नेपाल लगायत विश्व नै कोरोना भाइरसबाट आक्रान्त भइरहेको बेला नेपालमा नेपालीहरुको महान् चाड दशैं, तिहार र छठ आएको छ। त्यससँगै मानिसहरुको आवतजावत पनि बढीरहेको छ। विषेशगरी विभिन्न पेशा र व्यवसायको कारण उपत्यका लगायत देशका मुख्य सहरहरुमा रही आएको मानिसहरु गाउँ जाने क्रम पनि बढीरहेको छ।
अहिले काठमाडौँ उपत्यका कोरोना भाइरसको हटस्पट नै बनेको छ। देशभर देखिने संक्रमितको संख्या मध्ये आधाभन्दा धेरै संख्या काठमाडौँ उपत्यका भित्रको नै रहेको छ साथै सक्रिय संक्रमितको संख्या पनि काठमाडौँ उपत्यकाको नै बढी रहेको छ।
काठमाडौँ उपत्यकाबाट गाउँ-गाउँमा मानिसहरु पुग्दा उनीहरुसँगै कोरोना भाइरस पनि पुग्ने भएकोले दशैँपछिको स्थितिलाई अनुमान गर्दै सरकारले उपत्यकामा रहेको मानिसहरुलाई चाडपर्व मनाउन गाउँघर नजान आग्रह गरेको छ। तर पनि उपत्यका छाड्नेको संख्यामा कुनै कमि आएको देखिदैन। सरकारले पूर्ण निषेधाज्ञाको नीति पनि अवलम्बन गरेको छैन भने सार्वजानिक सवारी साधनहरुको आवतजावत पनि सुचारु नै रहेको छ।
कोरोना भाइरस नियन्त्रणको लागि नेपालमा अहिले आइरहेको महान चाड दशैं, तिहार, छठ र अबको चिसो मौसम झनै चुनौतीपूर्ण रहने देखिएको छ। चाडपर्वमा मानिसहरुको आवतजावत अत्याधिक रहने हुँदा यो भाइरस सजिलैसँग फैलिन्छ भने यो पछिको चिसो मौसममा सामान्य स्वस्थ मानिसलाई समेत रुघाखोकी देखिने हुँदा हामीहरुकै असाबधानी आनीबानीको कारण सजिलै संक्रमण फैलिन सक्छ।
पहिले गरिएको लामो लकडाउनको कारण रुष्ट बनेको जनताहरुले अहिले सरकारले उपत्यका नछाड्न र प्रवेश नगर्न गरेको अनुरोधलाई बेवास्ता गरेको देखिन्छ। आम मानिस जातिले जतिनै घमण्ड गरेपनि यो भाइरस मानिस कै कारण एक जनाबाट अर्को व्यक्तिमा फैलीरहेको कुरा कसैले नकार्न सक्दैन।
चाडपर्व मनाउन उपत्यका लगायत अन्य जोखिमपूर्ण स्थानबाट गाउँघरमा जाने मानिसहरु लगायत अरुले पनि चाडपर्व मनाउँदा केही सामान्य जस्तो देखिने तर अति नै महत्वपूर्ण कदमहरु चालेर चाडपर्व मनाउने तौर तरिकामा परिमार्जन गर्न सकेको खण्डमा पनि संक्रमण फैलिनबाट धेरै हदसम्म जोगिन सकिन्छ। निम्न उल्लेखित कुराहरु अवलम्बन गर्न सके मात्र पनि धेरै हदसम्म संक्रमण फैलिनबाट रोक्न सकिन्छ।
१. उच्च जोखिमयुक्त क्षेत्र जस्तैः काठमाडौँ उपत्यका लगायत अन्य स्थानबाट बाहिर जादाँ पिसिआर परीक्षण गरेर मात्र जाने।
२. गाउँघर गइसकेपछि हिड्डुल नगर्ने, अलग्गै बस्ने तथा सरसफाईमा विशेष ध्यान दिने।
३. जोखिमयुक्त स्थानबाट गएको व्यक्तिहरु दीर्घरोगी र वृद्धहरुको नजिक नजाने, जानै परे अनिवार्य रुपमा माक्स लगाउने तथा उचित दूरी कायम गर्ने।
४. टिका थाप्न पहिले जस्तो धेरै घरमा आउजाउ नगर्ने, पाहुना लाग्दा सकेसम्म बास बस्नेगरी नजाने, बस्ने गरी जानुपरेमा एकै घरमा मात्र बस्ने।
५. पाहुना तथा अतिथि सत्कारमा खाना खाने प्रयोजनको लागि पुनःप्रयोग नहुने भाडाहरु जस्तैः कागज तथा प्लाष्टिकको गिलास, प्लेट, चम्चा आदि प्रयोग गरी सोको उचित व्यवस्थापन गर्ने। साथै पुनः प्रयोग हुने सामाग्रीहरु चलाएता पनि उक्त सामानलाई राम्रोसँग साबुन पानीले सफा गरी घाममा सुकाएर मात्र प्रयोग गर्ने।
६. चाडपर्वमा अत्याधिक मात्रामा जमघट गरी जुवातास खेल्ने हुँदा स्थानीय प्रशासनले अनुगमन गरी जुवातास खेल्न नदिने।
७. सामाग्री किनबेच गर्दा तथा बजारमा आउजाउ गर्दा मास्क, पन्जाको प्रयोग गर्ने तथा स्वास्थ्य मापदण्डको पूर्णपालना गर्ने।
८. चाडपर्व मनाउँदा धेरै देखावटी स्वागत सत्कार र मान-सम्मान होइन, सजक र होसियार भइ भावनात्मक रुपमा नजिक भइ मनाउने।
धर्म संस्कृति अनुसारको चाडपर्व मनाउनु सबैको नैसर्गिक अधिकार नै हो तर अवस्था र परिस्थितिलाई बुझी सोही अनुसार कदम चाल्नु आममानिस जातिको मानवीय कर्तव्य पनि हो। कारोना भाइरसले नेपालमा मात्र नभइ विश्वलाई नै आक्रान्त बनाइरहेको छ। जसको औषधी आजका दिनसम्मको अनुसन्धानबाट पत्ता लगाउन सकेको छैन।
जोखिमपूर्ण स्थानबाट असाबधानीपूर्वक गाउँघर जादा त्यहाँ पनि कोरोना भाइरस फैलिन सक्छ। जसको कारण स्वास्थ्य सुविधा नपुगेको दूरदराजमा रहेको अशक्त वृद्ध तथा दीर्घरोगीहरु उच्च जोखिममा पर्न सक्छ। हामी सबैले ख्याल गर्नु पर्ने कुरा के हो भने आफ्नो सानो हेलचेक्राइँले भोलि आफ्नै घर र समाजमा आइपर्ने दुखको भागिदार आफै नै हुनु पर्नेछ।
तसर्थ, होसियारपूर्वक हालको विकराल अवस्थालाई मध्यनजर गर्दै चाडपर्व मनाउँ। कसैलाई पनि आजको दशैँ भोलिको दशा नबनोस्। सबैलाई बडादशैँ, दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना।