चाडपर्वहरूले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछन्। हर्ष,उल्लासका साथ आउने र मनाउने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ।
भिन्न खुसी र सुख प्रदान गर्दछ। त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ।
पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ। त्यसको बेग्लै मज्जा छ। दसैंमा दक्षिणा, टीका, जमरा र पिङको मज्जालाई खास अर्थ र महत्वका रूपमा लिइन्छ।
नवरात्रीको दशौं दिनलाई विजयादशमी भनिन्छ। आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भनिन्छ। यो दसैंको खास दिन हो ।
दसैंमा आफूभन्दा ठूला, मान्यजनबाट टीका लगाएर आशिर्वाद लिने गरिन्छ। यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ।
यसरी मान्यजनले आशिष दिँदै लगाइदिने टीकाको निकै अर्थपूर्ण महत्व छ। मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरूषार्थी भावको विकासका लागि टीका लगाउने गरिने भनाइ छ।
दसैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ। धर्मशास्त्रमा यसलाई समृद्धिको प्रतीक मानिन्छ। संस्कृतमा यव भनिने जौको जमरा खासमा भन्ने हो भने पौष्टिक खाद्यपदार्थ हो।
जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधि मानिन्छ। यसमा कार्बोहाइड्रेट, प्रोटिन र भिटामिन पाइन्छ। जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ।
चिकित्सकहरूका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ।
यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन्।
हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ।अंकुरित जौलाई सांकेतिक रूपमा विजयादशमीको प्रसादका रूपमा ग्रहण गरिन्छ।
यस वर्षको दसैं अन्य वर्षको भन्दा फरक छ किनकी यसपालि कोरोनाको कहर छ। सरकारले जो जहाँ छ, त्यहीँ नै दसैं मनाउन आग्रह गर्दै आएको छ। दसैंमा झन् भीडभाड हुने भएकाले संक्रमण फैलने डर हुन्छ। त्यसैले यसपालि विगतका भन्दा फरक किसिमले दसैं मनाऔं, यी कुरामा ध्यान दिऔं।
- यात्रा गर्दा सुरक्षित तरिकाले मास्क लगाएर एक-अर्कामा दूरी कायम गर्ने, हातले जताततै नछुने ।
- दसैंमा मानिसहरू मठ मन्दिरमा गई पूजाआजा तथा पशु बली दिने चलन छ सो कार्य गर्दा भौतिक दूरी कायम नभई तीव्र रूपमा संक्रमण फैलिन सक्छ। त्यसैले सतकर्ता अपनाऔं।
- दसैंमा मानिसहरू टीका ग्रहण गर्न मन्दिर वा सार्वजनिक स्थानमा जमघट गर्ने चलन छ त्यसो गर्दा संक्रमण तीव्र रूपमा फैलिन सक्छ। त्यसैले त्यसतर्फ ध्यान दिऔं।
- दसैंमा परिवारका सदस्य तथा पाहुनाहरूसँगै बसेर खाने, नजिकै आमुन्ने-सामुन्ने बस्ने गर्नाले संक्रमण सर्ने जोखिम बढी हुन्छ।
- दसैंमा टीका लगाइसकेपछि दक्षिणा दिने चलन छ। पैसाको कारोबारबाट पनि कोरोना सर्ने डर हुन्छ।
- दसैंमा पिङ खेल्ने चलन छ तर यो वर्ष पिङ नखेल्न नै उचित हुन्छ किनकी पिङमा धेरै जनाको जमघट हुन्छ। त्यहीँबाट कोरोना सर्न सक्छ।
- दसैंमा मानिसहरू एकै ठाउँमा जम्मा भई खसी बोका तथा अन्य पशु बध गर्ने चलन छ त्यसो गर्दा तीव्र रूपमा संक्रमण फैलिन सक्छ।
- दसैंमा परिवारका सदस्य तथा साथीभाइहरू मिलेर तास खेल्ने काम पनि गर्ने चलन छ। सो कार्यबाट रोग सर्ने सम्भावना उच्च हुन्छ किनकी त्यसमा आमन्ने-सामन्ने बसेर खेलिने हुनाले दूरी कायम हुँदैन।अझ यसमा पैसाको कारोबार हुने हुँदा यसबाट सर्ने जोखिम उच्च हुन्छ।
आफ्नै र नजिकैका व्यक्तिलाई संक्रमण भएको हुन सक्दछ। यी कुरालाई ध्यानमा राखी दूरी कायम गर्नुपर्दछ। यसपालिको दसैं संयमित र सुरक्षित भई मनाऔं।
हर्सोल्लासका साथ मनाइने पर्वमा हाम्रो लापारबाहीका कारण संक्रमण बढाउने काम नगरौं।
केही व्यक्तिले मात्र सावधानी अपनाउँदैमा शतप्रतिशत संक्रमण फैलनबाट बच्न सकिँदैन। त्यसैले सबै जनाले यी कुराहरूलाई आत्मसाथ गर्ने हो भने धेरै हदसम्म सुरक्षित हुन सकिन्छ।
आफू बचौं र अरूलाई पनि बचाऔं।