असोज ७ गते, अपराह्न हुँदै थियो। घरको मूलढोका खुलेको आवाज आयो। हामी आमाछोरा कोठामा गफ गर्दै थियौं। को आयो होला भनेर अड्कल काट्न नपाउँदै कोठाको ढोका खुल्यो।
'बाबा आज यति चाँडै,' मैले अचम्म मान्दै सोधिहालेँ।
उहाँ मुसुक्क हाँसेर 'त्यसै' भन्दै हातमुख धुन जानुभयो। हामी आमाछोरा मुखामुख गर्यौं। झन्डै पाँच मिनेट आमाछोराको मौनतापछि कोठाको ढोका फेरि खुल्यो। सधैं मेरो खाटमा बस्ने बाबा आज ढोकाबाट अगाडि आउने इच्छा राख्नुभएन। ढोकानजिक राखिएको कुर्सीमा बस्नुभयो र अघिदेखिको मौनता चिर्दै आफ्नो कुरा राख्नुभयो।
कोरोनासँग मिल्ने केही लक्षण देखिएकाले कार्यालयले बाबालाई घरमै आराम गर्न सुझाएको रहेछ। दुई दिनदेखि सामान्य खोकी र जिउ दुख्न थालेको पनि सुनाउनुभएको थियो।
हाम्रो मनमा चिसो सिरेटोले हान्यो।
कार्यालय सुरू भएपछि बाबाले प्रयोग गर्ने सामान, भौतिक दुरी, सरसफाइ लगायतमा खास विचार गरेका थियौं। बाबालाई त्यसदिन जिउ दुख्नेभन्दा पनि मानसिक तनाव बढी भयो सायद। मानौं, निर्दोष मानिसलाई कसैले गम्भीर अपराधको आरोप लगाएको होस्।
असोज ८ गते- बाबाको खोकी र शारीरिक दुखाइमा ज्वरो पनि थपियो। ज्वरो सामान्य थियो तर मनमा असामान्य डर लागिरहेको थियो। असामान्य डर असामान्य परिस्थितिमा परिवर्तन नहोस् भनेर बाबाका लागि छुट्टै कोठा भाँडाकुँडा, रुमाल, स्यानिटाइजर आदि व्यवस्था गर्यौं। घरका सबैमा मास्क अनिवार्य भयो।
असोज ९ गते- बाबाको खोकी लगातार थियो। टाउको र जिउभरको दुखाइ अनुहारमा प्रष्ट देखिन्थ्यो। गलेको शरीर, डराएको मन। हामी के-कसो गर्ने अन्योलमा थियौं।
कोरोना बिरामीको नाममा शरीरका अंग झिकेका, कोरोना शंकामा अस्पताल लगेको छोराको १४ दिनपछि अस्तु मात्र घर फर्किएको, बिरामीले खेपेका सामाजिक हेला जस्ता खबरले डर उत्कर्षमा पुर्याएको थियो। अनि उपचारमा लाखौं खर्च भन्ने सुनेका हामी मध्यम वर्गीय परिवारका लागि श्रापभन्दा कम हुँदैनथ्यो।
बिरामी भएर अस्पताल जान डराउनु पर्ने हामी नेपाली नै हौंला।
बाबाको खोकीको लहरसँगै हाम्रो मुटुको धड्कन झन् वेगले धड्किन्थ्यो। बाबाको यस्तो अवस्था हेरेर बस्नुभन्दा अरूसँग सल्लाह लिनु उचित लागेर काका र ठूलाबालाई जानकारी गरायौं। यसबारे अरू कसैलाई पत्तो थिएन। जानकारी दिने इच्छा नै राखेका थिएनौं। बाबाको यस्तो अवस्था सुन्दा काका र ठूलोबा एकछिन झस्किनुभयो। अस्तिसम्म कार्यालय गएका दाजु आज बिरामी, त्यो कोरोना शंकामा!
खोलाको धमिलो पानीलाई सङ्लो हुन लाग्ने समय जतिनै समय लिएर काकाले भन्नुभयो, 'पूर्व सैनिक, सैनिक अस्पताल लग। त्यहाँ राम्रो हेर्छ।'
हाम्रो मनमा खुसी पलायो। सूर्य हाम्रो टाउको माथिबाट पश्चिमतिर ढल्किँदै थियो। हामी बाबु-छोरा मास्क लगाएर, स्यानिटाइजर गोजीमा हालेर सैनिक अस्पताल हिँड्यौं। अस्पतालको परिदृश्य सोचेभन्दा अलि फरक देखियो।
आकस्मिक कक्षसँगै नाइलनको डोरीले छुट्याएर एउटा स्थान तोकिएको रहेछ। मानौं डोरीले मान्छेलाई जस्तै कोरोनाका जीवाणु पनि छेक्छ।
पिपिई लगाएर एक जना कुर्सीमा बसेर लेख्दै थिए। उनको कलमले विश्राम पायो जब बाबाले सोध्नुभयो, 'बाबु स्वाब दिने कहाँ हो?'
हाम्रो प्रश्न सकिन नपाउँदै उत्तर आयो, 'यसबेला आएर हुन्छ त? बिहान ८ बजे आउनुपर्छ। आज फारम भरेर जानुस्। भोलि शनिबार भयो। पर्सि आइतबार बिहान आउनुहोला।'
हाम्रो सरकारी क्षेत्रबाट मिठो बोली र सहज कार्यसम्पादन आशा गर्नु बेकार! हामी बाबु-छोरा निराश भयौं। कर्मचारीको रुखो बोलीले होइन, हाम्रो काम नहुने भएर। हावाको गतिमा फैलिएको कोरोना नियन्त्रणका लागि द्रुत गतिमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ हुनुपर्ने हो। तर हामीकहाँ स्वाब परीक्षणका लागि समय निर्धारण हुन्छ बिहानको दुई घन्टा। अनि महामारी बेला पनि सार्वजनिक बिदा हुन्छ।
फारममा डाक्टरको हस्ताक्षर चाहिने रहेछ। डाक्टर खाजा खान गएका रहेछन्। दिउँसो एक बजे, झन्डै एक घन्टा पर्खिएपछि डाक्टरले हस्ताक्षर गरेको फारम गोजीमा हालेर बाबुछोरा मलीन अनुहार लिएर घर फर्कियौं।
सधैं तातो हुने सिरकले आज साथ छाडेजस्तो भयो। यस्तो चिसो माघमा बाहिर बस्दा पनि हुन्थेन। अकस्मात मेरो निद्रा खुल्यो। मोबाइलमा समय हेरेँ, एक बज्न लागेको रहेछ। जिउ जाडोले, सायद डरले, खोइ केले हो कामिरहेको थियो।
विस्तारै उठेँ। पानी पिएँ। जाडोलाई भनेर थन्काएर राखेको बाक्लो सिरक साथी बनाएँ अनि निदाएँ। बिहान उठ्दा शरीर ढुंगाजस्तो भारी अनुभव भयो। जसोतसो ओछ्यान छाडेर नित्यकर्ममा लागेँ। जिउ अल्छी भइरहेको थियो।
असोज १० गते- मौसमले दसैं स्वागत गर्दै थियो। तर मलाई केही राम्रो लागेको थिएन। प्रकृतिको सुन्दरता फिक्का लाग्यो।
मेरा गोडाले शरीर उचाल्न निकै गाह्रो मानिरहेका थिए। सबै जोर्नी आफैं फुत्किन लागेझैं थिए। शरीरको तापक्रम बढेर १०२ डिग्री पुगेको रहेछ। टाउको दुखेको थियो। सिटामोल लिएँ।
अब बाबुछोरालाई नै उस्तै लक्षण देखिन थाले। कोरोनासँग दुरुस्त मेल खाने लक्षण। अनि त बाबाको आन्तरिक बसाइँसराइ भयो मेरो कोठामा। अब घरका दुई जना दुइटा खाटमा ढलेका थियौं। उता आमा र भाइको अनुहारको चमक पनि ढलेकै थियो।
असोज ११ गते- ज्वरोले शरीर रन्केको थियो तर पनि अस्पताल जानुको विकल्प थिएन। कुनै पनि काम विकल्प हुँदासम्म गर्न नसकिने रहेछ। विकल्प नभएका काम जति नै कठिन भए पनि गर्न सकिने रहेछ।
करिब ५ दिनदेखि आराम गरिरहेको स्कुटर सकिनसकी बाहिर निकालेर बाबुछोरा सैनिक अस्पतालतिर लाग्यौं। साइत राम्रो परेछ, दुई दिनअघि भरेको फारमका कारण हामीभन्दा अगाडि ४ जना मात्रै थिए। बाबाको स्वाब संकलन चाँडै भयो।
अब स्वाब परीक्षण पालो मेरो थियो। घरनजिकैको मनमोहन अस्पतालमा गयौं। निलो टाटले छेकेर मुख्य ढोकाको बायाँपट्टि स्वाब संकलन कक्ष बनाइएको रहेछ। तीन जना कर्मचारी पिपिई लगाएर बसेका थिएर
'स्वाब परीक्षण गर्ने ठाउँ यही हो दिदी? के गर्नुपर्छ स्वब परीक्षणका लागि?' सोधेँ।
सुख्खा आवाजमा 'स्वाब संकलन यहाँ गर्नुपर्छ। त्योभन्दा पहिले काउन्टरमा ४५०० रूपैयाँ दिएर आउनुपर्छ' भन्ने उत्तर आयो।
हामी झसंग भयौं, 'सरकारले २ हजार तोकेको होइन र दिदी?'
'सरकारले तोकेको हो भाइ। तर ४५०० कममा कुनै अस्पतालले गर्दैन।'
हामीसँग प्रतिवाद गर्ने शक्ति थिएन। गरेर पनि हुनेवाला केही थिएन। तोकेभन्दा दोब्बर बढी लिँदा पनि सरकारलाई थाहा नभएको हो वा थाहा नभएजस्तो गरेको हो?
केही दिनअघि एक जना दाइले टेकु अस्पतालमा सहजै सुलभ दरमा परीक्षण गर्नुभएको सुनेको थिएँ। त्यही भएर टेकुतिरै लाग्यौं। टेकु अस्पतालमा सोचेभन्दा अत्यास लाग्दो दृश्य देखियो।
परीक्षणका लागि लामो लाइन। न कुनै भौतिक दुरी, न सरसफाइ। कसैको हातमा पोका र मुखमा कपडाको मास्क थियो। कसैका लागि रुमाल नै मास्क। सरकारी सुविधा सहजै उपभोग गर्न कि नेता हुनुपर्छ कि त नेताको आफन्त!
हामी विरक्तिँदै सानेपास्थित स्टार अस्पताल गयौं। स्टार अस्पतालले केही खुसी बनायो। व्यवस्थित टोकन सिस्टम रहेछ। सकेसम्म दुरी पालन गराइएको थियो। परीक्षण ३९०० मा हुने रहेछ।
दिउँसो एक बज्न लागेको थियो हामी घर आइपुग्दा। बिरामी बाबुछोराको भोको शरीर त्यसै गल्ने भयो। आमाले बनाएको जाउलो र क्वाँटीको रस खाएर आराम गर्यौं। शरीरले आराम गरे पनि टेकु अस्पतालको परिदृश्य आँखामा आइरह्यो, कठै मेरो देश, कठै मेरो देशका जनता!
असोज १२ गते- ज्वरो, टाउको दुखाइ र शारीरिक पीडाले बाबालाई लगभग पूर्ण र मलाई आंशिक रूपमा छाडिसकेको थियो। तर हामीमा भित्री छटपटाहट थियो। दिनभरिको व्यग्र प्रतीक्षापछि साँझ ६ बजेतिर बाबाको मोबाइलमा मेसेज आयो। नसामा रगतको प्रवाह जोड जोड भएजस्तो लाग्यो, बाबालाई कोरोना देखियो।
हुन त बाबाको ज्वरो, टाउको र जिउ दुखाइ, खोकी कम भइसकेको थियो तर पनि कोरोना सकारात्मक नतिजाले गरेको नकारात्मक असर हामी सबैका लागि पहिलो थियो। कुनै पनि कुरा होला भन्नु र हो भन्नुमा ठूलो अन्तर हुने रहेछ। अब घरमै पनि भौतिक दुरी दुई मिटरबाट ४ मिटर भयो। मिल्ने भए खाँदा पनि मास्क लाइन्थ्यो सायद। हातमा साबुन पहिलेभन्दा धेरै घोटिन थाले। सतर्कता अझ बढेको थियो र बढाउनुपर्ने थियो। सायद यस्तै सतर्कताका कारण आमा र भाइलाई कोरोनाले भेटेन।
असोज १३ गते: मोबाइल टेबलमा बेस्सरी थर्कियो। फोन आएको रहेछ। अर्ध निद्रामै मैले फोन उठाएँ। एक जना मानिस निकै नम्र स्वरमा बोले, 'सन्जिल बोल्नुभएको हो?'
उहाँ स्वास्थ्य मन्त्रालयको कर्मचारी हुनुहुँदो रहेछ। मलाई कोरोना पोजेटिभ भएको जानकारी गराउनुभयो।। मेरो शारीरिक अवस्थाबारे पनि जानकारी लिनुभयो।
मनले भन्यो, 'सरकार रहेछ।'
मेरो रिपोर्टले मलाई त्यत्ति धेरै दुःख र अनौठो लागेन। किनकी बाबालाई भएपछि मलाई पनि होला भन्नेमा मनले चित्त बुझाइसकेको थियो। शरीरमा कोरोनाका लक्षण थिएनन्, तर इन्द्रीयहरूले काम गर्न मानिरहेका थिएनन्। जाँगर थिएन। कोहीसँग बोल्न, केही खान वा हेर्न मन लागेन। करिब तीन दिन यस्तै रह्यो।
असोज २६ गते: दिनहरू कोठाको खाट र छतको एउटा सानो कुनामा बित्दै गए। बाबुछोरा निको हुँदै गयौं। गुर्जो पानी, सिटामोल, फलफूल, दूध, अण्डा, हरियो सागपात, बेलुकी बेसार पानी र पानीको वाफ आदि हाम्रा लागि औषधि बने।
आइसोलेसन बस्दा कोरोनाबारे यति धेरै कुरा भए, मानौं कोरोना एउटा महासागर हो र यसको मैथनबाट कहिले ऐरावत हात्ती, कहिले कालकुट विष, त कहिले कामधेनू गाई निस्कन्थे। कोरोनाको कारण हो या सरकारको गतिविधिका कारण, आइसोलेसन बस्दा हाम्रो मानसिक आक्रोस शान्त गर्न हामीले कहिल्यै कसैलाई नगरेको गाली सरकारलाई गर्यौं।
मैले परिवारको परिभाषा विद्यालयमा पढेँ कि पढिनँ, याद छैन। तर यसपालि छर्लंगै भएँ। सुखदुःखको भावना समान सञ्चार हुने फरक भौतिक शरीर र एक मानसिक शरीर भएको समूह नै परिवार रहे। किनकी जति पीडामा हामी बाबुछोरा छट्पटायौं, त्योभन्दा धेरै भाइ र आमा छट्पटाए।
हाम्रो शरीरमा १४ दिन नै कोरोना रह्यो कि रहेन, थाहा भएन। तर दिमागमा १४ दिनै बसिरह्यो। लक्षण देखिएको १४ दिनपछि फेरि परीक्षणका लागि बाबुछोरा सैनिक अस्पताल र स्टार अस्पताल गयौं। सैनिक अस्पतालले योपटक सहजै स्वाब संकलन गर्यो। हामी प्रफुल्लित थियौं। खुसीको अर्को कारण, पछिल्लोपटक ३९०० मा गरेको परीक्षण हाल २४०० मा झरेको रहेछ स्टार अस्पतालमा।
स्वाब दिएको दिन हाम्रो मनमा एक किसिमको अन्यौलता थियो। फेरि पनि पोजेटिभ आए?
नतिजा भोलिपल्ट आयो, बाबु-छोरा दुबै कोरोनामुक्त।
जीवन कालबाट मुक्त छैन, तर पनि हामी खुसी थियौं। मर्नुपर्दैन भनेर होइन, अहिलेलाई बाँचियो भनेर।
(लेखक सञ्जिल खनाल पेसाले सिभिल इञ्जिनियर हुन् र हाल रामकोट बस्छन्)