५५ वर्षीय रामकली श्रेष्ठको सामान्य ठेस लागेर नारीको हड्डी भाँचियो। अस्पतालमा एक्स-रे गर्दा भाँचिएको देखिएपछि प्लाष्टर गरियो।
६५ वर्षीय जितबहादुर ढाड दुखेर कुप्रो परेको जस्तो अनुभव भएपछि अस्पतालको बहिरङ्ग विभागमा पुगेर जचाउनु भयो। उहाँको दुखाइ भने हाछ्यू गर्दा सुरु भएको थियो। परीक्षणका क्रममा उहाँको ढाड भाँचिएको देखियो र दुखाइ कम हुने औषधी लिएर उहाँ घर फर्कनु भयो।
७५ वर्षीय हजुरआमाको कार्पेटमा गोडा अल्झियो पुठ्ठामा धेरै दुखेर गोडा टेक्न सक्नु भएन। अस्पतालमा एक्स रे गरेर हेर्दा पुठ्ठाको हड्डी भाँचिएको देखियो। त्यसको उपचार अप्रेशन गरेर इम्प्लान्ट राखेर गरियो।
यी सबै घटनाहरु प्रतिनिधि घटनाका रुपमा मात्र प्रस्तुत गरिएका हुन्। सामान्य रुपमा हेर्दा उमेरका कारणले भएजस्तो देखिए पनि यस्ता चोटहरुको मुख्य कारणका बारेमा खासै चर्चा गरिएको पाइँदैन। यस्ता चोटहरुमा उपचार लक्षणको मात्र हुने गरेको तर कारणको उपचार भने भएको पाईँदैन। यस किसिमका अधिकांश चोटहरुको कारण भने अस्टियोपोरोसिस रहेको हुन्छ।
अनुभवले के देखाउँछ भने रामकली जिको अब अर्को हड्डी भाँचिने संभावना पनि ८६% हुन आउँछ। जितबहादुर जिको जस्तै गरी हरेक २२ सेकेण्डमा एकजनाको मेरुदण्ड अर्थात् ढाडको हड्डी अस्टियोपोरोसिसका कारण भाँचिइरहेको हुन्छ।
यसरी अस्टियोपीरोसिसको कारणले मेरुदण्ड भाँचिने ५० वर्षभन्दा बढी उमेरका मानिसहरुमा सोही उमेर समूहका मानिसहरुभन्दा ८ गुणा बढी मृत्युदर रहेको अध्ययनले देखाएको छ। ७५ वर्षकी हजुरामा जस्ता अस्टियोपोरोसिसका बिरामीहरुमध्ये ४०% पहिलेकै जसरी कसैको साहारा बिना हिड्डुल गर्न सक्दैनन्। उनीहरुको मृत्युदर आफूसँग रहेका अन्य दीर्घरोगहरुको जटिल अवस्थाका कारण हुन्छ। यसरी हुने मृत्यु दर हाड भाँचिएको पहिलो वर्षमै २०% सम्म हुन्छ।
अस्टियोपोरोसिसका बारेमा जनचेतना जगाउन हरेक वर्ष अक्टोबर २० लाई अस्टियोपोरोसिस दिवसका रुपमा मनाउने गरिएको छ।
अस्टियोपोरोसिस के हो?
यो यस्तो रोग हो जसमा हड्डीको घनत्व (बोन डेन्सिटी) कम हुने र हड्डीको गुणस्तर खस्किएर (माइक्रो आर्किटेक्चरल डेटेरियोरेट) कमजोर भएर सजिलै भाँचिने अवस्था आँउछ। यस्तो अवस्था थाहा नपाउने हुन्छ तर समस्या बढ्ने क्रममा नै रहेको हुन्छ। हड्डी भाँचिदासम्म पनि खास लक्षण देखिँदैन।
अझ सजिलोसँग बुझ्नलाई, यसलाई धमिराले काठ खाएझैँ भित्रीरुपमा हड्डीलाई कमजोर बनाउने जटिल किसिमको समस्याको रुपमा बुझ्न सकिन्छ। आम जनमानसले यसलाई अस्टियो आर्थ्राइटिसको रुपमा बुझेपनि यो फरक किसिमको समस्या हो। अस्टियो आर्थ्राइटिसमा जोर्नीको कुर्कुरे हड्डी खियाउँछ तर भाँचिदैन, तर दुख्ने र विकृत बनाउँछ।
अस्टियोपोरोसिस कसरी हुन्छ?
हड्डी एउटा जिवन्त तन्तु हो। जन्मेदेखिनै यसमा निरन्तर परिवर्तन भइरहन्छ। यसको लम्बाइ र गोलाइमा वृद्धि भइरहन्छ। यो क्रम बढ्दो उमेरसम्म निरन्तर चलिरहन्छ। हड्डीमा क्याल्सियमका लवणहरु पनि थपिँदै जान्छ जसले हड्डीको घनत्व (बोन डेन्सिटी) बढाँउदै जान्छ। हड्डीको घनत्व बढ्ने यो क्रम ३० वर्षको उमेरसम्म निरन्तर रहन्छ।
यस बाहेक हड्डी शरीरलाई चाहिने क्याल्सियमको भण्डार पनि हो। अन्य तन्तुमा क्याल्सियमको माग हुँदा हड्डीबाट क्याल्सियम रगतमा घुलेर आपूर्ति हुन्छ। क्याल्सियम जम्मा हुने र रगतमा घुलेर आपूर्ति हुने यो प्रकृया निरन्तर रहन्छ।
उमेरको तेश्रो दशकपछि भने वार्षिकरुपमा ०.१% का दरले हड्डीको घनत्व घट्दै जान्छ। महिलाहरुमा भने महिनावारी रोकिएको पहिलो १० वर्षसम्म यो दर वृद्धि भएर ३% सम्म हुन्छ। ६० देखि ७५ वर्ष उमेर पछि यो दर ०.५% हुन्छ। हड्डीको घनत्व कति हुन्छ भन्ने कुरा यसको विकास क्रममा व्यक्तिले गर्ने खानपान र शारीरिक तन्दुरुस्तीले निर्धारण गर्छ।
यद्यपि हड्डीको घनत्व कमहुने किसिमका रोग तथा उपचारका क्रममा हुने विभिन्न गतिविधिका कारण हड्डीको घनत्व कम भएर पनि अस्टियोपोरोसिस हुन्छ। हड्डीको घनत्वलाई रिटायर्डमेन्ट फन्ड अर्थात अवकाशपछिको पेन्सनका रुपमा पनि बुझ्न सकिन्छ। जति जम्मा गर्नु भएको छ, त्यति लामो अबधिसम्म प्रयोग गर्न सकिन्छ।
अस्टियोपोरोसिसका लक्षणहरु र हुने कारणहरु:
यस रोगमा मुख्यगरी मानिस कुप्रो पर्ने, सामान्य चोटमा पनि हड्डी भाँचिने, ढाड बेस्सरी दुख्ने, उचाइ कम हुँदै गएको महशुस हुने लगायतका लक्षणहरु देखिन्छन्। अस्टियोपोरोसिस हुने कारणहरुमा अत्यधिक मद्यपान, अत्यधिक धुम्रपान, शारीरिक व्यायामको कमी, वंशाणुगत कारण, हड्डीको घनत्व कम हुनु, घाम नताप्नु वा घाम नलाग्ने स्थानमा लामो समय बस्नु, शरीरमा क्याल्सियमको कमी हुनु, अपोप्टोसिस प्रकृयाका कारण हुने कोषमा आउने परिवर्तन, शरीर सुन्निने, स्टेरोइड औषधीहरुको लामो समयसम्मको सेवन, शरीरमा अक्सिडेन्ट्स तथा फ्रि रेडिकल्सको कमी हुनु तथा अनियमितता हुनु, महिलाहरुमा समय अगावै महिनावारी सुक्नु लगायत रहेका छन्।
अस्टियोपोरोसिसको वर्तमान अवस्थाः
विश्वमा हाल वार्षिकरुपमा ८९ लाख हड्डी भाँचिने कारण अस्टियोपोरोसिस रहेको अध्ययनहरुले देखाएका छन्। हरेक ३ सेकेण्डमा अस्टियोपोरोसिसका कारण मानिसहरुको हड्डी भाँचिने गरेको छ।
संसार विस्तारै बुढ्यौलीउन्मुख भइरहेको छ। आगामी सन् २०५० सम्ममा संसारको एक तिहाई जनसंख्या ६५ वर्षभन्दा माथिका र हरेक १० जना मध्ये एकजना अर्थात १०% जनसंख्या ८० वर्षभन्दा माथिका हुने प्रक्षेपण गरिएको छ।
सन् २०५० सम्ममा पुठ्ठाको हड्डी भाँचिने क्रम (हिप फ्र्याक्चर) वार्षीक रुपमा ६२ लाखभन्दा बढी हुने अनुमान गरिएको छ। जसको आधाभन्दा बढी हिस्सा एसियाली मुलुकहरुमा हुने प्रक्षेपण गरिएको छ। हालसालै भारतमा गरिएको एक अध्ययन अनुसार कम आय भएका जनसंख्याको एकतिहाईमा अस्टियोपोरोसिस रहेको देखिएको छ।
अस्टियोपोरोसिसका कारण स्वास्थ्यका उपलब्ध सीमित साधन श्रोत तथा त्यसमा रहेको अपर्याप्ततालाई अझ जटिल अवस्थामा लैजाने जोखिम बढेको छ।
अस्टियोपोरोसिस निदान:
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अस्टियोपोरोसिसको परीक्षणका लागि डेक्सा स्क्यान प्रयोग गरिन्छ। यसले हड्डीको घनतत्व (बोन डेन्सिटी) लाई तीन प्रकारमा छुट्याउँछ।
यसमा सामान्य, अस्टियोपिनिक, अस्टियोपोरोटिक समूहमा विभाजन गरिन्छ। अस्टियोपोरोटिक समूहमा पर्ने मानिसलाई मात्र अस्टियोपोरोसिसको उपचार जरुरी हुन्छ। अस्टियोपिनिक समूहका मानिसलाई अस्टियोपोरोटिक हुनबाट जोगाउने उपायहरु अपनाइन्छ। हाम्रो जस्तो सीमित श्रोत साधन भएको अवस्थामा सबै बिरामीको पहुँचमा डेक्सा स्क्यान नहुन सक्ने भएकाले अस्टियोपोरोसिसले हड्डी भाँचिएकाहरु र उच्च जोखिममा रहेकाहरुको अस्टियोपोरोसिसको उपचार सुरु गर्नुपर्ने हुन्छ।
अस्टियोपोरोसिसको उपचार
अस्टियोपोरोसिसको निदान तथा उपचारको मुख्य कुरा भनेको हड्डी भाँचिने जोखिममा रहेका तर भाँचिईनसकेका बिरामीको समयमा नै उपचार गरेर भविष्यमा आउनसक्ने जटिल अवस्थाबाट जोगाउनु रहेको छ। यसको उपचारले अस्टियोपोरोसिसका कारण हुने हड्डी भाँचिने सम्स्याको दरलाई ८% बाट घटाएर २% मा सीमित गरिदिन्छ।
अस्टियोपोरोसिसका उपचारमा हाल नेपालमा एन्टिरिजब्सन एजेन्ट र हर्मोन थेरापी लगायतका औषधीहरु नेपालमा उपलब्ध छन्। एन्टिरिजब्सन एजेन्टले हड्डीबाट क्याल्सियमका लवण घुलेर जाने प्रकृयालाई रोकीदिन्छ भने हर्मोन थेरापीले भने हड्डीमा नयाँ क्याल्सियम थप्ने प्रकृयामा मद्दत गर्दछ। यो सबै उमेर समूहका बिरामीमा प्रयोग गर्न सकिन्छ।
सजिलै उपलब्ध हुने र कम नकारात्मक असर हुने यो उपचार तुलनात्मक रुपमा सस्तो र नतिजा पनि भरपर्दो छ। महिनावारी रोकिएका अस्टियोपोरोसिसका बिरामीहरुमा यो उपचारले मेरुदण्डको हड्डी भाँचिने दरलाई ३०% देखि ७०% घटाउँछ। त्यसैगरी पुठ्ठाको हड्डी भाँचिने दरलाई ४०% ले र मेरुदण्ड बाहेकका अन्य अस्टियोपोरोसिसका कारण हड्डी भाँचिने समस्यालाई १५ % देखि २० % ले घटाउँछ।
हर्मोन थेरापी विशेष अवस्थामा प्रयोग गरिन्छ जस्तो पाठेघर निकाल्ने अप्रेशनमा डिम्वासय समेत निकाल्नु परेका (उफोरेक्टोमी) महिनावारी नरोकिएका वयश्क महिला बिरामीहरुमा प्रयोग गरिन्छ।
अस्टियोपोरोसिसको रोकथामः
अस्टियोपोरोसिसको रोकथाम मानिसको खानपान र जिवनशैलीमा निर्भर रहन्छ। हुर्कदो उमेरमा पाएको पोषण र शारीरिक तन्दुरुस्तीले यसमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
नियमित शारीरिक व्यायामः बालबालिका तथा किशोर किशोरीहरुमा नियमित ब्यायामले हड्डीको घनत्व पर्याप्त बनाउन मद्दत गर्दछ। वयश्य तथा जेष्ठ नागरिकहरुमा भने यसले अस्टियोपोरोसिसको प्रकृयालई कम गर्नुका साथै हाम्रो चाल र सन्तुलनलाई नियमित गरी हामीलाई लड्नबाट जोगाउँछ र हड्डी भाँचिनबाट बचाउँछ।
पोषणः अस्टियोपोरोसिस रोकथाममा क्याल्सियम र भिटामिन डीको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले खानामा यी पोषण तत्वहरुको मात्रा मिलाएर खानु अनिवार्य हुन्छ। माछामासु, हरिया सागपातका साथै फोर्टिफाइड फूड (सुदृढ खानेकुरा) बिहानको कलिलो घाम ताप्नाले शरीरले आफै भिटामिन डी उत्पादन गर्छ।
अस्टियोपोरोसिसबाट बच्न कस्तो जिवनशैली अपनाउने?
अस्टियोपोरोसिसबाट बच्न धुमपान मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने र शारीरिक रुपमा सक्रिय रहने र पोषणयुक्त खानेकुरा खाने र परिवारमा अस्टियोपोरोसिस तथा हड्डी भाँचिने समस्या भएकाहरु, बाथ रोग भएकाहरु, थाइराइडको समस्या भएकाहरु तथा केमोथेरापी लिइरहेकाहरुले विशेष ध्यान पुर्याउने र सम्बन्धित विषयका चिकित्सककहाँ गएर जचाउनु पर्ने हुन्छ।
(लेखक त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिलमा आवद्ध छन्।)