हामी सबैले सानैदेखि नै सबैभन्दा धेरै सुन्दै आएको शब्द हुनुपर्छ, भाग्य र भगवान। हामीमध्ये धेरैजना जन्म, मृत्यु, बिहावारी, सफलता, असफलता जे होस्, भगवानले भाग्यमा लेखीदिएपछि मात्र हुन्छ भन्ने वातावरणमा नै हुर्किएको हुनुपर्छ।
भाग्य र भगवानको वरिपरि हामीले यसरी परिक्रमा लगाएका छौँ की एक्काइसौँ शताब्दीमा पुगीसक्दा पनि हामी भाग्य र भगवानको परिधिबाट अलि पर सरेर सोच्न डराउँछौँ। हामीलाई अझै पनि डर छ, हामीले दिनहुँ पुज्ने भगवान कतै हामीसँग रिसाउने पो होकी भन्ने।
भगवानप्रतिको मेरो आस्था पनि एकदम अटल छ तर हरेक कुरा भगवान र भाग्यसँग जोडेर हेर्ने प्रवृति देख्दा लाग्छ जमाना मात्र फेरिएको हो, हामी र हाम्रो सोचाइ त अझै पनि उस्तै छ। एउटा सन्दर्भ जोड्न मन लाग्यो, उमेर नै नपुगी छोरीलाई पढाउनुभन्दा बिहे गरी पठाउनु नै जाति भनी बिहे गरीदिन्छन् छोरीको आमाबुबाले।
पछि छोरीलाइ घरकाले हेला गरेपछि सजिलै पन्छाईदिन्छन् आफ्नो गल्ती छोरीको भाग्यमा। विचरीको भाग्य नै त्यस्तै रहेछ भनेर। उता ज्वाइनारान आफू पढेलेखेको, श्रीमती र आफ्नो स्तर नमिल्ने देखाउँदै बहुविवाह जस्तो अपराध गरेर पनि सजिलै पन्छिन्छन्। आफ्नो अपराधिक दायित्वबाट र पुरुषार्थ देखाउँदै भन्छन्- मेरो भाग्यमा नै दुई वटिको श्रीमान् हुन लेखिएको रैछ भनेर।
अझ हो त, जन्मिने बित्तिकै यस्को चिना हेराउँदा बाजेले दुई वटि बिहे गर्छ भन्या थिए भन्दै आगोमा घिउ थप्नेहरू प्रशस्तै भेटिन्छन् समाजमा। जे हुनु भयो, जे गरे पनि तिम्रो पतिपरमेश्वर तिनै हुन, मिलेर बस, भाग्यमा त्यही हुन लेखेको रहेछ, कसरी टर्थ्यो र भनेर जेठी श्रीमतीलाई सम्झाउनेहरुको जमातमा त लगभग समाजको बुद्धिजिवी तथा गन्नेमान्नेहरू सबै नै पर्छन्।
समाजमा पटक-पटक दोहोरिएको घटना देख्दा आफैसँग प्रश्न सोध्न पुग्छु, 'मान्छेले भाग्य बनाउँछ कि भाग्यले मान्छे बनाउँछ?' चित्तबुझ्दो जवाफ भने आजसम्म पनि फेला पार्न सकेकी छैन।
समाजमा पढेलेखेको मान्छेकै जमात किन नहोस्, कर्म र श्रमभन्दा पहिले भाग्यले नै अग्रस्थान प्राप्त गर्ने गर्दछ। हिंसा हुँदा होस् या कोही बालिका बलात्कृत हुँदा होस्, विचरीको भाग्य नै कस्तो, अकालमै ज्यान गुमाउनु पर्यो भनेर च्व:च्व शिवाय केही नगर्ने कै जमात बढी छ आज पनि समाजमा।
हुँदाहुँदा राष्ट्र निर्माण गर्ने त्यति ठूलो ओहोदामा बसेर दिनानुदिन बढीरहेको बलात्कारका घटनाहरु प्रति पूरै उपेक्षा गर्दै हाम्रो देशमा अरू देशको तुलनामा बलात्कारका घटना कम छ भनेर छाती फुलाउने राष्ट्रनिर्माता देख्दा लाग्छ, हामीलाई त जे कुरामा नि भाग्य नै त्यस्तै, दिन नै त्यति रैछ, हुने हार दैव नटार, जस्ता कुराहरुसँग बानी परिसकेको छ|
हामी अझै पनि सफल हुँदा भाग्यले सफल अनि असफल हुँदा भाग्यले असफल भयो भन्न कति पनि हिच्किचाउदैनौँ। हामी श्रम र कर्मभन्दा बढी भाग्यलाई महत्व दिन रुचाउँछौ र त धेरै सुनिन्छ अझै पनि- 'जति गरे पनि भएन, मेरो त भाग्यमा नै छैन जस्तो छ'। साँच्चै हामीहरुलाई यो भाग्यको परिधिबाट बाहिरिन अझै कति वर्ष लाग्छ होला है?
(लेखक कानुनको विद्यार्थी हुन्।)