवीतम प्रविधि र औषधीहरुको उपलब्धता सहज नहुनु, पूर्वाधारको विकास र गाउँघर, दूर दराजमा विस्तार नहुनु नै हो।
नेपालमा एनेस्थेसिया विशेषज्ञहरुको संख्या तुलनात्मक रुपले कमी नै छ तापनि स्वदेशमै एनेस्थेसिया विषयको अध्यापन हुन थालेकोले गर्दा आवश्यक जनशक्ति उत्पादन हुने क्रम बढ्दै छ जुन सकारात्मक पक्ष हो।
नेपालमा अझै पनि विश्वका विकसित देशहरुमा प्रयोग हुने खालका उपकरणहरु, औषधीहरुको अभाव छ। एनेस्थेसिया विषयमा विश्वमा विभिन्न नयाँ अनुसन्धान भईरहेको छ। तर नेपालमा अझै पनि विश्वस्तरीय अनुसन्धान गर्ने संस्कृति र वातावरणको अभाव टड्कारो रुपमा देखिन्छ।
नेपालको दूर-दराजमा शल्यक्रिया नै हुन सकेको छैन। साना-साना शल्यक्रिया गर्न पनि प्रमुख सहरहरुमा आईपुग्नु पर्दछ। साधारण ग्रामीण जनताहरुसम्म एनेस्थेसिया सेवाको विस्तार गर्नु प्रमुख चुनौती हो। यसका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, उपकरण र औषधीहरुको उपलब्धताको लागि दीर्घकालीन कार्ययोजनाको आवश्यक छ।
अहिलेको कारोनाको महामारीमा एनेस्थेसिया चिकित्सकहरुको भूमिका प्रमुख रहेको छ। कोरोना संक्रमित बिरामीहरुको शल्यक्रिया गर्ने प्रमुख उत्तरदायित्व र चुनौती छ। यस्का साथै संक्रमित व्यक्तिहरुको सघन उपचार कक्षमा उपचार गर्ने, कृतिम श्वास-प्रश्वास सुचारु गर्ने भेन्टीलेटरको प्रयोग जस्ता उपचारको प्रमुख क्षेत्रमा हेरचाह गर्ने र नेतृत्वदायी भूमिका पनि एनेस्थेसियालोजिष्टहरुले नै गरिरहेका छन्। यो एकदमै जोखिमपूर्ण छ।
जोखिमपूर्ण भएपनि नेपालमा एनेस्थेसिया चिकित्सकहरुले आफनो ज्ञान, सीप, र समय प्रदान गरी निस्वार्थ रुपमा अहोरात्र कर्तव्य क्षेत्रमा लागि नै रहेका छन्। यो निश्चय रुपमा सम्मान गर्न लायक र प्रशंसनीय कार्य हो।
तर कोरोना जस्तो महामारीमा लगातार काम गरीरहँदा एनेस्थेसियाको चिकित्सकहरुको मानसिक, शारीरिक अवस्थामा थकान वा तनाव आउन सक्छ। त्यसैले २०२० को विश्व एनेस्थेसिया समाजले एनेस्थेसियाको कोरोना उपचारमा रहने प्रमुख भूमिकालाई सम्मान गर्न एनेस्थेसियाको चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुको मनोबल वृद्धि गर्ने कार्यक्रमहरुका साथ विश्वव्यापी रुपमा अक्टोबर १६ लाई विश्व एनेस्थेसिया दिवसको रुपमा मनाउदै छ।
एनेस्थेसियामा काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुको मानसिक र शारीरिक स्वास्थ्य सबल भएमा नै सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ। यसले कारोनामा प्रभावकारी उपचार र हेरचाह गर्ने नेपालमा कार्यरत हामी सबै एनेस्थेसियालोजिष्टहरु समाज एवं सरकारसँग सहकार्य गर्न तयार रहेका छौँ।
(लेखक कन्सलट्यान्ट एनेस्थेसियालोजिष्ट हुन्।)