दशैँ हाम्रो महान चाडको ऐतिहासिक पक्ष हो। दशैँ संस्कृत शब्द दशमीबाट अपभ्रंश हुँदै दशैँ बनेको हो। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन खुसीले मनाइने चाड नै दशैँ हो। दशैँको अर्थ नै हाँसो उमंग हो। दशैँको मालाश्री धुनमा नाच्छन् शरद ऋतु, गीत गाउछन् चराचुरुङ्गी। दशैँमा मान्छेले मात्र वस्त्र फेर्दैनन्, घरले पनि नयाँ रंगको वस्त्र लगाएर उफ्रिन्छ्न्।
भेटघाट, आशिर्वाद र हर्षउल्लासको पर्यायवाची हो, दशैँ।
ऐतिहासिक पक्षको स्मरण गर्दा विगतका दशैँमा नवौं देवीहरु प्रकट भएर आशिर्वाद दिए जस्तो महशुस हुन्थ्यो। ठूलाबडाको हातबाट टिका अर्पण गर्दा पनि माता भवानीले टिका जमरा लगाइदिए जस्तो हुन्थ्यो। र वर्तमानलाई सम्झदा संस्कृतिमा छाल आए जस्तो लाग्छ।
वर्षौंदेखि बार्दै आएको परम्परा हो महिनावारी, महिनावारीमा जे गरेपनि भगवानको थान त छुनु नै हुँदैन तर नयाँ जमानाका हौँ हामी भन्दै टिका लगाइदिन्छौँ। मन्दिरमा त्यती चोखिनीतिले राखिएको मूर्ति त नदीमा डुबाएर सफा गरेर माल्यार्पण गरेर पुन: देवीकै स्थानमा राखिन्छ अनि मात्र पुजिन्छ भने हामी त झनै पवित्र भएर संस्कृतिमा भिज्नुपर्ने हो। सत्य युगमा चोखिनीतिको निकै नै ख्याल हुन्थ्यो भने वर्तमानमा हामी आफै नियम बनाउछौँ।
देवीपुराण अनुसार सत्य युगमा मैसासुर नाम गरेको महापराक्रमी दैत्य थिए, उनले भैसीको गर्भबाट जन्म लिएका थिए। मैसासुरले कठोर तपस्या गरी ब्रम्हाबाट नमर्ने बरदान पाएका थिए। मैसासुरले स्वर्गमा देवताहरुलाई आक्रमण गरी त्राही-त्राही बनायो। सबै देवताहरुले मार्दा मैसासुर नमर्ने बरदान पाएको हुँदा, सबै देवताहरुले आ-आफ्नो शक्ति पुञ्ज निकाले, जुन शक्ति पुञ्जहरु एकीकृत भइ शक्ति स्वरुप नवदुर्गा भगवानीको रुप धारण गरे।
यो चण्डीका रूपी भगवतीलाई अम्बिकाको नामले पनि चिनिन्छ। भगवतीले मैसासुरसँग आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म घमासान युद्ध गरी चण्डीका देवीले मैसासुरको दशौँ दिनमा हत्या गरिन् र त्यो दिनलाई ठूलो विजय भनेर मनाइयो। र दशैँ यसरी रहन गयो।
सत्ययुगमा मानिसहरु भगवानको मूर्ति सामु उभिएर पुजा गर्ने पनि डरले पैतला डग्मगाउथे। तर कलियुगमा बिना डर नारीको कपडा उसकै शरीरबाट च्यातेर नारीकै चिरहत्या गर्ने थालेका छन्। ब्रम्हाको अगाडि त सबैभन्दा शक्तिशाली नारीलाई लिइन्छ भने यो कलियुगमा सबैभन्दा कमजोर नारी नै भएका छन्। अहिलेको अवस्थामा सत्य माथि असत्यको जित भएको छ।
नारीलाई अप्सराको रुपमा मात्र हेर्ने जमातको भिड छ। नारीको सौन्दर्यलाई कामुक नजरको तिर चलाउने महिसासुरहरु गल्ली-गल्लीमा छन्। त्यसैले अबको नारीहरु पनि आफूलाई अप्सरा बनाउने कर्ममा मात्र नलागि नारीहरु काली बन्न जरुरी छ। अप्सराहरुलाई देवताले आफ्नो इसारामा नचाउने मात्र हो। कालीले त देवतालाई पनि आफ्नो चरण मुनि राख्न समर्थ हुन्छिन्।
दशैँको महिना नजिकिदै गर्दा घरमा पाक्दै गरेका सबै खानामा दशैँकै बास्ना आउने। फुल्दै गरेको त्यो गन्हाउने गन्धे फूलमा पनि दशैँले छोएको भएर होला पारिजात जस्तै बास्ना आउँछ। म दिनभरि केही नखाइ मात्र पारिजात फूलको सुगन्ध लिएर नै अघाउन सक्छु। मलाई दशैँ र पारिजातको फूलसँग निकै नै मोह छ।
साँझमा पारिजातको बोट मुनि थुप्रै बोराहरु ओछ्याएर बिहानै उठन साथ कति फूल खस्यो भन्दै हेर्ने दकुर्थे। फूललाई सुकाएर राखी धेरै महिनापछि धुपौरोमा घ्यु र पारिजात मोलेर धुप हाल्दा पनि कता-कता दशैँले छोए जस्तो भान हुन्थ्यो।
पहिले पहिले आफ्नै परिवार नभए पनि अग्रजको हातबाट टिका लगाउन पर-पर डालीभरि कोसेली पात बोकेर जान्थे। त्यही टिका लगाइदिने मान्छे अर्को वर्ष मरे भने पोहोर साल टिका लगाएकै भरमा यसपाली निधार खाली राख्थे, तर अहिले आफ्नै परिवारको कुनै सदस्य अन्तिम क्षणमा भएपनि चिन्तामा डुब्नुको सट्टा प्राण जानु अगावै दशैँको टिका लगाइ हालौँ भन्ने प्रवृत्ति हामीमा बढेको छ।
दशैँको महिना लाग्ना साथ बिहानै उठिन्थ्यो। त्यो शितल हावा चिसो सिरेठोले मनमा एक किसिमको खुसी दिन्थ्यो। आमासँग रातो माटो र कमेरो भिजाएर पोतरीले घर लिपिन्थ्यो, लामो लामो बासको भाटामा पुरानो कपडा पोको पारेर माकुराको जालो उफ्री-उफ्री घर सफा गरीन्थ्यो। काक्राको अचार दशैँकै लागि भनेर बोटमै पटपट्ती पाक्ने गरी बोटमै दशैँको लागि साचिन्थ्यो।
केरा दशैँकै लागि भनेर घारीमै पकाएर राखिन्थ्यो। दशैँकै लागि भनेर घरमा ल्याएको सर-सामान ओल्टाई पल्टाई बारम्बार हेर्दै बसिन्थ्यो। दुई दिनदेखि घरमा खाना नखाएको जस्तो गरी घुर्की लगाएर बल्ल-बल्ल गरेको दशैँको सपिङ पनि २ वर्षपछि मिल्ने साइजको हुन्थ्यो।
वर्षमा एक चोटि पाएको त्यो एक जोडी कपडा पाउँदा पनि दिनभरि लगाएर टोलभरि सबैको ध्यान आफूतिर तानिथ्यो। अनि राति घर आएर त्यो कपडा मिलाएर सिरानीको आड नजिकै राखिन्थ्यो। अझ बहिनीको कपडा पनि लुकेर ऊ निदाएको बेलामा विस्तारै निकालेर लगाइन्थ्यो अनि अच्चममा पर्थेँ।
बहिनी मभन्दा पनि निकै सानी छे तर उस्को कपडा मलाई पो ठिक हुन्थ्यो अनि सोच्थे, बहिनीलाई अझ यो कपडा ठिक्क हुन २/३ वर्ष कुर्नु पर्ने रहेछ। साथीहरु सबै दशैँकै कपडा लगाएरै पिङ खेल्न आउथे, सबैको कपडा हामीहरुको जत्रो ठूलो त हुँदैनथ्यो। किनकी साथीहरु त हरेक पर्वमा कपडा आफ्नै साइजको किन्थे। तर हाम्रो कपडा ठूलै भएपनि ओठमा मिठो मुस्कान सदा सजाउने भएर होला सबैभन्दा आहा! त हामी देखिन्थ्यौँ।
दशैँमा टिका लगाएर पाएको पैसा आधा त आमाले नै मागेर अरुलाई टिका लगाइदिनु हुन्थ्यो। बाँकी हामी लुकाएर पसलमा देखिएका मिठाइहरु खानकै लागि बचाएर राख्थ्यौँ। आमाले त्यो पैसा फकाइ फुलाई मागेर नै छाडनु हुन्थ्यो। दशैँपछि स्कुल खुल्दा लिएर जाने खाजा किन्दिनको लागि आमाले प्लाष्टिकमा पोको पार्देको भुजा र दालमोठ स्कुल जाँदा बाटो मै खाएर सकिन्थ्यो।
घरमा आफ्नै नामको पिङ नबनाईदिएसम्म फुलेर बस्ने हामी आफ्नो घरमा पिङ राख्दिना साथ त्यही गाउँको लिङ्गे पिङमा झुण्डिन पुगीहाल्थ्यौँ। बिना खाना बिना पानी दिनभरि पालो कुर्दै बस्थ्यौँ। मान्छे जाना साथ हामी पिङमै झुण्डिएको झुन्डियै गर्थौँ।
मान्छे पिङ खेल्न आउना साथ हामी दिदीबहिनी झगडा गरेजस्तो गर्थौँ। र एक अर्कामा झगडा गर्दै ल ल, तलाई मच्चाईदिन्छु खेल भन्दै ठूलो-ठूलो आवाजमा बाज्थ्यौँ। अनि पालो कुर्नेहरु पनि अत्यास लागेर पालो-पालो घर फर्कन्थे। अनि हामी झनै उत्साहका साथ पिङलाई बटारी बटारी रिङगटा लाग्ने गरी लट्टालाई बटार्दै पिङ्ग खेल्थ्यौँ।
पिङ जोडले मच्चिदै गर्दा आमाले हातमा लठ्ठी बोकेर आएको पिङबाटै देखेर मच्चाएको पिङबाटै डरले हाम फालेर भाग्थ्यौँ (त्यो पो हो त साँच्चैको दशैँ)। अहिले सम्झदा पनि मनले साच्चै नै मेरी चन्चले बहिनी अनि त्यही दशैँको खुसी, मेरी बहिनी पिङमा खेल्न पाउदा पनि निकै खुसी हुन्थी। त्यो बाल्यकाल अनि त्यही मेरी बहिनी साथ नभएर होला, अचेल दशैँको रमाइलो नै लाग्न छोडयो। मलाई मेरी बहिनीसँग पिङ खेलेर पुगेकै छैन।
उमेर ठूलो भएपनि मनले बाल्यकालकै रमाइलोलाई सम्झन्छु। मेरो प्राण रहँदासम्म दुर्गा भवानीसँग मेरो बहिनीहरुलाई आशिर्वाद माग्न मन छ। मेरी बहिनीहरुलाई माता भवानीले आफू जस्तै बलियो मनको र शक्तिशाली हुने बरदान दिउन्।
यो दशैँमा एकपटक साँच्चै मनदेखि नै सम्झनुस् त आफ्नो बाल्यकाल, जुनबेला तपाई आफ्ना दाजुभाइ दिदीबहिनीसँग बिना स्वार्थ रमाउदै खेल्नु हुन्थ्यो। बहिनी दाजुभाइसँगै बसेर नयाँ नोट गनिन्थ्यो र पो दशैँको रहर लाग्थ्यो। साथीभाइ मिलेर सकी-नसकी कालीमाताको मन्दिर चढिन्थ्यो र पो दशैँ आएजस्तो लाग्थ्यो।
घरमा धेरै नै मासु पाकेर स्वाद फेर्नकै लागि भनेर लुकेर चाउचाउ किन्ने पैसा उठाएर चटपट बनाएर सबै मिलेर खाइन्थ्यो र पो दशैँको रमाइलो लाग्थ्यो। घटस्थापनाको दिनदेखि गाउँमा खसी बाख्रा कराउँथे, हाम्रोमा कहिले खसी ल्याउछन् भन्दै कुर्दै बस्दा एक्कासी घरमा खसी ल्याएको देख्दा पो दशैँको रमाइलो लाग्थ्यो।
दशैँ बिदा भएर घर फर्कदा स्कुलको गेटमा पनि पारिजातको फूल फुलेजस्तो सुगन्ध आउथ्यो। अनि १५ दिन दशैँ बिदा हुने खुसियालीमा निकै रफ्तारमा बहिनीको हात समात्दै दगुर्दै घर आइथ्यो। दशैँमा काट्ने खसी देख्दा बकैनाको रुखमा चढेर घाँस झारिन्थ्यो। अघिपछि एक फिर्को मासुसँग कचौराभरि झोल खाएपनि दशैँको लागि भनेर आफ्नै आँगनमा घोर्ले खसी देख्दा हामीहरु पनि सम्पन्नशाली भइएछ भन्ने महशुस हुन्थ्यो।
त्यो बेलामा फलानोको घरमा खसी काटिदै छरे भन्दा छिमेकी काका, घरकै काका बुबा भएर खसी भुत्लाउन लाग्नु हुन्थ्यो। अरु बेलामा चुलोमा ढिडो पाकेपनि दशैँमा सेतो चामलको हिरा जस्तो टल्कल्ने भात पाक्थ्यो। अहिले दिनहुँ सेतो चामलको भात खान्छौँ तर सबैले एक-अर्कालाई ढाड फर्काएर खान्छौँ। मासु त अहिले झोल नै नहाली खाइन्छ तर स्वार्थ र लोभको झोल त परिवारको सदस्यमा लप्पक लेसीएर लागेको छ।
मलाई दशैँको मिठो लाग्ने भाव भनेकै आशिर्वाद हो। सानोमा हजुरबुबाले दिएको आशिर्वाद सुन्दा एक मिठो निद्रा नै लाग्थ्यो। सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने आशिर्वाद हजुरबुवाले आफ्ना सन्तानलाई दिनु हुन्थ्यो। त्यो आशिषको अर्थ मैले गलत बुझे वा आशिष पाउनेले आफ्नालाई पछारेका हुन थाहा नै भएन। हजुरबुबाका सन्तान गन्दामै हातका औँलाभरि समेटी नसक्नु छन् तर अहिले हजुरबुवाको औँलाको कापामा आफूजस्तै बृद्ध लाठीले उहाँको साथ दिएको छ।
दशैँमा आफ्नै बुबा-आमाले ठूलो मान्छे बन्नु भनेर दिएको आशिर्वादमा निकै नै अर्थपूर्ण भाव भेटिन्छ। आजभोलि यो आशिषको गलत प्रयोग गरेका छन्। दाइ हिँड्ने बाटो भाइ हिँड्दैन, भाइले खाएको भान्साको खाना दाइले खादैन। आफ्ना सन्तान हिरा लाग्ने दाजुभाइका सन्तानको अस्तित्व झुसिलकिरा जतिको पनि नलिग्दिने।
यहाँ बुवाको ठूलो मान्छे बन्नु भन्ने आशिर्वादले आफ्नै घरकै सम्बन्धलाई तौलिन पुगेको छ, भाइले दाइको गोडा ढोग्दैन। दाइले आफ्नो सपनाको बलिदान दिएर हुर्काएकै भाइको ब्याज तिर्दा तिर्दै दाइले बुढेसकालको लाठी टेक्छ। दाइ भाइसँग बोल्दैन, दाइ भाइसँग आफ्नो मनको कुरा खोल्दैन।
भाइको घर अगाडि दाइ हिँडयो भनेर भाइले गेट मै कुकुर खोल्दिन्छ। यहाँ दाइ भाइको ऋणी छ, भाइ दाइको ऋणी छ। परिवारलाई त घमण्ड र स्वार्थले चुरलुम्मै डुबाएको छ, यस्तो सम्बन्धलाई दशैँले खै कसरी एउटै डोरीमा समेट्न सक्ला र? सम्बन्धहरुमा डढेलो लागेर कुरुप बनेको छ। अब फेरि सम्बन्धका उजाड जमिनमा वृक्षारोपणको आवश्यकता छ।
ठूलो भएपछि आफ्ना चाहानाहरु सेलाउँदा रहेछन्। मेरी आमा पनि म जस्तै सानी हुँदा म जस्तै हरेक कुराको लागि रुनु हुन्थ्यो होला। आमाको बाल्यकालको बारेमा सोच्नको लागि आफू त ठूली नै हुनु पर्ने रहेछ। घरमा भएको सानो सदस्यले कपडा किने आफूलाई त्यसै दशैँले छोएजस्तो हुने रैछ।
भाइसँग बजार निस्किएँ, मेरो भाइको फ़ूर्तिलो जोस देख्दा आफ्नो बाल्यकालको याद आयो। भाइ बजार पुग्नासाथ खुसीले सामान रोज्न थाल्यो। उस्ले आफ्नो लागि चाहिने सबै सामान रोज्यो, र घरको बाँकी सदस्यको लागि पनि केही न केही किनीरह्यो। भाइले बोक्ने नसकिने गरेर ट्रल्लीमा सामान रोजीसक्या थ्यो। हामीले सबैको लागि एक एक जोर कपडा किन्यौँ।
बजारको त्यस्तो रमझम देख्दा पनि मन एकोहोरो बाल्यकालमै जमेको देख्दा उराठ लाग्यो। सानोमा त्यस्तो खुसी हुने मेरो मन उफ! खै त अहिले? मागेर पाउने भए म त्यस बेलाको मेरो खुसी र बाल्यकालकै दशैँ माग्थेँ।
स्कुलमा गएर फेरि भर्ना गरेर त्यो बालापन आउने भएको भए म फेरि स्कुल जान्थेँ। अहिलेको दशैँलाई निहाल्दा दशैँ बच्चै छ, आफू निकै बुढो भएको भान भयो। मनलाई त्यसै नानाथरी पिरले बिथोल्न खोजेको रहेछ। मन आफैबाट फुत्किएर दशैँमा उडाउने चङ्गा जस्तै पर पर उडेको छ।
सानोमा सोच्ने गरेका हरेक कुरा उमेरले आफै परिवर्तन गर्दिने रहेछ। सानोमा अन्सन बसेर कपडा किन्न लगाइन्थ्यो, अहिले लगाउने कपडा अथाह छन् तर ति सबै कपडा लगाएर हेर्दा पनि दशैँ आएको महशुस नै हुँदैन।
बजारमा देखिएका ती रंगीचंगी कपडाले पनि मेरो मनलाई तान्न सकेन। मेरो भाइले दिदी हजुरको मन पर्ने पहेको कलरमा कति राम्रो कुर्था हेर्नुस् भन्दै थियो। कुर्थामा ध्यान नै नदिए जस्तो घरी झुलुक्क हेरेँ, कुर्था देख्दा मैले मन थाम्नै सकिनँ। कुर्थामा पहेको रङ्गले बुट्टा भरेको भएपनि दशैँको रातो रंगभन्दा पनि मिठो गाढा रंग देख्न थालेँ।
मैले बाटो मै उभिएर पनि त्यो कुर्थालाई ३ पटक निहाल्ने कोशिस गँरे। बाटो काटेर पारि पट्टि पुग्दा पनि हेरिरहेँ, मेरो मनलाई भन्दा पनि मेरो आँखालाई दशैँ लागीसकेछ। तैपनि पसलमा गएर कुर्थाको मूल्य सोध्ने आँट गर्ने सकिनँ। निकै खुसी पनि लाग्यो, यसपालि मेरा रहरहरु बच्चा बन्न सफल बनेछन्। मेरो आँखामा त्यो एक जोडी कुर्था बारम्बार घुमिरहन सफल भयो।
र अहिले मेरो रहरभन्दा पनि बाध्यता ठूला छन्। सायद थैली अल्लि गह्रौ भएको भए, म माथिको जिम्मेवारी कम भएको भए, मैले पसलतर्फ पाइला बढाउन सक्थेँ होला। निकै अगाडि हिँडेर आईपुदा पनि आँखालाई ढपक्क त्यही पहेलो कुर्थाले ढाकीराख्यो।
मनको कुनै पनि कुनालाई दशैँले छोएकै थिएन तर हातले पनि स्पर्श गर्ने नसकेको त्यो कुर्थाले टाढैबाट पारिजातको फूलले भन्दा पनि मिठो स्पर्श छरीरहयो। आँखाले पहेलो रंग देख्ना साथ बारम्बार त्यही कुर्थाको चित्र कोर्ने थाल्यो।
यो कोरोना कहरको समय छ। सकेसम्म यसपालिको दशैँलाई बडा दशैँ होइन, वडा दशैँ बनाउन पर्ने देखिएको छ। वडा दशैँ यानिकी तपाई जहाँ हुनुहुन्छ, त्यही बसेर दशैँ मनाउने। यदि तपाई यात्रा गर्नुभयो भने कोरोनाले पनि यात्रा गर्ने मौका पाउने छ। तपाईको गाउँघरमा कोरोना भ्रमण गरेर आफ्नो शक्ति देखाउन सक्नेछ। निकै संयमित भएर यसपटक दशैँको उत्सव मनाऔँ।
दशैँ सद्भावको पर्व हो, आत्मियताको पर्व हो, आशिर्वादको पर्व हो, मिलनको पर्व हो। विजय दशमीको सम्पूर्णमा हार्दिक शुभकामना।