बौद्धिक के हो? बौद्धिक को हो? बुद्धिजिवी कसलाई भन्ने? कसरी बन्ने बुद्धिजिवी? के खायो भने बुद्धिजिवी भइन्छ? मान्छे बुद्धिजिवी हुन्लाई कुन रंगको छाला चाहिन्छ? कतै अंग्रेजी जानेर पो वुद्धिजीवी पो भइन्छ की?
कसैले निकै राम्रो विचार दिने गर्छन्, तिनै पो हुन् कि बौद्धिक मान्छे? अर्थात् बौद्धिकतालाई हामीले कसरी बुझ्न सक्छौँ? बौद्धिकतालाई विचार गर्नु पहिले यी प्रश्नहरु हाम्रो मस्तिष्कमा खेल्ने गर्छन्। तर्क पनि आ-आफ्नै आउँछन्। तर बौद्धिकता नाप्ने कुनै थर्मोमिटर अहिलेसम्म बनेको छैन।
वास्तवमा आजको युग विचार, तर्क प्रमाणसँगै विज्ञनको युग हो। विगत केही वर्षकोको अन्त्यमा धेरै आविष्कार भएका छन्। यसको प्रभाव सतहीरुपमा खण्डित भएको छ। बौद्धिक मापन निकै फराकिलो भएको छ। हिजो निकै बौद्धिक ठानिएका व्याक्ति, विचार आज खलपात्र बनेका छन्।
सिद्धान्तका शब्दले चिहानबाट यामराजको दण्डित स्वरमा चिच्याइरहेको जस्तो देखिन्छ। ती शब्द पढ्दा जति आनन्द आउछ, त्यसको प्रयोगले हार्दिकता दिन्थ्यो भने आज सबैले हात मिलाएर हिड्थे होला। मुड्की बजार्ने हात गुप्त भैदिन्थे। मानवको दानवीय व्यावहार स्खुलित हुन्थ्यो, सारा जगतले काल्पनिक स्वर्ग खोज्न मृत्यु कुर्न पर्दैनथ्यो। के यो साँचो हैन त?
उत्तम विचार, गहन तर्क र वास्तविक प्रमाणले मानव मस्तिष्क नाप्ने हो। अस्तित्वको लागि सोच जरुरी हुन्छ। इल्नोर रुजवेल्ट भन्छन्- 'माहान मस्तिष्कहरु विचारको छलफल गर्छन्, मध्यम मस्तिष्क घटनाहरुको छलफल गर्छन् र सानो मष्तिस्कहरु मानिसको बारेमा छलफल गर्छन्' यसैबाट पनि थाहा हुन्छ मस्तिष्क र विचार परिपूरक छन्।
अझ कहिलेकाहीँ त विचार नै वस्तु भैदिन्छ। त्यो मूल्यमा बिक्दछ। यति मात्र फरक होकी, कसैको मूल्य कम कसैको बढी। अहिलेको पुँजीवादी समाजले मानव मस्तिष्क विभिन्न स्वरुपले बेचीरहेको छ। नाफा कमाइरहेको छ भने नाफामा बौद्धिकतामा डुलीरहेको छ। डुलीरहने बौद्धिकता जुन बाटो सजिलो छ, जहाँ जाँदा बढी फाइदा हुन्छ, त्यही जानसक्छ है भनेर अपेक्षा गर्न सकिन्छ।
बौद्धिकता र बुद्धिजिवीको परिभाषामा पनि हाम्रो विकासको अग्रगति र दुर्गतिको संकेत गर्छ। समाजलाई सिर्जनशीलता र चलायमान बनाउने भनेको ज्ञाननै हो। ज्ञानको मूल शिक्षा, सिकाइ र अनुभव हो। समाजलाई हामीले कसरी अगाडि बढाउने र यसको विरासत कस्तो बनाउने भन्ने कुरा हाम्रो मस्तिष्कको विकास, त्यसले दिने विचार र त्यसको प्रभावकारीतामा भर पर्ने कुरा हो।
जीवन, समाज, राजनीति, धर्म र राज्य सम्पूर्ण कुरा प्राकृतिक आवरणको वायुमण्डललीय धरातलका शाश्वतित तत्व हुन्। हामी मानव लगायत यो जगतमा आसिन लाखौँ प्रजातिका आ-आफ्ना ज्ञानेन्द्रियको मामुली निर्देशमा आ-आफ्नो अस्तित्वलाई अगाडि बढाएका छौँ। यो समाजलाई मानवीय आवरणमा यथार्थको कारखानाबाट बौद्धिक मस्तिष्क उत्पादन गर्दै उत्कृष्ट बनाउने सबैको चाहना हो। त्यसो भए एकैछिन शब्दको चौपारीमा बसेर यसैको बारेमा बात मारौँ न।
सामाजिक रुपमा बौद्धिक वर्ग
समाजका आ-आफ्नै मूल्य, मान्यता, सांस्कृतिक र परम्परा हुन्छन्। यसैको आधार हो समाजको निर्माण हुने। यसैमा नै हाम्रो मस्तिष्क टोहलीएर विकास हुने हो। सामाजिक मनोविज्ञानलाई केलाउने खासै अचुक औषधी त छैन तर यसैमा भए गरेका घटना र धरातलीय यथार्थसँग छलफल, बहस, र बौद्धिक गन्थनको फेरो समाएर बुझ्ने प्रयास गर्नु पर्छ।
मानव अस्तित्व, यसले बनाएको सामाजिक संरचना, आफै बाचिरहेको परिवेश, वृद्धि विकासको बारेमा घना जंगलमा आफ्नो अस्तित्वको लागि संघर्षरत आदिम कालीन मानव प्रजाति र अहिले यो समाजमा रमाएको आधुनिक मानव प्रजाति बीचको उतार चढावको बारेमा वास्तवमै व्याख्या विश्लषण गर्न मद्धत गर्दछ। अहिलेको समाज पूर्वी र पश्चिमी समाजको धरातलीय बिजमा आ-आफ्नो मूल्यमान्यता र यर्थातमा बाचेको छ।
सभ्यताको जस्तो रुप, रंग र मौलिकता भएतापनि अहिलेको विश्वव्यापीकरण, पुँजीगत प्रतिस्पर्धा र प्रविधिको माध्यमले हामी एक भएको सत्य हो। पूर्वीय सामाजीक आचरण र पश्चिमी सामाजिक आचरणमा तात्विक भिन्नता के छ? भन्ने बारेमा समाजको मनोविज्ञानलाई बुझ्न कोशिस गर्नु पनि पर्दछ। पश्चिमी बौद्धिक मस्तिष्क अलिक विश्लेषणात्मक बौद्धिकतामा विश्वास गरेको देखिन्छ।
खासगरी बेलायत, फ्रान्स, नेदरल्याण्ड, पोर्चुगल, बेल्जियम र जर्मनी पश्चिमी औपनिवेशिक शक्तिका अगुवा हुन्। यिनैका अधिनमा अमेरिका, अस्ट्रेलिया, अफ्रिकन र एसियन देशहरु लामो समय रहे। यहाँ अमेरिगो भेस्पुसाई, कोलम्बस, क्याप्टेन जेम्स कुक र भास्को द गामा जस्ता नामुद नाविकहरुले जलदेखि थलसम्मका भूभाग पत्ता लगाए। यता आर्कीमिडिज, हेपोक्रेट्स, पेलेटो, सोक्रेट्स, एरिस्टोटल, एलेकजेन्डर, रुसो र कार्लमाक्स जस्ता दार्शनिक हस्तीहरुको जन्म भयो।
यिनै दार्शनिकको शब्द, विचार र बहसलाई आधुनिक कथा बुनेर व्याक्तिगत आर्थिक उन्नति, बजार र वित्तीय प्रणालीको संरचनागत स्थायित्व दिएर धार्मिक आस्थामा बाइबलको सर्वोच्चतामा एकप्रकारको समाज निर्माण गरिएको विश्लेषण गर्न सकिन्छ। यसलाई नै हामीले पश्चिमी बौद्धिक समाज भनेर व्याख्या गरेका छौँ। यता पूर्वीय देशहरु लामो समय पश्चिमी देशसँग उपनिवेश भएर बसे उनीहरुले पूर्वीय समाजलाई गरिब, पछौटे र एकप्रकारले पाखेहरुको समाज भन्ने गर्दथे। यसको असर समाजमा निकै लामोसमयसम्म पर्यो।
वास्तवमा एउटा शताब्दीभर नै यो समाजको मष्तिस्कहरु निष्क्रिय भएरै बस्यो। यहाँ दर्शनको जरो खासगरी ज्योतिष विज्ञान र धार्मिक ग्रन्थहरु हिन्दुजम, बुद्धिष्ट, कन्फ्युसीयसी जस्ता अनुयायीकारी ग्रन्थले पूर्वीय समाजलाई एकप्रकारको स्कुलिङ दिएको छ। यहाँ कन्फ्युसियस, गौतम बुद्ध, दलाई लामाहरु, गुरुनानक, लाओ टिजु, रुमी, जस्ता हस्तीहरुको जन्मले पनि पूर्वीय समाजलाई रुपान्तरणमा ठूलो योगदान भएको सत्य हो।
यसरी प्राचीनकालदेखिको मौलिक संस्कृति र परम्परालाई धरातलीय यथार्थसँग जोडेर श्रृजनात्मकमा परिवर्तन गर्न कोशिस गरीरहेको एउटा बौद्धिक समाजलाई समालोचनात्मक रूपमा हामीले पूर्वीय समाज भनेर व्याख्या गर्न सक्छौँ।
नेपाली समाज पूर्वीय दर्शन, संस्कृतिबाट संश्लेषित समाज हो। दक्षिण एसियाको बहुजातीय, बहुभाषिक र बहुसंस्कृति सहित धर्म निरपेक्ष समाज नेपाली समाज हो। हाम्रो शास्त्रीय इतिहासमा गौतम बुद्ध, फाल्गुनन्द, राजा जनक र अरनिको जस्ता बौद्धिक कहलिएका व्यक्तिको हाम्रो समाजमा नै जन्म भएको हो। यो गौरवपूर्ण इतिहासलाई नचिनेरै हाम्रो आचरणलाई अझै पनि विवेकी र नैतिकता बनाउन सकेको छैनौँ।
यहाँ केही वुद्धिजिबीहरुको जमात छ। जो राजनैतिक स्वार्थ र भ्रष्ट आचरण केन्द्रित भैकन यथार्थभन्दा बाहिरको अस्थायी दृष्टिकोण र भ्रमरुपी ज्ञानलाई हामीले बौद्धिकताको श्रीपेच लगादिएका छौँ। यसैको परिणाम हामी र हाम्रो सन्तति भोग्ने निश्चित त छ।
राजनीतिकरुपमा बौद्धिक वर्ग
बौद्धिक समाजलाई मेजर गर्ने अर्को तत्व राजनीतिक हो। विश्व बजारलाई कुनै पनि तत्वले तुरन्त परिवर्तन गर्न सक्छ भने त्यो भनेको राजनीतिक प्रणाली नै हो। समाजमा बस्ने व्याक्ति र परिवार राजनीतिले अकाट्य रुपमा बाधेको हुन्छ। कुनै पनि नागरिकले मैले राजनीति गार्दिनँ भन्दैमा ऊ त्यसको व्यवस्थाबाट भाग्न सक्दैन।
सन् १९९० मा सोभियत युनियनको पतनभन्दा पहिले ग्लोबल सोसाइटीमा खासगरी मार्क्सवादी र गैर-मार्क्सवादी गरी दुई ध्रुवमा विभाजित थियो। तर १९९० मा सोभियत यूनियनको पतनसँगै राजनीतिक विश्व बजारमा नगन्य परिवर्तन भएका छन्। अहिले सिद्धान्त र दर्शनको आत्मज्ञानभन्दा भूगोलराजनीतिमा अमेरिका र चिनको व्यावहारिक तथा आर्थिकस्तरमा भएगरेका राजनैतिक चुरीफुरीको बीचमा बौद्धिक जगत घुमेको छ।
हालको ग्लोबल सोसाइटीमा बौद्धिकताको निकै क्षय भएको छ। सामान्य उदाहरण हेर्ने हो भने अहिले फैलिएको कोभिड-१९ रोगबाट बुझ्न सकिन्छ। यो रागको यथार्थ अध्यन र विश्लेषण धेरै हुन् अवस्था छैन। यधपि यसको बारेमा हरेक एंगलबाट जानेको जस्तो गर्ने, सबै डाक्टर जस्तो बनीदिने, भ्रम छर्ने र मानिसको मनोबैज्ञानिक मनोबल घटाउने र यसैमा व्यापारको खेती गर्ने काम भएको छ।
यस्तो अवस्थामा पनि संवेदनशील नभएको बुझ्दा साच्चै बौद्धिकताको ह्रास आएको सत्य हैन त? वास्तवमा समस्या के भैदियो भने, यहाँ सबै चिज पुँजी, सम्पत्ति र स्वार्थमा रजाउन थाल्यो। यसको परिणाम राम्रो त हुने छैन नै, अब आउने सन्ततीले निकै खतरनाक रुपमा यसको परिणाम भोग्ने छन्।
अहिले हाम्रो समाज आलोचनात्मक टिप्पणीलाई बौद्धिक ठान्नेहरू निकै हौसियाका यथार्थ हो। जब समाजमा आलोचनात्मकतालाई मात्र मलम लगाइन्छ। त्यो समाजको सबैभन्दा ठूलो दीर्घ रोग हुने निश्चित छ। हामीले त आलोचनालाई सकारात्मक श्रृजनामा प्रयोग गर्न सक्नु पर्थ्यो तर त्यो भएको छैन। आज सामाजिक संजाल प्रयोग व्यापक बढेको छ।
दुई करोड नेपालीभन्दा बढी जनता कुनै न कुनै रुपमा यसमा जोडिएका छन् र प्रयोग गरीरहेका छन्। तर यसलाई सकारात्मक प्रयोग बिल्कुलै देखिदैन। खाली उत्तेजित आक्षेप र नश्लीय व्यभिचारी दृष्टिकोणबाट व्यंग्यात्मक शैलीको आवेशमा उफ्रदै गर्दा हाम्रो समाज कुन ठाउँमा लैजादै छौँ भन्ने अर्को अनुत्तरित प्रश्न छदैछ।
नेपाल निकै लामो समयदेखि अस्थिर राजनैतिक संकटको भूमरीमा चक्र लिप्त भयो। राणाहरुको जंगे अड्डादेखि राजा-मराहाराजा, पंचायती हैकम, दश वर्षे माओवादी सशस्त्र युद्ध र राजनैतिक अदूरदर्शीले लामो समय नेपाली चन्द्र-सूर्य चक्रव्युमा फसेको सत्य हो। यही समयमा नेपालमा बौद्धिकताको खडेरी चर्किएको पनि साचो हो।
धेरै बुद्धिजिवीहरु त राजनीतिक आवरणमा घटनाहरुलाई लडबडाएर पैसाको खेती गर्नमा आत्म-केन्द्रित देखिन्छ्न। आजको नेपाली समाजमा मानवत्व र दानवत्व बनाउने तत्वको घनत्व ज्यादा बढेको छ। अल्पकालीन फाइदाको लागि भजन किर्तन गर्न मरिहत्ते गर्ने र फेरि त्यसलाई थुथुको घातक स्वरका घण्ट ध्वनि बजाउदै हिड्ने जमात बजारमा सस्तैमा पाइन्छ।
यसले मानवीय क्रियाकलापमा कति के असर परीरहेको छ र यसले गर्दा मान्छेको दैनिक क्रियाकलाप प्रतिको दिक्दार कति हुन्छ होला? त्यसबाट समाजमा दीर्घकालीन असर के होला? सायद हामीले यसको ख्यालै गरेका हुँदैनौँ। अझ भनौँ, आजकल त सामाजिक संजाल र युट्युब वरिपरि आत्मविश्लेषणमा केन्द्रित भएका छन्।
यसले समाजलाई विभाजन र वितृष्णा ल्याउने बाहेक केही गर्ने हैन। यस्तो मस्तिष्क विकास हुनुमा राजनीतिक अबुझ तत्वको मनोवैज्ञानिक स्कुलिङ र व्यावहारिक पक्षमा भैरहेको नैतिक र विवेक पतनको उपज हो।
अन्त्यमा,
बौद्धिकता समय र वातावरणले निर्धारण गर्ने कुरा हो। बौद्धिक र बुद्धिजिवी समाजका फरक पात्र हुन्। बौद्धिकता स्वतन्त्र हुन्छ भने बुद्धिजिवीहरु कुनै न कुनै रुपमा ढोंगी आचरण समाहित हुन्छन्। जस्तो हाम्रो समाजमा नपढेको बाहुन्ले पुजा गरेर त्यहा पुण्य हुन्छ। तर एउटा दलित उसले संस्कृत पढेर पुजा गरे पनि त्यहाँ पुण्य हुँदैन। हो, यसबाट नै बौद्धिकताको खाडल उत्पादन हुने हो।
बौद्धिक समाजको अर्को रोचक कुरा के हो भने हामीले बानाएका धर्म, राज्य, पैसा यी सबै मिथक र भ्रामिक वस्तुगत तत्व हुन्। खास वस्तुगत यथार्थ हैनन्। वास्तविक संसारमा तिनीहरुको उत्पत्ति हाम्रै कलात्मक औजारले भएको हो। जब हामी मन्दिर, मस्जिद, गुम्बा, चर्चहरु देख्छौँ, तिनीहरु वस्तुगत यथार्थ भएता पनि धर्म त हाम्रो मस्तिष्कीय भ्रमिका उपज न हो।
राष्ट्र र राष्ट्रवाद कल्प नि भ्रम हो भने जनता र भूगोल यथार्थ हो। हामीले पैसा बनाएका छौँ। यसलाई प्रयोग गरेका छौँ। अझ भनौँ, पैसा त मानवीय इतिहासको उन्नत आविष्कार हो भन्दा फरक पर्दैन। यसले टाढाको मानिसलाई नजिक र नजिककोलाई टाढा पनि बनाउँछ। त्यसैले पनि पैसामा अडिएको हाम्रो विश्वास एउटा नमुना भ्रम हो। यी सम्पूर्ण चिजलाई लगाम लगाउने मानव समाज नै हो।
यो जगतमा करिब ८७ लाख प्रजातिको अस्तित्व रहेको अनुमान छ। यी सम्पूर्ण प्रजातिहरु एउटा मानव जातिको निर्णयमा कैद भैरहेको छ। मानव जातिको उत्पति र विकासका कथा धेरै लामा छन्। यो पृथ्वीमा निरन्तर कब्जा गर्दै आएको यो मानव एक-अर्कालाई पछार्ने र लछार्ने बीचको द्वन्दमा फस्दै आएको छ। यसको बारेमा विश्लेषण गर्ने पनि त बौद्धिक मस्तिष्क नै हुन्। यसको लागि कुनै विश्वविद्यालयको प्रमाणपत्रको आवश्यक छैन।
त्यसैले, वास्तविक यथार्थको कुण्डलीलाई बोकेर बहुदृष्टिकारी भएर प्राकृतिक नियमको सर्वोपरीमा हार्मो समाजलाई सही बाटोम हिडाउने बौद्धिक मस्तिष्क हराएकै हो वा खोक्रिएकै हो? प्रश्न गर्न त सकिन्छ है।