असोजको महिना। झुल्किएको सूर्यले २-४ ओटा डाँडा काटी आफ्नो प्रकाशको किरण धर्तीमा छरिसकेको थियो। धर्ती न्यानो हुँदै जाने क्रममा थियो। बिहानको त्यस्तै दश बजेको हुँदो हो। करिब तीन घन्टा जति बाइक चलाएर काठमाडौँबाट दक्षिण-पूर्व पर्ने त्यो ठाउँमा म पुगेँ।
उक्त ठाउँ काठमाडौँसँगैको छिमेकी जिल्लाको पहाडी भेगमा पर्दथ्यो/पर्छ। पक्की सडक नपुगेको भए पनि पक्की सडक छोडेर ठाडो उकालो उक्लिन कच्ची सडक भने राम्रै थियो। पक्की सडक छोडेर १ घन्टा जति बाइकको यात्रा गरेपछि पुगिन्थ्यो त्यो ठाउँ। बर्खामा त त्यो कच्ची सडक बन्द पनि हुन्छ होला तर आहिले भने बर्खाले बिश्राम लिएको हुँदा सडकमा यत्रतत्र बाइक, स-साना टिपरहरूको राम्रै ओहोर दोहोर हुन्थ्यो, त्यो धुलाम्य सडकमा।
ती स-साना टिपरहरूले गाउँमा उत्पादन भएको तरकारी, फलफूल तल बेसीसम्म ढुवानी गर्दथे। बाटाभरि डुङ्दुङ्टी धुलो उडाउँदै। कुनै कुनै बेला त्यही सानो टिपरसँग जम्काभेट हुँदा म बाइक चलाउँदै गरेको मानिस धुलो भित्रकै बादलमा हराउँथेँ तर धुलो नै भए पनि गाउँको हावासँग मिसिएको भएर होला, एक किसिमको सुगन्ध आउँथ्यो।
यसरी ती धुलोभित्रकै बादलहरू पार गर्दै, सदाझैँ आज पनि म त्यो ठाउँमा पुगेको थिएँ। ठ्याक्कै याद त छैन, तर यसैगरी म त्यो ठाउँमा यो पटकभन्दा पनि अघि करिब पाँच/छ चोटि आफ्नै काम विशेषले पुगिसकेको छु। र सदाझैं, आज पनि मैले उक्त ठाउँ पुगेर बाटो छेउको पिपलको रुखमुनि बाइक रोकेँ।
काठमाडौँदेखि लगभग पचास किमी लामो दूरीको बाइक यात्राले होला, हल्का शरीर थकित पनि थियो। बाइक अडाउन सानो ढुङ्गाको सहारा लिएँ। लडि पो हाल्छ की भनी एकपटक पुन: परीक्षण पनि गरेँ। अनि स्टार्ट बन्द गरेर बाइकबाट छुट्टिएँ। थकित शरीरभरिको धुलो टक्टकाएँ। हेल्मेट खोलेँ।
यसो जीउ तन्काउँदै सडकदेखि अलि माथिपट्टिको चिया पिउने पसलतिर के ध्यान दिएको थिएँ, 'सफ्टवेयरले काम गर्दैन' भन्ने शब्द मेरो कानले सुन्यो। म जति पटक त्यो ठाउँमा पुगेको छु, प्रायः सधैँ जसो उक्त पसलमा चिया पिउने, खाजा नास्ता खाने गर्छु। तसर्थ उक्त चिया पसल पनि मेरो लागि परिचित नै थियो।
एक त यो ठाउँले विकासको (सूचना र प्रविधि विकासको) खासै मुख देख्न नसकेको, त्यसमाथि सफ्टवेयरको कुरो भएको सुन्दा मलाई पनि कौतुहलता जागेर आयो। मलाई उक्त कुरा माथि कौतुहलता जाग्नुको पछाडि म आफै पनि सूचना प्रविधि क्षेत्रकै विद्यार्थी भएको र सोही क्षेत्र र शिक्षासँग सम्बन्धित पेशालाई अँगाल्दै आएको व्यक्ति भएर पनि होला।
एक कप चिया पनि पिउनुपर्यो अनि खास कुरो के रहेछ भनी जान्नु पनि पर्यो भन्ने मनसायका साथ लसक-लसक लस्किदै म पनि सोही चिया पसलतिर लागेँ। म आइपुगेको जानकारी गराउने हेतुले सदाझैँ, पसल बाहिरबाट अलि ठूलो स्वरमा, आफ्ना दुवै हात जोडेजसो गरी 'नमस्कार है साहुजी' भनेँ।
साहुजी भने पसलभित्र आफ्नै केही काम गर्दै हुनुहुन्थ्यो कुन्नि। मेरो परिचित स्वर सुनेर उहाँले पनि भित्रैबाट अलि ठूलै स्वरमा नमस्कार फर्काउनु भयो। एकअर्काको नमस्कार आदानप्रदान गर्ने शैलीले नै हामी परिचित छौँ भन्ने संज्ञा प्रस्ट दिन्थ्यो। तद्पश्चात्, म भने सोही चिया पसलकै पिँढी अघिल्तिर राखेको लामो काठको बेन्चम टुसुक्क बसेँ। मैले बाहिरबाट नै साहुजीले सुन्ने गरी 'मलाई पनि एक कप चिया बनाउनुस् है साहुजी' भनेँ।
चिया पसल पूर्व-दक्षिण फर्केको हुनाले, दश बजे नै पसलको पिँढी पारिलो भइसकेको थियो। चिसो चिसो हुँदै गएको मौसम, पारिलो घाम, कम्ता आनन्दको मौसम थिएन। म बसेकै बेञ्चको पल्लोपट्टि काली वर्णकी, करिब आधा वैँशकी एक महिला दिदी पनि निन्याउरो अनुहार पारी बस्नु भएको थियो।
पिपलको रुखमुनि बाइक रोकेर ओर्लिने बित्तिकै मैले टड्कारै सुनेको 'सफ्टवेयरले काम गर्दैन' भनेर साहुजी उनलाई नै भन्दै थिए भन्ने कुराको अनुमान लगाउन मलाई खासै गह्रो भएन भनूँ कारण, त्यहाँ पसलभित्र साहुजी र बाहिर तिनै महिला बाहेक अरु कोही थिएन तर मेरो उपस्थितपछि उनीहरूको कुराकानीमा मौनता छायो।
मैले कुरा कोट्याउने हेतुले साहुजीलाई फेरि सोधेँ, 'कुन सफ्टवेयरले काम गरेन साहुजी?'
कुरा यस्तो पो रहेछ!
म बसेकै बेञ्चको पल्लोपट्टि बस्ने महिला सरिता (नाम परिवर्तन) की आमा हुनुहुँदो रहेछ। उनको मनमा चिन्ता परेको र आँखामा निन्द्रा नपरेको आज लगभग पाँच महिना भयो। सायद, सोही चिन्ता र निन्द्राको जुधाइले होला, म अपरिचितसँग पनि खुलेरै कुरा गरेको उनले।
सरिता उनकी परिवारकी कान्छी छोरी। ठूली दिदीको बिहे भैसक्यो। ठूलो दाजु दुबईमा छ। धेर-थोर राम्रै पैसा कमाएकै छ। कान्छी छोरी सरितालाई राम्रैसँग पढाउने र उमेर पुगेपछि बिहे गरिदिने दाजु र आमाको ठूलै धोको थियो। तर सरिता, कान्छी भएकी र दाजु-आमाको मायामा पुल्पुलिएकी थिइ। कलिलै उमेरमै गाँजल, टिका, श्रृङ्गारपटारमा खुबै मन थियो सरिताको।
धेरैजसो मोबाइल हुन्थ्यो उनको हातमा। फेसबुक त झन् कुरै नगरौँ होला। २४ घन्टाजस्तो फेसबुकमा। सोही गाउँको विद्यालयमा कक्षा आठमा पढ्ने सरिताको किताबमा भन्दा फेसबुकमा नै बढी समय बित्थ्यो। अनि त, पक्कै पनि उसको त्यो केटोसँग फेसबुकमा नै भेट भएको हुनुपर्छ। फेसबुकमै माया पिरती गाँसिएको हुनुपर्छ सरिताको।
त्यसैले होला सरिताले चौध वर्षकै उमेरमा कक्षा आठको किताबकापी छाडेर आफूखुसी फेसबुकमै प्रेम बसेको युवकसँग बिहे गरी, त्यही जेठ महिनामा। दुई महिनासम्म त सम्पर्क विहीन भइन् सरिता। बल्ल असोजमा सम्पर्कमा आइ आमासँग। त्यसै बखत सिन्धुपाल्चोकको केटोसँग बिहे गरेको कुराको बेलीविस्तार सुनाइ आमालाई। आमाले फर्की आउन धेरै बिन्ति गरिन्, तर ऊ आइन।
छोरीले बिहे त गरी तर आज आमालाई अर्को चिन्ताले सताउन सुरु गर्यो। कस्तो केटोसँग बिहे गरी छोरीले, आमालाई थाहा छैन। ज्वाइँको अनुहारसम्म पनि देखेकी छैनन् आमाले। छोरीले घर गरीखाने कुरोमा ठूलै शंका छ उनलाई। जे भए पनि कमसे कम बिहे गरेको हो भन्ने प्रमाण मात्रै बनाउन पाए पनि हुने थियो भन्ने विचार आमाको मनमा पलाएको छ।
भोलि दु:ख पर्दा देखाउने हतियार हुने थियो भन्ने ठूलो आशा छ उनको मनमा। सोही हतियार बनाउने तरिका बुझ्न उनी आज वडा कार्यालय आएकी रहिछिन्। विचरीलाई के थाहा, २० वर्ष मुनिको बिहे दर्ता हुँदैन भनेर। विचरीलाई के थाहा, बिहे दर्ताको रेकर्ड राख्ने सफ्टवेयरले २० वर्ष मुनिको उमेर स्वीकार्दैन भनेर।
बीस वर्षमुनिको विवाह बाल-विवाह हो, गैरकानुनी पनि। त्यही कुरा चिया पसले दाइ, सरिताकी आमालाई बुझाउँदै हुनुहुन्थ्यो र पो ठूलो स्वरमा कराउदै हुनु हुन्थ्यो- 'सफ्टवेयरले काम गर्दैन!'