कोरोनाको माहोल भएको पनि ७ महिना पुग्न लागेछ। कोरोना संक्रमितको गन्तीसँगै दशैँ पनि आईसकेछ। दशैँ भनौँ कि कोरोना दशैँको ट्याग दिउँ यो दशैँलाई?
विगतलाई हेर्दा यसपालिको दशैँ फरक हुने नै भयो, आफ्नो दैनिकी तालिका समेत परिवर्तन भैसकेपछि पुरानो दशैँको झल्को खोज्नु पनि यो परिस्थितिमा कतै मूर्खता त होइन भन्ने लाग्छ, तर पनि मन हो। यता सोच्दा पनि हुँदैन, उता सोच्दा पनि नहुने।
अहिले र पहिलेको तुलना गर्दा विद्यार्थीहरुमा घटस्थापना अघिदेखि नै दशैँमा नयाँ लुगाको महत्व, स्कुलले दिने धेरै गृहकार्यको रिस, आफ्ना टाढा रहेका आफन्त भेट्ने खुसी, त्यो अहिले महशुस पनि गर्न पाएका छैनन्। अहिले विद्यालय लामो समयसम्म जान नपाउँदा सम्भव भएका ठाउँमा अनलाइन शिक्षाको माध्यमबाट घरमै बसेर अध्ययन गरेको भएपनि स्कुल जाने, खेल्ने चाहेको कुरा छुन पाउने लगायतका कुराहरुबाट बालबालिका बन्चित छन।
आरामले खुल्ला स्थानमा श्वास लिन समेत गाह्रो हुन थालेको छ। अनि त, मुख्यगरी बालबालिकाको लागि लाग्ने यो दशैँ, कोरोनाको कारणले त्यो पनि शून्य प्रायः छ। यता, वृद्धवृद्धा पनि घटस्थापना सुरु भएसँगै देवीको मन्दिर जाने, पुजा अर्चना गर्ने गरे पनि त्यो अहिले ठप्प छ।
मुख्य सहर बजारमा मन्दिरहरु नखोलेको लामो समय भैसकेको छ। यस्तैमा धेरैले मठ-मन्दिर खोल्नु पर्ने बताउँदै पनि आए। देवीको अनेक रुपको दश दिनसम्म पुजा गरी मनाउने भएपनि कोरोना कहरको कारणले मन्दिरमा रहेका देवीसँग भेट हुन पाएको छैन।
विभिन्न जिल्लाबाट भविष्य खोज्दै काठमाडौँ आएका दशैँको समयमा शून्य काठमाडौँ बनाएर आफ्नो ठाँउ फर्कने गर्दथे। तर जब कोरोनाका कारणले लकडाउनको सुरुआत भयो, त्यो समयमा नै लगभग २५ प्रतिशत आफ्नो ठाँउ फर्कीसकेका छन्। काठमाडौँ दशैँ आउनु ३/४ महिना अघिदेखि नै दशैँको माहोलमा शून्य हुने काठमाडौँ जस्तै बन्यो काठमाडौँ।
मलाई ठेलमठेल गर्दै न्युरोडको त्यो भिडको झल्को आउछ। दशैँको समयमा सबैको सपिङको मुख्य थलोको रुपमा रहेको त्यो असन र न्युरोड, सबैको रोजाइको केन्द्र रहेको छ। त्यहाँ जानु र भिड छल्दै एउटा आफूले मनपरेको वस्तु किन्न पाउदा ठूलो युद्ध जिते जस्तो हुन्थ्यो। अहिले त्यो सबै मात्र एउटा सम्झनामा।
विभिन्न स्थानमा नेपाली सेनाले लिंगे पिङ राख्ने गर्दथ्यो तर यसपालि भने लिंगे पिङको मज्जा पनि अधुरै रहने भयो। दशैँ आउने समयमा बर्खा सकिएको हुँदा आकाश खुल्ने गर्दछ। त्यो समयमा इन्द्र देवतालाई वर्षाको पानीले हामीलाई पुग्यो भनेर सन्देश स्वरुप चंगा उडाउने प्रचलन छ, तर अहिले यो रमाइलोको लागि उडाइन्छ, अहिले सबै घरमा फुर्सदिलो भएको हुँदा चंगा धेरैले उडाएको देखियो।
कोरोना दशैँको विषयलाई लिदा यो समयमा खसी, च्याङग्रा पहिलेभन्दा धेरै बिक्न सकेका पनि छैनन्। मासु किन्न जाँदा पनि कोरोनाको डर रहेको छ। कतै संक्रमण त हुने होइन भन्ने डर रहेको छ।
कोरोनाको कारणले विश्व नै आक्रान्त बनिरहँदा नेपालमा पनि धेरैको मृत्यु भैसकेको छ। दशैँ नजिकिदै छ। यो समयमा परिवार पूरै जम्मा भएर बस्न समेत डर छ, स्वास्थ्य सर्तकता अपनाउन आवश्यक पनि छ। आफू स्वस्थ छु भनेर मात्र पनि भएन, आफ्ना वरिपरि रहेकाको स्वास्थ्य अवस्था, रोग प्रतिरोध क्षमतालाई समेत ध्यान दिनु पर्दछ।
अहिले धेरै घरमा कोरोनाको कारणले आफ्नो परिवार गुमाउनु परेको पीडा छ। यस्तोमा हामी पनि साबधान रहनु पर्छ। विश्वमा नै कोरोनाको त्रास रहेको हुँदा अहिले जहाँ छौँ, त्यही रहेर सामाजिक दूरी कायम राख्दै दशैँ मनाऔँ, आफू र आफ्ना स्वस्थ छन् भन्ने लागे मात्र दशैँको टिका थापौँ। बाचे हरेक वर्ष दशैँ मनाउन पाइन्छ, त्यसैले साबधानी अपनाऔँ।