यस वर्ष दशैँले खासै रौनक भर्न सकेन। कारक तत्व बनेको छ, कोरोना महामारी। शक्तिपीठहरुमा पुजाआजा बन्द गरिएका छन्। कतिपय शक्तिपीठहरुमा पुजाआजा भएको छ तर गत वर्षहरुको जस्तौ रौनक छैन। केही भक्तजनहरु मात्रै देख्न सकिन्छ।
सरकारले घर भित्रै दशैँ मनाउन अनुरोध गरीरहेको छ। कोरोनाको डरकै कारण आजाद त्यति भएका छैनन्। बसपार्कहरु प्रायः शून्य जस्तै छन्। सहर बजारमा व्यापार घटेको छ। यस्तो विपत्तिजन्य अवस्थामा मनलाई बलियो बनाई राख्न अनलाइन भए पनि दशैँ मनाउन जरुरी छ।
अनलाइन दशैँले कसरी मनोवैज्ञानिक रुपमा स्वस्थ्य रहन सहयोग गर्छ। के-के कुराहरुमा नियमित अभ्यास गरेमा हामी शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ्य रहन्छौँ आदि बारे यस आलेखमा समावेश गरिएको छ।
'दशैँ आयो
खाउँला पिउँला
के खाउँला
चोरी ल्याउला
धत्त पापी, म त छुटै बसौला।'
प्रचलित बालगीत दशैँको सेरोफेरोमा खुबै प्रख्यात मानिन्छ। यसले बालबालिकाहरुलाई मात्र नभइ हामी प्रौढहरुका मनमा खुसी थप्न सहयोग गर्छ। बाबु-नानीहरुलाई हातका औँला चिनाउन समेत यसले ठूलो सहयोग गरेको छ।
नयाँ कपडा लगाउने, मिठो मिठो खाने, पिङ्ग खेल्न पाइने भएकाले भाइबहिनीहरुमा दशैँमा धेरै खुसी हुन्छन्। तर यो वर्षको खुसी कोरोनाले लुटेको छ। हजारौँ नेपाली दाजुभाइ दिदी-बहिनी, बालबालिकाहरु अझै क्वारेन्टाइन र आइसोलेसनमा छन्। मन खिन्न बनाएको छ। चिन्तित बनाएको छ। तनाव थपेको छ।
दुख-सुख बाड्ने र आर्शिवाद दिन र लिन समस्या भएको छ। कोही कोठा भित्र एक्लै मनाउने तयारीमा हुनुहोला। कोही कोरोनासँग जुध्न तातोपानी र व्यायम गर्दै हुनुहुन्छ होला। आफन्त र साथीभाइ भेट्न मन छ तर आइसोलेसनमा बस्नु परेको छ। यस्तो समयमा मनमा अनेक सोचहरु आउँन सक्छ।
'कोरोना संक्रमण मलाई भयो। मेरो गल्ती' यस्तै। तर संक्रमण हुनु पक्कै तपाईको दोष होइन। विश्वभरका व्यक्तिहरुले कोरोनासँग जुधिरहेका छन्। कोरोनाको संक्रमण नभएका परिवारका सदस्यहरु आफू आफै टिका लगाउदै हुनुहुन्छ। पक्कै आफन्तहरुलाई निम्ता दिनु भएको छैन। गाउँघर डुलेर टिका, जमरा र आर्शिवाद लिने योजना छैन। छिमेकीको घरमा जाऊँ भने कोरोना सर्छकी भन्ने डर छ। त्यसैले दशैँमा पहिले जति चहलपहल घटेको हो।
चहलपहल घटे पनि आखिर दशैँ नेपाली हिन्दुहरुको महान् चाँड हो। सबैलाई मनाउन मन लाग्छ। व्यक्तिहरुका दुर्गा भगवतीको पुजा गर्छन्। दशैँ १० दिनसम्म मनाइन्छ। दशैँको पहिलो दिन घटस्थापना हो। यस दिन दशैँका लागि जमराका तयार पार्न शक्तिपीठहरु र हिन्दु नेपालीहरुको घरमा मकै रोपिन्छ।
घरको एक अँध्यारो कुनामा साता दिनदेखि भिजाएर राखेको मकैलाई टपरी वा भुइँमा रोपिन्छ। सातौ दिन फूलपाती हुँदै १० दिन विजयादशमी धुमधामका साथ मनाइन्छ। रामले रावणमाथि विजय प्राप्त गरेको खुसीयालीमा रातो अक्षताको टिका बनाइ लगाइएको हो। टिका लगाउँदा आफूभन्दा मान्यजनको हातबाट टिका लगाइन्छ। आर्शिबाद लिइन्छ।
आर्शिवाद दिने मन्त्र लिङ्ग अनुसार फरक-फरक छ। महिलालाई आर्शिवाद दिँदा 'जयन्ती मंगलाकाली' भने संस्कृतको श्लोक उच्चारण गरिन्छ। जहाँ विभिन्न देवीहरुको नामले पुकारिन्छ। देवीहरुको नाम लिए राम्रो हुन्छ भन्ने विश्वास गरिन्छ। पुरुषलाई आर्शिवाद दिँदा 'आयो द्रोण सुते...' भन्ने संस्कृतको श्लोक उचारण गरिन्छ। यसमा आयु लामो होस्, सत्रु नाश हुन्, सबैले मानसम्मान गरुन्, राम्रो ज्ञान होस् आदि शब्दावलीले उच्चारण गरिन्छ।
यही विश्वासका कारण दशैँ मनाउँछौँ। हरेक चाडपर्वहरुको आफ्नै महत्व छ। विपत्तिजन्य अवस्थामा झनै यसको महत्व बढेको छ। चाडपर्वहरुले एक अर्कोमा खुसीको भावना बढाउँछ। वर्षौदेखि कामका लागि देश, विदेश गएका आफन्तहरु भेटघाट हुन्छ। पारिवारिक र समुदायका व्यक्तिहरुसँग सामाजिक भावनाको विकास हुन्छ।
एक अर्कोलाई आदर र सत्कार गर्ने संस्कारको विकास हुन्छ। दशैँमा कार्यालय, विद्यालय, व्यापार सबै बन्द हुने हुँदा व्यक्तिहरुलाई आराम पछि मिल्छ। साथै चाडपर्वहरुले पौराणिक ज्ञान, शिक्षा, कथाहरु नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि सिकाउँछ। समग्रमा पर्वहरुले दाजुभाइहरुमा प्रेम, आत्मियता, सहिष्णुता र समझ्दारीता कायम गर्न सहयोग गर्छ।
कोरोना भाइरसका कारण भने यो वर्ष सोचेको जस्तो पक्कै हुने छैन। किनभने परिवारका सदस्यहरु र बालबालिकाहरुलाई सँगै बसेर मनका भावनाहरु व्यक्त गर्ने वातवरण निर्माण भएको छैन। वर्षदिनदेखि भेट नभएका आफन्तहरु घर फर्केर एकान्तमा बस्न बाध्य भएका छन्। जमघट हुने सकेको छैन। साघुँरा कोठामा पीडा सहेर खुसी हुनु परेको छ।
विश्व अनलाइनमा प्रवेश गरेको छ। हरेक काम अब अनलाइनबाट हुन थाले। कोरोना भाइरसले नित्याएको अवस्थासँग जुध्न अब दशैँ अनलाइनबाटै मनाउनु पर्ने विकल्प आएको छ। प्रत्यक्ष भेटघाट नभएर के भयो त, हामीसँग इन्टरनेट छ। सामाजिक संञ्जाल छ। शारीरिकरुपमा उपस्थित नभए के भयो, अनलाइनले हामीलाई एकै ठाउँमा जोड्न सहयोग गरेको छ।
आलाइनबाटै टिका लगाउन र आर्शिवाद लिन के फरक पर्छ र? अनलाइनबाटै भावना, र अनुभव आदान-प्रदान गर्न सकिन्छ। सिकाइहरु एकअर्कोलाई बाड्न सकिन्छ। यसले आफन्तहरु बीचको आत्मियता बढ्नलाई सहयोग गर्छ। सकारात्मक भावना जार्गित हुन सहयोग गर्दछ। धेरै कुराहरु सोच्न र चिन्तित भईरहने वातावरणबाट मुक्ति दिलाउँछ।
अनलाइनबाटै दशैँ मनाउँदा तनाव घट्छ। अनलाइनबाटै आफन्तहरुमा भाइचारा कायम हुन्छ। संक्रमणको व्यवस्थापन राम्रो भयो भने अर्को वर्ष भेटघाट भईहाल्छ। दशैँ मनाउन पाइन्छ। विपत्तिको बेला चाडबाडभन्दा आफ्नो स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनु जरुरी छ।
वातावरण सोचेको जस्तो छैन। त्यसैले व्यक्तिको मन आत्तिने, डराउने, तनाव भईरहने हुन सक्छ। तनावले रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ। त्यसैले सबै परिवारसँग बसेर चाडपर्व मनाउन नपाए पनि आफूले गर्ने दैनिक कृयाकलापहरु जस्तै खाने, सुत्ने, योग गर्ने, पत्रपत्रिकाहरु पढ्ने, आफन्तहरुसँग अनलाइनबाट कुराकानी गर्ने गर्न सकिन्छ।
यसले गर्दा तपाईलाई एक्लोपनको महशुस हुँदैन। अनिश्चितताका कारण मनलाई व्यवस्थापन गर्न कतिपयले नकारात्मक व्यवहारहरु जस्तै रक्सी पिउने, चुरोट खाने गर्न सक्छन्। यस्तो व्यवहारले रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति कमजोर बनाईदिन्छ। त्यसैले हरेक व्यक्तिले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट परिवार, नातेदार र साथीहरुसँग सम्पर्कमा रहीरहने गर्नु पर्छ।
यदि तपाई किराना पसल, औषधी पसल वा अन्य सामानहरु खरिद गर्न जादै हुनु हुन्छ भने कम्तिमा दुई मिटरको सामाजिक दूरी कायम गर्ने। घर बाहिर हिड्दा मुखमा मास्क र हातमा पञ्जा लगाउने। हातहरु राम्रोसँग सफा गर्ने जस्तो व्यवहारहरु गर्न बिर्सनु हुँदैन।
यसले गर्दा मनोवैज्ञानिक, शारीरिक, र सामाजिकरुपमा स्वस्थ्य रहन सहयोग मिल्छ। त्यसैले दशैँ मनाउने तौर-तरिकामा परिर्वतन गरौँ। आत्मबल बढाउन अनलाइनमै भए पनि दशैँ मनाऔँ।