त्यस ताका दशैँ आउँदा एक महिना स्कुल बन्द हुन्थे, तिहारपछि मात्रै संचालन हुन्थे। घटस्थापानको दिन, नजिकै बारीबाट माटो ल्याएर जमरा राख्न गर्थ्यौँ। मनमा छुट्टै किसिमको हर्ष र उमंग लिएर आ-आफ्नो काममा तल्लीन हुन्थ्यौँ। वर्षा सकिएर हिउँदको आभससँगै हिन्दुहरुको महान पर्व दशैँको आगमनले सबैको मनमा खुसी छाएको हुन्थ्यो।
घरहरु रातो माटो र कमेरोले पोतेर चिटटिक्क पारिन्थ्यो। टाढा-टाढा र विदेशमा भएका आफन्तहरु आफूभन्दा ठूला बडाको हातबाट टिका थाप्न र आशिर्वाद लिन दशैँमा घरमा आइपुग्थे। हाम्रो परिवारमा विदेशमा कोही नभए पनि दाजु पढ्नको लागि घर बाहिर बस्नु हुन्थ्यो। हामी पनि उहाँ आउने बाटो हेरेर बस्ने गर्थ्यौँ।
मनमा अनेक किसिमका कौतुहलता लिएर म सोच्दै थिएँ, आहा! कति रमाइलो, कति आनन्द, कुनै किसिमको पिर, तनाव केही नभए जस्तो फुरुङ परेर वर-पर गरीरहन्थे। दशैँको दिन नजिक आउदै थियो। त्यति बेला टेलिभिजन, मोबाइल केही पनि थिएनन्। रेडियो नै सर्बेसर्वा थियो। दशैँको बेलामा रेडियोमा बज्ने ती सुमधुर गीतहरुले मनै कुडाउँथे।
अहिले पनि झल्झली याद आउँछ ती गीतहरु- फर्की छिटो आउ दाजु घर, दशैँ नै हो कि यो मेरो दशा, यस्तै यस्तै...। त्यसैगरी दशैँ सम्बन्धी नाटकहरु पनि आउथे ती सुनेर म फुरुक्क पर्थेँ र कति बेला रुन्थेँ पनि। डाँडापाखा, घर, आँगन चारैतिर खुसियाली छाएको अनुभव गर्थेँ।
घर माथिको खर बारिमा अम्बा टिपेर खादै घाँस काट्दै गर्दा आकाशमा तालचराको लाईन काकुर काकुर गर्दै घुमीरहन्थे। यति मज्जा आउथ्यो तालचरा हेर्न, एक निमेष आँखा नझिम्काइ हेरिरहन्थेँ। विचरा कुनै-कुनै त आफ्नो समूहबाट छुटेर एक्लिन्थे, मलाई पिर पर्थ्यो, कसरी साथिहरुलाई भेटाउलान भनेर।
अष्टमी र नवमीको दिन नजिकैको कोट्मा पुजा हुन्थ्यो। दशमीको दिन जब सबै जम्मा भएर टिका ग्रहण गर्थ्यौँ, खुसीले आकाश चुमिसकेको हुन्थ्यो। सुरुमा भाइ अनि मेरो पालो आउथ्यो। निधारभरि रातो टिका, जमरा र ठूला बडाको आशिर्वादले मनै फुरुङ हुन्थ्यो। त्यति मात्र कहाँ हो र, पैसा र कोसेलीको झोला बोकेर वल्लो गाउँबाट पल्लो गाउँ चहार्दै हिड्ने गर्थ्यौँ।
साँझ परेपछि कस्को कति पैसा भयो भनेर गन्ने गर्थ्यौँ। ती जम्मा गरेका कोसेली रोटी, चिउरा, केरा, अचार मिठो मानी मानी खन्थ्यौँ। रोटी त यति साह्रा हुन्थे, चपाउन निकै गाह्रो पर्थ्यो तर त्यसमा पाइने आनन्द र स्वादको मजा बेग्लै हुन्थ्यो।
एकादशीदेखि सुरु भएको मेला विभिन्न ठाउँमा गरेर पूर्णिामासम्मै हुन्थ्यो। सकभर सबै मेला हेर्न जान्थ्यौँ। मसँग एक्दम मिल्ने साथी मीना, ऊ र म भए हामीलाई कोही चाहिन्थ्यो। निकै रमाउथ्यौँ। मेलामा एक डेड किलो जेरी किनेर खान बस्थ्यौँ, अरु साथीहरुले जिस्काउथे अनि झगडा गर्थ्यौँ। ती दिन, ती क्षण, ती पल यति रमाइला हुन्थे, त्यसको बयान गर्न सक्दिनँ म यहाँ।
तर... तर समयको अन्तरालसँगै कति परिवर्तन भएछ, करिब डेढ दशकपछि यो दशैँलाई हेर्ने गर्छु। आकाश धर्तीको फरक छ। सबै आ-आफ्नै सुरमा कसैला कसैको चासो छैन। तडक भडक र देखवा मात्रै छ। म आफैलै हेर्छु, धेरै परिवर्तन पाउछु। कहाँको उहिलेको म, कहाँ अहिलेको म। विभिन्न किसिमका पीडा, टेन्सन र जिम्मेवारीले थिचिसकेछ।
गाउँको दशैँ कति रमाइलो थियो। न कुनै पिर चिन्ता, जताततै खुसी खुसी। अहिलेको दशैँ खै कता छ? कहाँ आएको छ। कुनै अतोपत्तो छैन। समाचारहरुमा सुनेर झस्किन्छु, आज दशैँको दोश्रो दिन... तेस्रो दिन... चौथो दिन...। यसैमाथि कोरोनको महामारीले थिचेर धेरैलाई दशैँ होइन, दशा बनाए जस्तो लग्छ। मनमा कुनै खुसी उमंग छैन।
दशैँ घर घरमा भित्रीसकेको छ भन्छ्न्, तर त्यसको असर रत्तिभर पनि परेको छैन। त्यो दशैँदेखि लिएर यो दशैँसम्म आइपुग्दा एक चोटि आफूले आफैलाई नियाल्छु, कति परिवर्तन भएछु। त्यो हाँसो, खुसी, उमंग सबै हराएर म त केबल दुख, पीडा, जिम्मेवारीले एक डेग पनि चल्न नसक्ने पो भइसके छु। के अब फेरि मेरो जिन्दगीमा पहिलाको जस्तै 'त्यो दशैँ' आउला त!