कोरोनाको माहामारीका कारण स्वदेश तथा विदेशमा भएको बन्दाबन्दीले गर्दा आयात गरिने रसायनिक मल समय मै आपूर्ति हुन नसक्दा नेपालमा भएको हाहाकार बारे हामी सबै जानकार नै छौँ। कोरोनाको कहर र सामाजिक दूरीको नियमलाई उल्लंघन गरी ठेलमठेल मल लिन बिहान १ बाजेदेखि लाइन बसेका किसान दिउसोको १ बजे मल बिना निराश घर फर्केको समाचारले रंगीन हाम्रा पत्रपत्रिका थिए।
तर त्यही समयमा, त्यही परिवेशमा नेपालमै उत्पादित प्राङ्गारिक मल नबिकेर गोदाममै थन्किएको समाचार पनि व्यापक थियो। तर बिडम्बना, प्राङ्गारिक मलले न किसानको ध्यानाकर्षण गर्न सक्यो न सरकारको नै।
आर्थिक वर्ष २०७६/७७ मा खाद्यान्न बाली लगाइएको क्षेत्रफलमा २०७५/७६को तुलनामा ०.९% ले ह्रास आएको छ। २०७६/७७को फाल्गुनसम्ममा २ लाख ५० हजार ५ सय ३५ मेट्रिक टन रासयनिक मल वितरण गरिएको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ लाख ९१ हजार ५ सय ३६ मेट्रिक टन रासयनिक मल वितरण गरिएको थियो।
खेतीयोग्य जमिन घट्दा पनि रासायनिक मलको प्रयोग भने बढीरहेको छ किनभने रासायनिक मल धेरै हाल्यो भने धेरै उत्पादन दिन्छ भन्ने एउटा भ्रम किसानलाई छ। माटो बिग्रनुको धेरै कारणमध्ये रासायनिक मलको अत्याधिक प्रयोग नै प्रमुख कारण हो। किसानले खेतबारीमा उत्पादन बढाउने अभिप्रायले जथाभावी रासायनिक मल बढाइरहँदा माटोको गुणस्तर खस्केको भेउ नै पाउँदैनन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय २०१० को अनुसार, कुल २.९ मिलियन हेक्टर जमिनमा, ०.२ मिलियन हेक्टर जमिनमा गिरावट आएको छ, जुन कुल खेतीयोग्य जमिन क्षेत्रको १०% रहन पुग्छ। गिरावट भएको जमिनमा वार्षिक प्राङ्गारिक पदार्थको क्षेति ०.००२ मिलियन टन, नाइट्रोजनको क्षति ०.००००१ मिलियन टन, फोस्पोरसको क्षेति ०.०००५३ मिलियन टन र पोटासियमको क्षेति ०.०००१५ टन छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को माटो अनुन्धान महाशाखाले देशभरका ५२ जिल्ला (तराईको २० वटा जिल्ला र पहाडका ३२ वटा) को माटोमा गरेको अनुसन्धान अनुसार माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको पाइएको छ। रसायनिक मलको बढी प्रयोग भएकै ठाँउमा अम्लियपन बढी भएको तथ्य अनुसन्धानले देखाएको छ।
माटोमा प्राङ्गारिक मलको मात्रा घट्दै जाँदा अम्लियपना बढीरहेको छ। केही समयका लागि रसायनिक मलले उत्पादन बढाए पनि दीर्घकालीनरुपमा नकारात्मक असर गर्छ र माटोमा अम्लियपना धेरै हुँदा बाली कम हुने मात्रै होइन, उत्पादन नै नहुन पनि सक्छ।
माटाको गुणस्तर तथा उत्पादकत्व बढाउनका निम्ति प्राङ्गारिक पदार्थले निकै ठूलो भूमिका खेलेको हुन्छ। प्राङ्गारिक पदार्थले माटोलाई मलिलो र फर्फराउदो बनाउछ जसले गर्दा पानी सोस्ने र प्रतिधारण गर्ने क्षमता वृद्धि गर्छ। त्यसैगरी, माटोमा हुने सूक्ष्म जीवाणुको जैविक गतिविधिलाई पनि बढावा दिँदै बोटबिरुलाई चाहिने नाइट्रोजन, फस्फोरस र पोटास जस्ता पोषण तत्व सजिलै उपलब्ध गराउन मद्धत गर्छ।
सरदरमा, नेपालको कृषिजन्य माटोमा प्राङ्गारिक पदार्थको मात्रा अत्यन्त कम (१%) छ। कृषि विकास रणनीति (विसं २०७२–२०९२) ले पनि यस विषयलाई मध्यनजर गर्दै सन् २०३५ सम्म माटोमा प्राङ्गारिक पदार्थको मात्रा ४ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि माटोमा कम्तिमा पनि ४ प्रतिशत प्रांगारिक पदार्थ भएको हुनुपर्छ।
माटोमा पर्याप्त प्राङ्गारिक पदार्थको अभावमा हुँदा रसायनिक मलको प्रयोगले पनि अपेक्क्षित नतिजा दिन सक्दैन। बाली बिरुवाका लागि आवश्यक मुख्य पोषक तत्व नाइट्रोजन, फस्फोरस र पोटासका साथै सहायक तत्वहरु सल्फर, क्याल्सियम र सूक्ष्म तत्वहरु जिङ्क, बोरोन, कपर, आइरन, म्यागनिज, क्लोरिन, मोलिब्डेनम र म्याग्नेसियमको आवश्यकता हुन्छ। तर, किसानले यी सबै पोषण तत्व भएको मलको प्रयोग नै गरेका छैनन्।
नेपालमा बढी खपत हुने मल भनेकै युरिया हो। त्यसपछि पोटास र फोस्फोरस। तर पनि यी मलको सन्तुलित प्रयोग बिरलै पाइन्छ। सूक्ष्म तत्व युक्त मलको प्रयोग अझ निरासजनक छ भने प्राङ्गारिक मललाई त किसालने बिल्कुलै बेवास्ता गरिरका छन्। जबकि प्राङ्गारिक मलको प्रयोगले सूक्ष्म तत्वदेखि मुख्य पोषण तत्व सबैलाई सन्तुलित राख्न मद्धत गर्छ।
नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा रहेको धान बाली जस्लाई करिब १४.८ लाख हेक्टरमा खेती गरिन्छ, जसबाट ४.५५ मिलियन टन धान उत्पादन हुन्छ। नाइट्रोजनको प्रमुख स्रोतको रूपमा रहेको युरिया मलले नै थेगेको धान बालीलाई, हरेक वर्ष धान लगाउने बेला मलको अभाव हुने गर्दछ। तर पनि युरियाको विकल्प अप्नाउने तर्फ हामी तम्तयार छैनौँ।
धान बाली लगाउनु अघि दालजन्य बाली लगाउनु एउटा राम्रो विकल्प हो जस्ले मलको रूपमा काम गर्छ। वायुमण्डलको करिब ७९% नाइट्रोजनले ओगटेको छ, जुन सजिलै बिरूवाले लिन सक्दैन। वायुमन्डलीय नाइट्रोजनलाई दालजन्य बालीको जराका गिर्खाहरूमा बस्ने जीवाणुहारूको माध्यमबाट माटोमा स्थिरकृत गराउन सकिन्छ।
भटमासले ६०-१६८ किलो प्रति हेक्टर नाइट्रोजन, मटरकोसाले ५२-७७ किलो प्रतिहेक्टर नाइट्रोजन, बदामले ७२-१२४ किलो प्रतिहेक्टर नाइट्रोजन, सिमीले ४०-७० किलो प्रतिहेक्टर नाइट्रोजन माटोमा जम्मा गर्छन् , जबकी नेपालको धानखेतमा १०० किलो प्रतिहेक्टर नाइट्रोजन आवश्यक पर्छ।
दाल प्रजातीय घाँसहरू जस्तै इपिल-इपिलले ६३-१६८ किलो प्रतिहेक्टर नाइट्रोजन थप गर्छ भने अलफाअल्फाले १०३ किलो प्रतिहेक्टर नाइट्रोजन थप गर्छ जुन दोस्रो बालीका लागि पनि काफी हुन्छ। यसरी धान बाली लगायत अन्य बाली तथा तरकारीलाई आवश्यक नाइट्रोजन उपलब्ध गराउन सकिन्छ।
धान बालीमा एजोला मलको प्रयोग पनि निकै लाभदायक छ। यसले वायुमण्डलीय नाईट्रोजनलाई स्थिकरण गर्दछ। औसतमा यसमा ३-४% सुख्खा पदार्थ र ४-५% नाईट्रोजन हुन्छ। यो छिटो बढ्न सक्ने हुनाले ६-१० दिनमा ३-५ गुना बढ्न सक्छ। खेत रोपेर एजोला बढाउदा एकातर्फ झारपातको रोकथाम हुन्छ भने अर्को तर्फ यो मलको रूपमा प्रयोग गर्न सकिन्छ। यसको कार्बन र नाइट्रोजन अनुपात सङ्किर्ण (१०:१) भएकाले २-३ दिनमै बिघटन हुन्छ।
त्यसैगरी, नेपाली किसानमाझ बाली भित्र्याएपछि बोट तथा अन्य फोहोरलाई खेतमै जलाउने काम प्रचलित छ जस्ले गर्दा माटोको उर्वराशक्ति नष्ट गर्छ। तर ती प्रयोगहीन कृषिजन्य फोहोरलाई नजलाइ माटोमा मिसाउँदा माटाको पोषण तत्व अभिवृद्धि हुन्छ। यस प्रकारको प्रयासले बाहिरी मलको आवश्यकता कम हुन जान्छ।
त्यसैगरी ढैँचा, सनाइ जस्ता हरियो मलको प्रयोगबाट माटोमा प्राङ्गारिक पदार्थका साथै पोष्टिक तत्वहरू माटोमा थप्न सकिन्छ। हरियो मलको रूपमा वन्य-वनस्पतिहरूलाई वनबाट काटेर ल्याउने या सोही जग्गामा बाली लगाइ फूल फुल्न लाग्दा जोतेर माटोमा पुरी बाली लागाउन सकिन्छ। धैँचाले पनि ७३-३५४ किलो प्रतिहेक्टर नाइट्रोजन थप गर्न सक्छ।
यसैगरी घरबाट निस्कने अर्गानिक फोहोर (कुहिने वस्तु) बाट अर्गानिक मल बनाउन सकिन्छ जस्ले गर्दा फोहोरको राम्रो व्यवस्थापन गरि कृषकलाई आवश्यक मल उपलब्द गराउन सकिन्छ। घरमै गड्यौला मल, पातपतिङ्गरबाट कम्पोष्ट मल र गाइभैँसीको गोबरबाट गोठे मल बनाउन सकिन्छ।
अर्को विकल्प भनेको सूक्ष्म जीवाणुहरू। केही सूक्ष्म जीवाणु जस्तै एजोटोब्याक्टर, एजोस्पेरेलियम, एक्तटनोमाइसिट्स, राइजोबियम आदिले माटोमा नाइट्रोजन थप्छन् भने माइकोरापजा- भिएएमले माटोमा फोस्पोरस उपल्बध गराउन सहयोग गर्दछ।
अन्त्यमा, माथि समावेश गरिएका उपायलाई कृषिकार्यमा अङ्गिकार गर्दा ठूलो मात्रामा रासायनिक मलको माग घटाउन सकिन्छ। तर यो भनिरहँदा प्राङ्गारिक मलले मात्र पुग्छ भन्ने सन्देश नजाओस् किनकी प्राङ्गारिक मल आफैमा पूर्ण मल भने होइन। त्यसैले प्रङ्गारिक मलको साथ-साथै सन्तुलित किसिमले मात्र रासायनिक मलको प्रयोग गर्नु पर्छ।
तर यतिबेला किसान ‘युरीया मलको अभाव’मा अल्झेका छन् भने सरकार अर्को देशसँग पैँचो मागेरै भए पनि युरीया मल भित्र्याउने ध्याउन्नमा लागेको छ। यसरी हामी रसायनिक मलमा मात्र अल्झिदै गर्दा विश्व भने अर्गानिक उत्पादनमा रुपान्त्रित भइरहेको छ। प्राकृतिक रूपले सम्पन्न र जैविक विविधताले भरिपूर्ण रहेको हाम्रो देश एक जैविक देश हो भन्दा अत्तियुक्ति नहोला।
हाम्रो सामर्थ्य जैविक पद्धत्ति हो र यही जैविक शक्तिलाई उत्पादनमा रुपान्तरण गरी मलको अभाव टार्न सम्भव छ भनेर हामी नेपालीले नबुझेको हो कि बुझ्न नखोजेको हो? या भनै बुझेर नि बुझ पचाएको! हेक्का रहोस्, यदि यसरी नै रासायनिक मलले थेगेर बाली लगाउने हो भने, नेपालको खेतीयोग्य जमिन मरूभूमिमा रूपान्तरण हुन धेरै समय लाग्दैन।